+
+

‘मृत सन्धि’माथि मन्थन

सन्धिले नेपाल राज्यको लागि नयाँ आधार तयार गर्न भूमिका खेल्यो । नेपालको नीति विश्वलाई थाहा भयो ।

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर २६ गते १७:०१

२६ मंसिर, काठमाडौं । नेपाल र बेलायतबीच भएको सन् १९२३ को ‘मैत्री सन्धि’माथि केन्द्रित रहेर राजधानीमा विमर्श गरिएको छ ।

‘ज्ञान–गोष्ठी संवाद श्रृङ्खला, ४’मा पत्रकार कणकमणि दीक्षित, लेखक सागरसमशेर जबरा, अध्येता टीका ढकाल र नन्दनप्रसाद अधिकारीले ‘सार्वभौमसत्ता र सन् १९२३ को सन्धि’माथि विमर्श गरे ।

प्रथम विश्वयुद्धपछि सन् १९२३ डिसेम्बर २१ मा सिंहदरबारमा भएको यो सन्धिबाट बेलायतले नेपाललाई पहिलोपटक सार्वभौमसत्ता सम्पन्न मुलुकको मान्यता दिएको मानिन्छ । साथै सन्धिलाई चन्द्रशमशेरको राजनीति जीवनको मुख्य उपलब्धीको रुपमासमेत लिइन्छ ।

पछिल्लो समय यो विषयमाथि चर्चा नहुँदा ‘मृत सन्धि’ बन्न पुगेको बताउँदै तीनैजना वक्ताले यो सन्धि नेपालको सार्वभौमसत्ताको आधारस्तम्भ बन्न पुगेको साझा धारणा राखे । आजको सार्वभौम नेपाल राज्य बन्नुपछाडि सन् १९२३ को मैत्री सन्धिको विशेष भूमिका रहेको उनीहरूको निचोड थियो ।

सार्वभौमिकता दिलाउने सन्धि : टीका ढकाल

हामी देशहरूबीच रहेको भूराजनीतिको मात्र चर्चा गर्छौं तर सन्धिको पनि ‘जियोपोलिटिक्स’ हुन्छ । एकातिर हामीसँग सन् १८१६ को सन्धि छ भने अर्कोतर सन् १९५० को नेपाल–भारत मैत्री सन्धि छ । यो दुई बीचमा १९२३ को सन्धि लुकेको छ । यो सन्धिको महत्त्व र प्रभावमाथि हामीले नजरअन्दाज गरेका छौं ।

बेलायती विद्वान् रिचर्ड बर्नरको ‘फर्मेसन अफ द कन्सेप्ट अफ नेसन्स स्टेट इन नेपाल’ भन्ने लेखमा पनि यो सन्धि उल्लेख छ । नेपाल राज्य कसरी बन्यो र यसले कसरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त ग¥यो भन्ने कुरा उक्त लेखमा पाइन्छ । प्रयागराज शर्माले पनि यो लेखमाथि टिप्पणी गरेका छन् । म प्रयागराज शर्माको विचारसँग नजिक छु अर्थात्, सन् १९२३ को सन्धि नेपाल राज्यको बनोटसँग प्रत्यक्ष सम्बन्धित छ भन्ने कुरा मान्दछु ।

त्यसभन्दा अघि नेपाल राज्यको आफ्नै नीति थिएन वा विश्व परिवेशमा हाम्रो सार्वभौमसत्ताको पहिचान थिएन । यो सन्धि नै हाम्रो सार्वभौमसत्ताको कोसेढुंगा बन्न पुगेको छ । आज यो सन्धि भएको एकसय वर्ष पुगेको छ र यो सन्धि सुगौली सन्धि भएको एकसय वर्षपछि भएको हो । यो समयरेखा हामीले ख्याल गर्नुपर्छ ।

यसर्थ सन् १९२३ को सन्धिलाई मूलतः सार्वभौमसत्तासँग जोडेर हेर्नुपर्छ । चाणक्यको नीतिले पनि राज्य बन्न ‘सुरहित’ अर्थात् मित्र चाहिन्छ भनेका थिए । त्यही मान्यताअनुरुप यो सन्धिबाट बेलायतसँग नेपालको मित्रता भएको हो । यसैले १९२३ को सन्धिलाई सार्वभौम नेपालको आधार मान्न सक्छौं ।

राष्ट्रियता बलियो बनाउने सन्धि : नन्दनप्रसाद अधिकारी

सन् १९२३ को सन्धिले राष्ट्रियताको पक्षमा बलियो आधार तयार पारेको छ । यो सन्धि हुँदा चन्द्रशमशेर प्रधानमन्त्री थिए । यो सन्धिको विश्लेषण गर्दा कुटनीतिको उत्कृष्ट नमुनाको रुपमा समेत मान्न सकिन्छ । किनभने नेपालले आफ्नो कुटनीतिकला र सार्वभौमसत्ता प्रदर्शन गर्न सफल पहलिो सम्झौता नै यही हो ।

चन्द्रशमशेर म्याट्रिक गर्न कलकत्ता बस्दा विदेशी पत्रपत्रिका अत्यधिक पढ्थे । काठमाडौं आएपछि पनि उनले मगाएर विदेशी पत्रपत्रिका पढ्थे । यसबाट थाहा हुन्छ, भोलिको नेपालका लागि उनी चिन्तनशील थिए । यो कुरा सन् १९२३ कै सन्धिले बताउँछ ।

सुगौली सन्धिमा बिट्रिसको दबाव थियो । सन् १९२३ को सन्धिले मात्र स्वतन्त्रताको सवालमा हाम्रो अडान देखियो । नेपाल राज्यको सार्वभौमिकता साबित गराएको सन्धि नै यही हो । तत्कालीन परराष्ट्रका कर्मचारीमात्र होइन चन्द्रशमशेर आफैं पनि यो सन्धिको मस्यौदा तयार पार्न दिनरात खटिएका थिए ।

यता वीर शमशेरको पालदेखि नै भारतमा गोर्खा रेजिमेन्ट तयार पारिसकिएको थियो । चन्द्रशमशेरले पनि फौज पठाए । तर भारत भ्रमण गर्दा त्यहाँका राजा–रजौटाभन्दा माथिल्लो सम्मान लिए । त्यो पनि कुटनीतिक चार्तुयता थियो । त्यसको जग सन् १९२३ को सन्धि थियो ।

कानुनी शासनलाई आधार दिने सन्धि : सागरशमशेर जबरा

म राणा भएको कारणले चन्द्रशमशेरको वा अन्य राणा शासकको प्रशंसा गर्दिनँ । तर जब यो सन्धिको कुरा आउँछ राणा शासनको राम्रा काम त उल्लेख गर्नुपर्छ भनेर यसको चर्चा खुलेर गर्छु । यो देश पृथ्वीनारायण शाहले खडा गरेको हो भन्न मलाई अन्यथा लाग्दैन ।

पृथ्वीनारायण शाहले दिव्योपदेश दिए । जंगबहादुरले शासन चलाउन मुलुकी ऐन ल्याए । एउटा न एउटा कानुन त चाहिने रहेछ नि देश चलाउन ! यसपछि चन्द्रशमशेरले सन् १९२३ को सन्धि गरे ।

यो सन्धिले नपाल भन्ने देश तयार पार्न भूमिका खेल्यो । किनकि देश त यसै बन्दैन, अन्तरराष्ट्रिय मान्यताहरू हुन्छ । कानुनहरू चाहिन्छ । सन्धिले नेपाल राज्यको लागि नयाँ आधार तयार गर्न भूमिका खेल्यो । नेपालको नीति यो रहेछ भनेर विश्वलाई थाहा भयो ।

यो सन्धिपछि नेपाल–बेलायतको सम्बन्धको नयाँ आयाम शुुरु भयो । नेपालले छिमेक राज्यमा आफ्नो अडान लिन पायो । यसपछिका वैदेशिक सम्बन्धहरु विस्तार गर्दा नेपालले यही सन्धिलाई आधार मान्यो । यसर्थ सन् १९२३ को सन्धिलाई कुनै एक मामुली सम्झौताको तहमा हेर्नुहुँदैन । यो नेपाल राज्यको सार्वभौमिकता र स्वाधीनतासँग प्रत्यक्ष जोडिएको छ ।

यस्तो छ सन् १९२३ को सन्धिको मूल मर्म

  • नेपाल र बेलायत सरकारबीच अविछिन्न शान्ति तथा मैत्री सम्बन्ध कायम रहनेछ र दुवैले एकअर्काको आन्तरिक र वाह्य स्वतन्त्रतालाई स्वीकार र सम्मान गर्नेछन् ।
  • दुई सरकारबीच भएका सुगौली सन्धि १८७२ सहित त्यस यता गरिएका सबै सन्धि, सम्झौता र संलग्नताहरू यस सन्धिबाट खारेज हुनेछ ।
  • छिमेकी राज्यहरूसँग शान्ति तथा मैत्री सम्बन्धको लागि मैत्री सम्बन्धमा केही संकट देखा परे, यस्ता संकट तथा अविश्वासहरू हटाउन दुवै पक्ष एकअर्कालाई सूचना प्रवाह गर्न र कुटनीतिक अधिकारीहरू आदानप्रदान गर्न सहमत छन् ।
  • नेपाल सरकारले विदेशबाट झिकाएका र तत्काल नेपाल पठाइने सामानाहरू उपर ब्रिटिश भारतीय बन्दरगाहहरूमा कुनै पनि किमिसको भन्सार लाग्ने छनैन तर दुवै सरकारहरूले समय–समयमा गरेको निर्णय अनुसार संगठित प्राधिकरणले सामान आयात गरिएको बन्दरगाहको मुख्य भन्सार अधिकृतसमक्ष ती सामानहरू नेपाल सरकारको सार्वजनिक प्रयोजनका लागि सरकारी आदेश अनुरुप झिकाइएका सरकारी सामान हुन र कुनै पनि राजकीय एकाधिरका अन्तर्गत व्यापारिक प्रयोजनका लागि झिकाइएका होइनन् भनी रीतपूर्वक प्रमाणित भएको कागजात पेश गरेको हुनुपर्ने छ ।
  • ब्रिटिस सरकार तत्काल काठमाडौँतर्फ चलान गर्न भनी व्रिटिस भारतीय बन्दरगाहमा भित्रिएका र तोकिएको सहुलियत दरमा तिर्नुपर्ने सबै करहरू तिरिएका समानहरू भारी नफुकाइकन निर्वाधरूपमा भारतीय भूमि भएर चलानी गर्न दिन सहमत भएको छ । तर यसरी सामान चलानी गर्दा दुवै सरकार सहमत भइसकेका पूर्व व्यवस्थाअनुसार यसै प्रयोजनका लागि समय–समयमा निर्धारित बमोयजिम भारतीय भन्सार अधिकृतहरूको रोहवरमा पुनः भारी बाँध्ने उद्देश्यले समान प्रवेश गरेको वन्दरगाहमा भारी फुकाउन भने सकिनेछ ।
  • भन्सारको छाप जस्ताको त्यस्तै भई बीचमा समान नचलाइकन काठमाडौँ पुगेपछि तोकिएको प्राधिकरणले प्रमाणित गर्ने प्राधिकरण समक्ष भन्सार सहुलियतको दावी गर्न सक्नेछ ।
लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?