+
+

पृथ्वीको वायुमण्डलमा भेटियो रहस्यमय भ्वाङ, के होला असर ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ६:५६

वैज्ञानिकहरूले हालै पृथ्वीको उत्तरी ध्रुवमाथि रहेको वायुमण्डलमा अनौठो परिघटना पत्ता लगाएका छन् ।

उत्तरी ध्रुवको सतहभन्दा २५९ माइलको उचाइस्थित वायुमण्डलमा सोली आकारको खाली ठाउँ अर्थात् भ्वाङ फेला परेको छ, जुन पृथ्वीको चुम्बकीय क्षेत्रमा खुल्दछ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार दिनमा एकपटक मात्र आकाशमा यस्तो भ्वाङ देखिने गरेको छ ।

उत्तरी ध्रुवमा स्थानीय समय अनुसार मध्याह्न यो प्वाल देखिने गरेको छ । जब सूर्य आफ्नो उच्चतम विन्दुमा हुन्छ, तबमात्र यो भ्वाङ देखा पर्दछ ।

वायुमण्डलमा परेको यो भ्वाङ खासै चिन्ताको विषयमा भने नरहेको वैज्ञानिकहरूले बताएका छन् । उत्तरी ध्रुवको चुम्बकीय क्षेत्रले सूर्यका किरणहरूलाई पृथ्वीसम्म पुग्न रोक्ने हुनाले वायुमण्डलमा भ्वाङ पर्दैमा विकिरणसँग डराउनु नपर्ने उनीहरूको भनाइ छ ।

तथापि यो नयाँ भ्वाङले अन्तरीक्षयान तथा भूउपग्रहहरूलाई भने समस्या पैदा गर्न सक्ने बताइएको छ ।

यस विषयमा अध्ययन गरिरहेका नासाका वैज्ञानिकहरूका अनुसार यो क्षेत्रमा रेडियो तथा जीपीएस सिग्नलमा बाधा उत्पन्न भैरहेको छ । साथै दिउसो भ्वाङ देखिएको बेला यो क्षेत्र भएर उड्ने हवाइजहाजको गति पनि केही कम हुन जान्छ ।

अमेरिकाको युनिभर्सिटी अफ अलास्का फेयरब्यांक्सका प्रमुख अनुसन्धानकर्ता तथा भौतिकशास्त्री मार्क कोन्डरका अनुसार पृथ्वीभन्दा अढाइ सय माइलको उचाइमा उड्ने बेला जब यो ठाउँबाट अन्तरीक्षयानहरू पार हुन्छन् तब उनीहरूले अधिक दबाब महसुस गर्दछन् ।

उत्तरी ध्रुवको वायुमण्डलमा यस्तो प्वाल देखिनुको कारणबारे वैज्ञानिकहरूले अनुसन्धान सुरु गरेका छन् । यद्यपि हालसम्म यसको कारण पत्ता लागिसकेको छैन । आयनमण्डलमा विद्यूत तथा चुम्बकीय प्रभाव नै यो भ्वाङको प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ ।

अन्टार्कटिकाभन्दा ठूलो भयो ओजोनको प्वाल

यसैबीच वायुमण्डलको ओजोन तहमा रहेको प्वालको आकार अन्टार्कटिका महादेश भन्दा पनि ठूलो भएको छ । ओजोन तहको विनाश तीव्र गतिमा बढ्दै जाँदा यो वर्ष ओजोनको प्वालको आकार बढेर अन्टार्कटिकाभन्दा ठूलो भएको हो । पृथ्वीको वायुमण्डलमा अन्टार्कटिका माथिको आकाशमा ओजोन तहमा यो प्वाल परेको छ । यो प्वालको आकार हरेक वर्ष बढिरहेको छ ।

हरेक वर्ष अगष्टदेखि अक्टोबरसम्म वायुमण्डलमा ओजोनको मात्रा कम हुन्छ । सेप्टेम्बरको मध्यदेखि अक्टोबरको मध्य सम्ममा ओजोन तहको प्वाल सबैभन्दा ठूलो हुन्छ

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?