+
+

कांग्रेसमा गगनहरुले खोलेको जाम

सइन्द्र राई सइन्द्र राई
२०७८ मंसिर २७ गते १०:१९

२७ मंसिर, काठमाडौं । १४औं महाधिवेशनबाट पार्टी नेतृत्वका लागि प्यानल बनाएर मैदानमा उत्रिएका नेपाली कांग्रेसका नेताहरू प्रतिस्पर्धी कमजोर बनाउने एकसूत्रीय अभियानमा केन्द्रित छन् । मतदानपछि त्यो अभियान पूरा हुनेछ, कांग्रेसले नयाँ नेतृत्व पाउनेछ ।

उमेरले ७७ वर्षका शेरबहादुर देउवा र ७१ वर्षका डा.शेखर कोइरालामध्ये एकले पार्टी नेतृत्व लिने संभावना बढी छ । किनकि सभापतिका अन्य प्रतिस्पर्धी भन्दा शेरबहादुर र शेखरबीच बलियो प्रतिस्पर्धा देखिन्छ । तर नतिजा अगाडि नै कांग्रेस महाधिवेशनले केही अर्थपूर्ण सन्देश दिइसकेको छ, जसको चर्चा चुनावी मैदानमा गौण बन्यो ।

पहिलो, संविधानको व्यवस्था बमोजिम पदाधिकारीमै समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता गरियो । प्रतिस्पर्धीहरूबीच हुने जितहारले कांग्रेस पदाधिकारी असमावेशी बन्ने छैन । किनकि सहमहामन्त्रीमै भए पनि जातीय र क्षेत्रीय क्लस्टरको आधारमा पदको व्यवस्था गरिएको छ ।

दोस्रो, कांग्रेस जस्तो पुरानो पार्टीको पदाधिकारीमा युवाहरुबीच प्रतिस्पर्धा भएको छ । सभापति पदमै युवा नेता कल्याण गुरुङको उम्मेद्वारी पर्नु आफैंमा अर्थपूर्ण छ । तर त्योभन्दा पनि महामन्त्री पदका निम्ति भएको प्रतिस्पर्धा यसपटक राष्ट्रिय राजनीतिकै चासोमा छ ।

अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.रामशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, रमेश लेखक, चित्रलेखा यादव लगायत पुराना र परिपक्व मानिएका नेताहरु केन्द्रीय सदस्यको उम्मेद्वार बनिरहँदा २०६३ सालको राजनीतिक आन्दोलनबाट उदाएका नेताहरु महामन्त्री पदका प्रतिस्पर्धी हुन पुगे ।

प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा, शेखर कोइराला प्यानलबाट गगन थापा र शेरबहादुर देउवा प्यानलबाट प्रदीप पौडेलले महामन्त्री पदको उम्मेद्वार बन्ने अवसर पाएका छन् । यी तीनै नेता नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । शर्मा २०५७ मा र पौडेल २०६४ मा नेविसंघका सभापति भएका थिए । शर्मा र पौडेलले महामन्त्री पदमा पहिलोपटक प्रतिस्पर्धा गरे पनि थापा भने ७० महीना अगाडि काठमाडौंमै सम्पन्न १३औं महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी थिए ।

यसपटक थापा महामन्त्री पदका स्वाभाविक प्रतिस्पर्धीका रूपमा हेरिए, नभन्दै भए पनि । कांग्रेस नेताहरू थापा आफ्नै भूमिका र प्रभावका कारण स्वाभाविक र सहज उम्मेद्वार बन्न पुगेको बताउँछन् । उक्लँदो राजनीतिक ग्राफ र १३औं महाधिवेशनमा पाएको मतका कारणले थापा पहिलो रोजाइका महामन्त्री पदका उम्मेद्वार बनेका हुन् ।

१३औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनेको तेस्रो प्यानलबाट महामन्त्री पदको उम्मेद्वार बन्दा थापाको प्रतिस्पर्धी थिए, बीपी पुत्र डा.शशांक कोइराला र पुराना नेता अर्जुननरसिंह केसी । कोइराला परिवारको लिगेसीसहित सभापतिको उम्मेद्वार बनेका रामचन्द्र पौडेलको प्यानलबाट शशांक र देउवाको प्यानलबाट केसी उम्मेद्वार थिए । तर गगनको मत सम्मानजनक आयो । १,४१७ मतसहित शशांक महामन्त्री जित्दा सिंहले १,०१७ र थापाले ५८४ मत पाए ।

त्यसयता थापाले बढाएको राजनीतिक उँचाइका कारण पनि प्रमुख प्रतिस्पर्धी प्यानलबाटै महामन्त्रीको उम्मेद्वार बन्ने आकलन कांग्रेस वृत्तमा थियो । नभन्दै, शेखरको प्यानलबाट थापा महामन्त्रीको उम्मेद्वार बने ।

गगनले छोडेपछि सिटौला पनि अर्का युवालाई साथ दिने निष्कर्षमा पुगे । देउवासँग सहकार्य गर्दै महामन्त्री पद लिए, प्रदीपलाई अगाडि बढाए । गगन र प्रदीप महामन्त्रीको उम्मेद्वार बन्ने भएपछि विश्वप्रकाश शर्मा पनि पछि हट्ने अवस्था रहेन । केही समय अगाडि नै महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका शर्मालाई देउवाले सहमहामन्त्रीमा चित्त बुझाउन आग्रह गरेका थिए । तर देउवाकै विश्वासमा पार्टी प्रवक्ताको जिम्मेवारी पूरा गरेका शर्माले विद्रोह गरे र प्रकाशमान सिंहको प्यानलबाट उम्मेद्वार बने ।

अर्थात्, सभापति पछिको महत्वपूर्ण पदमा युवाहरुको प्रतिस्पर्धा हुनुमा थापा पनि कारण देखिन्छन् । ‘हाम्रो राजनीतिक पार्टीहरु आन्दोलनबाट जन्मिए । आन्दोलनबाट नेता जन्मिए’ उनी भन्छन्, ‘को कहिले आन्दोलनमा लागे र सांसद भए भन्ने आधारमा फाइल बढुवा जस्तो प्रणाली विकास भयो । नेतृत्वमा जाम लाग्यो, त्यो प्रणाली भत्काउनुपर्छ ।’ कर्मचारीतन्त्र जस्तो नभएर लोकतान्त्रिक प्रणाली अनुसार चल्ने पार्टीहरु अबको आवश्यकता रहेको थापा बताउँछन् ।

गगनले कोरेको गोरेटो

दोस्रोपटक महामन्त्रीको उम्मेद्वार बनेका थापाले राजनीतिक प्रणाली सुधार्न पनि यसपटक नजिते पुनः त्यो पदमा दाबी नगर्ने घोषणा छन् । उनको आदर्श छ- सभापतिको उम्मेदवारले पनि एक पटक पराजित भयो भने पार्टीको राजनीतिबाट स्टेप डाउन गर्नुपर्छ । महामन्त्री वा अरु पदका उम्मेदवारका लागि यो लागू नहोला । तर उनी भन्छन्, महामन्त्रीमा दुईदुई पटक प्रतिस्पर्धा गर्दा उत्तीर्ण नभएपछि फेरि तेस्रो पटक प्रतिस्पर्धा गर्ने कुरा हुन्न ।

उनले पार गरेको राजनीतिक यात्रा र लिएको चुनौती हेर्दा यो घोषणा अस्वाभाविक होइन । किनकि गगन चुनौतीबाटै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । राजतन्त्र अन्त्य गर्ने २०६२/६३ सालको जनआन्दोलनको प्रतीक बनिरहँदा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र पार्टी निर्णय भन्दा अगाडि थिए, उनी । त्रिचन्द्र क्याम्पसका सभापति र नेविसंघको महामन्त्रीकाे हैसियत बनाएका उनले गणतन्त्रको वकालत गरे । त्यसैकारण गिरिजाको साथ नपाउँदा चितवनमा सम्पन्न महाधिवेशनबाट गगन नेविसंघको सभापति बन्न सकेनन् ।

तर गणतन्त्र स्थापनाका निम्ति गरेको विद्रोह, राजद्रोहको आरोप र जेल जीवनका कारण उनको राजनीतिक उँचाइ माथि उठ्यो । २०६४ सालको संविधानसभामा गिरिजाप्रसाद कोइरालाले नै ३१ वर्षे गगनलाई सभासद बनाए । यसपछि उनको राजनीतिक हैसियत झनै बढ्यो ।

२०६७ (१-५ असोज) को १२औं महाधिवेशनबाट थापा केन्द्रीय सदस्य बने । कांग्रेसमा त्यो बेलासम्म केन्द्रीय सदस्य बन्नु सजिलो थिएन । तर २५ जनाका निम्ति भएको प्रतिस्पर्धामा उनी पहिलो नम्बरको मत ल्याएर विजयी भए । उनीसँगै केन्द्रीय सदस्य थिए, तिनै पुराना नेताहरु गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामकृष्ण ताम्राकार, डा. रामशरण महत, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, बलबहादुर केसी, दिलबहादुर घर्ती, नरेन्द्रविक्रम नेम्वाङ, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, फर्मुल्लाह मन्सुरहरु ।

संसद् र पार्टी राजनीतिमा स्थापित भइसकेका थापाले २०७० को दोस्रो संविधानसभा निर्वाचन सहजै जिते । काठमाडौं-४ मा चुनाव लडेका थापाले २२,३३६ मत ल्याउँदा एमालेका उम्मेद्वार निर्मल कुइँकेलले ९,०२८ र माओवादीका नन्दकिशोर पुन पासाङले ६,४६२ मत ल्याए । माओवादी आन्दोलनका कमाण्डर पासाङ अहिले उपराष्ट्रपति छन् । त्यो चुनाव जितेका गगन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा १० भदौ २०७३ मा स्वास्थ्यमन्त्री बने ।

छोटो समय मन्त्री बनेका गगन, २०७४ मा थोरै चुनाव जित्ने (१६५ मा २३ कांग्रेसले जित्दा) पार्टी नेता बने । देशभर वाम गठबन्धनका उम्मेद्वारले जितिरहँदा उनले प्रधानमन्त्रीका (माधव नेपाल प्रधानमन्त्री हुँदा) सल्लाहकार रहिसकेका राजन भट्टराईलाई सहजै हराए । थापाले (२१,५५८ मत) ल्याएर जित्दा एमाले नेता भट्टराईले (१८,१४० मत) ल्याए ।

उनको संरचनात्मक (पदीय) हैसियत बढिरहँदा राजनीतिक एजेण्डा पनि नेतृत्वदायी रहँदै गयो । पार्टीभन्दा अगाडि गणतन्त्रको वकालत गर्दा नेतृत्वबाट ‘दरबारबाट परिचालित’को आरोप खेपेर पनि हार नमानेका गगनले लिएको लाइनले नै जितेकै कारण अहिले पनि कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । ५ पुस २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद् विघटन गर्दा त्यसको विरुद्धमा उनी उभिए । तर सभापति शेरबहादुर देउवा भने संसद् विघटनको निर्णयमा मौन बस्न चाहन्थे । दुई पटक (५ पुस २०७७ र ७ जेठ २०७८) नै संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि कांग्रेस सभापतिको हैसियतमा देउवा प्रधानमन्त्री छन् । तर गगन प्रधानमन्त्री देउवाको प्रतिस्पर्धी प्यानलबाट महामन्त्रीका उम्मेद्वार छन् । ‘हामीले लडेर ल्याएको व्यवस्था र प्राप्त उपलब्धिप्रति प्रतिबद्ध छु, त्यसलाई जोगाउन सक्षम पनि छौं’, उनी निर्धक्क भन्छन् ।

कांग्रेसको १४औंं महाधिवेशनमा देखिएको दृश्यले पनि उनलाई यस्तो निर्धक्क जवाफ दिने हिम्मतमा पुर्‍याएको बुझ्न गाह्रो पर्दैन । यो महाधिवेशनमा समकालीन विश्वप्रकाश र प्रदीपसहित प्रकाशशरण महत पनि गगनसँगै महामन्त्रीका प्रत्यासी छन् ।

महत, गगनभन्दा धेरै सिनियर नेता हुन् । बलबहादुर केसीसँग २०४० मा नेविसंघको सभापतिमा महत पराजित भइरहँदा गगन सात वर्षका थिए । तर तिनै महत अहिले देउवा प्यानलबाट महामन्त्री पदका पहिलो रोजाइका उम्मेद्वार छन् । केसी चाहिं गगनकै प्यानलबाट केन्द्रीय सदस्यका उम्मेद्वार बनेका छन् ।

त्यसअघिका (२०३९ मा) नेविसंघ सभापति एवम् वर्तमान सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले देउवा प्यानलबाटै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । नेविसंघको २०४४ मा सभापति बनेका बालकृष्ण खाँण, २०४८ मा सभापति बनेका एनपी साउद, २०५३ मा सभापति बनेका गोविन्द भट्टराई पनि १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार छन् । कार्की, खाँण र साउद देउवा प्यानलबाट महामन्त्रीकै आकांक्षी थिए । तर देउवा र सिटौलाबीच जुटेको समझदारीका कारण प्रदीप पौडेल महामन्त्रीका प्रत्यासी छन् ।

‘दलभित्र आन्दोलनको बेला जस्तो २०औं वर्ष काम गरेर बस्ने होइन, एउटा निश्चित मापदण्ड हुनुपर्छ । सभापतिको प्रतिस्पर्धामा हार्नुभयो, तर ३५ वर्षको मात्रै हुनुहुन्छ भने पनि छोड्नुहोस् । सभापतिले पार्टीलाई चुनावमा जिताउन सक्नुभएन, जिम्मेवारी छोडौं । एउटा प्रणाली त बनाउनुपर्छ’, थापा भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?