+
+

नेपालमा विदेशी फिल्मको छायांकन : ‘उचाइ’ टिमले गर्‍यो २० करोड खर्च 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १४:०१

२१ मंसिर, काठमाडौं । हिन्दी चलचित्र ‘उचाइ’को छायांकनका क्रममा बलिउडका चर्चित कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायत ४५ दिनसम्म नेपालमा रहे ।

यो चलचित्रको छायांकनका लागि कलाकारहरुले नेपाल बसुन्जेल हेलिकप्टरको प्रयोग गरे । मुस्ताङ, मनाङ लगायतका स्थानमा यो चलचित्रको छायांकन गर्दा ‘उचाइ’का निर्माताले नेपालमा २० करोड रुपैयाँ खर्च गरेको नेपालको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको थ्री ह्विलर्स कम्पनीका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

सुरजले भने, ‘हामीले लुक्लामा १२ वटा होटल, नाम्चेमा ११ वटा, मनाङमा ९ वटा होटल बुक गरेका थियौं । बलिउडका कलाकारहरु सबै महंगो होटलमा बस्छन् । उनीहरुलाई खाना पनि निक्कै राम्रो चाहिन्छ । त्यसैले चलचित्र छायांकनको अवधिभर हेलिकप्टर कम्पनीहरुलाई भ्याइनभ्याइ भयो । होटल सञ्चालक, गाडीका मालिक सबैलाई राम्रो आम्दानी भयो ।’

‘उचाइ’को छायांकन सकिएको केही दिन नबित्दै वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतीय कलाकारहरु विजय सेतुपति, केके मेनन लगायतको टिम नेपाल आएको छ । यो सिरिजको हाल वसन्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन भइरहेको छ । सुरजका अनुसार ‘फेक’को टिम चार दिन नेपाल बस्दा करिब २ करोड खर्च हुनेछ । भारतबाट सिरिज खिच्न आएका सबै कलाकार सोल्टी होटलमा बसेका छन् ।

यसैगरी पोखरामा पनि एक भारतीय सिरियलको छायांकन भइरहेको छ । त्यसका लागि चर्चित कलाकार गुर्मित सिंह लगायतको टिम पोखरामा छ ।

यसरी हेर्दा लकडाउनपछि नेपाल भारतीय चलचित्र, सिरियल र वेब सिरिज खिच्नका लागि राम्रो गन्तव्य बन्न थालेको देखिन्छ । जसले नेपालको पर्यटनको विकासका लागि यथेष्ट टेवा मात्र पुगेको छैन, कोरोनाका कारण खुम्चिएका विभिन्न व्यवसायहरुलाई पनि फाइदा मिल्न थालेको छ । नेपालका प्राविधिकहरुले पनि राम्रो काम पाइरहेका छन् ।

थ्री ह्विलर्सका प्रमुख सुरज आचार्यले विदेशी चलचित्र वा सिरिज खिच्नका लागि सूचना तथा सञ्चार मन्त्रालयलाई १५ हजार रुपैयाँ तिरेर अनुमति लिनुपर्ने बताए । उनी भन्छन्, ‘छायांकनका लागि नेपाल आइसकेपछि त यहाँ बस्दा, हिँड्दा खर्च भइहाल्छ । सरकारलाई राजश्वदेखि प्राविधिकहरुको पारिश्रमिकमा खर्च हुनु स्वभाविक नै हो ।’

सरकारले विभिन्न विषयमा ध्यान दिएको खण्डमा विदेशी मेकरहरु नेपालमा छायांकन गर्नका लागि अझै आकर्षित हुने सुरज बताउँछन् । ‘हाम्रो देशका सबै स्थानमा सुविधाजनक सडक छैनन् । आकर्षक लोकेसनमा जानका लागि सडकबाट निक्कै गाह्रो छ । अर्कोतिर हाम्रो कम्पनीले सरकारलाई सबै रकमको हिसाब बुझाउनुपर्छ,’ उनले भने, तर, लुक्लामा गएर भरियालाई सामान बोकाएको, साना–साना खर्चहरुको बिल कहाँबाट ल्याउने ?’

विदेशी चलचित्रकर्मीलाई नेपालमा आकर्षित गर्न सरकारले केही सुविधा दिनुपर्ने सुरजको धारणा छ । ‘यहाँ छायांकन गर्न आउने मेकरहरु निक्कै खुशी भएर गएका छन् । उनीहरुलाई नेपालमा योग्य प्राविधिक नै छैनन् भन्ने भ्रम छ । यो भ्रमलाई चिर्न आवश्यक छ, उनले भने, ‘अर्कोतिर, सरकारले पनि उनीहरुले तिरेको करको रकम मात्र फिर्ता दिने योजना बनायो भने पनि उनीहरु खुशी भएर यहाँ आउँछन् । अहिले  सिक्किम सरकारले चलचित्र छायांकन गर्दा एक करोड भारु सहयोग गर्ने बताएको छ । नेपाल सरकारले पनि विदेशी मेकरलाई आकर्षित गर्न यस्ता केही योजना ल्याउन आवश्यक छ ।’

विदेशी चलचित्र छायांकनको व्यवस्थापन नेपाली चलचित्रकर्मी मात्र गर्न पाउने सरकारले व्यवस्था गरे राम्रो हुने सुरजको सुझाव छ । उनले भने, ‘यहाँ त चलचित्र छायांकनको जिम्मा ट्राभल एजेन्सीहरुले लिन्छन् । अनि, विदेशी मेकरलाई नेपालमा योग्य प्राविधिक छैनन्, लाइन प्रोड्युसर छैनन् भन्ने छाप परेको छ ।’

चलचित्र विकास बोर्डको समन्वयमा विदेशी चलचित्रको छायांकनको जिम्मा नेपालमा नेपाली चलचित्रकर्मीले मात्र पाउने हो भने मेकरलाई राम्रो छाप पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?