
२८ मंसिर, काठमाडौं । साहसिक टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को चौथो सिजन सोमबारदेखि हिमालय टीभीबाट प्रसारण हुन थालेको छ । यो शो हरेक सोमबार बेलुकी ८ बजेबाट प्रसारण हुनेछ । सोमबार ‘पीआई’ राउण्ड प्रसारण भएको छ ।
पीआई राउण्डमा एक दर्जन प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका छन् । जसमा फिटनेस ट्रेनरदेखि राष्ट्रिय जिम्न्यास्टिक खेलाडीसम्म छन् । पहिलो एपिसोडमा महिलाहरुको उपस्थिति पनि उत्साहजनक देखिएको छ ।
‘हिमालय रोडिज’को चौथो सिजनको ग्याङ लिडरमा आशिष राना (लाहुरे), अनुपविक्रम शाही, दीया मास्के र समन श्रेष्ठ छन् । सिमोस सुनुवारको निर्देशन रहेको सिजनको होष्टमा रेमनदास श्रेष्ठ छन् । चौथो सिजनमा प्रतिस्पर्धीहरु डिजिटल अडिसनमार्फत छनोट गरिएको हो । छनोट भएका तिनै प्रतिस्पर्धीहरुलाई पहिलो एपिसोडमा प्रस्तुत गरिएको हो ।
प्रश्नको जवाफ, विभिन्न चुनौती पूरा गरेका आधारमा ग्याङ लिडरले ‘बज’ गरेका छन् र प्रतिस्पर्धीहरुले आफ्नो लिडर छनोट गरेका छन् । केही प्रतिस्पर्धी भने पहिलो एपिसोडबाटै बाहिरिएका छन् । छनोट प्रतिस्पर्धीहरु विभिन्न चुनौती सामना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ ।
चौथो सिजनको पहिलो एपिसोडलाई दर्शकले रुचाएका छन् । पहिलो एपिसोडले युट्युबमा मंगलबार दिउँसोसम्म १ लाख ६० हजार बढी भ्युज पाइसकेको छ । दर्शकले पर्खाइमा रहेको ‘हिमालय रोडिज’को प्रसारण शुरु भएकोमा खुशी व्यक्त गरेका छन् । चौथो सिजनलाई ‘सिजन अफ सर्भाइभल’ नाम दिइएको छ । ‘हिमालय रोडिज’का यसअघिका तीनवटै सिजनलाई दर्शकले निक्कै रुचाएका थिए ।
प्रतिक्रिया 4