+
+

ओमिक्रोन भेरियन्टको जोखिम बढ्दैछ, सीमा नाकामा सतर्कता अपनाउनुपर्छ : डा. पुन

नुनुता राई नुनुता राई
२०७८ मंसिर १९ गते १२:२१

१९ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै विश्वभर पुनः त्रास देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरिसकेको छ ।

सरकारले दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ । नयाँ भेरियन्टको जोखिमबारे सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

ओमिक्रोन भेरियन्टको जोखिम कति छ ?

जोखिमको कुरा गर्ने हो भने त निरन्तर छ । रहन्छ । किनभने भारतमा पनि देखिइसकेको अवस्था छ । त्यसैले अहिले हामी सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नु जरुरी देखिएको छ ।

ओमिक्रोन नआएपनि खोप लगाएकाहरुले पनि विशेष ध्यान किन दिनुपर्छ भने धेरैले खोप लगाउन बाँकी छ । खोप लगाउने बित्तिकै शतप्रतिशत शरीरमा एन्टीबडी बन्छ भन्ने पिन छैन । हामीले लगाएका खोपहरुको अवधि बढ्दै जाँदा एन्टीबडी कम हुँदै जान्छ भन्ने कुरा पछिल्ला अनुसन्धानले देखाइरहेको छ ।

तर जोखिम छ भन्दैमा धेरै आत्तिने, तर्सिने पनि गर्नुभएन । दक्षिण अफ्रिकी चिकित्सकहरुले उनीहरुको अनुभव सुन्दा धेरै कडा देखिएको छैन कि भन्ने पनि छ । अहिलेसम्म देखिएको इजरायल, भारतमा देखिएको संक्रमितको अवस्था पनि सामान्य नै भएको सुनिन्छ ।

त्यस्तो अप्ठ्यारो अवस्था छ भन्ने पनि छैन । यद्यपि यो प्रारम्भिक अवस्था हो । पछि धेरै कुरा थाहा होला । अहिले धेरै कुरा जानकारीमा नआएको र प्रारम्भिक अवस्थालाई आधार मान्ने हो भने तर्सिनुपर्ने अवस्था छैन ।

उदाहरणको लागि म गाडी चलाउने ड्राइभर हो भने तर्सिएर गाडी चलाउन सक्दिनँ । तर यताबाट बस आउँछ, यताबाट मोटरसाइकल आउँछ भनेर सतर्क हुँदै चलाउनुपर्ने हुन्छ । यसरी नै संक्रमण हुनसक्छ कि भनेर होसियारी अपनाउने हो ।

बाँकी आगामी दिनमा नयाँ भेरियन्टहरुले कस्तो हर्कत देखाउँछ त्यसैको आधारमा भन्न सकिने भयो । उपाय पनि त्यसरी नै खोज्नुपर्ने वा अपनाउनुपर्ने हुन्छ ।

जोखिम कुन माध्यमबाट बढी हुनसक्छ ?

पहिलो त भित्रिने नाकाहरुबाट बढी जोखिम छ भन्ने बुझ्नुपर्ने हुन्छ । त्यसमा विशेषगरी अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल–भारतसँग सीमाको कुरा आउँछ । यसमध्ये अझ बढी जोखिम नेपाल–भारत सीमाका कारण चुनौती छ मेरो बुझाइमा । अघिल्ला भेरियन्टहरु पनि धेरै प्रयासका बावजुद पनि सीमाबाट भित्रिएको यथार्थ छ ।

मेरो बुझाइमा अरु देशबाट अहिले तत्काल आउने सम्भावना छैन । किनभने संक्रमण फैलिसकेको अवस्था छैन । दक्षिण अफ्रिकाबाट फैलिएको संक्रमण धेरै देशमा फैलिएको छैन । त्यहाँबाट आउनेले भित्र्याउने जोखिम कम छ । भारतमा पनि देखिएकाले अहिले हामी सीमा नाकाबाटै बढी जोखिममा छौं ।

भारतमा देखिएपछि अहिले हामी बढी जोखिममा छौं ?

हो । हाम्रो विगतको पाठले भारतीय सीमाबाट बढी जोखिम छ भन्ने देखाउँछ । यदि भारतमा तीव्र गतिमा फैलिन थाल्यो भने त्यहाँ रहेका नेपालीहरु र कतिपय भारतीय पनि सीमा नाकाबाट सजिलै भित्रिन्छन् । तोकिएकै नाकाबाट आउजाउ हुन्छ भन्ने पनि छैन । त्यसैले सरकारी तवरबाटै विगतका कमजोरीहरुको समीक्षा गरेर दीर्घकालीन योजना बनाउनुपर्छ ।

ओमिक्रोन भेरियन्टको जोखिम कुन उमेर समूहमा बढी छ, भन्न सकिन्छ ?

नेपाल लगायत कतिपय देशले ६० वर्ष भन्दा माथिकालाई जथाभावी नहिँड्नु भनेको छ । तर अहिलेको नयाँ भेरियन्टको बारेमा धेरै कुरा बाहिर आएको छैन । तर समाचारमा आएको आधारमा युवाहरुमा बढी संक्रमणको जोखिम छ । यकिन तथ्य नआएकोले यही उमेर समूहलाई बढी जोखिम छ भनेर भन्नु अलि हतार हुन्छ ।

तर सामान्य भाषामा ज्येष्ठ नागरिकहरु शारीरिक रुपमा कमजोर, दीर्घरोगी हुने भएकाले संक्रमणले त्यस्तै व्यक्तिलाई च्याप्ने भएकाले जोखिम हुन्छ ।

अहिले कोरोना संक्रमण दर कम हुँदै गएको देखिन्छ, देशभर सभा, सम्मेलन, जुलुसजस्ता कार्यक्रम पनि भइरहेका छन् । यसले कत्तिको चुनौती थपेको छ ?

नयाँ भेरियन्टको जोखिम देखिएको बेला नेपालमा कोरोना संक्रमणको गति ओरालो लागेको छ । यो एकैपटक भइदियो । संक्रमण दर ओरालो लागेकै कारण मानिसहरुमा केही नहोला भन्ने बुझाइ बढ्दै गइरहेको छ ।

जसले गर्दा जनस्वास्थ्य मापदण्ड पनि अपनाउन कम हुँदै गएको छ । त्यस्तै विभिन्न राजनीतिक सभा, सम्मेलन पनि सामान्य समय जसरी भइरहेको देखिन्छ । जहाँ स्वास्थ्य सुरक्षाका मापदण्ड पनि सही तरिकाले अपनाएको देखिँदैन । यी सबै जोखिमका कारक हुन् । यसले समस्या निम्तिन सक्छ । निक्कै चुनौती थपिएको छ ।

कोरोना विरुद्घको खोप लगाएकाहरु कत्तिको जोखिममा छन् ?

खोप लगाएपनि ऊ संक्रमित हुनसक्छ र अरुलाई पनि संक्रमण सार्न सक्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । अर्को मुख्य कुरा के हो भने हाम्रो देशमा धेरै मान्छेले खोप लगाउन बाँकी छन् । र, खोप लगाउने बित्तिकै एन्टीबडी बन्छ भन्ने पनि छैन । अर्को कुरा हामीले खोप लगाएको ६/७ महिना पार गर्दै गर्दा एन्टीबडीको स्तर पनि खस्किँदै गएको हुनसक्छ ।

ओमिक्रोन नआएपनि खोप लगाएकाहरुले पनि विशेष ध्यान किन दिनुपर्छ भने धेरैले खोप लगाउन बाँकी छ । खोप लगाउने बित्तिकै शतप्रतिशत शरीरमा एन्टीबडी बन्छ भन्ने पिन छैन । हामीले लगाएका खोपहरुको अवधि बढ्दै जाँदा एन्टीबडी कम हुँदै जान्छ भन्ने कुरा पछिल्ला अनुसन्धानले देखाइरहेको छ । त्यसैले खोप लगाएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनुपर्छ ।

अर्को कुरा खोप लगाएको व्यक्तिले नलगाएकालाई सार्न सक्ने सम्भावना रह्यो । खोप लगाउँदा लगाउँदै पनि एन्टीबडी नबन्ने समूहमा पर्न पनि सक्छ । त्यसैको आधारमा अमेरिकामा बुस्टर डोजको पनि शुरुवात भइसकेको छ । बेवास्ता गर्ने अवस्था छैन ।

खोपले कामै नगर्ने भन्ने पनि होइन । डेल्टा भेरियन्ट आउँदा पनि खोपले काम गर्दैन कि भन्ने आंशका गरिएको थियो, तर म स्वयं इमरजेन्सीमा बसेर आएका बिरामीहरुको अवस्था बुझ्दा खोप नलगाएकाहरु भर्ना भएका थिए । त्यसको मतलब खोप लगाएकाहरुलाई जटिल अवस्था आएको भेटिएन ।

नियमित स्वास्थ्य सुरक्षा मापदण्ड बाहेक अरु के सर्तकता अपनाउन सकिन्छ ?

सबै कुरा भन्दै आएका छौं । जब जब नयाँ भेरियन्ट आउँछ तब अपनाउने स्वास्थ्य सुरक्षाका उपायहरु केही फरक हुँदैनन् । खाली यसले खोपलाई छल्ने क्षमता विकास गर्‍यो कि गरेन, अरु संक्रामक भयो भयो कि भन्ने चासो हुन्छ । हामीले बुझ्ने, जाँच्ने कुराहरु भयो । तर बच्ने उपाय त एउटै हो । त्यसमा फरक पर्दैन ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?