+
+

शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर २४ गते १०:३०

२४ मंसिर, काठमाडौं । शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ ।

शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार गत साउनमा पुँजीगत लाभकर ३ अर्ब २१ करोड थियो । भदौमा घटेर २ अर्बमा झर्यो । ‘असोजमा एक अर्ब हाराहारीमा भएकोमा अहिले त्यो पनि घटेर कात्तिकमहिनामा एक अर्बभन्दा कम छ,’ आचार्यले भने ।

पछिल्लो समय साच्चिकै बजारमा चाम घटेको तथ्यांकले नै पुष्टि गर्छ । कुनै बेला ३ हजार २ सय अंकमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको नेप्से परिसूचक बिहीबारसम्म घटेर २ हजार ४ सय ४९ अंकमा झरेको छ । ६ महिनामा नै यति ठूलो गिरावट आएको हो । उच्च बिन्दु भन्दा नेप्से परिसूचक अहिले ५ सय ५१ अंकले घटेको छ ।

नेप्से परिसूचकमात्रै होइन शेयर लगानीकर्ताहरुको पुँजीकरण समेत १० खर्ब भन्दा धेरैले घटेको छ । ६ महिना अघिमात्रै ४४ खर्बमा पुगेको लगानीकर्ताहरुको पुँजीकरण अहिले घटेर ३४ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ । दैनिक कारोबार रकम रकममा समेत निकै ठूलो गिरावट आएको छ । कुनैबेला एकैदिन करिब २२ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबारको तथ्यांक लिने हो भने जम्मा २ अर्ब ६७ करोड रुपैयाँमात्रै भएको छ । कारोबार संख्या पनि कुनै बेला दिन ३ लाखसम्म पुगेकोमा अहिले ४१ हजारमा घटेको छ ।

बजारमा यति ठूलो असर कसरी गर्यो त ? नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली अहिले पुँजीकरण लगायत सबै सूचकहरुमा गिरावट आउनुको कारण नेप्से परिसूचक नै भएको बताउँछन् । उनका अनुसार नेप्से परिसूचक लगातार घट्दा लगानीकर्ताहरुले कारोबार गर्न पनि हौसिदैनन् । बजार घटिरहदा लगानीकर्ताहरु धेरैजसो पर्ख र हेरको अवस्थामा बस्छन्, जसको असर कारोबार संख्या र कारोबार रकममा समेत पर्ने उनले बताए ।

हेर्नुस् बजारमा परिवर्तन भएका सूचकहरु 

सूचकहरु हालसम्मको रेकर्ड अहिलेको अवस्था
नेप्से परिसूचक ३२०० २४४९
कारोबार रेकर्ड २२ अर्ब (दैनिक) २ अर्ब ६७ करोड (दैनिक)
कारोबार संख्या ३ लाख ४१ हजार
पुँजीकरण ४४ खर्ब ३४ खर्ब

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे अहिले साना लगानीकर्ताहरुको संख्या पनि घटेको बताउँछन् । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ । अहिले कुनै एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र धेरै संस्थाबाट बढीमा १२ करोड रुपैयाँमात्रै यस्तो ऋण लिन पाउने व्यवस्था छ । यसले अहिले बजारमा चाम घटेको पूर्व अर्थमन्त्री पाण्डेको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै उनले साना लगानीकर्ताहरुमा उत्साह घटेको भन्दै उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । पूर्वमन्त्री पाण्डेले अस्वाभाविक मूल्य बढ्नेतर्फ भने ध्यान दिनु पर्ने बताए ।

लगानीकर्ताको दोष राष्ट्र बैंकमाथि, गभर्नर भन्छन्- बुझेर लगानी गरौं

अहिले बजार किन घटिरहेको छ ? धेरै लगानीकर्ताहरुको सामान्य जवाफ हो– राज्य र निकायको नीति । लगानीकर्ताहरुले सरकार र नेपाल राष्ट्र बैंकको शेयर बजारप्रति हेर्ने दृष्टिकोण र बनाइने नीतिको कारण बजार घटेको निश्कर्ष निकालेका छन् । राष्ट्र बैंकले शेयर बजारमा जाने कर्जाको सीमा अत्यधिक घटाएका कारण बजार घटेको भन्दै लगानीकर्ताहरु आन्दोलनको तयारीमा छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति अम्बिका पौडेल राज्यको नीतिकै कारण बजार घटेको बताउँछन् । शेयर बजारमा पुराना र निकै अनुभवी मानिने पौडेलको बुझाइमा सरकार र राष्ट्र बैंकको पुँजीबजारप्रति हेर्ने दृष्टिकोण नै गलत छ ।

‘स्वाभाविक रुपमा हुने क्रिया र प्रतिक्रियालाई हामी स्वीकार्छौं, स्वीकार्नु पर्छ,’ उनी भन्छन्, ‘तर अस्वाभाविक रुपमा हुने सरकारको प्रतिक्रिया सहन गाह्रो परेको छ, टेक्ने हाँगो नैै भाँचिएर अडिएको अवस्थामा लगानीकर्ताहरु पुगेका छन् । चलिरहेका उद्योग व्यवसायहरुबाट नयाँ उद्योग व्यवसायहरु विस्तार गर्ने क्षेत्र भनेको पुँजी बजार नै भएको भन्दै उनले यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमा त्रैमासिक समीक्षामा परिवर्तन हुने अपेक्षा गरिएको थियो । दुई साता पहिले भएको समीक्षामा राष्ट्र बेंकले शेयर धितो कर्जाको विषयमा केही बोलेन । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘अहिले परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नदेखिएकाले समीक्षा नभएको हो ।’

मौद्रिक नीतिको समीक्षा पछि शेयर बजार लगातार घटिरहेको छ । नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारी राष्ट्र बैंकले नीति सच्याउनु पर्ने बताउँछिन् । लगानीकर्ताहरुको निकै ठूलो रकम जोखिममा परेको भन्दै उनले तत्काल नीति सच्याएर लगानीको सहज र राम्रो वातावरण बनाउनु पर्ने धारणा छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने राम्रोसँग बुझेर लगानी गर्ने हो भने समस्या नहुने बताए । बिहीबार संसदको अर्थसमितिमा बोल्दै उनले सर्वसाधारणमा शेयरबारे सचेतनाको आवश्यकता रहेको बताए । उनले भने, ‘बजारमा बुझेर लगानी गर्नुपर्छ, नबुझी लगानी गरे समस्या हुन्छ, यो विषयमा पव्लिक अवार्नेस आवश्यक छ ।’

उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयर बजारमा लगानी ओइरिएकाले बजार उच्च बिन्दुमा पुगेको बताए । गभर्नर अधिकारीले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । गभर्नर अधिकारीले कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वाभाविक नभएको बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?