+
+

दार्जिलिङको गाडीमा सहचालकदेखि हेयर ड्रेसरसम्मको यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १७:०३

२७ मंसिर, काठमाडौं । कक्षा आठ पढ्दै गर्दा दार्जिलिङका भरत थापालाई ड्राइभर बन्ने भूत चढ्यो । पढाइमा पहिलेदेखि नै त्यति चासो नभएका उनी सानै उमेरमा स्कुल छाडेर त्यहींको एउटा मिनीबसमा सहचालकको काम गर्न थाले ।

सानैदेखि दाजु र दिदीको लालनपालनमा हुर्किएका उनको त्यो कामप्रति घरका कोही पनि सन्तुष्ट थिएनन् । त्यसैले दिल्लीमा रहेका दाइले उनलाई सवारी चालक बन्ने ‘भूत’ छाडेर दिल्ली आउन आग्रह गरे ।

नौ महिनासम्म काम गर्दा पनि उनलाई ड्राइभर बनाउन कसैले चाहेनन् । न त उनले कसैलाई मनाएर गाडी सिक्न सके । त्यसपछि उनी दाइको कुरा मानेर चालक नबनी गाडी लाइन छाडेर ब्युटी पार्लरमा कार्यालय सहयोगीको काम गर्न दिल्ली पुगे ।

दुई वर्षअघि बन्द भएको कमलादीस्थित हेयर एण्ड शान्तिको शाखा डिसेम्बर १ देखि पुनः सञ्चालनमा आयो । त्यसपछि दिल्लीमा कार्यरत थापा अहिले कमलादी शाखामा रमाना भएर आएका छन् । उनी भारतमा भन्दा नेपालमा काम गर्न सजिलो रहेको बताउँछन् ।

ब्युटी पार्लर सम्बन्धी कुनै पनि जानकारी नभएका थापालाई कार्यालय सहयोगीबाहेक अरु काम मिल्ने कुरै थिएन । नयाँ दिल्लीमै रहेको अम्बिका पिल्ले ब्युटी पार्लरमा उनले कार्यालय सहयोगीको काम शुरु गरे । ‘बिहान ८ बजे जानुपर्थ्यो, साँझ ७ बजेसम्म काम थियो । १५ सय (भारु)को तलब त्यसबाहेक कुनै पनि सुविधा थिएन,’ उनी सुनाउँछन्, ‘तर मलाई गाडी लाइनमा त्योभन्दा धेरै दुःख भोगिसकेकाले त्यहाँ पनि दुःख गर्न समस्या भएन ।’

एक वर्ष पनि नपुग्दै उनको तलब २ हजार पुग्यो । तर एक वर्ष पूरा भएपछि उनले त्यहाँ काम छाडे । चिनेजानेका र शुभेच्छुकहरुले उनलाई नेपालीले खोलेको ब्युटी पार्लरमा काम गर्न सजिलो हुन्छ भनेर तत्कालीन ‘हेरी एण्ड शान्ति’मा पठाइदिए । ‘भारतीयहरु काममा बढी असन्तुष्टि राख्छन्, नेपालीहरु सानातिना गल्ती कमजोरीलाई ध्यान दिँदैनन्,’ थापा भन्छन्, ‘त्यसैमाथि शान्ति म्याम (शान्ति श्रेष्ठ) त झनै सहयोगी र आफ्ना कर्मचारीको वृत्ति विकासमा ध्यान दिने खालको हुनुहुन्छ ।’

हेयर शान्ति’मा दुई दशक

थापा ‘हेयर शान्ति’मा सन् २००२ देखि कार्यरत रहेको सुनाउँछन् । उनले ५ वर्ष दिल्लीकै हेरी एण्ड शान्ति पार्लरमा हाउस किपिङको काम गरे । अम्बिका पिल्लेमा काम गर्दा नै ब्युटी पार्लरमा के–के काम गरिन्छ भन्ने बारेमा सामान्य जानकारी लिएका थापाले २००६ पछि भने हेयर शान्तिमै कपालको सुन्दरता सम्बन्धी काम शुरु गरे ।

पहिले ‘हेरी एण्ड शान्ति’को नामबाट चलाइएको पार्लर २००६ पछि शान्ति श्रेष्ठको एकल स्वामित्वमा ‘हेयर एण्ड शान्ति’मा रुपान्तरण भयो । कार्यालय सहयोगीको रुपमा प्रवेश गरेका उनले सञ्चालक शान्ति श्रेष्ठकै सल्लाहमा कपालको सुन्दरता सम्बन्धी काममा समेत चासो दिन थाले । त्यही परिश्रमले डेढ दशकमा अहिले थापा एक कुशल हेयर ड्रेसर बनेका छन् । ‘स्याम्पु गर्ने र अरुलाई सहयोग गर्ने गरेर मैले दुई वर्षजति सानोतिनो काममा हात हालें,’ थापा भन्छन्, ‘२००८ देखि अनुजा श्रेष्ठ लगायतसँगै हेयर ड्रेसिङको काम शुरु गरेको हुँ ।’

त्यसपछिका ५ वर्ष उनले प्रयोगात्मक काममा नयाँ–नयाँ अनुभव बटुले । कहिलेकाहीं गल्ती हुँदा गाली पनि खाए । तर त्यसले उनलाई झनै अनुभवी बनाउँदै लग्यो । थापा सुनाउँछन्, ‘यो क्षेत्रमा कहिल्यै पनि विज्ञ बन्न सकिँदो रहेनछ । आज एउटा कुरा सिक्यो भोलि अर्को फेसन आउँछ । त्यसैले यो सधैं सिकिरहनुपर्ने पेशा रहेछ ।’

प्रयोगात्मक ज्ञानले मात्रै हुँदैन भनेर सन् २०१३ मा उनी हेयर ड्रेसिङकै कोर्स गर्न गए । दिल्लीको राजीव चोकमा रहेको कन्नोट प्लेसमा रहेको इन्स्टिच्युटमा दुई वर्षको कोर्स सकेर उनले फेरि हेयर शान्तिमा काम शुरु गरे । ‘शान्ति म्यामले हामीलाई सधैं नयाँ कुरा सिक्नमा प्रोत्साहन गर्नुहुन्थ्यो । ४/४ वटा चियर राखेर शुरु भएको हेयर शान्ति अनेकौं शाखासम्म विस्तार हुँदै गयो । हामीले पनि आफ्नो ज्ञानलाई त्यसरी नै विस्तार गर्दै लैजान पायौं,’ उनी भन्छन् ।

दुई वर्षअघि बन्द भएको कमलादीस्थित हेयर एण्ड शान्तिको शाखा डिसेम्बर १ देखि पुनः सञ्चालनमा आयो । त्यसपछि दिल्लीमा कार्यरत थापा अहिले कमलादी शाखामा रमाना भएर आएका छन् । उनी भारतमा भन्दा नेपालमा काम गर्न सजिलो रहेको बताउँछन् ।

हेयर स्टाइल गर्न नेपाली सजिला

सानैमा घुम्न नेपाल आउन मन गरेका थापा जीवनको ३७ औं वर्षमा यहीं काम गर्नेगरी ओर्लिए । थापा नेपाल आएको डेढ हप्ता जति भयो । उनी लोकन्थलीमा बस्छन् भने कमलादीमा काम गर्छन् । उनी पछिल्लो डेढ हप्ताको कामलाई मूल्यांकन गर्दा हेयर स्टाइल गर्न भारतीयभन्दा नेपालीहरु सजिला रहेको सुनाउँछन् ।

‘भारतीय शैलीमा हेयर ड्रेसिङ गरिरहेको मलाई केही चुनौती थपिएको छ । उता र यताको शैली सबै मिल्दैन । तर नेपालीहरु भारतीयको तुलनामा हेयर ड्रेसिङमा सजिला छन् ।’

अहिले नेपाली हावापानीमा घुलमिल हुन समय लाग्ने भन्दै स्वास्थ्यले यहाँको वातावरणलाई सहजै स्वीकार्‍यो भने यहीं काम गर्ने बताउँछन् । ‘नयाँ शाखा शुरु भएपछि मलाई अफिसले नै यहाँ पठाएको हो । तर यहाँ काम गर्न थालेपछि मलाई पनि रमाइलो लागिरहेको छ । तर वातावरणले असर गरेन भने नेपालमै बसेर काम गर्ने रहर छ ।

थापा ‘हेयर एण्ड शान्ति’को दिल्ली शाखामा आउने ग्राहकहरुको संख्यालाई विश्लेषण गर्ने हो भने त्यहाँ ७५ प्रतिशतभन्दा धेरै महिला सेवाग्राहीहरु आउने गरेको सुनाउँछन् । तर नेपालमा यो संख्या अलिक कम रहेको उनको भनाइ छ ।

गरिबलाई निःशुल्क तालिम दिने सोच

अहिले थापाले हेयर कलर, हेयर कट, कपाल बनाउने, विवाहको सिजनमा मेकअप गर्ने जस्ता काम गर्छन् । उनी बढीजसो महिलाहरुको हेयर ड्रेसिङ गर्छन् । मेकअप गर्नेले गरिसकेपछि उनीहरुको ड्रेसको आधारमा उनी हेयर ड्रेसिङ गर्ने गर्छन् ।

थापाले भविष्यमा आफैंले पार्लर सञ्चालन गर्ने सोच बनाएका छन् । आफैंले गर्दा दार्जिलिङमा नै सञ्चालनमा ल्याउने उनी बताउँछिन् । तर नाम भने ‘हेयर एण्ड शान्ति’को ब्राण्ड भने नछाड्ने उनी बताउँछन् । थापा भन्छन्, ‘मेरो एउटा फरक सोच चाहिं यो छ कि जो यो पेशामा आउन चाहन्छन् र यसबारे तालिम लिन आर्थिक अभाव हुन्छ । त्यस्ता मान्छेलाई निःशुल्क आधारभूत तालिम दिनेगरी पार्लर सञ्चालनमा ल्याउने सोच छ । तीन महिनाको बेसिक कोर्स हुन्छ, त्यो सिक्दा मान्छेले हेयर ड्रेसिङको आधारभूत कुराहरु बुझ्न सक्छन् ।’

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?