+
+

प्रकाशमानले छाडेनन् सभापतिमा दाबी, दबाबमा शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ०:५३

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले कुनै हालतमा पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ ।

कांग्रेसको १४औं महाधिवेशन पर्सि २४ गते काठमाडौंमा सुरु हुनेछ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी दर्ता हुनेछ भने २७ गते मतदान । तर पौडेल समूहले उम्मेदवार टुंगो गर्न सकेको छैन ।

सभापतिका आकांक्षीहरुबीच सहमतिको प्रयासमा पछिल्लो तीन दिन लगातार बैठक बस्यो, तर साझा उम्मेदवार छान्ने सम्भावना टर्दै गएको छ ।

बुधबार चाक्सीबारीमा बसेको बैठक निकै तनावपूर्ण भएको नेताहरु बताउँछन् । विहान जिल्ला सभापतिहरुसँग छलफल गरेका वरिष्ठ नेता पौडेलले दिउँसो केन्द्रीय सदस्यहरुसहित पदाधिकारीका आकांक्षीहरुलाई बोलाएका थिए । नेताहरुले साझा उम्मेदवार तय वा साझा उम्मेदवार छान्ने विधि तय गर्नुस् भनेर चार जनालाई आग्रह गरे । साझा उम्मेदवार छान्ने विधिका रुपमा गोप्य मतदान, राय व्यक्त गर्ने लगायतका उपाय छन्, जुन जिल्ला सभापति र केन्द्रीय सदस्यहरुले सुझाएका हुन् ।

नेताहरुको आग्रहअनुसार वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको छुट्टै छलफलमा बसे । त्यहाँ नेता पौडेलले पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालालाई ‘तपाईहरु मिल्नुस्, होइन भने मलाई मान्नुस्’ भनेका थिए । आफू सभापति भएको खण्डमा पनि आम चुनावपछि नेतृत्व छाड्ने उनको बचन थियो ।

तर सिंहले पौडेललाई अरुलाई सभापतिको उम्मेदवार पनि नमान्ने र साझा उम्मेदवार छनोट गर्ने विधि तय गर्ने प्रस्ताव पनि नमान्ने बताए ।

एक नेताका अनुसार साझा उम्मेदवार छनोट गर्ने विधि तय पौडेल र कोइराला भने सहमत देखिएका थिए । किनकी जिल्ला सभापति वा केन्द्रीय सदस्यहरुले आफूलाई अघि सार्ने दुबै नेताको विश्वास छ । तर सिंह दुबै विकल्पमा सहमत नभएपछि पौडेलले केन्द्रीय सदस्यहरुलाई त्यही ब्रिफिङ गरे ।

नेता सिंहले भने सँधै आफूले मात्र त्याग गर्नुपर्ने भनेर प्रतिप्रश्न गरे । उनले भनेका थिए, ‘केको विधि प्रक्रिया । विधि भनेको म अधिवेशनमा जान्छु, उम्मेदवारी दर्ता गर्छु ।’ निकटवर्तीहरुका अनुसार सिंहको टोलीले उम्मेदवारी दर्ताको दिन कहाँबाट झाँकी निकाल्ने ? कहाँ सगुन खाने ? भन्ने नगर कमिटीमा छलफल गरेर तयारी थालिसकेको छ ।

छलफलमा नेताहरुले भने तपाईँले मात्र नमानेर हुन्छ त भन्दा उनले ‘अधिवेशन छ, फाइट गरौं’ भन्ने जवाफ फर्काएको एक सहभागीले सुनाए । एक सहभागी भन्छन्, ‘हामीले दुईटा उम्मेदवार हुँदा सबै सकिन्छ सकिए सकिन्छ भन्दा उहाँले सकिए सकिन्छ । अघिल्लो पटक मैले छाडेको होइन, सँधै छोड्नुपर्ने भन्नुभयो ।’

पूर्वमहामन्त्री सिंहको प्रस्तुतीबाट निराश बनेका वरिष्ठ नेता पौडेलले अपमानपूर्ण व्यवहार भएको गुनासो मात्र गरेनन्, आफूलाई राजनीतिबाट विदा गर्न आग्रह गरे । चार वर्षसम्म समूहको नेतृत्व गरेर आफूले लडेको, तर अहिले कि मिल्नुस् कि मलाई मान्नुस् भन्दा नमानेको भन्दै उनले नेता सिंहसँग असन्तुष्टि पोखेका थिए । उनले भने, ‘म अब गएँ, मलाई राजनीतिबाट विदा गर्नुस्, तपाईहरु जेजे गर्नु छ गर्नुस् ।’

नेता डा. रामशरण महतले पनि त्यसको पुष्टि गरे । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  भन्छन्, ‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु । पार्टीबाटै अलग हुन्छु भन्नुभयो रामचन्द्रजीले ।’

नेताहरुका अनुसार अवस्था तनावपूर्ण भएपछि थप छलफल गर्ने अवस्था रहेन र भोलि बिहीबार फेरि बैठक बस्ने उठेका छन् । सभापतिका आकांक्षीहरु बस्नुअघि केन्द्रीय सदस्यहरुले मात्र छलफल गर्ने र विकल्पहरु सुझाउने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

दबावमा शेखर कोइराला

पौडेल समूहका नेताहरुका अनुसार अब भोलि विहान ८ बजे बस्ने बैठकमा विभिन्न विकल्पमा छलफल हुनेछ । पहिलो विकल्प भनेको वरिष्ठ नेता पौडेललाई सभापति मानेर अरु नेताहरु उनको टिममा बस्ने ।

यसो गर्दा प्रकाशमान सिंह र शेखर कोइराला उपसभापति, मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री र अरु युवा नेताहरु सहमहामन्त्रीमा राखेर साझा टिम बनाउने हो । तर पूर्वमहामन्त्री सिंह कुनै हालतमा सभापति लड्ने अवस्थामा यो विकल्पले काम गर्दैन ।

अर्को विकल्प प्रकाशमानलाई नै सभापतिको साझा उम्मेदवार बनाउने । यसका लागि सभापतिका अर्का आकांक्षी शेखर कोइरालालाई सम्भवत उपसभापतिमा सहमत गराउनुपर्ने हुन्छ, जुन निकै कठिन छ । किनकी कोइरालाले सभापति लड्ने योजनाका साथ पछिल्लो तीन वर्षदेखि काम गर्दै आएका छन् र, धेरै जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरुको रोजाइमा पनि परेका छन् ।

अर्को विकल्प भनेको सिंह एक्लै अघि बढे बढोस् भनेर पौडेल वा कोइरालालाई सभापतिका रुपमा अघि सार्ने । तर उनी बाहिर रहनासाथ सभापतिको चुनाव होर्न निश्चित जस्तै हुने छ भने अरु पदाधिकारीका उम्मेदवारलाई समेत कठिन हुने नेताहरु बताउँछन् ।

एक केन्द्रीय सदस्य भन्छन्, साझा उम्मेदवार नभएको अवस्थामा जित्न सम्भव छैन भन्ने सबैलाई थाहा छ । प्रकाश दाइले अडान पनि छोड्नु भएको छैन । यसले डा. शेखर दबावमा पर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?