
१७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
दुई ललितपुरे क्लबबीचको रोमाञ्चक खेलमा फ्रेण्ड्सले दोस्रो हाफको सुरुमा गोल गर्दै पहिले अग्रता लिएको थियो । तर थ्री स्टारले अन्तिम सात मिनेटभित्र बराबरी गोल फर्काएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर गुमाएका थिए ।
५० औं मिनेटमा थ्री स्टारका संजोक राईको पासमा ऋतिक कुमार खड्काले फ्रेन्ड्सका गोलकिपर राहुलसँगको वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् ।
तर ५१ औं मिनेटमा फ्रेन्ड्सले अग्रता लियो । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका नाथनियल जुड ग्रासियाले हेडमार्फत गोल गर्दै अग्रता दिलाए ।
८३ औं मिनेटमा थ्री स्टारका मिक्छेन तामाङले गोल गर्दै खेल बराबरी गरे । फ्रेण्ड्सका खेलाडीले पेनाल्टी बक्समा क्लियर गर्न नसकेको बल मिक्छेनले गोल गरेका थिए ।
यस्तै ८५ औं मिनेटमा थ्री स्टार रितिक कुमार खड्काले पेनाल्टी एरियाभन्दा बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले गोललाइनबाट बचाएका थिए ।
बराबरीपछि दुवै टिमले समान १ अंक जोडेका छन् । थ्री स्टार ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।
उता सिजनको दोस्रो बराबरी खेलेको फ्रेण्ड्सले ३ खेलबाट २ अंक जोडेको छ ।
तस्वीरहरु: विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4