+
+

ओमिक्रोन भेरियन्ट : नेपालले पूर्व तयारीमा खर्चिनुपर्ने समय

प्रेम लामा प्रेम लामा
२०७८ मंसिर १६ गते २०:१०

१६ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्ट बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ । यद्यपि कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ । त्यसमध्ये झण्डै ४२ वटा म्यूटेसन चाहिँ स्पाइक प्रोटिनमा देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झाले जानकारी दिइन् ।

स्पाइक प्रोटिन भनेको भाइरसको माथिल्लो सतहमा हुने काँडा जस्तो बनोट हुन्छ, जसको सहायताले कोरोना हाम्रो शरीमा प्रवेश गर्छ । भ्याक्सिन पनि यही स्पाइक प्रोटिनलाई लक्षित गरी बनाइएको हुन्छ । स्पाइक प्राटिनमा धेरै बदलाव आएर मानव शरीरमा सहजै प्रवेश गर्ने त होइन भन्ने चिन्ता देखिएको उनले बताइन् ।

त्यही कारण थ्रुपै देशले यात्रा प्रतिबन्ध लगायतका नियन्त्रणमुखी कदम चालेका छन् ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अरु देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

जनस्वास्थ्यविद्हरु भने संक्रमण नआएको यो समयलाई पूर्व तयारीमा खर्चिनुपर्ने बताउँछन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोपहरु तथा संक्रमणका कारण मानव शरीरमा विकास भएको इम्युनिटी पावरलाई बाइपास गर्ने क्षमता देखिए ओमिक्रोन तेस्रो लहरको कारक बन्नसक्ने उनीहरुको चिन्ता छ ।

जनस्वास्थ्यविद् डा. शरद वन्त ।

जनस्वास्थ्यविद् डा. शरद वन्त नयाँ भेरियन्ट भित्रिनसकेको यो समयलाई सरकारले सतर्कता, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीमा सदुपयोग गर्नुपर्ने बताउँछन् । आयातित रुपमा मात्रै नभई नेपालमै सक्रिय रहेको भाइरस म्यूटेसन भएको हुनसक्ने भन्दै उनले भने, ‘नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिन सिक्वेन्सिङ गरी हाल्नुपर्छ । सबै भेरियन्ट आयातित नै हुन्छन् भन्न सकिँदैन । स्थानीय रुपमै म्यूटेट भएको पनि हुनसक्छ ।’

यद्यपि म्यूटेसन सबै भेरियन्ट घातक देखिन्छन् भन्ने होइन । ‘कतिपय कमजोर भएर म्यूटेसन भएको हुनसक्छ र केही बढी घातक देखिन पनि सक्छ,’ उनले भने ।

डा. शेरबहादुर पुन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन पनि ओमिक्रोन, डेल्टा भेरियन्टभन्दा बढी संक्रामक भए जोखिम हुनसक्ने बताउँछन् । बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलिने र उपचार प्रणालीमा समस्या ल्याउने उनको भनाइ छ । साथै ओमिक्रोन भेरियन्टले हाल प्रयोगमा आएका खोपलाई छल्ने क्षमता देखिएमा अर्को ठूलो समस्या ल्याउने उनले बताए ।

जनस्वास्थ्यविद् डा. वन्त पनि हाल प्रयोगमा आएका कोरोना खोप र संक्रमणका कारण विकसित भएको इम्युनिटी/एन्टीबडीलाई बाइपास गर्ने क्षमता ओमिक्रोनमा देखिए नेपालमा कोरोनाको तेस्रो लहरको कारक बन्न सक्ने बताउँछन् ।

खोप वा संक्रमणका कारण विकास भएको इम्यूनिटी/एन्टीबडीलाई छल्ने नयाँ भेरियन्ट नभेटिएको अवस्थामा भने तेस्रो लहर आउने सम्भावना कम हुने उनले बताए । अघि भने, ‘खोपको प्रभावकारिता कति समय हुन्छ भन्ने अनुसन्धानमै छ ।’

पूर्व तयारीमा जोड

चैत–वैशाख–जेठमा नेपालमा देखिएको डेल्टा भेरियन्टका कारण दोस्रो लहर घातक बन्दा नेपालको स्वास्थ्य प्रणालीमै समस्या देखा परेको थियो । अस्पतालहरुले संक्रमितको चाप धान्न सकेन भने अक्सिजन समेत नपाएर थुप्रै संक्रमितले ज्यान गुमाउन पुगे । यद्यपि विदेशी सहयोग र सरकारको लागतमा अक्सिजन प्लान्ट, भेल्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार थपिएका छन् ।

तर तेस्रो लहर फैलिएमा अहिले भएको पूर्वाधार पर्याप्त नहुन सक्ने भएकाले पहिलो र दोस्रो लहरबाट पाठ सिकेर पूर्वतयारीमा जुट्नुपर्ने जनस्वास्थ्य विदहरुको सुझाव छ । डा. वन्त भन्छन्, ‘सरकारले स्वास्थ्य पूर्वाधारतर्फ केही सुधार गरेको छ, तर त्यो पर्याप्त छैन । दोस्रो लहर जतिकै घातक र तीव्र गतिमा संक्रमण फैलिएको अवस्थामा अहिलेको संरचना, स्रोत र साधनले धान्न नसक्ला । त्यसैले पहिलो र दोस्रो लहरबाट पाठ सिकेर त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रणालीगत रुपमा तयारी गर्नु जरुरी छ ।’

के गर्दैछ सरकार ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाएको बताउँछन् । विशेष गरी ओमिक्रोन भेरियन्ट भेटिएका मुलुकबाट आउने नागरिकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा कडाइ गरिएको उनले बताए ।

परीक्षणको दायरा फराकिलो बनाउँदै संक्रमण पुष्टि भएका व्यक्तिहरुको नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने कामलाई अझ बढाएको उनको भनाइ छ । डा. अधिकारीले भने, ‘कुन भेरियन्ट सक्रिय छ भनेर पहिचान गर्नका लागि संक्रमितको स्याम्पल लिएर जिन सिक्वेन्सिङ गरिरहेका छौं । अहिलेसम्म नयाँ भेरियन्ट देखिएको छैन । पछिल्लो समय सिक्वेन्सिङ गर्ने कामलाई अझ बढाएका छौं ।’

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०२१ अप्रिलदेखि हरेक महिना जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । अहिलेसम्म भएका सिक्वेन्सिङमा ओमिक्रोन भेरियन्ट फेला नपरेको प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् । उनले भनिन्, ‘नोभेम्बरमा लिइएका नमुनाको जिन सिक्वेन्सिङ नतिजा आउन बाँकी छ ।’

नेपाल–भारत सीमा नाका र विमानस्थलमा एन्टीजिन परीक्षण गर्दा पोजेटिभ देखिएका नमुना प्रयोगशाला पठाउन भनिएको छ । डा. झा भन्छिन्, ‘त्यस्तो नमुनाको एस जिन परीक्षण गर्ने र एस जिन नेगेटिभ आए उक्त नमुनाको जिन सिक्वेन्सिङ गरिने छ ।’ उनकाअनुसार एस जिन परीक्षण हरेक हप्ता हुनेछ, जसमा नेगेटिभ आएका नमुनाको तत्काल जिन सिक्वेन्सिङ गरिनेछ ।

धुलिखेल अस्पतालको जेनेटिक सिक्वेसिङ प्रयोगशालामा पनि जिन सिक्वेन्सिङ हुने गर्छ । अस्पतालका डा. राजीव श्रेष्ठका अनुसार कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएर पनि संक्रमित भएका ६ जना संक्रमितको नमुना लिएर जिन सिक्वेन्सिङ गरिएको छ । उनले भने, ‘एकहप्ताभित्र नतिजा आउनसक्छ ।’ जिन सिक्वेन्सिङको रिजल्ट पछि मात्रै संक्रमित व्यक्तिमा पुरानै डेल्टा भेरियन्ट हो कि नयाँ भेरियन्ट हो भन्नेबारे पुष्टि हुने उनले बताए ।

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?