
२७ मंसिर, काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना नयाँ-नयाँ चरित्रमा अभिनय गर्न रुचाउँछन् । उनी अभिनित पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।
दर्शक र समीक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो चलचित्रमा आयुष्मानले एक पुरुषबाट महिला बनेकी (ट्रान्स वुमन) युवतीको प्रेमीको भूमिका निभाएका छन् । ‘चण्डीगढ करे आशिकी’ले बक्स अफिसमा पनि राम्रो कमाइ गरिरहेको छ ।
यसैबीच अभिनेता आयुष्मान खुरानाले आफू समाज परिवर्तनका कथा समेटिएका चलचित्रमा काम गर्न सधैं इच्छुक हुने बताएका छन् । उनले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘समाजका कुरीतिविरुद्धको कथा भएका चलचित्रमा म काम गरिरहनेछु, जसले सामाजिक बहस शुरु गरोस् । भलै त्यसले बक्स अफिसमा जति नै कमाइ गरोस् ।’
आयुष्मानले आफूले पहिलो चलचित्र ‘विक्की डोनर’देखि नै यस्तै भूमिकामा काम गरिरहेको बताए । सामाजिक रुपमा वर्जित र अपरम्परागत मानिएको भूमिका आफूले उक्त चलचित्रमा गरेको उनले स्मरण गराए । त्यतिबेला आफूलाई सामाजिक कुरीतिविरुद्धका कथा समेटिएका चलचित्र बन्न आवश्यक देखेर काम गरेको सुनाए ।
आयुष्मान हरेक चलचित्रमा अलग-अलग पात्रको भूमिकामा प्रस्तुत हुँदै आएका छन् । उनलाई बलिउडमा सबैभन्दा बढी जोखिम उठाउने कलाकारको रुपमा समेत लिने गरिन्छ ।
उनले चलचित्र ‘शुभ मंगल’मा ‘इरेक्टाइल डिसफंक्सन’बाट पीडित पुरुषको भूमिका निभाएका छन् भने ‘विक्की डोनर’मा वीर्य दान गर्ने व्यक्तिको चरित्र निभाएका थिए ।
यस्तै ‘बाला’मा कपाल नभएको व्यक्तिको भूमिकामा उभ्याएका आयुष्मानले आफ्नो पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’मा लिंग परिवर्तन गरी पुरुषबाट महिला बनेकी युवतीको प्रेमीको चरित्र निभाएका छन् ।
प्रतिक्रिया 4