+
+
‘मास’बाट ‘क्याडर'तिर :

कांग्रेसको वडादेखि केन्द्रसम्म ६४ हजार बढी पदाधिकारी

टोल कार्य समितिको नेतृत्व चयन गर्न बाँकी राखेको कांग्रेस, केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनको महामेलामा होमिएको छ । महाधिवेशनपछि कांग्रेसको वडादेखि केन्द्रसम्मको कार्यसमितिमा आवद्ध हुनेको संख्या मात्रै ६४ हजार ७४ जना हुनेछन् ।

सइन्द्र राई सइन्द्र राई
२०७८ मंसिर २३ गते २०:५८

टोल कार्य समितिको नेतृत्व चयन गर्न बाँकी राखेको कांग्रेस, केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनको महामेलामा होमिएको छ । महाधिवेशनपछि कांग्रेसको वडादेखि केन्द्रसम्मको कार्यसमितिमा आवद्ध हुनेको संख्या मात्रै ६४ हजार ७४ जना हुनेछन् ।

२३ मंसिर, काठमाडौं । १४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको अन्तिम (सम्भवतः) केन्द्रीय कार्य समिति बैठक बिहीबार दिउँसो केन्द्रीय मुख्यालय सानेपामा बस्यो ।

विधान संशोधन गरी पदाधिकारी बढाउने प्रस्ताव समेत तयार भएको हुँदा यो बैठकलाई चासोका साथ हेरिएको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला अनुपस्थित भएकाले यो प्रस्ताव रोकेर शुक्रबार शुरू हुने महाधिवेशनमा पेश गरिने अरू प्रस्ताव मात्रै पारित भयो ।

पहिलोपटक कोषाध्यक्षबाहेक सबै पदमा (सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री) निर्वाचन गर्न लागेको काँग्रेसभित्र खुला सहमहामन्त्री पद बढाउनुपर्ने माग छ ।

पार्टी विधानको नवौं संशोधनले समुदाय र क्षेत्रगत क्लस्टरका आधारमा मात्र सहमहामन्त्री निर्वाचित गर्ने व्यवस्था गरेको छ । त्यसमा खुला सहमहामन्त्री राख्नुपर्ने मागमा शीर्ष नेताहरू सहमत देखिन्छन् । आकांक्षीहरूको व्यवस्थापन गर्दै प्यानल बनाउन सहज हुने बुझाइले पनि सहमहामन्त्री बढाउने प्रस्तावमा आपत्ति नरहेको एक नेता बताउँछन् ।

यदि महाधिवेशनकै दौरानमा यो प्रस्ताव अगाडि बढ्यो भने केन्द्रीय सदस्य संख्यासँगै पदाधिकारी संख्या पनि बढ्नेछ । जबकी १२ औं महाधिवेशनको पदाधिकारी संख्या यसपटक दोब्बरले बढिसकेको छ ।

यसअघि कांग्रेसमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचनबाट चुनिन्थे भने एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित हुन्थे । पछिल्लो पटक एकता प्रक्रियाबाट आएकाले विजयकुमार गच्छदारलाई उपसभापति र सुनील थापालाई सहमहामन्त्री मनोनित गरिएको थियो ।

यसपटक भने समहामन्त्री नै आठ जना रहने वैधानिक व्यवस्था छ । पदाधिकारीसँगै केन्द्रीय समितिको संख्या पनि दोब्बरले बढेको छ । १२ औं महाविधेशनबाट ८४ जना निर्वाचित गरेकोमा यसपटक १६८ पुर्‍याइएको छ ।

पार्टीलाई संविधानको भावनाअनुकुल बनाउँदा संख्या बढाउनु परेको केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर बताउँछन् । ‘पार्टीको निर्णायक ठाउँमा सबै जाति, वर्ग र क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्दा संख्या धेरै देखियो । पार्टीमा संख्या ठूलो कुरा होइन, सबैको पहुँच स्थापित हुनु महत्वपूर्ण हो’, मन्सुर भन्छन् ।

उनी कांग्रेस विधान मस्यौदा समितिका सदस्य समेत हुन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १६ वैशाख २०७५ मा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन भएको थियो । उक्त समितिको मस्यौदामाथि महासमिति बैठक (२८ मंसिरदेखि २ पुस २०७५) मा छलफल भयो र केन्द्रीय कार्य समितिले (१२ फागुन २०७५) पारित गर्‍यो ।

उक्त विधानअनुसार, आठ लाख ७० हजार क्रियाशील सदस्य रहेको दावी गरेको कांग्रेसले ६ तहको निर्वाचन गरिसकेको छ । टोल कार्य समितिको नेतृत्व चयन गर्न बाँकी राखेको कांग्रेस, केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनको महामेलामा होमिएको छ ।

महाधिवेशनपछि कांग्रेसको वडादेखि केन्द्रसम्मको कार्यसमितिमा आवद्ध हुनेको संख्या मात्रै ६४ हजार ७४ जना हुनेछन् । ‘संविधानअनुसार पार्टी संरचना बनाउने नेपाली कांग्रेस पहिलो दल बनेको छ । सामाजिक न्याय स्थापित गर्दै शासन र प्रशासमा सवै समुदायलाई समेट्दैछ’, मन्सुर भन्छन् । पदाधिकारी संख्या धेरै हुँदा एउटा नेताको पछि लाग्ने नभएर सबै नेता निर्णायक तहमा पुगेको सन्देशका रुपमा बुझ्नुपर्ने उनी बताउँछन् ।

विधानले बदलिएको संरचना

मास बेस पार्टी भनेर चिनिने कांग्रेसले एउटै महाधिवेशनमा यति ठूलो संख्यामा पदाधिकारी चयन गर्नुमा संविधानले गरेको संघीय व्यवस्था र उसकै संशोधित पार्टी विधान कारण हो । कांग्रेसले मुलुकको प्रशासनिक संरचना भन्दा झण्डै तेब्बर बढी तहगत संरचनाको व्यवस्था गरेको छ ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको प्रशासनिक संरचना मुलुकमा भएपनि कांग्रेसले आठ तहको पार्टी संरचना बनाएको छ । विधानअनुसार टोल कार्य समिति, वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको तहगत कांग्रेस संरचना व्यवस्था छ ।

सवै समितिमा आठ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि कोषाध्यक्ष मनोनित हुने भएकाले ७ सदस्यीय पदाधिकारीसहित सदस्यहरू निर्वाचित भएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार, १८ भदौदेखि चरणबद्ध रूपमा भएको ६,७४३ वडाबाट ५३,९४४ पदाधिकारी चयन भए । वडा कार्यसमितिमा सभापति–१, उपसभापति–२, सचिव–२, सहसचिव–२ र कोषाध्यक्ष–१ रहने व्यवस्था छ ।

पालिका तहमा पनि वडाकै संरचना अनुसार ८ पदाधिकारी हुन्छन् । ७५३ स्थानीय तहमध्ये कतै निर्वाचन र कतै निर्विरोध गरी ६,०२४ पदाधिकारी निर्वाचित भए । यसरी वडा र पालिका गरी स्थानीय तहमा मात्रै काँग्रेसको ५९,९६८ पदाधिकारी निर्वाचित भएका छन् ।

जबकी, २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिका प्रमुख/उपप्रमुख र वडाध्यक्ष गरी ८,२४९ जना पदाधिकारी निर्वाचित छन् । वडा सदस्य र पालिका कार्यसमिति सदस्य नजोड्ने हो निर्वाचित जनप्रतिनिधि (पदाधिकारी) भन्दा काँग्रेस पदाधिकारी संख्या सात गुणा बढी हुन्छ ।

कांग्रेस नेताहरू भने मुलुकको शासकीय संरचना र संविधानको समावेशी व्यवस्था गर्न पनि यस्तो अवस्था आएको बताउँछन् । ती नेताहरुको तर्कसँग मेल खाने संरचना भने प्रदेश निर्वाचन क्षेत्रीय कार्य समिति चयन हो । पार्टी जीवनमा पहिलो पहिलोपटक कांग्रेसले पालिका भन्दा माथिल्लो तहमा रहनेगरी प्रदेश क्षेत्रीय कार्य समितिको चुनाव गरेको छ ।

प्रदेश क्षेत्रीय कार्य समितिमा पनि सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ८ पदाधिकारीको व्यवस्था छ । वडा र पालिका तहबाट चयन भएर आएका प्रतिनिधिहरुले ३३० प्रदेश निर्वाचन क्षेत्रीय कार्य समितिमा २,६४० पदाधिकारी चयन गरे । यसभन्दा माथि प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्य समिति गठन भएको छ ।

प्रदेश क्षेत्रीय सभापति पदेन उपसभापति रहने भएकाले प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिमा ६ जना पदाधिकारीको व्यवस्था छ । अर्थात् सभापति–१, सचिव–२, सहसचिव–२ र कोषाध्यक्ष–१ मात्रै अलग चयन हुने भए । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्ला संख्या ३५ हुँदा १३० जिल्लामा यो संरचना बन्यो । अर्थात् यो तहको संरचनामा ७८० पदाधिकारी चयन भए ।

आठ पदाधिकारीको व्यवस्था हुँदा देशभर ६१६ पदाधिकारी जिल्ला कार्यसमितिमा निर्वाचित भए । सात प्रदेश प्रदेशमा ५६ पदाधिकारीको व्यवस्था छ । प्रदेश–२ बाहेक अन्यत्रको नेतृत्व चयन भइसकेको छ । अझ टोल कार्यसमित बन्दा त, कांग्रेसमा पदाधिकारीहरू संख्या पाँच लाख नजिक पुग्छ ।

स्थानीय तह निर्धारण गर्दा साविकको गाउँ विकास समितिलाई सामान्यतयाः वडा संरचनामा लगिएको छ । त्यसो हुँदा हरेक वडामा ९ टोल हुन्छ भन्ने मानकका आधारमा कांग्रेस टोल कार्यसमितिमा आवद्ध हुनेको संख्या ४,८५,४८६ पुग्छ ।

तर यति ठूलो संख्यामा पदाधिकारी बनिरहँदा पनि कांग्रेसभित्र असन्तुष्टि कायमै छ । विशेषगरी पदाधिकारीमा महिला सहभागिता संविधानअनुसार नभएकोमा नेताहरूले आपत्ति जनाइरहेका छन् । विधान संशोधन मस्यौदा समितिकी सदस्य महालक्ष्मी उपाध्याय (डिना) ले त, प्रस्ताव तयार पार्ने बैठकमै पदाधिकारीको एक तिहाइ महिला हुनुपर्ने प्रस्ताव गरेकी थिइन् । ‘महासमिति बैठकमा पनि त्यसबारे छलफल हुन सकेन, केन्द्रीय कार्य समितिले पनि वास्ता गरेन’, डिना भन्छिन्, ‘आउने नेतृत्वले यसबारे सोच्नुपर्छ ।’

मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य

पार्टीको यो विधान बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएँ जस्तो लाग्छ । त्यसैले यो विधान निक ठीक छ भन्ने सन्दर्भमा कमसेकम मेरो धारणा चाहिँ मैले भन्नु आवश्यक छ र भन्छु पनि । पहिलो कुरा, किन यतिका धेरै पद बनाउनुभयो भन्दा हामीले अहिले नेतृत्वलाई हेर्‍यौं भने एउटै अनुहारको नेतृत्व माथि बसिदेला कि भन्ने चिन्ता छ । २०६२/६३ को जनआन्दोलन भन्दा अगाडि बाहुन क्षेत्री, विशेषत अझ बढी बाहुन नेतृत्व कांग्रेसमा पनि, अरु पार्टीमा पनि देखिन्थ्यो । २०६२/६३ को जनआन्दोलनपछि मधेसी समुदाय र जनजाति समुदायका नेताहरु पनि नेतृत्वमा देखिन थाल्नुभयो ।

अब त्यसलाई संस्थागत गर्दै विस्तारित गर्न आवश्यक छ भन्ने लाग्छ । अहिले हामीले ८ जना सहमहामन्त्रीको व्यवस्था गरेका छौं किनकी जनजाति, मधेसी, दलित, महिला आदि पहिचानसँग जोडिएका साथीहरुलाई महामन्त्रीका लागि आफूलाई विकसित गर्ने अवसर दिन आवश्यक थियो । नभए कतिपय साथीहरु विभिन्न क्लस्टरबाट सहमहामन्त्री हुनसक्नुहुन्छ, उहाँहरुले महामन्त्री वा पार्टी सभापति हुनका लागि निकै कठिनाइपूर्ण यात्रा गर्नुपर्ने हुन्थ्यो लाग्छ ।

दोस्रो, मैले अरुको आलोचना गर्न खोजेको होइन । तर ओलीजीले वरिष्ठ उपाध्यक्ष र महासचिव खोज्दा त दुबै पोखरेल थरका नेता फेला पार्नुभयो नि त । पार्टीको माथिल्लो नेताले एक्लै आफूले छान्दा त आफू जस्तै अनुहार भएका नेताहरु मात्र फेला पार्छन् कि भन्ने चिन्ता छ । अहिले पनि कता न कता शेरबहादुर देउवाको प्यानलमा क्लस्टर छुट्याएको भन्दा बाहिर चुनाव लड्ने निकै मानिसहरु चाहिँ शेरबहादुर देउवा जस्तै देखिने चिन्ता आजको दिनमा छ । त्यस्तै चिन्ता केही कम, तर हाम्रा पक्षबारे पनि छ । त्यसैले पनि निर्वाचित र विभिन्न क्लस्टरहरु राख्न आवश्यक थियो भन्ने लाग्छ ।

जहाँसम्म निर्वाचित नै किन त भन्ने प्रश्न छ, अरु पार्टीभन्दा कांग्रेसको जीवन फरक छ । कांग्रेसमा धेरै टाउकाहरु भए, कांग्रेसको रुखलाई अलि छरितो बनाउनुपर्छ । अलिकति नेता नै नेताको थुप्रो भयो । केही नेताहरु स्वभाविक रुपले कुनै प्रक्रियाबाट सम्मानजनक रुपमा अवकास लिने परिस्थिति निर्माण हुनुपर्छ भन्ने लाग्छ । यसलाई निर्वाचनको पद्धतिले मदत गर्छ । निर्वाचित गर्ने पद्धति नहुने हो भने अहिले केन्द्रीय कार्यसमितिमा भएका केहीलाई छाडेर सबै जसो मान्छे कुनै न कुनै पदमा आइरहने अवस्था हुनसक्छ ।

अहिले नै हेर्नुस् न, विधान संशोधन गरौं, पदहरु थपौं, सबैलाई ठाउँ खोजौं भन्ने सोच कतै न कतै घुमिरहेको देखिन्छ । त्यसलाई कहिँ न कहिँ रोक्नै पर्ने छ । यसकारण कि कांग्रेस यहि रुपमा २५/२८ वर्षदेखि ७०/८० वर्षको मान्छे एउटै कमिटी बसेर हिड्दा ५ वर्षको पछाडि कस्ता कांग्रेस भन्दा गतिलो फेला नपर्ला कि ! मैले ८० वर्ष हाराहारी भएका नेताहरुको विपक्षमा बोलिरहेको छैन, उहाँहरुमध्ये कोहीलाई नेता मानेर चुनाव लड्नुपर्ने परिस्थिति होला, उहाँमध्ये नै कोही सभापति हुनुहोला । तर ५ वर्षको पछाडि पनि उहाँहरुकै नेतृत्वको कांग्रेस त नरहला । त्यसका लागि पनि स्वभाविक पुस्तान्तरणको बाटो खोजी गर्नुपर्ने थियो, त्यसका लागि पनि निर्वाचन चाहिन्छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?