+
+
यात्रा संस्मरणः :

आफ्नै मृत्यु देखेर फर्किंदा

सरोज खतिवडा  सरोज खतिवडा 
२०७८ मंसिर १८ गते १९:१७

हिजो पनि दिनभरि हिंडेको थकाइले राम्रो निद्रा परेछ । हामीले बसेकै घरमा खाना खाएर हिंड्ने विचार गर्‍यौं । त्यहाँबाट गोरेटो बाटो हुँदै थोरै तल झरेपछि सडक भेटिन्छ । हामीले सडकै सडक पाइला अगाडि बढायौं । अलि अगाडि सडकमुनि तीन जनामध्ये दुई जना महिला र एक जना पुरुष नुहाउँदै गरेको देखिन्छन् । पाँचवटा धारामध्ये दुई धारामा उनीहरू नुहाउँदै छन् भने बाँकी तीन धारा खाली छन् ।

जुम्ला छाडेपछि हिसाब गर्दा हामीले ननुहाएको सात दिन भएको थियो । मेरो साथीले हतार हतार कपडा खोलेर ठूलो धारातिर जाँदै गर्दा नुहाउँदै गरेका करीब ७० वर्ष जतिका पुरुषले केही भनेझैं गर्दै थिए । नजिकै लोती कर्णालीको ठूलो आवाज भएको हुँदा उनलाई सुन्न सक्ने कुरै भएन ।

म कपडा खोल्न लाग्दै थिएँ । साथी ‘आत्थाता, होइट्’ भन्दै उफ्रिंदै खोलाको बगरतिर कुद्न थाले । म पनि उनको पछि पछि कुदूँ कि के गरूँ जस्तो हुँदै के भयो भन्दै हेर्न थालें । उता नुहाउँदै गरेका वृद्धहरू भने हाँस्न थाले । साथी हतारिंदै कर्णालीमा गएर एक अँजुली ठिहिर्‍याउने चिसो पानीले तालु सेक्दै फर्किएपछि थाहा पाएँ कि उनले नुहाउन थालेको धाराको पानी अति नै तातो भएकोले पोलेर आत्तिएका रहेछन् ।

हामी एक अर्काको मुख हेर्दै हाँस्न थाल्यौं । त्यतिबेला वृद्ध पुरुष हाम्रो नजिकै आएर भने- ‘मकन भन्दै थिएँ, तुमीहरूले सुनेनौ । यी दुई धाराको पानीले पोल्दछ । ऊ ती धारामा नुहाउँदा हौ हामी पछि नुहाउँछौं ।’

हामी ती वृद्धले देखाएको धारामा गएर नुहायौं । चिसा कपडा बेलुका सुतेको ठाउँमा सुकाउने गरी झोलामा राखेर बाटो लाग्यौं ।

बाटोभरि हिजो जस्तै खच्चड हिंड्दै छन् । यो सडकमा गाडी चल्न थालेपछि यी खच्चडहरू कहाँ जालान् ? यी मानिसहरू जो खच्चडको पछाडि लागेर जीवन तान्दैछन्, यी के गर्लान् ? खच्चडले बोक्ने सामान त गाडीले हुँइक्याउला । यिनलाई खेद्नेको जिन्दगी गाडीमा कसरी कुद्ला ?

कर्णाली समाजको आधारभूत अध्ययन गर्ने हो भने सदियौंदेखि यहाँको व्यापार र व्ययभार धानेको खच्चड संस्कृतिमाथि पनि अध्ययन हुनुपर्छ जस्तो लाग्छ । मनमा प्रश्नहरू छन्- आँखाहरू तल लोती खोलामा छ । अबको केही छिनमा लोती खोला छाडेर कर्णालीको तीरैतीर सिमकोटतिर हिंड्नुपर्छ । यो यात्रा पक्कै रमाइलो हुनेछ ।

कर्णाली समाजको आधारभूत अध्ययन गर्ने हो भने सदियौंदेखि यहाँको व्यापार र व्ययभार धानेको खच्चड संस्कृतिमाथि पनि अध्ययन हुनुपर्छ जस्तो लाग्छ ।

सरिसल्ला पुग्दा हिजो बिहान खाना खाएपछि छुटेको अछामी टोलीसँग भेट हुन्छ । सरिसल्ला त्यही ठाउँ हो जहाँ लोतीखोला र हिल्साबाट आएको कर्णाली खोला मिसिन्छ । हिल्सा कर्णाली पारि मुगु छ । अर्को कर्णाली पारि हुम्लाकै ताजाकोट जाने सडक बन्दैछ । नाम जस्तै यहाँ सल्लाहरू छन् तर यी रुखहरू लेकाली र हिमाली भने होइनन् ।

दुई कर्णालीको किनारामा एउटा चौर, तीन-चार घरहरू छन् । हिजो नै भेटघाट भएको हुँदा अछामी र हामी एकअर्कालाई आफ्नै जस्तो लाग्छ । संरचनाले उनीहरूलाई पनि सिकाएको छ- हामी जस्तो हाईफाईवालालाई नमस्ते गर्नुपर्छ । उनीहरू हामीलाई नमस्ते गर्छन् । व्यवस्थाले हामीलाई पनि सिकाएको छ- कम्तीमा यतिसम्मका गाउँलेहरूको सलामी खानुपर्छ । हामी गमक्क परेर नमस्ते फिर्ता गर्दै खाना खाए नखाएको सोध्दै अगाडि लाग्छौं । उनीहरू ठेकेदारलाई कुरिरहेका छन् ।

हुनत हिजो अस्ति भेट्दा पनि उनीहरूलाई पुग्ने ठाउँ थाहा छैन भन्ने थाहा थियो । हामीले सोध्यौं- कहाँसम्म पुग्नुहुन्छ ? एकजना अछामीले भने- ‘खै सर आज बास बस्न पुगिन्छ भन्छन् । हामी जहाँ पुगे पनि के छ र घर छोडेकालाई जता गए पनि परदेश न हो ।’

बाटोभरि उस्तै सल्लाहरू छन् । पर खच्चडको घण्टी बच्छ । कतै अजङ्ग र उराठ पहाड छन् । कतै हरिया सुन्दर पहाडहरू छन् । कतै परपर बाक्ला घरहरू देखिन्छन् । कतै एउटा, दुई वटा पाताला घरहरू पनि छन् । अहिले हामी किनारै किनार हिंडेको कर्णालीको अस्ति भेटिएको मुगु कर्णाली, भर्खरै छाडेको लोती कर्णाली भन्दा ठूलो र भव्य नीलो छ । यो त्यही नदी हो जुन मानसरोवर हुँदै आउँछ । यो नेपालको सबैभन्दा लामो नदी पनि हो । कर्णाली जति लामो छ उस्तै कतै वयल खेल्दै, कतै भुमरी पर्दै कतै उच्च वेगसहित बगेको छ ।

दुःखहरूको समाचारमा छाइरहने कर्णाली र कर्णाली नदीमा मानिसका दुःखहरू गुजुल्टिएको छ । कहिलेकाहीं जाने हामी जस्ताको लागि मन्त्रमुग्ध पार्ने लालित्य पनि छ । उसो त, सबैलाई यसको भेउ हुँदैन तर जीवन नै कर्णालीको वेग हेर्दै बिताएका मानिसहरूको लागि कर्णालीका अनगिन्ती रूपहरू छन् । एक छिन थकाइ मार्दा भेटिएका बाजेको भाषा मलाई बुझ्न कठिन नै भयो । उनको आशय यस्तो थियो- ‘कर्णाली तर्दातर्दै ज्यान गएका आफन्तहरूको लागि यो राक्षस हो । जाल खेलेर माछा पारेर छाक भर्ने भोको पेटहरूको लागि यो साँझ-बिहान हो । खरानी बनाई बगाउन पाउने सन्तानको लागि कर्णाली पुर्खाको सम्झना हो, हाम्रो लागि मरेपछि काँशी पुग्ने बाटो हो ।’

कर्णाली तर्दातर्दै ज्यान गुमाएका आफन्तहरूको लागि यो राक्षस हो । जाल खेलेर माछा पार्दै छाक भर्ने भोको पेटहरूको लागि यो साँझ-बिहान हो । खरानी बनाई बगाउन पाउने सन्तानको लागि कर्णाली पुर्खाको सम्झना हो, हाम्रो लागि मरेपछि काँशी पुग्ने बाटो हो ।

मानिसहरूका आफ्नै आफ्नै बाध्यता छन् । उसो त, कैलाश मानसरोवरदेखि ओरालो झरेर गंगामा पुगुञ्जेल कर्णालीका पनि कैयौं बाध्यता छन् । कतै भर्खरै खनेको सडक हुँदै, कतै पुरानो बाटो हुँदै हामी हिंडिरहेका छौं । बिहानको खानाले छाडेपछि अब पेटले हामीलाई खाजा माग्न थालेको छ तर बाटामा त्यस्तो घर वा पसल भेटिंदैन न त मानिसहरू नै भेटिन्छन् ।

लामो समय हिंडेपछि एउटा होटल जस्तो देखियो । भूकम्पको बेला भेटिए जस्तै पालको नजिकै पुगेर हेर्दा कार्की होटल लेखेको ब्यानर देखियो । भोकले यति हैरान भएका थियौं कि बाटोभन्दा माथि गएर सोध्न पनि सकिएन । साथीले बाटोबाटै सोधे- ‘खाजा पाइन्छ ?’

प्रश्न एक थियो- उत्तर पनि एउटै तर धेरैतिरबाट एकैचोटि आयो- ‘पाइन्छ ।’ ज्यान बच्यो बा ! कार्की होटलको ब्यानरबाट नै थाहा भयो- हामी सर्केगाड गाउँपालिकामा पसिसकेछौं । झोला बिसाएर के बन्छ भनेर सोध्दा यहाँ पनि उस्तै जवाफ आयो- ‘चाउचाउ कि ? बिस्कुट चिया ?’ उनीहरू आफैंलाई खाजाको लागि होला शायद पीठो मुछ्दै थिए । हामीले हामीलाई पनि रोटा दिनु न भन्दा उनीहरू सबैले मुखामुख गरे । तिनैमध्ये एक जनाले भनिहाले- ‘रोटा त हामीलाई । तपाईंहरू चाउचाउ बिस्कुट खानुस् । काँ सरहरू यस्तो रोटा खाने ?’

यो यात्राभरिको मानिसहरूले हामीलाई खुवाउन जोड गरेको एउटै कुरा नै चाउचाउ र बिस्कुट हो तर हामीले यहाँ पनि त्यो खाएनौं । रोटा नै खाएको भएर पसलेले पैसा लिन मानेनन् । हामी जबर्जस्ती पैसा थमाएर बाटो लाग्यौं ।

सर्केगाड गाउँपालिकाको केन्द्र समेत रहेको सर्केगाड पुग्ने बेलामा एउटा झोलुङ्गे पुल तरेर पारि जाँदा पुलको मुख भन्दा तल एउटा घट्ट देखिन्छ । गाउँले जीवनमा महत्वपूर्ण रहेको यस्ता घट्टहरू अब हराउँदै गएका छन् ।

टोनी हागनका अनुसार स्विट्जरल्याण्ड विकास हुनुको पछाडि त्यहाँको आधुनिक विकास मात्र प्रमुख कारण होइन । त्यहाँको परम्परागत प्रविधि पनि हो । जसमा पानीघट्ट पनि पर्दछ । उनले अरु लेखेका छन्- ‘धनी मुलुकबाट धेरै पूँजी लाग्ने र ऊर्जा बढी खपत हुने अत्याधुनिक प्रविधि विकासशील मुलुकमा भित्र्याउनुको कुनै औचित्य छैन । यसले थप माटो स्वाहा पार्छ र पर्यावरणीय विध्वंस निम्त्याउँछ ।’

हाम्रो विकासको यात्रा भने हागनको भनाइको उल्टो छ । हामी र हाम्रो नेतृत्वले घट्ट हटाएर हाम्रो दुःख सकिंदैन भन्ने बुझ्न जरुरी छ । हुम्लामा पनि यस्ता घट्टहरू प्रशस्त देखिन्छन् । हुम्ला मात्र होइन समग्र कर्णालीमा नै घट्टको विशेष महत्व छ । घट्टको प्रकृति हेरेर ओइरो हाल्नको लागि चरो भएको घट्ट, ओइरो हाल्न डोरी लगाएको घट्ट फरक फरक हुँदोरहेछ ।

हुन त बास खोज्न र थकाइ मार्न हतार भएको बेला भए पनि पुलको मुखमा एकैछिन झोला टेकाएर मैले मेरो गाउँमा कसरी विद्युत आएपछि स्थानीय घट्टको महत्व र प्रयोग घट्यो भनेर सम्झिएँ । गाउँमा लघु जलविद्युत नपुग्दासम्म यस्ता घट्टहरूको विशेष महत्व थियो । कुटनीपिसनी दुवै हुने भएकाले यस्ता घट्टले ऊ बेलाका छोरी बुहारीलाई धेरै सजिलो दैनिकी दिएका थिए । घट्ट विस्तार हुनुपूर्व जाँतो र ढिकी गर्ने जिम्मा छोरीबुहारीकै थियो ।

आधा रातसम्म वा आधा रातमा उठेर ढिकी र जाँतो गर्नु बाध्यता थियो । समय अन्तरमा आज विकास भएका आधुनिक मेलले ती घट्टलाई पनि हटायो ।

सर्केगाड हुम्ला जिल्लाको अर्को आन्तरिक व्यापारिक केन्द्र पनि रहेछ । गमगढी पछि यो बाटोमा भेटिएका अन्य ठाउँको भन्दा यो ठाउँका घरहरू ठूला र फरक किसिमका छन् । यहाँ अघिल्लो हिउँदभरि चलेर थन्किएका दुई जीप पनि देखिन्छन् । बोर्डमा नाम नै कोरेका केही होटलहरू पनि छन् । सडक छेउमै एक जना बालक भेटिए । उनले शुरुमा आफ्नै होटलमा बस्न अनुरोध गर्दै भने- ‘दाइ कता हिंड्नुभएको हाम्रोमा बसौं न ।’

हामीले भन्यौं- भाइ यहाँको सबैभन्दा राम्रो होटल कुन हो ? एकैछिन अकमकाएका उनले सशर्त भने- ‘ममीलाई चाहिं नभन्नु है मैले देखाको भनेर, ऊ तल ठूलो बोर्ड भएको घर ।’ शायद उनकी आमाले नयाँ मानिस आउँदा बोलाउन भनेकी हुँदी हुन् । उनकी आमाले आएर आफ्नो होटल हेर्न भने पनि हामी तिनै भाइकोमा बास बस्न गयौं ।

होटल साहुनी जुम्ला सिंजाबाट आएकी रहिछन् । पहिले खच्चड लिएर हिंड्ने उनका श्रीमान् अहिले भने खच्चडको काम छाडेर व्यापारतिर लागेका छन् । सिमकोट, सुर्खेत, नेपालगञ्ज र स्थानीय बजारमा गरेर पाँचवटा घडेरी भएकी उनी पाहुनासँग मीठो बोल्छिन् । पाहुना भनेका देउता हुन् भन्ने उनी आफ्नै लवजमा भन्छिन्, ‘ए बरा बस तुमी पनि परदेशी हामी पनि परदेशी, कहाँदेखि आयौ बरा ।’

उनका छोराछोरी तल सुर्खेत बसेर पढ्थे । अहिले कोरोना पछि भने उनीहरू यतै आएका छन् । कोरोना आएसँगै व्यापारमा कमी आएको छ नै तर आजकी हाम्री साहुनीलाई त्योभन्दा ठूलो पीर भने उनका नानीहरूको पढाइ छुटेकोमा छ । सामान्य अवस्थामा व्यापार चलेको छ । पैसा पनि कमाएकी छिन् तर अब छिट्टै सुर्खेतमा घर बनाउने र बस्ने उनको रहर छ ।

‘बाबु कति हैरात गर्नु एकै छिन नबसी’ उनले भनिन्, ‘अब एउटा घर हाल्ने हो अनि बस्नी हो ।’

बिहान उनै सिंजाली दिदीकोमा खाजा खाएर बाटो लाग्दा बेलुका सँगै बसेका एकजना साथीले नयाँ कुरा सुनाए । सर्केगाडबाट अलि वरसम्म हामीसँगै आएका उनले भने- ‘दश झापाली बराबर एक स्याङ्जाली, दश स्याङ्जाली बराबर एक सिंजाली हुन्छन् ।’

खैर देशमा अहिले झापालीहरूकै बोलवाला छ, सिंजाली र स्याङ्जाली देखिंदैनन् । हामी हिंडिरहेका छौं, किसानहरू खेतमा काम गरिरहेछन्, खच्चडवालहरू आफ्ना खच्चडमा जडीबुटी खेदाउँदै छन्, बालबालिका उसै आँगन र पिंढीहरूमा खेल्दैछन् । लगभग सबै कुरा हिजो अस्ति जस्तै छ । अहिले हामीले एउटा गुराँसको वन काट्दैछौं । केही होचा रुख भएका यी गुराँसको बाहिरी बोक्रा चिल्लो र चिप्लो छ । अहिले गुराँस फुलेको छैन । मनमा प्रश्न छ- गुराँस फुलेपछि यो गुराँस र त्यो कर्णाली कुन सुन्दर होला ?

लिप्नेमा पुगेर बिहानको खानाको लागि बसियो । मलाई चङ्खेली देखि नै छाती दुःखेको छ । घाँटी समातेको छ । कोरोना, यति हल्ला छ कि नाक बज्यो भने मात्र पनि खान नदिन सक्छन् । त्यसैले म बरु बोल्दिनँ । स्याकस्याक सुँकसुँक गर्दिनँ । करीब एक घण्टा मैले धानें तर खानाको अन्तिम गाँसमा भएको खुर्सानीले मलाई बिगार गर्‍यो । म खोक्न थालें । यति भएपछि हामीलाई खाना खुवाउने साहुनी डराइन् । उनी म भएको ठाउँमा नपुगी घुम्दै गएर आफ्नो मास्क लिइन् । अनि डरले मलाई हेर्दै भनिन्, ‘पैसा त अर्को बाबुले दिनु है । उहाँ बाबुलाई त कोरोना जस्तो छ ।’ खासमा मलाई पहिला पनि यस्तै खोकी लाग्ने भएर कोभिड नै त होइन कि भन्ने थियो । जिस्किएर सँगै हिंडेको साथीले भन्थे- ‘तिमीलाई कोभिड भयो ।’ अहिले यी होटलवाली आमा पनि परपर भागेपछि म आफैंलाई पनि कोभिड नै हो कि भन्ने शंका लाग्यो ।

कालले भन्दा पनि डरले त हो नि मानिसको जिन्दगी छिटो उडाउने । जेहोस् मर्नु भन्दा बौलाउनु बेस । हिंड्न सकुन्जेल हिंड्नु नै थियो । हुन त मलाई चिसोले छिटै छुन्छ भन्ने थाहा भएरै पनि कर्णाली घुम्ने रहरको अगाडि मैले आफैंले आफूलाई रोक्न नसकेको हो । अब होटलवाला साहुनीको कोरोना डर यति बढ्यो कि उनी मसँग बोल्न पनि छाडिन् ।

साथीले भित्रबाट मेरो झोला र सामान ल्याइदिए । हामी अगाडि लाग्यौं ।

कर्णाली पारिपारि कतै बाँझो छ । कतै गहुँ, जौ र उवा पनि छरेको देखिन्छ । खोलाको किनार हुँदै हिंड्दा कुलाहरू भेटिन्छन् । कतै पानी बगिरहेको कतै सुकेको कुलो । कतै खेतसम्म पुगेका कुलो कतै बीचमै छुटेको कुलो । कुलाहरूले गर्दा नै कतै घट्ट चलिरहेको । कुलाहरूकै कारण कतै घट्ट रोकिएको । कतै त्यही पानीले हराभरा भएको खेत छ । घारीपट्टी बाँझो पल्टिएको बारी र त्यसको केही मिटर तल नीलोनीलो कर्णाली देखेर हामी हैरान हुन्छौं ।

विचरा किसानहरूको मन कति दुख्दो हो ? उता शहरमा सिंहदरबार कौसीमा तरकारी फलाउन पहल गर्दैछ । यता पानी नपाएर किसान हैरान छन् ।

एउटा लघु-जलविद्युतको पावरहाउस कटेपछि सानो उकालोको फेदमा केही भेडा सहितका किसान भेटिन्छन् । हामी छेउमा पुग्दा उनी ढुङ्गा जोडेर चम्का बनाउँदै थिए । उनको छेउमा एउटा टेन्ट थियो जसमा उनको सुत्ने ओछ्यान र राखनधरन भएको हुनुपर्छ । बाटोमा चिसो त थियो तर हामी जति हिंड्थ्यौ उति पसिनाले भिज्यौं । यसले गर्दा लाग्ने चिसोबाट बच्न बसेको ठाउँमा कपडालाई घाम वा आगोमा सेकाउँथ्यौं ।

अगाडि डाँडामा पुगेर हामीले कपडा खोलेर एकछिन घाममा सेकाउँदै थर्मसको तातोपानी खान थाल्यौं । यति नै बेला पिप्लाङबाट बिहान हिंडेका एकजना मानिस आइपुगे । उनी जुन ठाउँबाट हामी भएसम्म आएका थिए, त्योबाटो हामीले डेढ दिन लगाएर काटेका छौं । तैपनि उनले आजै सिमकोट पुग्ने योजना रहेको बताउँदा हामी पनि याङ्चुसम्म पुग्न सकिन्छ कि भनेर पुलकित हुन्छौं । हामीलाई यो पनि थाहा छ- हामी गाउँले जति हिंड्न कुनै हालतमा सक्दैनौं ।

एकछिन हाम्रो सारमा हिंडेका उनी विस्तारै अगाडि लागे । एउटा पसलमा चिया खाएपछि उनी सिमकोट पुग्ने गतिमा कस्सिए । अनि त हाम्रो आफ्नै नियमित गति जिन्दावाद ! कर्णाली तीरैतीर हिंड्न रमाइलो छ । जति अगाडि गयो, उति यसका फरक, फरक मन्त्रमुग्ध पार्ने दृश्यहरूले अर्कै अनुभूति गराउँछन् । योसँगै बाटाका विभिन्न रुखहरू, तिनै रुखहरूको बीचमा फुलेका फूलहरू, शिर उठाएर हेर्दा देखिने सफा नीलो आकाश, शिर झुकाएर हेर्दा देखिने उस्तै नीलो खोला, उडिरहेका चराहरू । कतै सुनसान जङ्गल । कतै शान्त पहाड, कतै कलकल पानी । कतै टाउको ठोक्किने बाटो, बाटामा खेलिरहेका अबोध नानीहरू । खेतमा भिडिरहेका किसानहरू सबै थोक फरक छ । पेटको भोक नहोस् त सब थोक पूर्ण छ । यही भोकले होला- हामीलाई एकै छिन रुकेर यसको अनुभूति गर्ने फुर्सद छैन । यही भोकले होला यहाँ कोही यही हेरेर बसेको देखिंदैन ।

बाटोका गाउँ र ठाउँहरूको बारेमा अब हामीलाई थाहा छैन । यो ठाउँमा हाम्रा हाडाभाडाले गुगल गर्न सक्दैन पनि । मानिसहरू भेटिंदा सिमकोट जाने कताबाट भनेर सोध्छौं । उनीहरू ठाउँको नाम त भन्छन्- तर हामी सम्झन सक्दैनौं । म त खासमा गाउँलेहरूले भनेको नाम एकै पटकमा बुझ्न पनि साथीको सहारा लिन्छु । यसरी ठाउँ र गाउँ अनिश्चित भए पनि हाम्रो यात्रा भने निश्चित छ ।

सर्केगाडबाट अलि अगाडि आएपछि सडक छुटिसकेको छ । हुन त कर्णाली नदी हुँदै बाटो खनिंदैछ । नजाने त्यो बाटो कहिले सकिंदो होला ? तर अहिले हिंडेको बाटो भने उही पुरानो पैदल बाटो हो । कर्णाली वारिपारि गर्न केही झोलुङ्गे पुलहरू छन् । कुनै नयाँ पनि छन् तर केही भने अति नै पुराना काठको प्रयोग गरिएका, फल्याक उप्केर परेको प्वाल ढाक्न च्याप्टा र फराकिला ढुङ्गा समेत प्रयोग भएका । मानिसहरू सजिलै वारपार गर्ने यस्तो पुल तर्दा हाम्रो भने सातो जान्छ ।

हिंडिरहेको बाटो दुई बाटोमा गएर बाँडियो । एउटा पुल तरेर पारि जाने अर्को वारिवारि हुँदै अगाडि बढ्ने । घरहरू देखिंदैनन् । बटुवा भेटिंदैनन् । गाउँलेहरू पनि देखिंदैनन् । कहाँ पुगियो त यसै पनि थाहा भएन । पुल पारि र वारि उति नै माडिएको बाटो देखिन्छ, कता जाने कता ? नहिंडी पनि भएको छैन । साँझ पर्न लाग्दैछ । करीब ३० मिनेट कुरेपछि एकजना यात्रु आए । हामी उनकै इशारामा पछि पछि लाग्यौं । एकै छिनमा उनी पनि ओझेल भए । हामी आफ्नै पारामा हिंड्दैछौं । कतै कतै बाटोहरू भत्किएका छन् । साँझ पर्न लागेर होला अहिले बाटो हिंड्ने बटुवाहरू घटिरहेका छन् । आज मानिसहरूले हामीलाई खार्पुखोला पुग्छौ भनेको अघि नै हो तर अहिलेसम्म बोक्चेगौडा पनि आएको छैन ।

माथि सुनौलो घाम लागेको सेतो हिमाल पनि अहिले सुन जस्तै पहेंलो भएको छ । कर्णाली अहिले अघिको जस्तो शान्त बगेको छैन । छाँगा र छहरा बनेर उचालिंदै पछारिंदै बगिरहेछ । झमक्क रात पर्न लाग्दैछ, कर्णाली बहुरुपिया छ ।

बाटामा भेटिएका मानिसहरूले हामीलाई अगाडि बाटो बिग्रेको कुरा भनेका थिए तर दिउँसो नै हामीले काटेको बाटो पनि थोरै थोरै अप्ठ्यारो भएकाले त्यो कठिन बाटो हामीले पहिल्यै पार गरेको ठानेका थियौं । म अगाडि अगाडि थिएँ । साथी पछाडि पछाडि । साथीलाई फोटो खिचिरहनुपर्ने, मलाई गीत सुनिरहनुपर्ने । गमगढीमा बिजुली देखेका हाम्रो फोनहरू अफ भएका थिए । हातमा घडी थिएन, यसले गर्दा कति बजेको भन्ने थाहा हुन सकेन ।

झमक्क रात परिसके पनि चन्द्रमाको उज्यालोले तल कर्णाली नदी र पारि अजङ्गको पहाडको आकृति भने देखिन्छ तर हामी हिंडेको बाटोमा पहाडको छायाँ परेको हुँदा अँध्यारो छ । हिंड्दै गर्दा अघिसम्म देखिएको बाटो देखिन छाडेपछि अब उज्यालो चाहियो । हामीसँग एउटा लाइट थियो । झोलाबाट लाइट निकालेर साथीले लिएर पछाडि लागे र म अगाडि लागें । माथि सडक बनाउँदै गरेको भएर हामी हिंड्ने बाटो पुरिएको थियो । यो बाटो शुरु हुँदा सजिलै होला लागेको थियो तर केही पाइला अघि पुग्दा मुश्किलले एउटा पाइला अट्ने बाटो छ । तल के थियो हेर्न सकिंदैन । माथि पनि हेर्ने कुरा भएन । अँध्यारो छ देखिने पनि त होइन ।

हामी मनमा अज्ञात डर बोकेर चुपचाप हिंडिरह्यौं । करीब तीन मिनेट जस्तो हिंडेपछि हामी हिंडेको बाटो टुङ्गियो । अब के गर्ने सोच्दै गर्दा लाइटको हल्का उज्यालोले बाटो सकिएको भित्तामा एउटा डोरी देखियो । अब थाहा भयो दिउँसो मानिसहरूले भनेको कठिन बाटो यही थियो । माथि हेर्दा डोरी कहाँसम्म छ यकिन भएन । फर्किन पनि घुम्न मिल्ने बाटो छैन । अब के गर्ने ?

साथीले पछाडि नै फर्किन प्रस्ताव गरे मेरो पनि त्यो डोरीमा झुन्डिएर माथि जाने मुटु थिएन । कम्तीमा लडियो नै भने पनि, मरियो नै भने पनि हाम्रा आफन्तसम्म खबर लगिदिने कोही रमिते त चाहिन्छ । पहरो, डोरी माथि भीर तल खोला बाँकी शून्य ।

अब हामीले सम्झिने जति सबै सम्झियौं । हाम्रा परिवारहरू, यारहरू, दुश्मनहरू, सपनाहरू, जिम्मेवारीहरू । मानिसका दुःख, यतिबेला हाम्रो दुःख, मरिन्छ भनेर भीरमै क्वाँ क्वाँ रुन पनि त भएन ।

हामी फर्किने कोशिश गर्दै उल्टो गरी, विस्तारै पहरा छाम्दै एकछिन हिंडेपछि दुई पाइला टेक्ने ठाउँमा साथीले मलाई रोकिन भनेर आफू घुमे । उनी अगाडि फर्केपछि त्यही ठाउँमा पुगेर म पनि घुमें । यसरी अनकन्टार बाटोमा सुल्टो गरी हिंड्न पाएपछि अब हाम्रो बाँच्ने आश पनि पलायो । मानिसहरू यही बाटो कसरी साँझ बिहान ओहोरदोहोर गर्दा हुन् ? सम्झेर मन हैरान छ ।

बाटो छाम्दै फर्किंदा A Walk in the Woods को पात्र Boill Boryson र उसको साथी Stephen katz को कथा आँखामा नाँचिरहन्छ । एउटा यात्रामा निक्लेका उनीहरू पहाडको विकट बाटोमा गफ गर्दै हिंड्दा लड्छन् । एउटा सानो भागमा अड्किएको ठाउँबाट हेर्दा तलतिर पनि अकाट्य भीर देखिन्छ । माथितिर नुहेको एउटा रुख हुन्छ । त्यसैमा झुन्डिएर माथि जान दुई भाइको भएजति पेन्ट र सुरुवाल गाँसेर बनाएको डोरी पनि त्यही रुखमा अड्किन्छ । अब उनीहरू पहराको साँघुरो चेपमा रात बिताउन बाध्य हुन्छन् । भोलिपल्ट अरु यात्रीहरूले उनीहरूको उद्दार गर्छन् ।

हामी पनि झण्डै लडेका थियौं । लडेका भए हामी पक्कै पहरामा अडिंदैन थियौं । कर्णालीले हामीलाई कहाँ पुर्‍याउँथ्यो होला । त्यो अनुमान मात्र गर्न पनि कठिन हुन्छ । सास त परै जाओस्, लास पनि भेटिन्थ्यो कि नाइँ ? कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ । हामी कहिलेकाहीं पुग्नेहरूले त यतिका हैरानी भोग्न पर्छ भने जिन्दगी त्यहीं बिताउनेहरूको आँशुले पनि के भन्दो हो ।

म त नास्तिक हुँ तर यतिका दुःख र हैरान देखेपछि मलाई लाग्छ- आस्तिकहरूको पनि ईश्वर छैन । हुने भए कसैलाई उड्ने गुड्ने सुविधा कसैलाई हिंड्न पनि मुश्किल जिन्दगी पक्कै मिल्ने थिएन ।

जीवन अनौठो संयोगहरूको संयोग जस्तो भर्खरै हामीले नजिकैबाट मृत्यु देखेर फर्किएका छौं । केहीबेर अघि यही बाटो जाँदा एकजना महिला बाटो मुनि धारामा भाँडा माझ्दै थिइन् । त्यही घरमा गएर बास नबसी आज अरु उपाय नै पनि छैन । अघि उनको घर छेउबाट उनलाई लगभग वास्ता नगरी लमक लमक हिंडेका हामी अहिले झरीको स्याल जस्ता भएका छौं ।

‘आमा बास बस्न सकिन्छ ?’ साथीले सोधे । ‘साँझमा आएको मानिसलाई बास नदिएर पाप लाग्छ नि । बाबुहरूलाई अघि जाँदै बाटो अप्ठ्यारो छ । नजानु भनूँ भनेको तपाईं नहेरी हिंड्नुभयो ।’

हामीले बचेको लाज पनि झोलासँगै बिसायौं र चुला वरिपरि बस्यौं । आमाले आलु दिइन् । हामीले पोलेर खान थाल्यौं । आफू खाना खाएर भाडा पनि माझी सकेको उनले हाम्रा लागि खाना पकाउन लागिन् । रातो चामलको भात, गोलभेंडाको अचार, गेडाको दाल तयार हुँदै गर्दा हाम्रो मन भने कुन बेला पाक्ला र खाउँला जस्तो अत्तालिएको छ ।

घरी अघिको मृत्यु दर्शनको कल्पनाले भयग्रस्त हुन्छ मन । साथीले भन्दै थिए- आज यो अबको अन्तिम रातो चामलको भात हो । अब यहाँभन्दा अगाडि सेतो चामल जिन्दावाद ।

यी आमालाई गोलभेंडाको बिरुवा कृषिका मानिसले दिएका रे । दशवटा बिरुवालाई तुषारोबाट जोगाउन उनले माथिबाट प्लाष्टिक ओडाएकी रहिछिन् ।

हामीले खाना खाएपछि एकैछिनमा आमाले धन्दा सकिन् र हामी छेउमा आएर गफिन थालिन् । उनका छोराहरू हाम्रै उमेर समूहका भएकाले उनले शायद यही फेर समातेर मनको कुरा गरेकी होलिन् । आमाको मन हो नि त । ती आमाको कथा यस्तो छ-

‘मेरो जन्मघर बझाङ हो । मन त अझै उतै माइती गाउँ नै जान्छ । हामी छोरी मान्छेको भाग यस्तै रैछ । हैन भने बझाङबाट यहाँसम्म कसरी पो आउनुथियो ? म विवाह गरेर दुलाहासँग आउँदा १३ वर्षकी थिएँ । यहाँका ठकुरी र उताका ठकुरीबीच बिहाबारी चल्छ । हाम्रा पनि ससुराबुबा आफैं मलाई माग्न गएका हुन् । उता बुबालाई मन परेपछि हामीले नाइँनास्ति भन्ने कुरा नै भएन । मैले विवाह हुनु अघि मेरा श्रीमान् देखेकै होइन । त्यो बेला अहिले जस्तो चलन र जमाना दुवै थिएन ।

यति टाढाका मान्छे देख्ने कुरा पनि भएन । मलाई माग्न गएकै दिन मेरो विवाह भयो । हाम्रो गाउँबाट यहाँसम्म आउन ठ्याकै नौ दिन लाग्यो । म बाहेक सबै लोग्ने मानिसहरू, सबै बलिया थिए । म आफू भने पहिलो चोटि त्यति धेरै हिंडेको बाबु । त्यो बेला थाहा छ- खुट्टा कति दुखेको ? मलाई उति बेला त कर्णालीमा हाम फालूम् फालूम् लाग्थ्यो तर खै सकिएन । कहिले त लाग्छ त्यो बेला मेरो आँशु बगेर पनि यो नदी यत्रो भएको हो कि ? पछि छोराहरू भए । व्यवहार भयो । अहिले मेरा तीन भाइ छोराहरू पढ्छन् । पहिला पहिला माइत जान खूब मन लाग्थ्यो तर लामो बाटो भएर एक्लै जान आउन नमिल्ने । घरबाट पनि जान नमिल्ने । अब अहिले जान व्यवहार छोड्न सकिंदो रैनछ । १५ वर्ष भयो म माइत नगएको । यो दोबाटो कुरेर बसेको पनि धेरै वर्ष भयो ।’

बिहान उठ्दा जीउ बेजोड दुखिरहेको थियो । आज हाम्रो ओछ्यानमा तन्दा थिएन । बेलुका सुत्ने बेलामा घरपेटी आमाले भनेकी थिइन्- ‘बाबुहरू मलाई कस्तो लाज लागेको छ तपाईंहरू आज तन्दा विना नै सुत्नु है ।’

पछि थाहा भयो बास बस्न आउने बटुवाले बिहान हिंड्दा तन्दा पनि लिएर हिंड्ने भएकाले उनले तन्दा नै राख्न छाडेकी रहिछन् । हामी यात्राले यति थाकेका थियौं कि हामीलाई खाना र घरको एउटा कुना भए ओछ्यान पनि नचाहिने भएको थियो । तन्दा त परै जाओस् ।

झोला बोकेर हामी बाटो लाग्दा बिहानको सात बजेको थियो । हिजो फर्किएको बाटो त जानु छँदै थियो तर मनमा आज सिमकोट पुगिन्छ भन्ने अर्को खुशी पनि थियो । हिजो फर्किएको ठाउँ पुगेर हेर्दा धन्न हामी फर्किएकोमा मनमनै खुशी हुँदै अगाडि लाग्यौं । यति नै बेला अर्का किसान पनि आएको र माथि सडकमा काम गर्ने मानिसहरू पनि भएकोले हाम्रो डर कम भएको थियो । मुश्किलले पाइला टेक्दै डोरीसम्म पुग्यौं । हामी पालैपालो डोरीमा झुण्डिएर माथि गयौं । हामीले डोरीबाट झुण्डिंदै सफल यात्रा गरेकोमा साथी र म एउटा कसिलो अँगालो मारेर फेरि हिंड्न थाल्यौं ।

यो वर्षा शुरु हुनुअघि नै शुरु सडक बनाउन थालेपछि यो बाटो बिग्रिएको रहेछ । हामी गमगढीबाट हिंडेको आज पाँच दिन भयो । यो बीचमा मैले धेरै पटक चेको मोटरसाइकल डायरी सम्झिएको छु । मोटरसाइकल डायरी अर्जेन्टिनामा जन्मिएर क्युवाको क्रान्ति सम्पन्न गरेर बोलिभियाका जनताको मुक्तिको सपना देख्दा देख्दै अमेरिकी सेनाबाट मृत्युवरण गरेर चेको ल्याटिन अमेरिकाको यात्रा संस्मरण हो । यही यात्राले उनलाई मानिसहरूको दुःख बुझाएको थियो ।

हामी चे जस्ता क्रान्तिकारी त हुन सक्दैनौं तर हामीले पनि यो यात्राभरि यस्ता धेरै दुःखहरू देख्यौं जो शब्दहरूले बयान नै हुन सक्दैन । न यही लयमा हिंडेको व्यवस्थाले नै यसलाई सम्बोधन गर्न सक्दछ ।

बोक्चेगौडा कटेपछि परबाट यान्चु देखियो । खार्पुनाथको यान्चु हाम्रा साथीहरूको गाउँ पनि भएकाले यहाँको बारेमा हामीले पहिल्यै सुनेका थियौं ।

खार्पुनाथ गाउँपालिकाको कार्यालय नजिकै पुग्दै चिया पिएर अगाडि लाग्दा जनता आवासका एकनासे करीब २५ घरहरू देखिन्छन् तर मानिसहरू बसे जस्ता छैनन् । त्यहाँ मानिस नै बस्दैनन् भन्दा पनि हुन्छ । त्यहीं भेटिएका एक युवालाई मानिसहरू किन यहाँ छैनन् भनेर सोध्यौं । उनले भने, ‘मानिसहरूको यहाँ खेतबारी छैन, गर्ने इलम पनि छैन । त्यही भएर यहाँ घर छन् मानिसहरू गाउँमै छन् ।’

यसरी जनताका नाममा बन्दै गरेका घरहरू बन्न नपाई प्रयोगविहीन बन्न पुगेका रहेछन् । यतिका दिन कर्णाली खोलैखोला हिंडेको हाम्रो यात्रा अब छिटै कर्णाली छाडेर उकालो लाग्नेछ ।

अगाडि कुरिल्ला आउँछ । कुरिल्लामा फार्म र होटल चलाइरहेका साथी शक्तिसिंह एडीकोमा खाना खाएर सिमकोट जाने आजको योजना छ । खाना खाएपछि हामी कुरिल्लाबाट जीपमा कच्ची सडक हुँदै उकालो लाग्यौं । सधैंजसो खर्पुखोलाबाट नै सिमकोट जाने गाडीहरू पाउने रहेछ तर आज स्काभेटरले बाटो बनाउँदै भएर गाडी कुरिल्लामै बस्ने रहेछ ।

हुन त हुम्ला आजसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन तर सदरमुकाम आसपास भने हेलिकप्टरबाट ल्याइएका जीपहरू चल्ने गरेको केही समय भएको छ । लामो समय डोल्पामा बसेर काम गरेका एक जना चालकका अनुसार अन्यत्र भन्दा चालकहरूको यहाँ कमाइ पनि राम्रो छ । थोरै गाडीहरू भएकोले कामको पनि खासै कमी छैन रे ।

समग्रमा हाम्रोमा सडकले दिएको विकास माथि धेरै गफ हुन्छ तर यिनले स्थानीयतामा कस्तो प्रभाव पार्छ भन्ने कुरा छलफलको र अध्ययनको विषय नै बन्दैन । उपयुक्त अध्ययन गरेर आवश्यक सडकमा सबैको पहुँच पुग्नै पर्छ । अझ हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा यो अझै महत्वपूर्ण मुद्दा हो । तर सडकसँगै जोडिएर आउने अनेकौं विकृति र विकासका अनौठा भाष्य हुम्लासम्म आउने कुरामा भने नेतृत्व सचेत हुन जरुरी छ ।

मानवशास्त्री तथा नेता छक्कबहादुर लामाको पुस्तक कैलाश मण्डलाको अनुसार कर्णाली विशेषतः खसान र जडानहरूको संगम हो । हिजोको हुम्ला लगायत समृद्ध कर्णालीको व्यापार र व्ययभारको आधार पनि यही थियो । आज यहाँबाट राष्ट्रिय र क्षेत्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरूमा खसहरूकै बाहुल्य देखिन्छ ।

यद्यपि समग्र राष्ट्रिय जीवन सिमान्त अवस्था भोगिरहेको कर्णालीले आफैं भित्र अझै सिमान्त समुदाय र जनताको दैनिकी नउठाई हिजोको वैभव फर्किन सकिंदैन भन्ने विचार गर्न आवश्यक छ । अब खोला तल तल ओझेल हुँदैछ । बरु सामुन्ने हिउँका धनी र गरीब पहाडहरू भने देखिन्छन् ।

आफ्नै लयमा हिंडिरहेका घोडा, खच्चड र झोवाहरू गाडीले कच्चीबाटोमा निकालेको कर्कस आवाजसँगै आफ्नो गति छाडेर तितरवितर हुन्छन् ।

जिपले सिमकोट लगेर छाडेसँगै हाम्रो यो यात्रा पनि सकियो । योसँगै मैले कर्णालीका दशै जिल्लामा पुग्ने अवसर पाएँ । ती सबैभन्दा यो यात्रा अझै फरक पनि छ । करीब पाँच दिन लगाएर पैदल मुगु गमगढीबाट सिमकोटसम्म पुग्दा देखेको, भोगेको र बुझेको जीवन मेरो जीवनकै फरक अनुभव हो । रहरको यात्रामा उड्दा, गुड्दा र हिंड्दा अनुभव र अनुभूतिको हिसाबले हिंड्न पाउनु नै भाग्यमानी हो ।

हुन त कर्णाली आफैंमा पत्रैपत्र भएको रहस्यहरूको भण्डार हो । यसलाई एउटा स्थुल यात्राले मात्र छाम्न सकिंदैन । जेहोस् यो यात्रासँगै कर्णालीको दशै जिल्ला पुग्ने मेरो रहर पूरा भएको छ । साँझपख हामी सिमकोट बजार घुम्दै गर्दा माथि हिमालको छेउबाट उदाउँदै गरेको जुनले सिमकोट वरपरका हिमालको हाँसो झनै टल्किएको छ ।

सिमकोट, हुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment