+
+

तरलता संकटको असर सहकारीसम्म, निक्षेप जम्मा गर्न बैंकको अनुनय

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर १७ गते १९:५३

१७ मंसिर, काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावको असर सहकारीसम्म पुगेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बैंक तथा वित्तीय संस्थापछि सहकारीहरुले तरलताको समस्या सामना गर्न परेको बताउँछन् ।

चालु आर्थिक वर्षको शुरुदेखि नै बैंकहरु कर्जा लगानीमा आक्रामक बनेका थिए । उनीहरुले निक्षेप भने जम्मा गर्न सकेनन् । पछिल्लो समय लगातार निक्षेप घटिरहेको छ भने कर्जाको माग बढिरहेको छ ।

बैंकहरु कर्जा लगानीमा आक्रामक बन्दा सहकारीमा समेत कर्जाको माग हृवात्तै बढेको छ । ‘कर्जाको माग अत्यधिक हुँदा सहकारी संस्थाहरुमा पनि तरलताको चाप परेको छ’ अध्यक्ष कँडेल भन्छन्, ‘बैंकहरुजस्तो ऋण लगानी गर्नै नसक्ने अवस्था भने आइसकेको छैन ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गराउन निर्देशन दिएको छ । तर कर्जाको माग धेरै हुँदा २७ वाणिज्य बैंकमध्ये २४ वटाको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । यसले बैंकहरुमा परेको तरलता अभावको चाप देखाउँछ ।

नेेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय तत्कालै तरलता सहज भइहाल्ने अवस्था नरहेको बताउँछन् । चालु आर्थिक वर्षको आधा समय सकिन लाग्दा बुधबारसम्म सरकारले पुँजीगत खर्च जम्मा ५.४६ प्रतिशतमात्रै गरेको छ ।

अर्को तर्फ विदेशबाट भित्रने रेमिट्यान्स पनि चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घटिरहेको छ । आयात पनि बढ्दो क्रममा छ । यसकारण पनि तरलता सहज हुन समय लाग्ने अध्यक्ष उपाध्याय बताउँछन् ।

सहकारी क्षेत्रबाट थोरबहुत निक्षेप बैंकिङ क्षेत्रमा आइरहेको उनले बताए । सहकारीहरु आफैले पनि ठूलो मात्रामा ऋण लगानी गरिरहेकाले धेरै ठूलो रकम भने नआएको उनले बताए ।

‘निक्षेप कहाँ सुरक्षित हुन्छ भन्ने सर्वसाधारणले पनि थोरै विचार गर्नु भएको हो कि भन्ने लाग्छ’, उपाध्याय भन्छन्, ‘फेरि ब्याजदर पनि बैंकहरुमा राम्रै छ ।’

बैंकर्स संघका अनुसार मंसिर पहिलो सातामात्रै बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेप भने बढ्नुको सट्टा ७ अर्ब रुपैयाँ घटेको छ ।

गत कात्तिक १३ गतेसम्म बैंकहरुको कुल ऋण लगानी ४० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा १० मंसिरसम्म ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने ४२ खर्ब २६ अर्ब रुपैयाँबाट घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ ।

सहकारी धाउँदैछन् बैंकहरु

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल बैंकहरु निक्षेपका लागि सहकारी संस्थामा धाइरहेको बताउँछन् । ‘तर, सहकारीहरुमा पनि तरलताको समस्या छ, पैसा दिन सक्ने अवस्था छैन’, उनले भने, ‘बाहिरबाट हेर्दा सामान्य देखिएला तर तरलताको समस्याले निकै अप्ठेरो अवस्थामा पुर्‍याउलाजस्तो छ ।’

अहिले देखिएको समस्या कुनै एक क्षेत्रको लागि मात्रै नभएर समग्र अर्थतन्त्रकै समस्या भएको उनले बताए । यसले अर्थ व्यवस्थामा ठूलै चुनौती सिर्जना गर्ने भन्दै उनले यसमा सरकार र सरोकारवालाहरुले बेलैमा ध्यान दिनुपर्ने बताए ।

सहकारी संस्थाहरुमा कुल निक्षेप ५ खर्ब हाराहारी छ । स्वनियमनमा चल्ने सहकारी संस्थाहरुलाई नियामक कार्यालयहरुले कडाइका साथ अनुगमन गर्दैनन् । बैंकहरुमा जस्तो सहकारी संस्थाहरुमा सीडी रेसियो कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि छैन ।

सहकारी संस्थाहरुले आप\mना सदस्यहरुलाई ऋण दिने र बढी भएको रकम बैंकमै जम्मा गर्ने गरेका छन् । सामान्य अवस्थामा त्यति धेरै वास्ता नगर्ने बैंकहरु अहिले सहकारी संस्थाहरुलाई ‘तरलता अभाव भयो, केही समयलाई निक्षेप राखिदिनुस्’ भनेर आग्रह गरिरहेका छन् ।

तरलता समस्या समाधानका लागि राष्ट्र बैंकले बेलाबेला तरलता पठाइरहेको छ । बजारलाई चलायमान बनाइराख्न नियमति रुपमै तरलता पठाएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा पठाउने गरेको छ ।

साउनदेखि असोजसम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरेको राष्ट्र बैंकले बताएको छ ।

यति ठूलो रकम प्रवाह गर्दा राष्ट्र बैंकले जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

बैंकहरुले भने निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल बैंकहरू अल्पकालीन स्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताउँछन् ।

सहकारी संकट
लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?