+
+

पद्‍मा अर्यालको राजनीतिक छलाङ

‘आफूलाई प्रतिस्पर्धामा नउतारेसम्म नेता हो भनेर अरुले स्वीकार गर्दैनन् । आफ्नो योग्यता, क्षमता स्वीकार गराउन प्रतिस्पर्धामा जानुपर्छ,’ उनी भन्छिन्, ‘महिलाले अवसर पाउँदा गर्न सक्छन् है भनेर व्यवहारबाट पुष्टि गर्नुपर्छ भन्ने पनि हो ।’

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर १४ गते २०:४९

१४ मंसिर, काठमाडौं । सोमबार विहान साढे ३ बजेतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ वर्षका लागि पार्टी नेतृत्वको सूची तयार पार्दै गर्दा पद्‍मा अर्यालको पनि नाम चढाए । एमालेको १९ सदस्यीय पदाधिकारीमा अष्टलक्ष्मी शाक्यलाई दोस्रोपटक समेट्दै गर्दा पद्‍मा नयाँ अनुहार थिइन् ।

२०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय अर्याल ०७० मा एमालेको पहिलो निर्वाचित जिल्ला अध्यक्ष भएपछि चर्चित भइन् । ०७४ को चुनावमा स्याङ्जामा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि भने उनको राजनीतिक करियरले ठूलै फड्को मार्‍यो ।

आफ्नो सरकारमा पहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र पछि विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेकी अर्याललाई ओलीले सचिवमा प्रस्ताव गरे । ओलीले प्रस्ताव नगरेका भीम आचार्य र टंक कार्कीले पनि सचिवमा उम्मेदवारी दिएपछि भएको चुनावमा पद्‍मा १८०० मतसहित निर्वाचित भएकी छन् ।

लोकप्रिय मतसहित उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्य ११ औं महाधिवेशनदेखि उमेर हदका कारण एमालेको राजनीतिमा सक्रिय हुने छैनन् । त्यसैले, यसपालि पार्टी पदाधिकारीमा पुगेकी अर्यालको अघिल्तिर राम्रो काम गरे नेतृत्वमा पुग्ने अवसर छ ।

‘पार्टीमा लगातार संगठित जीवन बिताएकी छु,’ पार्टी सचिवमा विजयी भएलगत्तै अनलाइनखबरसंगको कुराकानीमा उनले भनिन्, ‘अनेकन हण्डर, ठक्कर खाँदै निरन्तर अगाडि बढेकी छु ।’

महाधिवेशनका लागि चितवन आउनुपूर्व एमालेका केही सिनियर महिला नेताले पार्टी पदाधिकारीमा एक तिहाई महिला पुग्नुपर्छ भनेर अभियान चलाएका थिए । नेतृत्वबाट उति सकारात्मक जवाफ नपाएपछि खुल्ला प्रतिस्पर्धाबाट फैसला गर्ने निधो गर्दै उनीहरुले तयार पारेको वरिष्ठ उपाध्यक्षदेखि सचिवसम्मको उमेदवारको सूचीमा पनि अर्याल सचिव नै थिइन् ।

चितवन आइपुगेपछि माहौल अलिकति फेरियो, नयाँ कमिटी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीले लिए । ओलीले पार्टी सचिवमा अर्याललाई छान्दा उनीभन्दा वरिष्ठ नेताहरु गोमा देवकोटा, राधा ज्ञवाली लगायत केन्द्रीय कमिटीमा पनि परेनन् । थममाया थापा, विन्दा पाण्डे, सीता पौडेल, शिवमाया तुम्बाहाङ्फे लगायतका महिला नेताहरुलाई पनि ओलीले केन्द्रीय सदस्यमा मात्र राखे ।

एमालेको स्याङ्जा जिल्ला अध्यक्ष हुँदा पार्टी विस्तारका लागि खेलेको भूमिका, भूगोलको राजनीतिमा भिजेको पृष्ठभूमि र सरकारमा रहँदा गरेको सहयोगका कारण उनी ओलीको रोजाइमा परेको देखिन्छ ।

‘पार्टीको तात्कालिन युवा लिगबाट चरणबद्ध रुपमा पार्टीको सिँढी चढ्दै आएकी हुँ,’ भन्छिन्, ‘सरकारमा रहँदा पार्टी अध्यक्षसँग तीन वर्ष सहकार्य गर्ने अवसर मिल्यो । त्यतिखेर दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकाले पनि अध्यक्षज्यूको रोजाइमा परेँ हुँला ।’

ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको थियो । त्यसबेला अर्याल भूमि व्यवस्था मन्त्री थिइन् । लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा तयार पार्ने कामको नेतृत्व पदीय हैसियतले उनैले गरेकी थिइन्, जसले ओली सरकारको उचाइ बढाएको थियो ।

कांग्रेसको पकड रहेको स्याङ्जामा उनकै कार्यकालमा एमाले स्थापित भएको मानिन्छ । आफू स्याङ्जा जिल्ला अध्यक्ष बनेपछि ‘जनतासँग एमाले’ कार्यक्रम गरेर करिब १० हजार माओवादी कार्यकर्तालाई एमालेमा भित्र्याएको अर्यालको दाबी छ ।

२०५४ मा एमाले फुटेर माले बन्दा मालेतिरै लागेकी उनले लामो समयसम्म नयाँ पार्टीका नेता बामदेव गौतमलाई साथ दिइन् । गौतमसँगै उनी पनि एमाले भइन् । एमालेको नवौं महाधिवेशनपछि गौतमले अर्यालसँगै हरि पराजुली, बलराम बाँस्कोटा, स्व. रवीन्द्र अधिकारी लगायत आफू निकट नेताहरुलाई ‘अब तिमीहरुको जिम्मेवारी लिन सक्दिन, मेरो गुट पनि छैन, केपी ओली कि माधव नेपाल आफैं रोज’ भनेपछि मालेमा आएकाहरु तितरबितर भए ।

अर्याल ओली समूहमा लागिन् । ओली समूहमा पनि विष्णु पौडेल, अग्नि खरेल लगायतका नेताहरुले अर्याललाई साथ दिए । त्यसपछिका दिनमा उनी पार्टीको जुन–जुन जिम्मेवारीमा रहिन्, प्रतिस्पर्धाको राजनीति गरेर आएकी हुन् । त्यसैले, ओलीले सचिव छान्नु र प्रतिनिधिहरुले निर्वाचित गर्नु आफूमाथिको न्याय ठान्छिन् उनी ।

‘आफूलाई प्रतिस्पर्धामा नउतारेसम्म नेता हो भनेर अरुले स्वीकार गर्दैनन् । आफ्नो योग्यता, क्षमता स्वीकार गराउन प्रतिस्पर्धामा जानुपर्छ,’ उनी भन्छिन्, ‘महिलाले अवसर पाउँदा गर्न सक्छन् है भनेर व्यवहारबाट पुष्टि गर्नुपर्छ भन्ने पनि हो ।’

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?