+
+

लुगा धुने उद्यम : विदेशको रहर त्यागे, स्वदेशमै लाखौं कमाए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १८:५२

पोल्याण्ड जान सबै प्रक्रिया पूरा गरेर अन्तर्वार्ताका लागि दिल्ली पुगेका सुजन चौलागाईं अन्तर्वार्ताको क्रममा भएको कुराकानी पछि झस्किए । पहिले मासिक एक लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भनेर प्रक्रिया अघि बढाएका उनले मासिक ५० हजार मात्रै कमाइ हुने सूचना पाएपछि उनी विदेश जाने सोचबाट पछि हटे ।

त्यतिबेला उनी उमेरले २४ वर्षका थिए । नेपालमा इलेक्ट्रिक पसल चलाएर बसेका उनको कमाइ पनि ठीकै थियो । तर धेरै पैसा कमाउने र बचाउन पनि सजिलो हुन्छ भनेर उनी विदेश जाने चक्करमा लागेका थिए । उनी विदेश त गएनन्, तर यही स्वावलम्बनको उपाय अपनाउँदा विदेशमा कमाइ हुनेभन्दा ३ गुणाबढी पैसा नेपालमै कमाउन थालेको उनी बताउँछन् ।

अन्तर्वार्तामा कुराकानी नमिलेपछि उनी २ महिनाजति दिल्लीमै बसे । नेपाल फर्किएर आफैँले आम्दानीको कुनै न कुनै उपाय अपनाउने योजना बनाइसकेका थिए । के गर्दा धेरै फाइदा हुन्छ ? भनेर दिल्लीको सडकमा भौतारिन थाले । एकदिन उनले घरघरमा पुगेर धुने कपडा बोकेर लैजाने आधुनिक धोबीको व्यवसाय देखे । उनलाई लाग्यो ‘लगानी पनि कम र फाइदा धेरैको लागि यो व्यवसाय पनि नेपालमा राम्रै हुन सक्छ ।’ उनी त्यही योजना बनाएर नेपाल फर्किए ।

नेपालमा आएर आफ्नै हिसाबले बजार सर्वेक्षण गर्दा व्यावसायिक रुपमा खुलेका धेरै धोबीहरु देखेनन् । त्यसपछि उनले यही व्यवसाय अपनाउने सोच बनाए ।
सुरुवाती दिनमा उनीसामु धेरै प्रश्नहरु उठ्न थाले । पहिले मार्केटिङ र इलेक्ट्रोनिक सामग्री बेचेको मान्छे ‘धोबी’ बनेको भनेर परिवार र साथीभाइहरुले खिसिट्युरी पनि गरे । तर उनी आफ्नो योजनाबाट विचलित भएनन् । ‘स्मार्ट धोबी नेपाल’बाट सेवा दिइरहे ।

उनी भन्छन् ‘दिल्ली बसाइको क्रममा मैले बुझेँ कि कुनैपनि काम सानो र ठूलो भन्ने हुँदैन । जुनसुकै कामलाई पनि व्यावसायिक ढंगले गर्दा बढी कमाइ गर्न सकिन्छ भनेर नै यो व्यवसायमा लागेको हुँ ।’

आठ वर्षको उमेरमा काठमाडौं आएका उनी अहिले २७ वर्षका भए । काठमाडौंमा रहँदा उनले सानै उमेरदेखि कहिले मार्केटिङ त कहिले आफ्नै इलेक्ट्रोनिक पसलमा काम गरेर अनुभव बटुलिसकेका थिए । उनलाई पैसा कमाउने लत बढ्दै गयो । एकैपटक धेरै पैसा कमाइ हुन्छ भन्ने सोचेर यताको व्यवसाय छाडेर उनी विदेशको चक्करमा लागेका थिए । ‘यो पैसा भन्ने चिज जति कमायो उति कमाउन मन लाग्दो रहेछ ।’ उनी भन्छन् ‘कमाइ राम्रै भएपनि पैसा नबचेपछि विदेश जाने भूत चढेको थियो । तर यतै काम गर्न लेखेको रहेछ ।’

आठ लाख लगानी गरेर मासिक डेढ लाख फाइदा

सुजन अहिले आफूलाई मासिक डेढ लाख रुपैयाँ फाइदा हुने गरेको सुनाउँछन् । नेपाल फर्किएपछि उनले सुरुमा बौद्धको नयाँबस्तीमा ५ आना जग्गा भाडामा लिए । त्यसमा आफूलाई आवश्यक पर्ने एउटा टहरा बनाए । त्यसैको छेउमा एउटा कार्यालय खोले । त्यही टहरामा दुईवटा मेसिन पनि राखे । सबै लगानी सकिँदा उनको ८ लाख रुपैयाँ खर्च भएको थियो । अहिले व्यवसाय बिस्तार भएर २० लाखभन्दा धेरै लगानी भइसकेको छ ।

लगानी त भयो तर यसलाई बजारसम्म विस्तार गर्न र सेवाग्राही खोज्न समस्या थियो । उनी भन्छन् ‘कसैले लुगा धुन दिए त पैसा आउँथ्यो । तर नयाँ काम भएकोले सुरुमा त्यति सहज भएन ।’ उनले फेसबुकमा एउटा पेज बनाए । आफ्नै नम्बर राखे र त्यसलाई त्यसबाट पनि अर्डर लिन थाले । उनी भन्छन् ‘पहिले त नयाँ ग्राहक आउनै मुस्किल थियो । आएकाहरुलाई फेरि पनि सम्झिने वातावरण बनाउनु आफैँमा मुस्किल कुरा हो । त्यसैले हामीले काठमाडौं उपत्यकाभर जहाँबाट पनि कपडा उठाउने गरी सेवा दिने निर्णय गर्‍यौं । त्यसपछि बल्ल सेवाग्राही बढ्न थाले ।’

कपडा धुन दिने प्रक्रिया के–के छ ?
अहिले कपडा धुनको लागि दुई माध्यमबाट बोलाउन सकिन्छ । ‘स्मार्ट धोबी नेपाल’को फेसबुक पेजमा गएर म्यासेज गरेर अर्डर दिन सकिन्छ भने त्यहीँ रहेको नम्बरमा टेलिफोन गरेर पनि कपडा लिन बोलाउन सकिन्छ । काठमाडौं उपत्यकाभित्र जहाँ भएपनि कपडा लिन जाने र डेलिभरीबापत कुनै शुल्क नलाग्ने उनी बताउँछन् । उनी भन्छन् ‘टेलिफोन गरेपछि सेवाग्राहीको उचित समय मिलाएर सोही दिन लिन जान्छौं । उहाँहरुले भने अनुसार क्लिन एण्ड ड्राइ, क्लिन एण्ड आइरन के गर्ने हो ? त्यही अनुसार सकेर हामी बढीमा २ दिनमा फेरि सम्बन्धित घरमै पुर्‍याइदिने गर्छाैं ।’

कति लाग्न शुल्क, के–के छन् सेवा ?

स्मार्ट धोबी नेपालमा अहिले वास एण्ड ड्राइ, वास एण्ड आइरन, ड्राइ वास लगायतका सेवा रहेको चौलागाईं बताउँछन् । शुल्क सेवाको आधारमा फरकफरक हुन्छ । त्यहाँ रहेको ३ थरी सेवामध्ये वास एण्ड ड्राइको लागि प्रतिकेजी १३० रुपैयाँ र आइरन गर्ने हो भने प्रतिकेजी २०० रुपैयाँ लिने शुल्क तोकिएको छ । तर धेरै ख्याल गर्नुपर्ने पार्टी वेयर कपडाहरुको हकमा भने प्रतिकपडा शुल्क तोकिएको चौलागाईँ बताउँछन् । सेवाग्राहीले कपडा धोएर फिर्ता गरेपछि आफूले भने अनुसार भयो भएन हेरेर मात्रै शुल्क दिन सक्ने व्यवस्था रहेको उनी बताउँछन् ।

सामान्य धोबीभन्दा के छ फरक ?

परम्परागत धोबी र स्मार्ट धोबीमा के फरक छ ? उत्तरमा चौलागाईं भन्छन् ‘दुवैको काम त कपडा धुने नै हो । तर यो व्यवस्थित र व्यावसायिक रुपले कपडा धुने सेवा हो । यसमा केही फरक विशेषताहरु छन् ।’

चौलागाईँ सफा खानेपानीबाट कपडा सफा गरिने, आफैँले बनाएको डिटरजेन्टले कपडा सफा गर्ने हुँदा डिटरजेन्टको गुणस्तरमा शंका गर्नु नपर्ने अवस्था रहेको बताउँछन् । त्यस्तै, अहिलेको व्यस्त समयमा आफैँ झण्झट मानेर कपडा धुन पठाउने भन्दा पनि एक कलको भरमा घरमै आएर कपडा लैजाने सेवा आफैँमा परम्परागत सेवाभन्दा भिन्न रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?