+
+

राप्रपालाई फेरि पनि फुटकै त्रास !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते २१:३६

१५ मंसिर काठमाडौं । ८० वर्ष उमेर पुगेका पशुपतिशम्शेर जबरा फेरि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षको दौडमा थिए । उनले सुनाएअनुसार देशभरका नेता कार्यकर्ताले यो पटक जिताउने नै तयारी गरेका पनि थिए । तर महाधिवेशनको उद्घाटनको दुई दिनअघि अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजना त्यागे ।

उनकै शब्दमा यो कटु निर्णय गर्नुको कारण थियो, पार्टी एकता खतरामा पर्ने डर । बुधबारदेखि सुरु भएको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जबराले भने, ‘मैले एउटा प्रश्नमा सोच्नुपर्ने अवस्था आयो । धेरै साथीहरुले भन्न थालेका थिए, जुन ढंगले हामीले काम गरेका छौं, हामीलाई विश्वास छ तपाईंलाई जिताउन सक्छौं । तर कताकता झण्डै दुई वर्ष अगाडि गरेको एकता खतरामा पर्छ भन्ने चिन्ता लागेको छ भन्नुभयो ।’

आफ्नो (सम्भावित) जित ठूलो कि पार्टी एकता भन्ने प्रश्न अगाडि आएपछि आफूले अध्यक्षमा उम्मेदवारी बन्ने निर्णय गरेको जबराले सुनाए । अध्यक्षका दुई दावेदार कमल थापा र राजेन्द्र लिङ्देनलाई अझै पनि सहमतिका लागि आग्रह गर्दै उनले भने, ‘यो पार्टीमा विभाजनको कुनै डर आउन नदिऊँ ।’

जबरा मात्र होइन, एकता महाधिवेशनमा जुटेका राप्रपाका नेता कार्यकर्तामा पार्टी पार्टी फट्ने त होइन भन्ने त्रास देखिन्छ । त्यसको कारण खुलाउँदै राप्रपा नेता दिलनाथ गिरी भन्छन्, ‘अगुल्टोले हानेको कुकुर विजुली चम्किँदा तर्सिन्छ भने जस्तै हो किनकी हाम्रो पार्टीमा फुट संस्कृति जस्तै भएको छ नि त !’

२०४६ को जनाआन्दोलनको बलमा बहुदलीय प्रजातन्त्र स्थापनापछि पञ्चालयकालमा सत्तामा हालिमुहाली गरिरहेकाहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेका थिए । १५ जेठ २०४७ मा पूर्वप्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले गठन गरेको राप्रपामा वर्ष दिन नपुग्दै फुट आयो । त्यसयता तीन दशकमा फुटका धेरै श्रृङ्खला पार गरेको छ ।

पछिल्लो पटक २०७४ को आम चुनावअघि फुट्यो । ६ मंसिर २०७३ मा राप्रपा नेपाल र राप्रपाबीच एकता गरेर फागुनमा एकता महाधिवेशन गरेको थियो । तर त्यसको महिना दिन नपुग्दै डा. प्रकाशचन्द्र लोहनीले राप्रपा राष्ट्रवादी बनाए भने साउन २०७४ मा राणाले राप्रपा (प्रजातान्त्रिक) गठन गरे ।

फागुन २०७६ मा फेरि एकतावद्ध भएको राप्रपामा एकता महाधिवेशन भइरहँदा पनि फुटको त्रास हटेको छैन । महाधिवेशनमा अतिथिका रुपमा निम्त्याइएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंहरुको एकता महाधिवेशन कति पटक हुन्छ ?’ भनेर सोधेको सुनाउँदै अध्यक्ष कमल थापा भन्छन्, ‘मैले उहाँहरुलाई भनेको छु, अब भविष्यमा राप्रपालाई फुट्न नदिने संकल्प गरेका छौं ।’

मन, वचन र कर्मले एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने र कहिल्यै पार्टी फुट्न नदिने संकल्प गरेर आएका छौं भनेर सन्देश दिनुपर्ने उनले बताए ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी यो महाधिवेशनले पार्टीमा नयाँ युगको सुरुआत गर्ने भन्दै पार्टी फुट्ला कि भनेर चिन्ता नगर्नलाई आग्रह गरे । उनले भने, ‘अब पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन, त्यही काममा हामी लाग्नेछौं ।’

किन यति धेरै त्रास ?

कुनै समय सूर्यबहादुर थापासँग मत नमिलेर अलग पार्टी बनाउने कदम चालेका लोकेन्द्रबहादुर चन्द राप्रपामा त छन्, तर सक्रिय राजनीति गरिरहेका छैनन् । थापा दिवंगत भइसके भने उनका छोरा सुनील थापा राप्रपा छाडेर नेपाली कांग्रेसतिर लागे । पछिल्लो समय पार्टी फुटको नेतृत्व गरेका पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी पार्टीमा त छन्, तर अध्यक्षको दौडमा छैनन् ।

राप्रपा फुटाएर २०६२ पुस २६ मा आफ्नै नेतृत्वमा राप्रपा नेपाल बनाएका र पछिल्लो समय राप्रपाको मूलधारको नेतृत्व गरिरहेका कमल थापा यो पटक अध्यक्षको दौडमा छन् । उनलाई लामो समय उनकै सहयोगी भूमिकामा रहोक राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । चुनावी प्रतिस्पर्धाको सम्भावनाकै कारण पार्टीमा फुटको त्रास देखिएको हो त ?

नेताहरुका अनुसार नेतृत्वका लागि चुनाव भयो भने जसले हार्छ, उसले पार्टी फुटाउनसक्छ भन्ने त्रास कार्यकर्तामा छ । राप्रपा नेता सुरेश आचार्य राप्रपाको नेता कार्यकर्तामा चुनावी प्रतिस्पर्धाको संस्कार नभएकाले प्रतिस्पर्धा हुँदा फुटको त्रास देखिएको बताउँछन् ।

‘प्रजातान्त्रिक अभ्यास गर्ने क्रममा हामीले धेरैजसो प्रतिस्पर्धा भन्दा सर्वसम्मतबाटै नेतृत्व चयन गर्दै आएका छौं र राप्रपाका नेता कार्यकर्ता जति छन् प्रायजसोले सर्वसम्मतिको संस्कार लिएर आएका छन्’ उनले भने, ‘राप्रपामा अभ्यास कम भएका कारण चुनावी प्रतिस्पर्धाको कुरा आउँदा नेता कार्यकर्ता आत्तिएका छन् ।’

लामो समय एउटै समूहमा रहेको भएपनि पछिल्लो समय थापा र लिङ्देनको कटुता निकै बढेको छ, दुबै नेता एक अर्कालाई निषेध गर्ने तहसम्म पुगेका छन् । र, एकले अर्कालाई हारे फलानोले पार्टी फुटाउनसक्छ भन्ने गरेका छन् । लिङ्देन पक्षको दाबी छ, यदि अध्यक्षमा चुनाव हारे लामो समय पार्टीको नेतृत्व गर्दै आएका थापाले पार्टी फुटाउन सक्छन् । थापा पक्षको पनि दाबी छ, अध्यक्षको चुनाव हारे लिङ्देनले हिन्दुवादीहरुको एउटा समूह बनाएर छुट्टै पार्टी बनाउन सक्छन् ।

पार्टी फुटाउन खोज्नेले साथ पाउँदैनन्

चुनावी प्रतिस्पर्धा निश्चितजस्तो देखिएको राप्रपामा पार्टी फुट्ने सम्भावना नरहेको कतिपय नेताहरुले बताउने गरेका छन् । नेता निरञ्जन थापा नेतृत्व चयन सौहाद्र्धपूर्ण वातावरणमै हुने देख्छन् ।

‘सौहार्द्धपूर्ण वातावरणमै नेतृत्व छनोट हुन्छ, प्रतिस्पर्धाबाट नेतृत्व छनोट भए पनि ४० प्रतिशत ( पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशतको समर्थन आवश्यक पर्ने राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था) का कारण पनि सजिलो छैन’ उनले भने ।

यद्यपि यो महाधिवेशनमा चुनावी प्रतिस्पर्धाको तयारी गरेका नेताहरुले हारे पनि पार्टी नफुटाउने बताएको नेता थापा बताउँछन् ।

अर्का नेता सुरेश आचार्य पनि अब कार्यकर्ताले नै पार्टी फुटाउन नदिने दावी गर्छन् । यसपटक राप्रपामा पहिलो पटक सक्रिय सदस्यहरुबीच प्रतिस्पर्धाबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । त्यसैले हार्नेहरुलाई पनि पार्टी फुटाउन कार्यकर्ताले नदिने उनको भनाइ छ ।

‘राप्रपाले टुटफुट धान्न सक्दैन, एक्सट्रिममा पुगिसकेको छ । त्यसैले जसले जिते पनि हारे पनि पार्टी फुटाउने अवस्था रहँदैन’ उनले भने, ‘सक्रिय सदस्यहरु नै (महाधिवेशन प्रतिनिधि) भएको स्थितिमा पार्टी फटुाउन धेरै गाह्रो हुन्छ । कार्यकर्ताबाट भयंकर दबाब हुन्छ ।’

राप्रपा नेता वुद्धिमान तामाङ पनि अब पार्टी फुटाउँछु भन्नेलाई कार्यकर्ताले साथ नदिने दावी गर्छन् । ‘पछि लाग्ने मान्छे नि चाहियो नि’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?