+
+

दावा याङ्जुङ : रोल्वालिङको आलुबारीदेखि रोलेक्सको ब्राण्ड एम्बेस्डरसम्म

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ मंसिर २५ गते १९:३१

घरबाट भागेको ६ वर्षपछि दावा याङ्जुम शेर्पा दुई जना फ्रेन्च नागरिकको नेतृत्व गर्दै रोल्वालिङ फर्किइन् । गाउँघरमा सोतर सोहोर्नेदेखि आलु फलाउन बारीमा पुग्ने चेली घर छाडेर हिँडेको ६ वर्षपछि ‘सरदार’ (पर्यटक घुमाउने नाइकेलाई हिमाली भेगमा सरदार भन्ने गर्छन्) बनेर फर्किएकी थिइन् ।

एउटा ‘सर्वाेच्च सपना’ साँचेर हुर्किएकी दावाको संघर्षमयी जीवन उमेरले १८ वर्ष पुग्दा बिस्तारै उकालो लाग्ने चरणमा थियो । हिमाल आरोहण र ट्रेकिङ गाइड बन्ने उनको धोको थियो । तर उनको समुदायले महिलालाई त्यो काममा कहिलै प्रोत्साहन गर्दैन’थ्यो, उनले पनि घर र समाजबाट सहयोग पाइनन् । घरमा बसेर सपना पूरा नहुने भएपछि १३ वर्षको उमेरमा दावाले घर छाड्ने निर्णय गरेकी थिइन् ।

०००

सगरमाथाको पश्चिमपटि्ट ४२०० मिटरको उचाइमा दोलखा जिल्लामा पर्ने रोल्वालिङ उपत्यका छ । त्यहीभित्र रहेको बेदिङमा एउटा सानो शेर्पा गाउँ छ । गाउँसम्म पुग्न न कुनै व्यवस्थित बाटो, न त राम्रो सुविधा नै थियो । चारैतिर अग्लो चट्टानी पर्वतहरुले घेरेको उपत्यकाभित्र बस्ने अधिकांश महिलाहरू आलु खेती गर्ने, दाउरा जम्मा गर्ने, पानी खोज्ने जस्ता घरायसी काम गर्छन् । केटा मान्छेहरू हिमाल आरोहणमा गएर पैसा कमाउँछन् ।

घरको उही पुरानो दैनिकी, जता हेरे पनि सेतो हिमाल र चिसो हावापानी । ठण्डी मौसममा बेसी र्झने र वसन्तमा उक्लिने नियमित जीवनशैलीले दावाको मनमा दिनदिनै उकुसमुकुस बढाउँदै लगेको थियो । लक्ष्य एकातिर थियो भने काम अर्काेतिर, लक्ष्य र कामको तालमेल मिलिरहेको थिएन । उनी घर छाड्ने उचित समयको पर्खाइमा थिइन् ।

दावा याङ्जुमको जन्म वि.सं. २०४७ सालमा रोल्वालिङ -४२०० मिटर)मै भएको हो । तर उनको बाल्यकालको अधिकांश समय काठमाडौंमा नै बित्यो । काठमाडौंमा रहँदा उनलाई विद्यालय जानुपर्ने बाध्यता थियो । सानो उमेरदेखि नै उनलाई पढाइमा रुचि थिएन । उनी परिवारकै दबाबमा विद्यालय गइन् । चार कक्षासम्म त जसोतसो स्कुल गइरहेकी थिइन् । ‘स्कुल गयो भविष्यमा के बन्ने भनेर सोध्छन् । कोही डाक्टर, कोही नर्स बन्ने ठूलाठूला सपना देखाउँछन्, आफ्नो भने हिमाल चढ्ने सपना थियो । त्यसपछि मलाई स्कुल जान झनै मन लागेन ।’ दावा भन्छिन् ‘त्यसपछि आफ्नै सपना खोज्दै १० वर्षको हुँदा काठमाडौं छाडेर म रोल्वालिङ पुगेँ ।’

‘…अनि म घरछाडेर भागेँ’

चिसोमा चिसो, जाडोमा जाडो ठाउँ । जनजीवन आफैँमा कष्टकर थियो । बिहानबिहान उठेर गोबर टिप्ने, आगो बाल्ने पानी खोज्ने, सोतर सोर्ने, आलु लगाउने जस्ता काम नियमित हुन्थ्यो । त्यही समुदायमा हुर्किएकी दावाको जीवनशैली पनि त्योभन्दा भिन्न थिएन । तर उनी त्यसबाट माथि उठ्न चाहन्थिन् । जे होस् हिमाली जीवनशैलीले उनको सगरमाथा चढ्ने सपनालाई काहीँ न काहीँ सहयोग भने गरिरहेको थियो ।

वि.सं. २०६० सालतिर उनी १३ वर्षकी थिइन् । त्यतिबेलासम्म गाउँका १/२ जना महिलाहरु पनि भरियाको रुपमा टासी लाप्सा पाससम्म जाने गर्थे । हरेक वर्षको सिजनमा कोही खुम्बु जाने त कोही टासी लाप्सा जस्ता पाससम्म आउने-जाने चलिरहन्थ्यो । आफूभने सधैं मेलापर्म र घरधन्दामा समय बिताउन फिटिक्कै मन नपरेको उनी सुनाउँछिन् । गाउँका दाइ एवं काकाबाबुहरु खुम्बु पास गरेर जाने र सामान बोकेर फर्किने गर्थे । फर्किँदा ल्याएको आकर्षक सामान देखेरपछि झनै उनको मन आरोहणतिर लोभिँदै गयो । यो देखेकी दावालाई आफ्नो असीमित सपनाले भित्रभित्रै उचाल्दै लग्यो । उनी भर्खर किशोरावस्थामा प्रवेश गरेकी थिइन् । गाउँका दिदीहरु टासी लाप्सा पासमा भारी बोकेर जाने तयारीमा थिए । त्यो देखेपछि उनको चाहनाले धैर्यको बाँध फुटायो । उनी १३ वर्षको उमेरमा दिदीहरुसँग घरमा भन्दै नभनी दिदीहरुसँगै आरोहणमा निस्किइन् ।

खुम्बुको थामेमा दावाको मामाघर छ । ट्रेकिङ सकिएपछि दावाको स्वास्थ्यमा सामान्य समस्या देखियो । त्यसपछि उनी घर फर्किन चाहिनन् । फर्किनु पनि कसरी ? घरबाट भागेर आएको फेरि तत्काल फर्किने कुरा पनि भएन । उनले साथीहरूलाई घर फर्किन भनिन् र आफू मामाघरतिर लागिन् । स्वास्थ्य अवस्था सामान्य भएपछि उनी थामेबाट काठमाडौं झरिन् ।

‘जब म भरियाको रुपमा खुम्बु यात्रामा गएँ, त्यहाँ मलाई लाग्यो संसारमा ट्रेकिङ गाइड जति ठूलो मान्छे कोही छैन ।’ उनी भन्छिन् ‘मैले त्यही दिन सोचेँ कि अब म पनि ट्रेकिङ गाइड बन्छु ।’ त्यतिबेलासम्म उनी लङ डिस्टेन्स रनिङ प्रतिस्पर्धामा सहभागी हुन्थिन् । साथमा फाट्टफुट्ट आरोहणमा पनि जान्थिन् । तर लङ डिस्टेन्स रनिङमा भविष्य बनाउन कठिन देखेपछि उनी सन् २०१० पछि भने पूर्णकालीन रुपमा ट्रेकिङ गाइड बन्न थालिन् ।

माउन्टेन हार्डवेयरदेखि नर्थफेस हुँदै रोलेक्ससम्म

भनिन्छ ‘जसको गहिराइ हुँदैन उसको उचाइ पनि हुँदैन । यदि उचाइ भैहाले पनि त्यो लामो समय रहँदैन ।’ यो भनाइमा जस्तै दावा याङ्जुमको जीवन कहिले जंघार त कहिले हिमाली खोचमा रमाउँदै बित्यो । तर अहिले उनी विश्वचर्चित ब्राण्डले विश्वास गर्ने अवस्थामा पुगिसकेकी छन् ।

सन् २०१८ मा नर्थ फेस एथ्लेक्टस बन्नुभन्दा पहिले अमेरिकाको सन् फ्रान्सिस्कोको हिमालयन फाउन्डेसनले नेपालमा डा. अरुणा उप्रेतीहरुसँग मिलेर एउटा अभियान चलाएको थियो । सो संस्थाको प्रोजेक्टमा स्टाफ गल्र्स ट्राफिकिङको विषयमा एउटा बहस कार्यक्रम पनि राखिएको थियो । त्यसमा प्रेरणादायी महिलाको जीवनी सुनाउने क्रममा दावालाई १५ मिनेट जीवनको भोगाइबारे प्रस्तुतीकरण दिन समय दिइयो । उनले आफ्नो जीवनको संघर्षमयी क्षणहरु सुनाएपछि सोही कार्यक्रममा उपस्थित माउन्टेन हार्डवेयर कम्पनीको सिईओले उनलाई आफ्नो कम्पनीमा अनुबन्ध हुन आग्रह गरे । दावाले सो जानकारी नर्थफेसका एथ्लिक्ट कन्र्याड एंकरलाई दिइन् । एंकरले दावालाई बरु नर्थफेसमै अनुबन्ध हुन प्रस्ताव गरे । सन् २०१८ मा माउन्टेन हार्डवेयरले गरेको प्रस्ताव छाडेर उनी एंकरकै माध्यमबाट नर्थफेसमा एथ्लिक्टको रुपमा अनुबन्धित भइन् । उनको नर्थफेसका एथ्लेक्टहरुसँग सन् २०१२ देखि नै चिनापरिचय भएको थियो । सन् २०१२ मा भएको नर्थफेस एक्सपिडिसनको समयमा उनले देखाएको प्रस्तुतिले उनी बलियो र कुशल आरोही हुन् भन्ने सन्देश फैलिइसकेको थियो । त्यसैले उनी ६ वर्षको अन्तरालमै नर्थफेसमा अनुबन्ध हुन सफल भइन् । उनी हालसम्म पनि पहिलो नेपाली हुन् जो नर्थफेससँग अनुबन्ध भएकी छन् । त्यतिबेला उनको बारेमा अन्तर्राष्टि्रय मिडियामा धेरै समाचार छापियो । त्यसले उनको उचाइलाई झनै चुल्याउँदै लग्यो । अहिले पनि उनी नर्थफेसमा एथ्लिक्टको रुपमा कार्यरत छिन् । वर्षमा एक टि्रप नर्फफेससँग ट्रेकिङ जाने गर्छिन् । यसको बापत उनले नियमित पारिश्रमिक पनि पाउने गरेकी छन् ।
नर्थफेसमा जोडिएपछि उनलाई समयसमयमा आरोहणको लागि आर्थिक सहयोग मिल्न थाल्यो । आफू त नियमित आरोहण गरिरहेकोले उनले आफूसँगै बेचविखनमा परेकी महिलाहरुलाई यसतर्फ आकषिर्त गर्न थालिन् । मानसिक रुपमा विक्षिप्त भए पनि शारीरिक रुपमा बलिया ती महिलाहरुमध्ये २५ जनालाई नर्थफेसकै सहयोगमा हिमाल आरोहण सम्बन्धी तालिम दिएको उनी बताउँछिन् । उनीहरु अहिले मानसिक रुपमा पनि स्वस्थ रहेको उनी बताउँछिन् ।

सन् २०२२ को जनवरीदेखि तीन वर्षको लागि दावा रोलेक्स कम्पनीको ब्राण्ड एम्बेस्डर बनिन् । उनी रोलेक्स कम्पनीकी कान्छी ब्राण्ड एम्बेसडर पनि बनेकी छन् । उनी भन्छिन् ‘अहिले रोलेक्स कम्पनीमा अनुबन्ध भएपछि धेरैले सोधीखोजी गर्न थाल्नुभयो । तर रोलेक्ससँग अनुबन्ध हुनुपूर्वको संघर्षको दिन मलाई झनै रोचक र स्मरणयोग्य लाग्छन् ।’

धराप अवस्थामा ३ वटा हिमाल आरोहण

गतवर्ष स्कि-हिउँ चिप्लेटी)को क्रममा जाँदा दुर्घटनामा परिन् । त्यतिबेला उद्धार टोली आएर उनको उद्धार गर्नुपरेको थियो । तर समस्या जटिल भइसकेको रहेछ । अमेरिका पुगेर परीक्षण गराउँदा समस्या जटिल भइसकेको देखियो । अवस्था अप्रेसन नै गर्नुपर्ने खालको थियो । तर अप्रेसन गर्दा कम्तीमा ९ महिना आराम गर्नुपर्ने भएकोले तत्काल अप्रेसनभन्दा हिपको एक्सरसाइज गर्न अमेरिकी चिकित्सकहरुले सुझाव दिए । उनी त्यसपछि अहिले पनि नियमित थेरापिस्टसँगको परामर्शमा छिन् र घाइते खुट्टा उपचारको लागि भौतारिँदै छिन् ।

स्कि गर्दा मर्किएको उनको खुट्टा अझैपनि निको भइसकेको छैन । यही जीर्ण खुट्टा लिएरै उनले अन्नपूर्ण वान, धवलागिरि र लोत्से आरोहण गरिन् । उनी सुनाउँछिन् ‘एउटा लिगामेन्ट -हड्डी जोड्ने तन्तु)माथि अर्काे लिगामेन्ट खप्टिएछ । बढी उचाइमा पुग्दा यसको दुखाइ कम हुन्छ । तर त्यति हुँदा पनि म ३ वटा हिमाल चढेँ ।’

यालापिकदेखि माउन्ट रेनियरसम्मको यात्रासम्म

उनको हिमाल आरोहणको यात्रा सन् २००९ देखि सुरु भएको हो । नेपाल पर्वतारोहण संघले दिएको तालिमको क्रममा पहिलो पटक यालापिक चढेकी उनी त्यसको ठीक २ वर्षपछि आमा दब्लम चढिन् । त्यतिबेला माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारीहरुले चयन गरेपछि उनको सगरमाथा जाने बाटो खुल्यो ।

हिमाल आरोहणकै क्रममा अमेरिकी नेशनल पार्क सर्भिसका रेन्जर डेबिड गर्टलिबसँग दावाको भेट भयो । त्यतिबेला दावाले सगरमाथा आरोहण गरिसकेकी थिइन् । गर्टलिबले एभरेस्ट चढिसकेको मान्छे भएकोले अमेरिका गएर माउन्ट रेनियरमा रेन्जर अफिसरमा रेस्क्युको काम गर्न प्रस्ताव गरे । उनी भन्छिन् ‘त्यहाँको हिमाल त हाम्रो रोल्वालिङभन्दा पनि कम उचाइमा रहेछ । मलाई कुनै संकोच नै भएन । मैले हुन्छ भनेँ ।’ उनी सन् २०१२ मा नै अमेरिकाको माउन्ट रेनियरमा रेन्जरको रुपमा काम गर्न थालिन् । त्यहाँ २ वर्ष काम गरेपछि उनी फेरि नेपाल फर्किइन् । अमेरिकाबाट फर्किएपछि माउन्ट केटूदेखि अन्य हिमालमा कीर्तिमानी आरोहण तिर लागिन् । उनले २०१४ मा माउन्ट केटूमा सबैभन्दा कान्छी आरोहीको रुपमा आरोहण गरिन् । अहिले उनले ८ हजारभन्दा बढी उचाइकै ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । साथै, सन् २०१७ मा क्यानेडियन माउन्टेन गाइड एशोसिएसनबाट सदस्यता प्रमाणपत्र पनि पाएकी छन् ।

सन् २००९ को यालापिक आरोहणबाट सुरु भएको उनको यात्रा सगरमाथा आरोहणसम्म पुगेपछि उनले जीवनको एउटा लक्ष्य पूरा गरिसकेकी थिइन् ।

उनी भन्छिन् ‘पहिले म हिमाल पैसा र रहरले हिमाल चढ्थे । सगरमाथासम्म पुगिसकेपछि मेरो हिमाल चढ्ने लत बसिसकेको थियो । त्यसपछि मलाई कीर्तिमानी आरोहणको भूत चढ्यो ।’ सन् २०१४ मा उनी केटू हिमाल आरोहणको लागि गइन् । त्यतिबेलासम्म केटू अत्यन्त जोखिमपूर्ण हिमाल मानिन्थ्यो । उनले आरोहण गर्नेबेलामा केवल ३०० जनाले मात्रै आरोहण गरेका थिए । त्यसमध्ये उनी सबैभन्दा कान्छी आरोही थिइन् । उनी भन्छिन् ‘केटू जाने बेलामा त घरको सबै हिसाबकिताब सकेर गएको थिएँ । फर्किन पाइन्छ कि पाइँदैन यकिन भएन । त्यसैले भेट्नुपर्ने साथीहरुसँग अन्तिम पनि हुन सक्छ भन्दै भेटेर जानु परेको थियो ।’

केटूबाट फर्किएपछि उनलाई अल्पाइन एसियन इन्टरनेसनलमा जोडिएर गाइड गर्ने इच्छा जाग्न थाल्यो । उनले त्यसमा प्रवेश गर्नको लागि परीक्षा दिइन् । त्यसमा सफल पनि भइन् । सन्. २०१५ पछि एसियन अल्पाइनमा उनको काम सुरु भयो । त्यसपछि जाडो मौसममा नेपाल आउने र सिजनमा काम गर्न अमेरिका जाने गर्छिन् । अहिले ६ वर्ष भयो दावाले त्यहाँ गाइड गर्न सुरु गरेको । अर्जेन्टिना, दनाली एवं अमेरिकाका ४/५ वटा हिमालमा उनले गाइडको रुपमा काम गरिन् । सन् २०१७ मा फाइनल गाइड कोर्स सकिएको उनी बताउँछिन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?