+
+
Shares

पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी र कपिङ च्याम्पियनसिप

गण्डकी प्रदेश कफी उत्पादन र खपतमा देशकै अग्रणी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते ११:३१

१९ असार, पोखरा । नेपाली कफीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा ‘नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कपिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आगामी असार २० गते पोखराको डुम्रीबोटस्थित बोर्डको प्राङ्गणमा कार्यक्रम हुन लागेको हो।

‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रवर्द्धकका रूपमा रहेका छन्। नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी सङ्घको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए।

नेपालमा कफी उत्पादन र खपत दुवैका हिसाबले गण्डकी प्रदेश अग्रणी छ। प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा व्यावसायिक रूपमा कफी उत्पादन हुँदै आएको छ। कास्की, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र पर्वत प्रमुख कफी उत्पादक जिल्ला हुन्।

आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा १,४५१ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भई १५६ मेट्रिक टन ‘ग्रीन बिन’ कफी उत्पादन भएको छ। बागमती प्रदेशपछि सबैभन्दा बढी कफी खपत हुने प्रदेश पनि गण्डकी नै हो। पर्यटकीय सहर पोखरामा मात्रै हाल १,५०० भन्दा बढी कफी पसल (क्याफे) मार्फत नेपाली कफीको ठूलो परिमाणमा खपत भइरहेको छ।

नेपालमा कफी खेतीको विकास र वर्तमान अवस्था

वि.सं. १९९५ मा सन्त हिरा गिरीले बर्माबाट कफीको बीउ ल्याई गुल्मीको आँपचौरमा रोपेपछि नेपालमा कफी खेतीको सुरुआत भएको हो। नेपालको मध्यपहाडी क्षेत्रमा समुद्री सतहबाट ८०० देखि १,६०० मिटर उचाइसम्म एरेबिका प्रजातिको कफी खेती गरिन्छ। नेपालका कफी उत्पादन हुने सबै जिल्लामा शतप्रतिशत एरेबिका कफी नै खेती गरिन्छ, जुन गुणस्तर, स्वाद र मूल्यका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ।

हाल नेपालका ४३ जिल्लामा कफी खेती विस्तार भइसकेको छ भने ३० हजारभन्दा बढी कृषक यसमा आबद्ध छन्। आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार देशभर ५,५०१ हेक्टर रोपण क्षेत्रबाट कुल ६४२ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ।

आत्मनिर्भरतातर्फ चुनौती, निर्यातको सम्भावना

स्वदेश तथा विदेशमा नेपाली कफीको माग उच्च रहे पनि आन्तरिक उत्पादन न्यून हुँदा ठूलो परिमाणमा कफी आयात गर्नुपर्ने अवस्था छ। भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात भएको छ।

यता, सोही अवधिमा नेपालबाट ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ मेट्रिक टन कफी निर्यात भएको छ। नेपालको कुल उत्पादनमध्ये करिब १० प्रतिशत कफी जर्मनी, जापान, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको छ। नेपाली अर्गानिक कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकका कफीभन्दा उच्च मूल्य प्राप्त गर्ने गरेको छ।

कपिङ च्याम्पियनसिपको नतिजा सार्वजनिक

राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको अन्तिम नतिजासमेत सार्वजनिक गरिएको छ। कफी सहकारी सङ्घ लिमिटेड ललितपुर प्रथम भएको छ भने महाभारता साना किसान कृषि सहकारी संस्था लि., महाभारत–६, काभ्रेपलाञ्चोक दोस्रो भएको छ।

त्यसैगरी, कोटथोक कफी उत्पादक कृषक समूह, गण्डकी गाउँपालिका–४, गोरखा तेस्रो भएको छ। संयुक्त तेस्रो स्थानमा महादेवटार योग्य कफी फार्म, महाभारत–३, काभ्रेपलाञ्चोक र गुल्मी कफी स्टेट परेका छन्।

पछिल्लो समय नेपालमा युवा पुस्तामाझ कफी संस्कृति तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। आन्तरिक बजारको सुनिश्चितता र अन्तर्राष्ट्रिय बजारमा प्राप्त हुने उच्च मूल्यका कारण कफी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ।

पोखरामा आयोजना हुने प्रदर्शनीमा कफीका नर्सरी, प्रशोधन तथा बिक्रीसम्बन्धी उपकरण, विभिन्न ब्रान्डका नेपाली कफी तथा विशेष (स्पेसालिटी) कफीको निःशुल्क स्वाद लिने व्यवस्था मिलाइएको छ। यस कार्यक्रमले नेपाली कफीको गुणस्तर सुधार गर्न, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा समग्र कफी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको निमित्त क्षेत्रीय निर्देशक पुरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?