+
+

एमाले नेतृत्वमा पूर्व माओवादीको ‘उत्साहपूर्ण’ उपस्थिति

एमालेमा लागेका  पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते २०:५३
बाँयाबाट क्रमश: नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित रामबहादुर थापा बादल, सचिवमा निर्वाचित भएका लेखराज भट्ट र टोपबहादुर रायमाझी ।

१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए ।

रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आएका हुन् ।

६ उपाध्यक्षका लागि सात जना प्रतिस्पर्धामा थिए, जसमा १७६८ मतका साथ छैटौं नम्बरमा रहेर बादल निर्वाचित भए ।

सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी भए ।

ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भएका छन् ।

एमालेमा लागेका  पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।

जबकी पूर्वमाओवादी नेताहरु भएकै पदहरुमा ओलीसँग असन्तुष्ट नेताहरुले उम्मेदवारी दिँदा अनेक अनुमान गरिएको थियो । ‘कतै हामीलाई हराउन लागिएको त होइन ? भन्ने प्रश्न पनि कतिपय माओवादी पृष्ठभूमिका प्रतिनिधिहरुले गरेका थिए ।

तर, परिणाम त्यस्तो भएन । एमालेका वैचारिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भूसाललाई पराजित गरेर बादल उपाध्यक्ष निर्वाचित भएका छन् । सचिवमा त रघुवीर महासेठभन्दा धेरै मत लेखराज भट्ट र टोपबहादुर रायमाझीले पाएका छन् ।

उत्साहपूर्ण सहभागिता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भंग भएपछि रामबहादुर थापा बादल नेतृत्वको समूह माओवादी केन्द्रमा फर्किएन । ५ पुसको संसद विघटनसँगै नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका उनीहरुले एमाले नै रोजे ।

२८ फागुन २०७७ मा ओलीले बादलसहित २३ जनालाई एकपक्षीय रुपमा एमाले केन्द्रीय कमिटीमा मनोनित गरे । त्यो दिन भएका सबै निर्णय खारेज गर्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्‍यो, तर ओलीले ‘डढेलो लागेको बेला पलाएको पालुवा’ भन्दै उनीहरुलाई संरक्षण गरिरहे । २७ असार २०७८ मा १०बुँदे सहमति हुँदा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई असुरक्षित महसुस हुन दिएनन् । कतिसम्म भने १० बुँदेअनुसार भीम रावलले पाउने पर्ने सूदूरपश्चिम इन्चार्जमा पनि लेखराज भट्टलाई कायमै राखे ।

एमालेले दशौं महाधिवेशन गर्दै गर्दा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुको माग थियो, तीन पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक उपस्थिति हुनुपर्छ ।

नभन्दै ओलीले तीन पदाधिकारी र यसअघि केन्द्रीय सदस्य भएका सबैलाई निरन्तरता दिने प्रस्ताव ल्याए । मतदान हुँदा पनि उनीहरुलाई जिताएका छन् । एमालेमा लागेका  पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।

केन्द्रीय सदस्य पासाङ शेर्पा भन्छन्, ‘नेकपाबाट एमाले प्रवेश गरेपछि हामी पछुताउने छैन । केन्द्रीय कमिटीका साथै पदाधिकारीमा हाम्रो उपस्थितिलाई उत्साहजनक मानेका छौं ।’

ओलीको दिन खोजेको तीन सन्देश

एमाले नेताहरुका अनुसार आफू निकटहरुलाई रोकेर भएपनि पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई स्पेश दिँएर अध्यक्ष ओलीले मख्यतः तीन सन्देश दिन खोजेको छन् ।

पहिलो : यो पुरानो एमाले होइन, नेकपाकै निरन्तरता हो । पूर्वमाओवादी नेताहरुले पनि आफ्नो कदमको प्रतिरक्षामा यही भाश्यलाई स्थापित गर्ने प्रयास गर्दै आएका थिए ।

ओलीले बेलाबेला सार्वजनिक मञ्चहरुबाट त्यही भन्ने गरेका छन् । दशौं महाधिवेशनमा पूर्वमाओवादी नेताहरुलाई पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक स्पेस दिएर पनि उनले त्यही पुष्ट गर्न खोजेका हुन् ।

दोस्रो : माओवादी केन्द्रसँग गरेका प्रतिवद्धता वा सहमतिहरु कार्यान्वयनका सन्दर्भमा ओलीको ‘ट्र्याक रेकर्ड’ त्यति राम्रो छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको भद्र सहमति कार्यान्वयन होस् वा वाम गठबन्धन गर्दा भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयनमा होस्, ओलीमाथि प्रश्न उठेको छ । माओवादी केन्द्रका नेताहरुले त्यसलाई लिएर ओलीले झुटो बोल्छन्, गरेका सहमतिहरु पालना गर्दैनन्’ भन्ने स्थापित गर्ने प्रयास गरेका छन् ।

तर पहिले उनले माओवादी पृष्ठभूमिबाट आएका र पछिल्लो समय एमाले छिरेका नेताहरुलाई सम्मानजनक स्थान दिएर ओली त्यसलाई खण्डन गर्ने प्रयास गरेका छन् ।

तीन : देश निर्वाचनको नजिक छ । एमाले नेताहरुका अनुसार निर्वाचनमा एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमालेलाई अवरोध गर्न सक्छ । वाम जनमत तीनतिर विभाजित हुन्छन् । त्यसको असर कम गर्न पनि एमालेले माओवादी र एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गर्ने रणनीति लिएको छ । यसका लागि दुबै दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउने ओलीको तयारी छ । दशौं महाधिवेशनको उद्घाटन समारोहमै उनले आगामी फागुनसम्म एमाले प्रवेशको लहर देशभर चल्ने दाबी गरेका थिए ।

उनी पूर्वलडाकूहरु पनि पार्टीमा ल्याउन चाहन्छन् । त्यही कारण सार्वजनिक मञ्चहरुबाट माओवादी नेतृत्वको चर्को आलोचना गर्दा पनि पूर्व लडाकूहरुप्रति सहानुभूति राख्छन् । पार्टीमा पूर्वमाओवादी नेतृत्वलाई उत्साहजनक भूमिका दिएर उनले पूर्व लडाकूहरुलाई पनि एमाले प्रवेश गर्दा असुरक्षित भइन्न भन्ने सन्देश समेत दिन खोजेको एक केन्द्रीय सदस्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?