+
+

राजनबाबु भन्छन्- नाडामा सक्षम नेतृत्वका लागि हाम्रो टिम बलियो छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १४:४६

२१ मंसिर, काठमाडौं । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ नाडा अटोमोबिल्स एसोसियसनमा आगामी कार्यकालका लागि कार्यसमिति समदस्य पदका उम्मेदवार छन् । बुधबार र बिहीबार हुने नाडाको ४५औं साधारणसभामा उनी करण चौधरी अध्यक्षतामा घोषणा भएको प्यानलबाट चुनावी माहोलमा होमिएका छन् । चौधरीसँग ध्रुव थापाको प्यानल पनि प्रतिस्पर्धामा छ ।

श्रेष्ठ अझै पनि चुनावमा जानुभन्दा सहमतिमै नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । तर, सहमति सम्भव नभए प्रजातान्त्रिक प्रक्रियामा जानैपर्ने अवस्था रहेकाले आफूहरु त्यसका लागि पनि तयार रहेको उनको भनाइ छ ।

चुनवी अभियान पनि चलिरहेको भन्दै सकेसम्म भौतिक र नसके डिजिटल प्रविधिको प्रयोगमार्फत आफ्नो टिम देशब्यापी प्रचारमा जुटेको श्रेष्ठले बताउँछन् ।

करण चौधरीसँगै नाडामा चार वर्ष काम गरेकाले उनको कार्यशैली र नेतृत्वदायी क्षमताका कारण चौधरीको प्यानलमा बस्ने निर्णयमा गरेको श्रेष्ठले बताए । नाडा विस्तार भएर निकै ठूलो सञ्जालसहितको संघ बनिसकेकाले यसको नेतृत्व गर्न सक्षम व्यक्ति आवश्यक रहेको उनको मत छ । त्यसमा चौधरी र उनले घोषणा गरेको समूहको विकल्प नभएको श्रेष्ठ दावी गर्छन् ।

उनले व्यक्तिगत लाभभन्दा संस्थागत र समग्र अटो उद्योगकै हित हेर्ने नेतृत्व चयन गर्न मतदाताहरु पनि उत्सुक रहेको बताए । नाडामा अटोका सम्पूर्ण क्षेत्रलाई समेट्नुपर्ने श्रेष्ठको मत छ । त्यसैअनुसार आफूहरुले टिम बनाएको भन्दै उनले प्रदेशलाई थप बिलयो बनाउँदै लैजाने योजना रहेको सुनाए ।

‘नाडाको केन्द्रमात्रै हैन, प्रदेशका संरचनाहरु पनि उत्तिकै बलियो र सक्रिय हुनुपर्छ,’ श्रेष्ठ भन्छन्,’एकता, सहकार्य र समन्वयबाट यो क्षेत्रमा रहेका समस्या हल गर्ने सोचका साथ हाम्रो टिम निर्माण भएको छ ।’

आफूहरुको जित लगभग सुनिश्चित भइसकेको दावी गर्दै उनले सदस्यहरुबाट प्राप्त अभूतपूर्व समर्थनबाट आफूहरु उत्साहित रहेको श्रेष्ठले बताए । सक्षम टिम छान्न नाडाका सदस्यहरु पनि उत्साहित रहेको भन्दै श्रेष्ठले युवादेखि अनुभवी र योगदान गर्न सक्ने टिम भएकाले चौधरीको प्यानल स्वभाविक रुपमै बलियो देखिएको दावी गरे ।

‘सदस्यहरुले आफ्नो विवेक प्रयोग गर्दा योग्य समूह छान्नुहुन्छ, त्यसमा हाम्रो समूह नै अब्बल छ,’ श्रेष्ठ भन्छन् ।

नाडाका अग्रज र पूर्वजदेखि सबै सदस्यहरुको योगदानलाई भुल्न नहुने भन्दै श्रेष्ठले आगामी दिनमा नयाँ थप ऊर्जासहित काम गर्न चौधरीको समूह सक्षम र योग्य रहेकोमा कसैको दुई मत नभएको दावी गरे ।

‘नाडा र अटो क्षेत्रको भविष्यलाई सुन्दर बनाउन हाम्रो टिम सक्षम छ ,’ श्रेष्ठ भन्छन्,’ हामीमाथि प्रकट भएको विश्वास र शुभेच्छालाई हामी भविष्यमा समूहगत ऊर्जामा परिणत गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?