+
+
अन्तर्वार्ता :

करिश्मा भन्छिन्- घोकन्ते शिक्षा प्रणालीलाई सुधार्न जरुरी छ

सुशील नेपाल सुशील नेपाल
२०७८ मंसिर २० गते १८:४६

२० मंसिर, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले भर्खरै कक्षा १२ उत्तीर्ण गरिन्, यो नौलो कुरा भएन । यद्यपि एक अभिनेत्री जो करिअरको करिब उत्तरार्द्धमा छिन्, उनले किन कापी–किताब च्यापेर विद्यालय जाने निर्णय गरिन् ? यो उमेरमा उनलाई ‘पढ्नुपर्छ’ भन्ने बोध किन भयो ?

किशोर उमेरमै उनी सिनेमा क्षेत्रमा लागिन्, जसले गर्दा पढाइ छुट्यो । रसरंगको दुनियाँमै उनले जीवनको लामो समय गुजारिन् । सिनेमा निर्माण गरिन् । अपेक्षाकृत सफल भइदिएन । त्यसपछि विरत्तिएर अमेरिका गइन् । अमेरिकामा केही वर्ष बसेर नेपाल फर्किन् र फेरि सिनेमा निर्माणमा लागिन् । तर, त्यसमा पनि उनलाई ठेस लाग्यो । अनि राजनीतिमा लागिन् । त्यहाँ पनि पनि उनलाई सोचेजस्तो फलिफाप भएन ।

आखिरमा उनले लेखपढ गर्ने निर्णय लिइन् । विद्यालय भर्ना भइन् ।

कक्षा ७ मा भर्ना भएर पुनः औपचारिक कक्षा शुरु गरेकी उनले अहिले १२ कक्षा पास गरिन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘ग्राजुएसन त गर्छु–गर्छु । मास्टर्स पनि गर्ने सोचेकी छु ।’ प्रस्तुत छ, उनै अभिनेत्री करिश्मासँग अनलाइनखबरले गरेको शिक्षाकेन्द्रित कुराकानीको सम्पादित अंश :

जीवनको यो चरणमा आइपुगेपछि ‘पढ्नुपर्छ’ भन्ने कुरा किन बोध भयो ?

मलाई सबैकुरा पुगेकै छ । करिअरमा म राम्रै थिए । अहिले पनि सक्दो गरिरहेको छु । मेरो घरपरिवारमा सबै कुरा ठीक छ । मलाई पढ्नैपर्छ भन्ने जरुरी थिएन । खासमा मलाई राजनीतिमा लागिसकेपछि पढ्ने अठोट अझै बढेको हो ।

पढ्नुपर्छ भन्ने त जहिले पनि लाग्थ्यो । तर, जीवन जिउने क्रममा सानै उमेरमा मैले काम गर्नुपर्ने आवश्यकता थियो । ममी सिंगल, बुवा नहुनुभएको कारणले मैले कामलाई पहिलो प्राथमिकता दिनुपर्‍यो ।

म फेरि कस्तो प्रोफेसनमा पसें भने औपचारिक शिक्षालाई निरन्तरता दिन नसक्ने खालको । तर, चलचित्रमा करिअर शुरु गरेदेखि नै पढाइ छुटेकोमा सधैं पछुतो लागिरह्यो । त्यो समयमा आफ्नो मानसिकता पनि त्यस्तै थियो । कि, पब्लिक फिगर भइसकेपछि स्कुल जानु हुँदैन भन्ने लाग्थ्यो । बाहिर कतै जाँदा पनि पब्लिक फिगरले ‘मेन्टेन’ गर्नुपर्छ भन्ने मानसिकता थियो ।

छुटेको पढाइलाई लिएर सधैं पछुतो लाग्थ्यो । कहिलेसम्म पछुताउने होला भन्ने लाग्थ्यो । तर, पाँच वर्ष अगाडि आएर औपचारिक पढाइ शुरु गर्न आँट आयो । हुनसक्छ, मेरो आफ्नै व्यक्तित्व पनि अलिकति विकास हुँदै गएर होला ।

कक्षा १२ को परीक्षामा सहभागी हुने क्रममा करिश्मा

पढाइ शुरु गर्नका लागि ठ्याक्कै के कुराले आँट दियो ?

धेरै कुरा हेरियो, सुनियो । अहिले त इन्टरनेटको माध्यमबाट विश्व हेर्न सकिन्छ । विश्वबारे बुझ्न सकिन्छ । विभिन्न विचार हेर्न, सुन्न सकिएको छ । त्यसपछि के लाग्यो भने, ओहो ! आँट नगरी त हुँदैन रहेछ । यदि मेरो मनमा गुम्सिएर रहेको कुरा छ भने यसलाई किन पूरा नगरुँ ।

पढाइलाई लिएर जहिले पनि म आफूलाई कमी अर्थात् पछाडि महसुस गरिरहेको थिएँ । त्यतिबेला यसलाई पूरा गर्नुपर्छ भन्ने लाग्यो । जीवनप्रतिको दृष्टिकोण पनि धेरै बदलिएर गइसकेको थियो । जति धेरै उमेर बढ्दै गयो जीवनको महत्व बुझ्दै गइँदो रहेछ, अझ धेरै केही गरौं भन्ने हुँदोरहेछ । त्यसरी पढाइ शुरु गर्ने आँट गरें ।

विगतमा पढ्न नसकेकोमा/नपाएकोमा धेरै पछुतोमा हुनुहुँदोरहेछ है ?

पछुतो लागिरहन्थ्यो । मैले चलचित्रमा काम गर्दा सपनामा मलाई धेरै पछिसम्म पनि स्कुले केटीले छाडेन । जहिले पनि स्कुल जान थालेको, स्कुलको बेञ्चमा बसिरहेको सपना देख्थें । आफू ठूलो भइसक्दा पनि सपनामा आफूलाई स्कुलकै ड्रेसमा देख्ने । अहिले मैले स्कुल सके, त्यो सपना देख्न छाडें । त्यो कुरा मेरो दिमागमा कतै न कतै ‘होल्ड’ भएर बसेको रहेछ नि त । मैले चलचित्रमा व्यस्त हुँदा धेरै पछिसम्म पनि स्कुल नगएको, स्कुल छाडेकोमा धेरै पछुतो भइरहन्थ्यो ।

मनमा गुम्सिएको कुरा साथीसंगीलाई शेयर पनि गर्नुहुन्थ्यो होला नि ?

स्कुले विद्यार्थी भएको समयलाई सम्झनुस् त, एकदिन स्कुल छुट्यो भने भोलिपल्ट जान कस्तो लाज लाग्थ्यो । पछुतो भए खालको अनूभूति हुन्थ्यो । म त यतिका वर्षपछि पुनः पढ्दा त्यो अनूभूति हुनु स्वाभाविक थियो । पढ्न मन लागेपछि मैले कतिजनालाई सोध्थें, उमेर धेरै भएकाले पढ्ने स्कुल छैन भनेर ? सातदोबाटोमा प्रेरणा स्कुल भएको जानकारी पाएँ । मैले चलचित्र क्षेत्र शुरु गर्दा ७ कक्षाको पनि परीक्षा दिएको रहेनछु । ८ कक्षामा भर्ना हुन ७ कक्षाको सर्टिफिकेट चाहिने । त्यसपछि केही समय त्यो विचार यत्तिकै छाडिदिएँ ।

नृत्य निर्देशक गोविन्द राई र म नजिकका साथी हौं । धेरैलाई म आफ्नो मनको कुरा भन्दिन, तर ऊसँग मैले कसो–कसो पढ्न नपाएको दुःखेसो पोखेछु ।

नपढेकोमा मनमा एकदमै पछुतो छ, कसरी पढन सकिन्छ होला ? मेरो मनमा जहिले पनि यो कुरामा पछुतो रहिरहने भयो भनेर उसलाई सुनाएँ । उनले मलाई हौसला दिए । उनले हौसला मात्र होइन, पढ्ने मन नै हो भने म मिलाउँछु भने ।

उसको एक जना साथी हुनुहुन्थ्यो, उहाँसँग मेरो पनि भेटघाट भइरहन्थ्यो । तर, मैले उहाँले मलाई विद्यार्थीका रुपमा आफ्नो स्कुलमा लिनुहुन्छ सोचेकै थिइन । उहाँसँग मिटिङ गर्‍यौं । उहाँले त्यो भन्दा पहिले ठूलो उमेरको एक जना ड्राइभरलाई पनि पढाउनुभएको रहेछ ।

कक्षा ७ मा मैतिदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएँ । मैले आफूलाई प्रमाणित गर्नुपर्ने थियो । ७ कक्षामा म ४ बजेपछि जाने र अरु विद्यार्थीको पढाइ सकिएपछि पढ्ने गर्थें । गोदावरीदेखि ड्राइभ गरेर चार महिनासम्म निरन्तर खटिएर ७ कक्षाको परीक्षा दिएँ ।

त्रिवेणी बोर्डिङ स्कुल हो । मैले बोर्डिङमा पढनुको कारण अंग्रेजी सुधार्नु थियो । मलाई सर्टिफिकेट भन्दा पनि साँच्चिकै बेसदेखि सिक्नु थियो ।

पहिले पहिले सरकारी स्कुलमा कक्षा ४ देखि मात्र ए, बी, सी, डी पढाउँथ्यो । म अंगेजी केही बोलेपनि लेख्न कमजोर थिएँ । मैले ७ कक्षामा ‘रिभाइज’ गर्दा ४ कक्षाको ग्रामरदेखि अन्य किताबहरु पढेकी थिएँ ।

निक्कै हिम्मतले, मेहनतले र लगावले पढ्नुभयो । एकपछि अर्को कक्षा उत्तीर्ण पनि हुँदै जानुभयो । एसईई गर्नुअघि र १२ कक्षा उत्तीर्ण गरिसकेपछि तपाईंले आफूमा के–के परिवर्तन पाउनुभयो ?

अहिले म अझै धेरै बुझ्ने भएको छु जस्तो लाग्छ । पहिले म अरुले के सोच्छ भन्ने कुरालाई खासै ध्यान दिन्नथें । म आफू जे गर्नु छ, त्यसलाई मात्र महत्व दिन्थें । अहिले म सबैको अनुहारमा हेरेर उहाँँहरुको परिस्थिति, उहाँहरुले भन्न खाजेको कुरालाई मनन गर्न सक्छु, बुझ्न सक्छु जस्तो लाग्छ । त्यो म आफूमा आएको परिवर्तन भएजस्तो लाग्छ । कतिपय भाषा, शब्दहरुको ममा कमी थियो । त्यो सबै कमी सकियो त नभनौं केही हदसम्म त्यो पनि सहज महसुस गर्न थालेको छु ।

यहाँसम्म आइपुग्दा तपाईंले के बुझ्नुभयो, मान्छेको जीवनमा शिक्षा कति अपरिहार्य रहेछ त ?

एकदमै छ । मलाई सबैकुरा पुगेकै छ । करिअरमा म राम्रै थिए । अहिले पनि सक्दो गरिरहेको छु । मेरो घरपरिवारमा सबै कुरा ठीक छ । मलाई पढ्नैपर्छ भन्ने जरुरी थिएन । खासमा मलाई राजनीतिमा लागिसकेपछि पढ्ने अठोट अझै बढेको हो ।

महिलाहरु शिक्षामा पछाडि परिरहेका छन् । धेरै कुरामा सचेतना छैन । विभिन्न एनजीओ, आईएनजीओले छाउपडी भन्छन्– काम गर्छन्, बालविवाह भन्छन्– काम गर्छन् । यो भन्छन्, त्यो भन्छन्, काम गर्छन् । तर, अवस्था जहाँको तहीं छ । यस्ता कुरा मनमा लागिरहन्थ्यो । त्यो समग्रलाई हटाउने त शिक्षा हो नि होइन र ? शिक्षाको अभावका कारण यस्तो अवस्था उस्तै रहे जस्तो लाग्छ ।

एउटा शिक्षित व्यक्ति हरेक कुरामा सचेत हुन्छ जस्तो लाग्छ । आफ्नो सन्दर्भमा आफू पनि पढ्ने र यसले बाहिरीलाई पनि एउटा बलियो सोसल म्यासेज जान्छ भने किन नगर्ने भनेर पढाइ शुरु गरें ।

हाम्रो शिक्षा प्रणाली, परीक्षा विधि र पाठ्यक्रम कस्तो लाग्छ ? अधिकांश शिक्षाविद्ले त यी सबै आफैंमा फेलर छन् भन्छन् नि ?

पाठयक्रम पुरानो छ । यो मेरो आफ्नो धारणा हुन सक्छ । अहिले सरकारले पाठयक्रम परिमार्जन पनि गरिरहेको छ रे । तर, एकदमै पुरानो शैलीको भयो । कुनै–कुनै किताबमा, पाठमा त ‘कन्भिन्स’ नै हुँदिनथें ।

अहिले त कतिपय पाठयक्रम परिवर्तन भएको पनि छ तर धेरै पुरानो छ । नेपाली साहित्य पुरानो पढ्नुपर्‍यो । इतिहास त इतिहास हो, त्यो त पढ्नु परिहाल्यो । बाँकी कतिपय पाठ्यपुस्तक परिस्थितिअनुसार अपडेट हुनुपर्छ जस्तो लाग्छ । पाठ्यपुस्तकमा अझै नयाँ कुराहरु समावेश गर्न सकिन्छ र गर्नुपर्छ जस्तो लाग्छ ।

जीवनमा ज्ञान, सीप, दक्षता आर्जन गर्नका लागि अरु थुप्रै माध्यम र साधन पनि छन् । विद्यालय नै धाउनुपर्छ, पाठ्यपुस्तक नै पढ्नुपर्छ भन्ने कुरामा तपाईं कसरी ‘कन्भिन्स’ हुनुभयो ?

जे पनि ‘ग्राजुएल्ली’ (क्रमिक रुपमा) हुनुपर्छ । जस्तो एउटा जगदेखि मेहनत गरेको घर बलियो हुन्छ । होला, इन्टरनेटमा पनि क्लास हुन्छन्, अंगे्रजी सिक्ने एप्सहरु पनि होला । नेपालीको ग्रामर पनि उपलब्ध होला । विभिन्न विषयका किताबहरु जति भएपनि इन्टरनेटमा उपलब्ध होलान् । प्रोजेक्ट वर्कहरु पनि हामी इन्टरनेटमा हेरेर गर्न सक्छौं ।

तर, तपाईं स्कुलमा गएपछि एउटा अनुशासन हुन्छ । तपाईंले ग्राजुएल्ली (क्रमिक रुपमा) पढ्नुहुन्छ । अनि सर्टिफिकेट पनि जरुरी छ ।

किनभने महिला आयोगमै तपाईं कुनै एउटा पद पाउन चाहनुहुन्छ भने तपाईंलाई ग्राजुएसन भएको सर्टिफिकेट चाहिन्छ । पर नजाउँ, चलचित्र विकास बोर्डमै कलाकार जान क्राइट एरिया छ नि त । उसको अन्य अनुभव भएपनि सर्टिफिकेट पनि अनिवार्य छ । मैले भन्न खोजेको अन्य उपलब्धि जस्तो भएपनि औपचारिक शिक्षाको सर्टिफिकेट पनि चाहिन्छ नि ।

यहाँ चाहिं घोकाइ नै बढी छ । यसलाई अलि परिमार्जित गर्नुपर्छ जस्तो लाग्छ । बच्चाहरुलाई प्रेसर नहुने किसिमको शिक्षा विकास गर्नुपर्छ होला । पढाउने तरिका, समग्र स्कुलिङ अलि फरक हुनुपर्छ ।

महात्मा गान्धीले भनेका छन्, ‘पढेको कुरा व्यावहारिक जीवनमा उतारिँदैन भने पढ्नु व्यर्थ छ ।’ तपाईंले आफूले पढेका कुरालाई व्यावहारिक जीवनमा कति उपयोग गर्नुभएको छ ?

उहाँले भन्नुभएको कुरा वास्तवमा मैले पनि भन्ने गरेको छु । मलाई महात्मा गान्धीजीले भन्नुभएको भन्ने थाहा थिएन तर म पनि यही कुरा भनिरहेकी हुन्थें । म भाइबहिनीहरुसँगै बसेर पढ्दा भन्ने गरेकी थिएँ, पास हुन मात्र पढ्ने होइन यसलाई ग्रहण गरौं, व्यवहारमा लागू गरौं ।

१२ कक्षासम्मको पाठयक्रममा त समाज, सम्बन्ध, स्वास्थ्य, खानपान, परिवार नियोजनका साधन जस्ता जनरल ज्ञानहरु छन् । जुन सामान्य जीवन बिताउँदा चाहिने कुराहरु हुन नि । तर, मेरो सन्दर्भमा कस्तो भइदियो भने व्यवहारमा सबै पहिले गरिसके, अनि पछि पढें ।

हाम्रो शिक्षा प्रणाली कति जीवनोपयोगी पाउनुभयो ?

प्रयोगात्मक अलि छैन । जस्तो अमेरिकामा पनि म केही वर्ष बसें । छोरी कविताले त्यहाँ स्कुलिङ गर्दाखेरि त्यहाँ पास गर्नका लागि केटाकेटीलाई धेरै प्रेसर हुँदोरहेनछ । यहाँ जसरी पढाइन्छ, त्यहाँ फरक रहेछ । त्यहाँ प्रयोगात्मक धेरै रहेछ । त्यहाँ सक्षम, निडर, कुरा गर्न सक्ने खालको शिक्षा दिइँदोरहेछ ।

यहाँ चाहिं घोकाइ नै बढी छ । यसलाई अलि परिमार्जित गर्नुपर्छ जस्तो लाग्छ । बच्चाहरुलाई प्रेसर नहुने किसिमको शिक्षा विकास गर्नुपर्छ होला । पढाउने तरिका, समग्र स्कुलिङ अलि फरक हुनुपर्छ ।

अब कुन तहसम्म पढाइ जारी राख्नुहुन्छ ? कुन विषयमा विज्ञता हासिल गर्न चाहनुहुन्छ ?

पढाइलाई निरन्तरता दिन्छु । ग्राजुएसन त गर्छु गर्छु । त्यो मेरो लक्ष्य नै हो । त्यसपछि पनि केही राम्रो विषय लिएर मास्टर्स पनि गर्ने सोच छ । हामीले जागिर खाने त होइन तर सोसाइटीलाई काम लाग्ने केही पढ्छु । स्नातक मानबिकी नै लिएर पढ्ने सोचेकी छु । किनभने यहाँ कलेज नजिक छ । मेरो समय बचत हुन्छ । बिहान मेरो कलेज सबै सकिसकेको हुन्छ । दिउँसो फ्री हुन्छु ।

अस्ति पाटनढोकास्थित एक कलेजको शिक्षकले फोन गर्नुभएको थियो । मैले ग्रामीण विकास पढ्ने सोचेको थिएँ, उहाँले समाचार देखेर फोन गर्नुभएको थियो । उहाँले आएर कलेज भिजिट गर्नुस् भन्नुभएको छ । बाटो ठीक भए पाटन टाढा त होइन, त्यो पनि सोच्दैछु । यहाँ म अरु विषय पनि के–के छ बुझ्छु र त्यसपछि के पढ्ने निर्णय लिन्छु ।

सोसल साइन्स (सामाजिक शिक्षा)मा म राम्रो हो । १२ मा पनि यसमा मेरो ‘ए प्लस’ आएको हो । आफ्नै मुलुकको विषयमा बढी पढ्न चासो छ मलाई । ग्रामीण विकास पढ्ने इच्छा राख्नुको कारण पनि यही हो ।

हामीकहाँ ‘पढ्नु भनेको जागिर खानु हो’ भन्ने बुझाइ छ । पढेर उत्तीर्ण हुनेहरु लोकसेवा आयोगको परीक्षाका लागि धाइरहेका हुन्छन् । नपढ्नेहरुले देश चलाउँछन् । वास्तवमा कहाँ तालमेल मिलेको छैन जस्तो लाग्छ ?

राजनीतिमा धेरै कुरा हुँदोरहेछ  । राजनीतिमा त्यो पथसम्म पुग्न गरिने राजनीति अर्कै खालको राजनीति हुँदोरहेछ । साम, दाम, दण्ड, भेद सबै सिसिमको हुँदोरहेछ । म राजनीतिमा पनि बसेर हेरें । जब पोजिसनमा पुगिन्छ पोजिसनले फेरि भिजन माग्छ, विज्ञता माग्छ । एउटा नपढेको नेता त्यो पोजिसनमा पुग्नु हुन्न भन्न खोजेको होइन, पढेलेखेकै हुनुपर्छ भनेको पनि होइन । तर त्यो नेताले विज्ञहरुलाई हायर गर्न सक्नुपर्‍यो । विज्ञता भएको मानिसलाई सम्बन्धित काम दिनुपर्छ जस्तो लाग्छ । नेताले आफैं गर्न खोजेर चाहिं हुँदैन ।

किनकि नेतासँग विज्ञता नहुन सक्छ । ऊ त नेता, अगुवा पो हो त । उसले लिडरसिप गर्‍यो, जित्यो पोजिसनमा पुग्यो । तर सही निर्णय गर्न सक्ने क्षमता र विज्ञहरुलाई हायर गरेर काम भटाभट गराउन सक्ने खालको हुनुपर्‍यो ।

पढनु–नपढनु आफ्नो ठाउँमा छ । त्यस्तो नेताहरु हाम्रो नेपालमा हुनुहुन्छ । नाम लिनु पर्दा केपी शर्मा ओलीलाई लिन्छु । उहाँलाई अरुले के–के भन्नुभएको हुन्छ । तर, मलाई त उहाँले हरेक विषयमा विज्ञता हासिल गरेकोजस्तो लाग्छ । उहाँलाई सबै विषयमा ज्ञान छ ।

राजनीतिमा योग्यता आवश्यक होइन ?

लिडरसिप नै योग्यता हो । निर्णय लिने क्षमता हुनुपर्‍यो । विज्ञहरु हायर गर्नसक्ने क्षमता हुनुपर्‍यो । पढेलेखेका व्यक्तिहरुको क्षमतालाई चिन्न सक्ने हुनुपर्‍यो ।

हाम्रो राजनीति कस्तो भइदियो भने समानुपातिक, समावेशी सबैलाई समेट्ने कारणले पढेलेखेको पनि हुनुहुन्छ, नपढेको पनि हुनुहुन्छ । हामी समानताको कुरा गरिरहेका छौं । समान अवसरको कुरा गरिरहेका छौं नि त ।

शैक्षिक योग्यता आवश्यक चाहिं हुन्छ । बुझेर राजनीति गर्नु र नबुझेर गर्नुमा फरक त हुन्छ ।

करिश्मा मानन्धर भन्नेबित्तिकै राजनीति पनि जोडिहाल्छ । केही समय सक्रिय रुपमै राजनीतिमा लाग्नुभयो, अहिले अलि सुस्ताउनु भएको देखिन्छ । अब राजनीतिक यात्रालाई कसरी अगाडि बढाउने त ?

मेरो इच्छा छ । तर, राजनीति सजिलो छैन । राजनीतिमा आउन छुट्टै व्यक्तित्व निर्माण गर्नुपर्छ । एक त फेरि स्थान पनि पाउनुपर्‍यो । हेरौं के हुन्छ भविष्यमा । तर मेरो चासोको विषय चाहिं हो । अहिले चाहिं म पढाइमै ‘इन्जोय’ गरिरहेकी छु ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?