
दशैं तिहार जस्ता चाडपर्व नहुँदो हो त हामीहरुको जीवनशैली कस्तो हुन्थ्यो होला ? पूर्वीय संस्कृतिलाई यसकारण धेरै समृद्ध मानिएको छ किनकि यहाँ धेरै चाडपर्वहरु मनाइन्छ । साथै, यही क्षेत्रका मान्छेमा दुःख हुँदाहुँदै पनि खुसी पनि किन छ त ? भन्दा यसलाई पनि चाडपर्वसँग जोडेर व्याख्या गर्ने गरिन्छ ।
दिवंगत डा. उपेन्द्र देवकोटाले भनेका थिए ‘मान्छे चार हिसाबले स्वस्थ हुनु जरुरी छः पहिलो शारीरिक, दोस्रो मानसिक, तेस्रो आत्मिक र चौथोमा सामाजिक । तर यी सबै स्वास्थ्यको लागि एउटै बाटो के होला ? मनोविज्ञहरु यी चारै किसिमको शान्तिको लागि हामीहरुले मनाउने चाडपर्व नै एउटा अचुक उपाय रहेको बताउँछन् ।
चाडपर्व एउटा यस्तो थेरापी हो, जसले शारीरिक, आत्मिक, मनोवैज्ञानिक र सामाजिक समस्यालाई हल गर्न धेरै हदसम्म सहयोगी भूमिका खेल्छ । त्यसैले मनोविज्ञहरु चाडपर्वलाई केवल एउटा धार्मिक महत्वको हिसाबले मात्रै हेर्न नहुने तर्क गर्छन् । चाडपर्वले धार्मिक मात्रै नभएर मानसिक र सामाजिक पक्षमा पनि सकारात्मक सञ्चार ल्याएको हुन्छ ।
मनोविज्ञ गोपाल ढकाल हामीले मान्ने चाडपर्वलाई धार्मिक हिसाबले मात्रै नहेर्न सुझाव दिन्छन् । यदि हामीले मान्ने चाडपर्वहरु थिएनन् भने मानसिक रुपमा हामीहरु धेरै हदसम्म विचलित हुन सक्ने उनको तर्क छ । उनी चाडपर्वले मान्छेमा कति खुसी ल्याउँछ भन्ने कुरालाई दशैं तिहार आउँदा घर जानको लागि मान्छेले देखाउने उत्साहले पनि पुष्टि गर्छ ।
चाडपर्वको सामाजिक महत्व
मान्छेलाई चाडपर्वले सामाजिक बनाउन मद्धत गर्छ । दशैंलाई नै उदाहरण दिएर हेर्ने हो भने आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने चलन सामाजिक महत्वको विषय हो । आफ्ना मान्यजन र आफन्तसँग भेटघाट गर्ने र सम्बन्ध विस्तार गर्ने माध्यम पनि बनेको छ चाडपर्व । यसरी नाता, सम्बन्ध, परिवार, समाजलाई जोड्ने सेतुको रुपमा रहेकोले पनि चाडपर्वको सामाजिक महत्व छ ।
मनोविद् ढकाल भन्छन् ‘चाडपर्वले खुसी उमंग लिएर आउँछ । यसले सम्बन्ध पनि विकास गर्छ । हार्दिकता र सकारात्मक सोचको पनि विकास गराउँछ । यसले सामाजिक र मनोवैज्ञानिक रुपमा थेरापीकै काम गरिरहेको हुन्छ ।
शारीरिक थेरापीको लागि चाडपर्वको महत्व
यदि चाडपर्व नै नहुँदो हो त मान्छे कति मानसिक समस्याको शिकार हुन्थ्यो होला भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ । तर चाडपर्वको शारीरिक थेरापीको हिसाबमा कत्तिको महत्व छ त ? यो शारीरिक थेरापीको लागि पनि महत्वपूर्ण छ ।
जस्तो, तीजमा महिलाहरु व्रत बस्ने गर्छन् । उनीहरुले खाने समय र परिकारको कुराले पनि शारीरिक विकास र स्वास्थ्यमा फाइदा गरिरहेको हुन्छ । जनै पूर्णिमामा खाने क्वाँटी, माघे संक्रान्तिमा खाने शखरखण्ड जस्ता परिकारहरु शारीरिक वृद्धि विकासका लागि उपयुक्त परिकारहरु हुन् । त्यसैले शारीरिक थेरापीको लागि पनि चाडपर्व महत्वपूर्ण माध्यम हुन् ।
चाडपर्वमा जमघट, आपसी सद्भाव, शुभकामना आदनप्रदान गरिन्छ । यस किसिमको गतिविधि मानसिक स्वास्थ्यको लागि अत्यन्त जरुरी रहेको बताउँछन् मनोविद् ढकाल । त्यसैले केवल धार्मिक हिसाबले मात्रै नभएर चाडपर्वलाई सर्वाङ्गिण महत्वको विषयको रुपमा मान्नुपर्नेमा जानकारहरु जोड दिन्छन् ।
प्रतिक्रिया 4