+
+

‘शालिक भानुको मात्र होइन, घाँसीको पनि बनाउनुपर्छ’

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर १६ गते १६:००

१६ मंसिर, काठमाडौं । असार २९ गते देशैभरि भानुजयन्ती मनाइरहँदा ‘आदिवासी जनजाति लेखक–साहित्यकार महासंघ’ले भने यस वर्ष घाँसी खड्ग ठाडा मगरको सम्मानमा कार्यक्रम गरिरहेको थियो । महासंघको बेलायत शाखाले कवि भानुभक्तलाई कविता रच्न प्रेरणा दिने घाँसीको सम्मानमा कविता प्रतियोगिता गर्‍यो ।

प्रतियोगिताका विजेता कविहरूलाई बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरियो । प्रथम भएकी सीता तुम्खेवा, द्वितीय भएकी हानसेन याक्खा तथा तृतीय भएका योङहाङ प्रदीप लिम्बू र टीकाको टोलीलाई नगदसहित पुरस्कृत गरियो ।

पुरस्कृत कवितामा राज्यले भानुलाई मात्र अगाडि सारेर श्रमजीवी घाँसीहरूको पहिचान मेट्न खोजेको आक्रोश अभिव्यक्त थियो ।

घाँसी खड्ग ठाडा मगरको सम्मानमा आयोजित कविता प्रतियोगितामा विजेता कविहरूलाई पुरस्कार वितरण गरिँदै

बुधबारको कार्यक्रममा भानुभक्तलाई प्रेरणा दिने घाँसीको विषयमा विमर्श समेत गरियो । साहित्यकार राजन मुकारुङ तथा पहिचानवादी नेता आङ्काजी शेर्पाले आदिकवि र घाँसीबीच तुलनात्मक समीक्षा गरे । दुवै वक्ताले राज्यको एकल नश्लीय नीतिले घाँसीहरूको इतिहास छोपिएको तथ्यमा जोड दिए ।

अब घाँसीहरूको शालिक बनाउँछौं : राजन मुकारुङ

थुप्रै घाँसीहरू छन् जसको श्रमले यो देश बनेको छ । भन्न त हामी पृथ्वीनारायणले यो राज्य एकीकरण गरे भन्छौं । तर हजारौं मगर, गुरुङ, क्षेत्री सिपाहीहरूले लडेर गोर्खा राज्य विस्तार गरिएको हो ।

आज भानुभक्तहरूको जन्मदिनमा पूरै राज्यले उत्सव मनाउँछ । देशैभरिको शहरका चोक–चोक भानुको शालिक राखिएको छ । अरु त अरु धरानको चोकमा पनि भानुको शालिक, सोलुखुम्बुमा पनि भानुको शालिक राखेर आवश्यकताभन्दा बढी देवत्वकरण गरेको छ ।

हामीले शालिक नराखौं भनेको होइन, राख्ने भए तनहुँमा राखौं जहाँ भानु जन्मेका थिए । भानुमाथि अनुसन्धान गरौं, खोज गरौं । देवता बनाएर पूजा गरिरहने कहिलेसम्म ? सारा गाउँटोलमा भानुभक्तको मात्र कथा सुनाउने ?

प्रश्न एकपछि अर्को उठ्छ । के यो देशमा भानुले मात्र कर्म गरेका हुन् त ? घाँस काटेर, श्रम गरेर, भारी बोकेर पनि कुवा खनाउने काम गर्ने घाँसीचाहिँ महान् होइनन् त ? के श्रम गर्ने चाहिँ सानो, कविता लेख्नेचाहिँ ठूलो ? जबसम्म यो सोचमा सारा मुलुक लागिपर्छ, तबसम्म हामी प्रश्न गर्छौं । हामी निरन्तर प्रतिरोध गर्छौं जसले भानुभक्त वा भानुजस्ता कविलाई मात्र महान् करार गर्छ ।

विश्वविद्यालयले त्यही गर्छ । एकेडेमीले त्यही गरेको छ । साहित्य मात्र होइन संगीतमा पनि यही भएको छ । पचास वर्षसम्म रेडियो नेपालबाट मात्र गायक–गायिका तोक्ने काम गरियो । अम्बर गुरुङ, गोपाल योञ्जनहरूलाई ल्याएर यो देशको सारंगी, डम्फू, च्याब्रुङलाई विस्थापन गरियो । पूर्वबाट तामाङ, राई, लिम्बू गीत गाउन आउँदा गाईको छालाले मोरेर बनेको च्याब्रुङ बजाउँछ भनेर राज्यले भ्वाइलिन, गीतारले रेडियो नेपालको स्टुडियो भरिदियो । आफैं बाजा बनाएर, आफैं तार जोडेर गीत गाउने गाइने, गन्धर्वहरूको स्वर दबाइयो । लोकगीत गाउनेलाई तेस्रो श्रेणीको गायकको दर्जा दिइयो ।

तर आज हामी प्रश्न गर्न सक्ने भएका छौं । यसैले हामी भानुभक्तलाई होइन श्रमजीवी, कर्मठ घाँसीहरूलाई सम्मान गर्छौं । गाइने, गन्धर्व र घाँसीहरूको शालिक बनाउँछौं ।

भानु मात्र पहिलो कवि भइरहनुपर्ने : आङ्काजी शेर्पा

भन्नलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई सर्वोत्कृष्ट रचना भन्छौं । के त्यो कथा देवकोटाकै कल्पना हो ? त्यो त काठमाडौं उपत्यकाको नेवारहरूको लोकगाथा हो । तिब्बतमा व्यापार गर्न जाने नेवारहरूको यो लोककथा उपत्यकाको नेवा बस्तीको घरघरको फलैंचामा वाचन हुन्थ्यो । लक्ष्मीप्रसादले त्यही कथा टिपेर मुनामदन लेखे ।

आज नेपाल भाषाको लोककथाको कसैलाई मतलब छैन । न देवकोटाले नै यो कुरा स्वीकार गर्ने हिम्मत गरे । अझ मुनामदनको आवरणमा खस–आर्य केटा र गन्यूचोलो लगाएकी महिलाको चित्र राखिएको छ । त्यहाँ हाकुपटासी लगाएकी महिलाको चित्र राख्न केले रोक्यो !

अब बहस गर्ने बेला भएको छ । देवकोटाजस्तै भानुभक्तको सवालमा पनि उही हो । कठोर श्रम गरेर पनि समाजसेवा गर्ने घाँसीको अवमूल्यन गरेर भानुलाई मात्र नायक बनाउने ? ‘हाँस्ने महिला वेश्या हुन्छन्’ भनेर कविता लेख्ने भानुलाई हामीले महान् साहित्यकार भनिरहनुपर्ने ? हिन्दी र संस्कृतको रामायण अनुवाद गर्ने कविलाई आदिकवि भनिरहनुपर्ने ?

भानुभक्तभन्दा सयौं वर्षअघिदेखि कविता, गीत, भजन लेखेका मैथिली, मगर, नेपाल भाषाका कवि छन् यो देशमा । भानु मात्र पहिलो कवि भइरहनुपर्ने । कहिलेसम्म ? कहिलेसम्म यस्तो भइरहने ? यसैले हामीले आजैबाट घाँस काटेर जीवन निर्वाह गर्ने श्रमजीवी घाँसीको सम्मानमा ‘घाँसी जयन्ती’ मनाउन थालेका छौं । कर्म गर्ने पौरखीहरूको गाथालाई सम्मान गर्न थालेका छौं ।

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?