
२४ मंसिर, काठमाडौं । एकाध बाहेकको लगानी फिर्ता नहुने भएपनि म्युजिक भिडियो निर्माणको क्रम घटेको छैन । बरु बढिरहेको छ । हरेक दिनजसो नयाँ-नयाँ गीत युट्युबमा सार्वजनिक भइरहेका छन् । पछिल्लो साता पनि चार दर्जन बढी गीत युट्युबमा सार्वजनिक भएका छन् ।
प्रेमराजा महत, राजेशपायल राईदेखि मेलिना राई, देवी घर्तीसम्मको स्वर रहेका गीतहरु पछिल्लो साता सार्वजनिक भए । त्यस्तै अभिनेता राजेश हमाल, भुवन केसी, आकाश श्रेष्ठ, प्रकाश सपुतदेखि अभिनेत्री पूजा शर्मा, मोडल रञ्जिता गुरुङसम्मको अभिनय रहेका म्युजिक भिडियो पछिल्लो साता युट्युबमा सार्वजनिक भएका छन् । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिकमध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।
प्रेमराजा महतको ‘बन्दिपुरैमा’
लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्रेमराजा महत यतिबेला नेपालमा छन् । नेपाल आएको समयमा उनले ‘बन्दिपुरैमा’ बोलको गीत रेकर्ड गरेर म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेका छन् ।
प्रेमराजाले गायिका शान्तिश्री परियारसँग गाएको ‘बन्दिपुरैमा’ गीतको भिडियो गत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । उनकै शब्द तथा संगीत रहेको गीतलाई बीबी अनुरागीले एरेञ्ज गरेका हुन् । गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफीमा गीतको भिडियो तयार भएको हो ।
भिडियोमा गायक प्रेमराजा स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनको जोडीको रुपमा मोडल रञ्जिता गुरुङको अभिनय हेर्न सकिन्छ । नेपाली लोकगीतले मौलिकता बिर्सिएको गुनासो आइरहेको अवस्थामा गायक महतले मौलिक लोकगीत सार्वजनिक गरेका हुन् ।
मानकृष्ण महर्जनको छायांकन रहेको यस भिडियोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् । प्रेमराजाकै युट्युबमा सार्वजनिक भिडियोलाई ६ लाख ६० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
पूजा र आकाशको अभिनयमा ‘झुम्कावाली’
मेलिना राई र मिलन अर्यालको स्वरमा रहेको ‘झुम्कावाली’मा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकेश खड्काको निर्देशन रहेको यो गीतको भिडियो गत शुक्रबार सार्वजनिक भएको हो । सुजन रेग्मीको शब्द, मिलन अर्यालको संगीत रहेको गीतलाई झलक संगीतमले एरेन्ज गरेका हुन् । सुवोल थापाको कोरियोग्राफी, बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । यस भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ । यो गीतको भिडियोलाई ८ लाख ६५ हजार बढी पटक हेरिसकिएको छ । भिडियो युट्युब ट्रेन्डिङमा म्युजिकतर्फ नम्बर १ मा छ ।
मेलिनाको स्वरमा ‘तिम्ले बाटो फेर्यौ अरे ३’
गायिका मेलिना राईको हिट गीतमध्येमा पर्छ, तिम्ले बाटो बाटो फेर्यो अरे । ६ वर्षअघि सार्वजनिक गीतलाई स्रोता-दर्शकले निकै रुचाएका छन् ।
मेलिनाको स्वरमा तीन वर्षअघि ‘तिम्ले बाटो बाटो फेर्यौ अरे २’ सार्वजनिक गरिएको थियो । सो गीतलाई पनि स्रोता-दर्शकले रुचाएका थिए । अहिले मेलिनाको स्वरमा ‘तिम्ले बाटो बाटो फेर्यौ अरे ३’ युट्युबमा सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक गीतको भिडियोमा मेलिनासँगै दर्पण राई र सम्झना राई ‘फिचर्ड’ छन् ।
दर्पण राईको शब्द, विक्रम राईको संगीत रहेको ‘तिम्ले बाटो बाटो फेर्यौ अरे ३’लाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोले शुक्रबार दिउँसोसम्म ३ लाख ३३ हजार बढी भ्युज पाएको छ ।
पुष्पन प्रधानको स्वरमा ‘उठ्न सकिन्छ’
पुष्पन प्रधानको स्वर रहेको गीत ‘उठ्न सकिन्छ’ मंगलबार सार्वजनिक गरिएको हो । गीतको शब्द दिनेश अधिकारीले कोरेका हुन् भने संगीत गायक प्रधान स्वयंले भरेका छन् । २०७२ सालको महाभूकम्पमा परी देब्रे खुट्टा गुमाएका व्यक्तिको संघर्ष र सफलताको कथालाई गीतमा प्रस्तुत गरिएको छ । सुरेन्द्र सिंह नेपालीको निर्देशन रहेको भिडियोमा निराजन प्रधान र रुबिना थापाको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । सम्झना सिंह नेपाली निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारी जिउनुपर्छ भन्ने सन्देश प्रस्तुत गर्न खोजिएको छ । भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा १ लाख १५ हजार भ्युज पाएको छ ।
राजेशपायलको स्वर र दयाहाङको अभिनयमा ‘आमा’
राजेशपायल राईको स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको हो । राजेशपायलले बुधबार आफ्नै युट्युब च्यानलमा यो गीतको भिडियो सार्वजनिक गरेका हुन् । दीपा राई पुनको शब्द, डीआर अतुको संगीत संयोजन रहेको गीतलाई राजु कार्कीले एरेञ्ज गरेका हुन् ।
आमालाई सम्बोधन र समर्पण गरेर तयार पारिएको यस गीतको भिडियोमा अभिनेता दयाहाङ राई, कलाकार पशुपति राई शीर्ष भूमिकामा प्रस्तुत छन् । किरण चाम्लिङ राईको कथा तथा निर्देशनमा बनेको भिडियोमा भूपेन्द्र तुम्बाहाङफेको छायांकन र अनिल रानाको सम्पादन छ । शुक्रबार दिउँसोसम्म भिडियोले ९२ हजार बढी भ्युज पाएको छ ।
प्रिज्मा-प्रिन्सी, अमर-अमृत अभिनित ‘छल छल’
गत शुक्रबार सार्वजनिक ‘छल छल’मा टिकटकबाट उदाएका कलाकारहरु प्रिज्मा-प्रिन्सी खतिवडा र अमर-अमृत दाहालको अभिनय छ । दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज रहेको गीतमा गायक साजन श्रेष्ठ र गायिका दुर्गा खरेलले स्वर दिएका छन् ।
विधान कार्कीको निर्देशन, दीपकमान सिंहको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । प्रकाश घिसिङको लगानी रहेको भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा ४ लाख ७ हजार बढी भ्युज पाएको छ ।
भुवन अभिनित ‘घरमा आइस्योस् न’
अभिनेता भुवन केसी फाट्टफुट्ट म्युजिक भिडियोमा समेत अभिनय गर्छन् । उनी अभिनित पछिल्लो म्युजिक भिडियो हो, ‘घरमा आइस्योस् न’ । रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीतको भिडियोमा भुवनले मोडल श्रृष्टि खड्कासँग अनस्क्रिन रोमान्स गरेका छन् ।
गत शुक्रबार सार्वजनिक गीतमा सुशील पौडेल र तिलकप्रताप चन्दको शब्द, कृष्ण भारद्वाजको संगीत संयोजन छ । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन् । शुक्रबार दिउँसोसम्म भिडियोलाई ३ लाख भ्युज मिलेको छ ।
प्रकाश सपुत अभिनित ‘तरुनी बन्दिपुर’
‘तरुनी बन्दिपुर’ तनहुँको बन्दिपुरमाथि लेखिएको कविता हो । अशोक शेरचनको शब्द, शान्तिराम राईको संगीत रहेको यस कवितामा देवेश राईले स्वर दिएका छन् । भिडियोमा गायक एवं मोडल प्रकाश सपुत र मोडल सगुन शाहीले अभिनय गरेका छन् । गायक देवेन्द्र बब्लुको निर्देशनमा यस कविताको म्युजिक भिडियो निर्माण भएको हो ।
भाका नेपालले प्रस्तुत गरेको यस कविताको भिडियोमा अनिल के. मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन छ । भिडियोले शुक्रबार दिउँसोसम्म १ लाख ४८ हजार भ्युज पाएको छ ।
राजेश हमाल अभिनित ‘झ्याइँकुटी झ्याइँ’
अभिनेता राजेश हमालले केही वर्षयता चलचित्रमा अभिनय नगरेपनि म्युजिक भिडियोमा भने अभिनय गरिरहेका छन् । उनको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘झ्याइँकुटी झ्याइँ’ हो । देवी घर्ती र गोविन्द पौडेलको स्वर रहेको गीतमा गोविन्द पौडेलकै शब्द एवं संगीत र कृष्ण बिके (भान्जा)को एरेन्ज छ । बुधबार सार्वजनिक भिडियोमा राजेशसँगै करुणा राई, आयुषा गौतम र सचिन परियारको अभिनय छ ।
काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन र दीपक विष्टले सम्पादन गरेका हुन् । भिडियोले दुई दिनमा शुक्रबार दिउँसोसम्म ६० हजार भ्युज पाएको छ ।
अर्जुन, लक्ष्मी र राजुको स्वरमा ‘दुई दुना चार’
‘दुई दुना चार’बोलको लोकदोहोरी गीत गत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द, महेन्द्र भण्डारीको संगीत तथा एरेञ्ज रहेको गीतमा अर्जुन सापकोटा, लक्ष्मी खड्का र राजु पन्थीको स्वर छ ।
प्रेम थापाको निर्देशन रहेको भिडियोमा रविना भण्डारी, सन्तोष मगराती, अनुशा थापा, तेजेन्द्र गौतम, कृषिका परियार लगायतको अभिनय छ । राम केसीको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । यो रमाइलो लोकदोहोरी भिडियोलाई शुक्रबार दिउँसोसम्म युट्युबमा २ लाख ५४ हजार भ्युज प्राप्त भएको छ ।
प्रतिक्रिया 4