+
+
एमाले महाधिवेशन :

‘राजनीतिको अपराधीकरण भयो’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १०:०१

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएपछि अध्यक्ष केपी शर्मा ओली पक्षबाट भीम रावल पक्षलाई भोट नदिनू भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो । यो पर्चामा अध्यक्ष ओलीले गत आइतबार रातिको बन्दसत्रमा सर्वसम्मतीका लागि गरेको प्रस्ताव भन्दा बाहिरका उम्मेदवारलाई भोट नदिने भनेर उल्लेख गरिएको छ ।

यसलाई ओली पक्षले पार्टीको आधिकारिक प्रस्ताव अनुसारकै पर्चा वितरण भएकाले अनौठो नभएको प्रतिक्रिया दिएको छ । तर रावल पक्षले भने नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको र राजनीतिक अपराधीकरण भएको आरोप लगाएको छ ।

रावल पक्षबाट दलित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नरबहादुर विकले फलानोलाई भोट दिनु र फलानोलाई नदिनू भन्दै पर्चा बाँडिनु पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट प्यानल नबनाउने भनेर गरिएको निर्णयविरुद्ध भएको बताए ।

प्रस्तुत छ विकसँग गरिएको कुराकानी –

नेकपा एमालेले निर्वाचनमा प्यानल नबनाउने भनेको थियो, प्यानल बनेको जस्तो देखियो है ?

स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय गर्दाखेरि पार्टीको प्यानल नबनाउने, व्यक्तिगतरुपमा उम्मेदवारी दिने र कार्यकर्ताहरुले उम्मेदवारहरुले स्वतन्त्ररुपमा आफ्नो नेता छान्न पाउन दिने भन्ने सहमति र निर्णय थियो । तर अहिले आएर त्यो निर्णयको विरुद्धमा व्यापक रुपमा अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरुलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णय विरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।

तपाईं पनि भीम रावलको पक्षमा हो भनेर नाम काटिएको छ ?

हो । उम्मेदवार हुने इच्छा सबैको हुन्छ राजनीति गरिसकेपछि । चुन्ने चुनिने अधिकार सबैले राख्दछ । दास बन्नका लागि आएको होइन कोही पनि । जोगी बन्नका लागि आएको होइन, समाजसेवा गर्न आएको हो । तर पनि भीम रावलको विचार अंगाल्यो भन्दैमा समर्थन गर्यो भन्दैमा, भीम रावलको पक्षधर भनेर लिस्टबाट हटाएर जुन किसिमको व्यवहार गरियो, यो सरासर गलत व्यवहार हो भन्ने मलाई लागिरहेको छ ।

केही दिन अगाडि तपाईंहरुले पनि भीम रावलको पर्चा बाँड्नु भएको थियो नि ?

भीम रावलको उम्मेदवारी किन भनेर उहाँले आफ्नो भावना, विचार राख्नु भएको थियो । कार्यकर्ताहरुले भीम रावल किन उम्मेदवार हुँदैछन् भनेर बुझ्न सकुन्, पढुन् भनेर राखेको हो । भीम रावललाई भोट दिनुस् भनेर प्यानल बनाएर बाँडेको होइन । भीम रावलका निजी विचार पढ्न पाउन् स्वतन्त्र रुपमा भन्ने हिसाबले बाँडिएको थियो । तर उहाँहरुले त्यो बाँड्न पाइँदैन भनेर रोक्नुभयो । त्यो प्यानलको कागजपत्र थिएन । त्यो केबल अपिल थियो उहाँको । तर अहिले आएर आफूले प्यानल बनाएर एउटा लिस्ट बाँड्नुभयो खुल्लमखुल्ला । प्रहरी छ यहाँ, प्रशासन छ, पत्रकारहरु छन्, सबले देखिरहेका छन् । त्यसैले यो एकदम पार्टीको निर्णय विरुद्धमा छ भन्ने मलाई लागेको छ । यसले पार्टीलाई सफलता दिंदैन । यसले कार्यकर्ताहरुको भावनामाथि कुठाराघात गर्छ ।

दुई पक्षका उम्मेदवार भएपछि आफ्नो पक्षकाले फलानो फलानोलाई भोट हाल्नु भनेर प्रतिनिधिलाई पर्चा बाँड्नु नौलो कुरा त होइन नि होइन ?

यो नौलो कुरा होइन, ठीक छ । तर त्यो प्यानल बनाउँदाखेरि हो । हाम्रो पार्टीको नवौं महाधिवेशनमा दुईवटा छुट्टै प्यानल बनाएर प्यानल नै उम्मेदवारी घोषणा गरेर गएका थिए । त्यतिबेलाको त्यो पीडाले गर्दाखेरि अहिले पार्टी नेतृत्वकाले के सहमति गरेका थिए भने अब प्यानल बनाएर हामी जाँदैनौं । अब हामी व्यक्तिगत रुपमा उम्मेदवार हुने र कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई चुन्ने, स्वतन्त्र हुनलाई छोड्ने भन्ने सहमति निर्णय थियो । त्यसको विरुद्धमा, त्यो निर्णयलाई कुल्चेर, नमानेर, एउटा प्यानल बनाएर, फलाना फलाना उम्मेदवारलाई भोट दिनु हुँदैन भनेर, कट गरेर जुन बाँडियो, यो सरासर कार्यकर्ताहरुको चरित्रको हत्या गर्ने हो र पार्टीलाई कमजोर बनाउने षडयन्त्र हो ।

तपाईंहरुले पनि फलानालाई भोट नहाल्नु भनेर पर्चा बाँडे भइगो नि ?

हामी त बाँड्दैनौं । हामी त निर्णयको पक्षमा छौं नि । जब पार्टीको स्थायी कमिटीमा, केन्द्रीय कमिटीमा निर्णय भइसक्यो, प्यानल नबनाउने, पर्चा नबनाउने भनिसकेपछि हामीले बाँडेका छैनौं ।

कसले बाँड्यो होला पर्चा ?

पर्चाचाहिं हाम्रो अध्यक्ष कमरेड केपी ओली समूह भनेर । अथवा ३०१ जना जो घोषणा भएका थिए महाधिवेशनमा त्यो ३०१ जना भित्रका मान्छेहरुलाई मात्र मत हाल्ने बाँकीलाई कट गरेर तपाईंहरु ३०१ भित्र हो भनेर सोध्ने ? अनि नभएकालाई तपाईंहरुलाई भोट पाइँदैन भनेर पर्चा बाँडे । यो पार्टीको निर्णयको विरुद्धमा छ ।

तपाईंलाई पनि सोधेका थिए ३०१ भित्र हो भनेर ?

हो, मलाई सोधेका थिए । सयौं जनाले सोधे । तपाईं ३०१ भित्र भए पाउनुहुन्छ, नभए पाउनु हुन्न, कट गरेको छ तपाईंलाई भनेर भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?