+
+

देउवाको रणनीति : महाधिवेशन लगत्तै चुनाव

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर २२ गते २२:१९

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ मंसिरमा पार्टीको प्रदेश अधिवेशनहरु उद्घाटन गर्दै महाधिवेशनलगत्तै चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । सोमबार पत्रकारहरुसँग भएको संवादमा माघमा हुने राष्ट्रिय सभामा चुनावमा सत्तारुढ दलहरुले गठबन्धन गरेपनि अरु चुनावमा यो गठबन्धन के हुन्छ भन्नेबारे टुंगो लागिनसकेको बताए । तर तीनै तहको चुनाव आफ्नो सरकारले गराउने बताएका उनले सकेको छिटो चुनावमै जाने संकेत गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको चुनाव समेत पछाडि सारेर तीनै तहको चुनाव एकैपटक गर्न लबिइङ गरिरहेका बेला प्रमुख सत्ता घटक कांग्रेसका सभापति देउवा भने पार्टीको महाधिवेशनपछि चुनावको तयारीमा जुट्ने र स्थानीय तह तथा प्रदेशभन्दा पहिले संघीय चुनाव गराउने रणनीतिमा छन् ।

जबकी निर्वाचन आयोगले ५ चैतसम्म स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएको छ भने प्रतिनिधिसभाको कार्यकाल मंसिर २०७९ सम्म छ । तर सुरुमा स्थानीय तहको चुनाव गर्दा त्यसको परिणामले केन्द्रको चुनावलाई असर गर्ने कांग्रेसको बुझाइ छ ।

देउवाले सत्तासाझेदार दलका शीर्ष नेता तथा आफ्नै पार्टीको कोर टिममा रहेका नेताहरुसँग छलफल गरिरहेका छन् । ‘केही दिनअघि मेरो प्रधानमन्त्रीजीसँग भेट भएको थियो,’ सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का एक शीर्ष नेताले अनलाइनखबरसित भने, ‘उहाँले जेठमा संघको निर्वाचन गर्ने तयारी गर्नुभएको रहेछ । उहाँको कुरा मलाई पनि ठीकै लाग्यो ।’

संघको चुनावको परिणामका आधारमा असोजसम्म स्थानीय तहको निर्वाचन गर्ने प्रस्तावमा सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी भने सहमत देखिएका छैनन् ।

अहिलेको राजनीतिमा कांग्रेसको हात माथि पर्ने देखिन्छ । कांग्रेसमा देउवाहो हात माथि छ । त्यसैले आफू बलियो भएकै बेला पर्सिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भइहाल्ने र चुनाव जाने देउवाको रणनीति छ । एमालेलाई बलियो बन्न नदिने, सत्ता गठबन्धनसँग चुनावमा पूर्ण रुपमा तालमेल पनि नगर्ने रणनीति रहेको उनको सचिवालयका एक सदस्य बताउँछन् ।

देउवाले चाहे जस्तो कांग्रेस पहिलो दल बन्न एमाले कमजोर हुनुपर्छ, त्यसका लागि गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुन जरुरी छ । गठबन्धनमा रहेका अरु दलहरु देउवाले चाहेझै तत्कालै चुनावमा जान तयार छैनन् । पार्टी विस्तारमा जुटेका दुबै दलका नेताहरु तीन तहको निर्वाचन आगामी मंसिरमा गर्न पाए हुन्थ्यो भन्ने चाहन्छन् ।

। अर्थमन्त्री एवम् माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्मा चुनावबारे गठबन्धनमा धेरै छलफल भइनसकेको बताउँछन् । ‘अहिले पार्टीहरु आफ्नै महाधिवेशनमा केन्द्रीत छन्, गठबन्धनमा त्यतिधेरै छलफल पनि भएको छैन,’ चुनावको तयारी भइरहेको हो भन्ने अनलाइनखबरको प्रश्नमा शर्माले भने, ‘यदि प्रधानमन्त्रीले भन्नुभएको छ भने त्यही होला ।’ उनले गठबन्धन कहिलेसम्म लम्बिन्छ भन्नेबारेमा पनि खासै छलफल नचलेको बताए ।

एमसीसी र गठबन्धनको भविष्य

सरकारले आउँदो २८ गते बोलाएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) हो ।

संसदमा संकल्प प्रस्ताव पारित गरेर एमसीसी अनुमोदन गर्ने या मतदानमा लगेर सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने भन्नेबारे निक्र्यौल भइसकेको छैन । यद्यपि मतदानमा लगेर एउटा निर्णय लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई सहमति दिएका छन् । तर माओवादी केन्द्रमा यही अवस्थामा एमसीसी पारित गर्न नसकिने आवाज बलियो भएकाले प्रचण्डलाई आफ्नै पार्टी मिलाउन भने हम्मे छ । ‘देउवाजीले एमसीसीमा जसलाई जे मन लाग्छ, त्यही गर्नु मैले चाँहि संसदमा लैजान्छु भनेर भन्नुभएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘तर हाम्रो पार्टीमा एमसीसीबारे मत एकता छैन । हामीले सरकारमा बसेर विपक्षमा मतदान गर्नु गाइजात्रा हुन्छ भनेका छौं । प्रधानमन्त्रीले भनेझैं नै गरेर गठबन्धन बचाऔँ भन्ने मत पनि छ ।’ सरकारले ल्याएको बिजनेसको विपक्षमा मतदान गरेर सरकारमै बस्नु असाध्यै अनैतिक हुने तर्क माओवादीभित्र बलियोसँग उठेको छ ।

अर्को सत्तारुढ घटक एकीकृत समाजवादी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्ने पक्षमा छैन । यद्यपि एमसीसी संसदको आगामी अधिवेशनमा टबेल हुँदा आफ्ना सांसदहरुले स्वविवेक प्रयोग गर्न दिन सकिने नेताहरु बताउँछन् ।

प्रधानमन्त्री देउवा भने एमसीसीबारे सत्ता गठबन्धनका अरु नेता जस्तो अलमलमा छैनन् । उनी सके सत्ता गठबन्धनकै, नभए अरु कसैको साथ लिएर भएपनि एमसीसी पारित गराउनुपर्छ भन्नेमा छन् । त्यसैले देउवाको तर्फबाट एउटा समूहले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता संसदबाट पास गराउने विषयमा छलफल गरिरहेको छ । यद्यपि अहिलेसम्म ओलीले भने ठोस जवाफ भने दिएका छैनन् ।

तर सत्ता गठबन्धन भत्काउने उद्देश्यका साथ ओलीले एमसीसी सम्झैता अनुमोदनमा साथ दिए अनौठो नहुने स्रोतको दाबी छ । ‘देउवाजीलाई जतिसक्दो छिटो चुनावमा जानपरेको छ । त्यसका लागि संसदमा एमसीसी ल्याउने र सत्ता गठबन्धनको परीक्षा लिने उहाँको चाल हामीले बुझेका छौं,’ माओवादी केन्द्रका ती नेता भन्छन्, ‘यो गठबन्धन अघि बढ्न नदिने र चुनावमा जाने खेल हो ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले भने एमसीसीकै कारण पाँच दलको गठबन्धन नटुक्रिने दावी गर्छन् । ‘अहिले त राष्ट्रियसभा चुनावसम्म मात्रै गठबन्धन हो । त्यसपछि फेरि छलफल हुन्छ र यो गठबन्धन अर्काे चुनावसम्म जान सक्छ,’ यादवले अनलाइनखबरसँग भने, ‘एमसीसीकै कारण गठबन्धन भत्किन्छ भन्ने होइन । मतदानमा गएपछि प्रधानमन्त्रीले भनेझै एक्लाएक्लै भोट हाल्ने हुनसक्छ ।’

छिटो चुनाव : एजेण्डा उही स्वार्थ फरक

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ७ पुस ०७७ मा संसद विघटन गरेलगत्तै देउवाले बिरोध गरे, तर सडकमा आएनन् । देउवा त्यतिखेर पनि चुनावको पक्षमा थिए । सार्वजनिक रुपमा नै उनले चुनावको पक्षमा बोलेको थिए भने ११ फागुनमा संसद पुनस्र्थापनापछि तत्कालीन नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि मानेका थिएनन् ।

२३ फागुनको सर्वोच्चकै फैसलामा नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतियो । माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपाल पक्षले ओलीको विकल्पमा नयाँ सरकारको प्रधानमन्त्री बन्न देउवालाई पटक पटक आग्रह गरे, तर देउवा टसकाकस भएनन् । प्रधानमन्त्री बन्नकै लागि देउवालाई सहमत गराउन माओवादी केन्द्र र एमालेको एउटा खेमाले निकै लामो मेहनत गर्नुपरेको थियो । बैशाखको मध्यतिर देउवालाई प्रधानमन्त्री बनाउने र संकल्प प्रस्ताव ल्याएर संसदबाट एमसीसी पारित गर्ने विकल्पमा माओवादी केन्द्रका नेता वर्षमान पुन र कांग्रेस नेता बालकृष्ण खाणले कन्भिन्स गरेपछि मात्रै उनी प्रधानमन्त्री बन्न तयार भएका हुन् ।

यद्यपि प्रधानमन्त्रीमा देउवाको दाबीलाई राष्ट्रपतिले मान्यता दिएनन् र ७ जेठ २०७८ को मध्यरातमा संसद विघटन भयो । संसद पुनस्र्थापनापछि २९ असारमा देउवा प्रधानमन्त्री भए । पर्सिदेखि कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ, जसबाट आफू फेरि सभापति निर्वाचित भएर आउने उनको चाहना छ ।

नेताहरुका अनुसार अहिले पनि देउवाले ०७४ को प्रतिनिधिसभा चुनावमा प्रचण्डले दिएको ‘धोका’ विर्सिएका छैनन् । त्यसबेला आफ्नो नेतृत्वको चुनावी सरकारमा बसेर नेकपा एमालेसँग वाम गठबन्धन गर्ने सहमति गर्नुलाई धोका मानेका उनले सत्तारुढ गठबन्धनको बैठकमा प्रचण्डलाई ‘तपाईंको कुनै भर छैन । कतिखेर खुट्टा छोड्नुहुन्छ, थाहा छैन’ भन्ने टिप्पणी गरेका थिए ।

त्यसैले अहिले परिस्थिति अनुकुल भएको बेलामा चुनावमा गइहाल्नुपर्छ भन्ने देउवालाई लागेको छ । ‘दुई तिहाइ भएको कम्युनिष्ट पार्टी तीन टुक्रा भएको छ, आफैंले चुनाव गराउन पाउने अवसर पनि आएको छ । यो परिस्थिति कांग्रेसले चाहेको जस्तो  मात्र होइन, सोचेभन्दा पनि राम्रो भएको छ,’ देउवा निकट एक नेता भन्छन्, ‘केपी शर्मा ओलीलाई कमजोर बनाउन माधव नेपाल र प्रचण्डहरुलाई प्रयोग गर्नुपर्छ भन्नेमा उहाँ स्पष्ट हुुनुहुन्छ ।’

चुनाव छिटो गराउनुपर्छ भन्नेमा देउवा स्पष्ट छन्, एमाले अध्यक्ष ओली झन स्पष्ट छन् । छिटो चुनाव भयो भने यो संसदले काम गर्न सकेन भनेर दुईदुई पटक गरेको विघटनको औचित्य पुष्टि हुने र त्यसलाई चुनावी एजेण्डा बनाउन सकिने ओलीको दाउ हो । मंसिर १०-१४ मा भएको पार्टीको १४औं महाधिवेशनमा पनि ओलीले सम्पूर्ण शक्ति चुनावमै केन्दि्रत गर्न निर्देशन दिइसकेका छन् । ओली र देउवाका बीचमा सम्पर्कसुत्र भएर काम गरिरहेका एक कांग्रेस नेताका अनुसार संसदबाट एमसीसी अनुमोदन गराउन ओलीले साथ दिए भने बैशाख या जेठमा संघीय संसदको चुनाव गराउने माहौल देउवाले तयार पार्नेछन् । यद्यपि अहिलेसम्मको परिस्थितिमा कांग्रेस र एमालेका बीचमा चुनावी गठबन्धन हुने कुनै गुञ्जायस छैन । बरु यही सत्ता गठबन्धनका केही शीर्ष नेताहरु चुनाव उठ्ने ठाउँमा कांग्रेसले तालमेल गर्न सक्छ ।

साथै कांग्रेसको आसन्न महाधिवेशनले उनको साटो अर्को नेतालाई सभापति बनायो भने राजनीतिक परिस्थिति फरक हुने सम्भावना कायमै छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?