+
+

जनगायक जीवन शर्माको भाइरल तस्वीर : के थियो वास्तविकता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १८:५४

२० मंसिर, काठमाडौं । ‘चर्चित जनवादी गायक जीवन शर्मा यसरी नाङ्लो पसल खोलेर आफ्नो जीविका चलाउँछन् । मेरो सादर सलाम छ !’

अघिल्तिर हरिया मकैको घोगा छ । केही खोसलिएको र केही सग्लो । छेवैको नाङ्लोमा झोलाभरि डल्ले खुर्सानी छ । अनि थोरै कागती पनि । बन्द सटर अघिल्तिर कुनै बाटो किनारमा टुसुक्क बसेका छन्, एक वयस्क । सेतै कपाल फुलेका, खैरो टिसर्ट र कालो पाइन्ट लगाएका उनले अनुहारमा मास्क लगाएका छन् । तैपनि चिनिन्छ, उनी जनवादी गायक जीवन शर्मा हुन् भनेर ।

वर्गाकार फ्रेमको यही तस्वीर पोस्ट गर्दै पूर्व सचिव भीम उपाध्ययले आफ्नो फेसबुकमा यी गायकप्रति सहानुभूति पोखेका हुन् । जीवन शर्मा उनै गायक हुन्, जसले किसान, मजदूर र निमुखाको पक्षमा क्रान्तिका गीत गाइरहे । निरंकुश शासनसत्ता विरुद्धमा उनले गीतमार्फत गरिब–दुःखीको आवाज उठाए । व्यवस्था परिवर्तनका लागि खबरदारी गरिरहे । पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो, गणतन्त्र आयो । तर, मुलुकको दशा फेरिएन । उनको पनि ।

यतिबेला उनको आवाज मत्थर भएको छ । आज उनको आवाजमा हिजोको त्यो जोश र उर्जा छैन । आज पनि उनी त्यसरी नै डेढ वित्ताको पेट भर्ने लडाइँमा छन्, जो वर्षौंअघि थियो ।

यस्तै पृष्टभूमिमा यी सादगी गायकको तस्वीरसँगै राखिएको क्याप्सनले सामाजिक सञ्जालमा ठूलै हल्लिखल्ली मच्चायो । भीम उपाध्यायले सार्वजनिक गरेको उनको तस्वीर र क्याप्सन पढेर धेरैले उनकै समवयी नेताहरुलाई धिक्कारे । उधुम गाली गरे ।

उपाध्यायकै फेसबुकमा एक जनाले टिप्पणी गरेका छन्, ‘दलहरुले नेपाल राष्ट्रलाई बर्बाद पारेको पुष्टि हुन्छ । जनवादी गीत गाउँदै कम्युनिष्टहरुलाई सत्तामा लान ठूलो भूमिका निभाएका जनवादी गायक कलाकारको आर्थिक अवस्था राम्रो नहुनु दुःखको कुरा हो । सबैको हालत यस्तै भएको छ दलका नेताहरु र तिनका राजनीतिक कार्यकर्ताहरु मात्रै मस्तीमा छन् ।’ अर्का व्यक्तिको टिप्पणी यस्तो छ, ‘सच्चा योद्धाले आफ्नो इमान बेच्दैन, रोजीरोटीको लागि भिख माग्दैन, आफ्नो परिश्रम निरन्तर गर्नुहोस् । भौतिक सुख शायद कम होला तर जीवनको अन्तिम घडीमा आत्मसन्तुष्टि हुन्छ जुन प्रत्येक मानवको सुखको बाटो हो ।’

फेसबुकमा एकाएक भाइरल बनेको यो पोस्ट वास्तवमा फर्जी रहेछ । गायक जीवन शर्माले आफ्नो नाङ्लो पसल नभएको अनलाइनखबरलाई बताए । त्यो पसल एक महिलाको रहेछ, मैतीदेवीको सडक किनारको । ‘म यसै घुम्दै त्यहाँ पुगेको थिएँ,’ शर्माले भने, ‘खुर्सानी देखेर त्यही किनें ।’ ८० रुपैयाँको खुर्सानी किनेपछि पसले महिलासँग साट्ने पैसा भएन । उनी पैसा साट्न गइन् । ‘त्यही बेला म पसलमा बसेर ‘ल ल खुर्सानी, मकै के के चाहिन्छ किन्नुहोस् भन्दै यसो सघाउन बसें ।’ संयोगबस कसैले उनको फोटो खिचिदिए ।

यो दुई महिना अघिको कुरा हो ।

अहिले भने पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा उक्त फोटो पोस्ट गरे । फोटो मात्र पोस्ट गरेनन्, गायक जीवन शर्मा यसरी नाङ्लो पसल गरेर दुःखसाथ गुजारा गरिरहेका छन् भनी सहानुभूति पोखे । अन्ततः सामाजिक सञ्जालमा यसले व्यापकता पायो ।

‘मलाई त थाहै भएन पूरै हल्ला भएछ है,’ अनलाइनखबरसँग उनी भन्दै थिए, ‘धेरैले फोन गरिरहेका छन् । सबैले राम्रै भनेका छन नि ?’

नाङ्लो पसल नगरेपनि आफ्नो जीवनस्तर पहिले जस्तै रहेको उनले बताए । ‘मेरो मात्र होइन, किसान मजदूरको जीवनस्तर जस्ताको तस्तै छ । गरिब-दुःखीको आकांक्षा, सपना अझै पूरा भएन,’ उनले सुनाए, ‘राजनीतिक परिवर्तन त भए, तर संस्कार परिवर्तन नहुँदा यस्तो भएको होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?