+

ए डिभिजन लिगको चौथो चरणका ७ विशेषता

२०७८ मंसिर  २८ गते २०:२६ २०७८ मंसिर २८ गते २०:२६
ए डिभिजन लिगको चौथो चरणका ७ विशेषता

२८ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ मा चौथो चरणका खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लबसहित साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दीले सहज जित हात पार्दै अपराजित यात्रा कायम राखे ।

चौथो चरणमा आएर एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले अंकको खाता खोल्दा नवप्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोर्‍यो । विमल घर्ती मगरले पनि गोलको खाता खोले । साथै जारी लिगमा ५० औं गोल समेत पूरा भएको छ ।

यस्तै रेफ्रीको निर्णयप्रति प्रशिक्षकले आलोचना समेत गर्न थालेका छन् । चौथो चरणका केही मुख्य विशेषता यस प्रकार छन्

तीन क्लबको लय

साविक विजेता मछिन्द्र फुटबल क्लब, साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब र सर्वाधिक ८ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले चौथो चरणमा सहज जित हात पारे ।

लिगको उपाधिको मुख्य दाबेदारको रुपमा रहेका यी तीन क्लबले चार खेलसम्म अपराजित यात्रा कायम राखेका छन् । मछिन्द्र र मनाङले ३ जित र १ बराबरीबाट समान १० अंक जोडेका छन् । गोल अन्तरमा मछिन्द्र अघि रहँदै शीर्ष स्थानमा छ । यस्तै दुई जित र दुई बराबरीपछि आर्मी ८ अंकसहित तेस्रो स्थानमा छ ।

चौथो चरणको पहिलो खेलमा मनाङले फ्रेण्ड्सलाई तथा आर्मीले च्यासल युथ क्लबलाई समान २-० ले हरायो । साविक विजेता मछिन्द्रले भने हिमालयन शेर्पामाथि ३-० ले प्रभावशाली जित हात पार्‍यो ।

मछिन्द्र र मनाङ धेरै गोल गर्नेमा पनि अघि छ । मछिन्द्रले चार खेलमा ७ गोल गरेको छ भने जम्मा १ गोल मात्र खाएको छ । यस्तै मनाङले पनि ६ गोल गरिसकेको थियो । तीन खेलमा गोल नखाएको मनाङले संङ्कटा विरुद्ध २ गोल खायो । आर्मीले भने ४ गोल गर्दा जम्मा १ गोल खाएको छ ।

एपीएफ र जावलाखेललाई पहिलो अंक

विभागीय टोली एपीएफ र जावलाखेल युथ क्लबले चौथो चरणमा आएर पहिलो अंक जोडे । दुवैले सुरुवाती तीन खेलमा हार व्यहोरेका थिए ।

चौथो खेलमा एपीएफले थ्री स्टारसंग बराबरी खेल्दै १ अंक जोड्यो । यस्तै जावलाखेलले पनि ब्रिगेड ब्वाइज क्लबसंग गोलरहित बराबरी नै खेल्दै पहिलो १ अंक जोडेको छ । जावलाखेलले अंकको खाता खोलेपनि चार खेल खेलिसक्दा गोल गर्न सकेको छैन ।

विमलको गोल

करिब एक दशक अघि युवा उमेरमै राष्ट्रिय टिमबाट खेल्दै डेब्यु गरेका विमल घर्ती मगरले चोटपछि पुनरागमन गर्दै ए डिभिजन लिगमा गोल गरे ।

साविक विजेता मछिन्द्र फुटबल क्लबबाट खेलेका उनले चौथो चरणमा मछिन्द्र विरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरे । ७४ औं मिनेटमा मैदान प्रवेश गरेका विमलले इन्जुरी टाइममा गोल गर्दै यस सिजन गोलको खाता खोले ।

दुई वर्षअघि मछिन्द्रबाट अन्तिम खेल मात्र खेल्दै लिग जितेका विमलले कतारमा घुँडाको शल्यक्रिया गराएपछि ९ महिनापछि लिगमार्फत फुटबल खेलमा पुनरागमन गरेका हुन् । विमलले चारमध्ये तीन खेल वैक्लपिक खेलाडीको रुपमा खेलेका छन् ।

लिगमा ५० गोल पूरा

जारी लिगमा चौथो चरणको समाप्तीमा ५० गोल समेत पूरा भएको छ । चौथो चरणमा कूल ९ गोल भए । तेस्रो चरणमा कूल १८ गोल भएकोमा चौथो चरणमा त्यसको आधा संख्यामा मात्र गोल भए ।

पहिलो चरणमा १६, दोस्रोमा ७ र तेस्रोमा १८ गोल भयो । लिगको २७ औं खेलमा संकटाले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदा निरज बस्नेतले गरेको गोल नै लिगको ५० औं गोल बन्यो । निरजले लिगमा अजयी मार्टिन्स र सुनिल बलसंगै सर्वाधिक ३ गोल गरेका छन् । उनी धेरै गोल गर्ने डिफेण्डर हुन् ।

लिगको पहिलो गोल पनि संकटाकै लक्ष्मण रुचालले गरेका थिए । उनले हिमालयन शेर्पा विरुद्ध गोल गरेका थिए । चौथो चरणमा १४ मध्ये ९ टिमले गोल गर्न सकेनन् भने जम्मा ५ टिमले मात्र गोल गरे ।

एनआरटीको पहिलो जित

न्युरोड टिम एनआरटीले चौथो चरणमा आएर पहिलो जित हात पार्‍यो । त्यसका लागि एनआरटीले नवप्रवेशी सातदोबाटोलाई १-० ले हरायो ।

साविक विजेता मछिन्द्रसंग २-१ ले पराजित हुँदै लिग सुरुवात गरेको एनआरटीले त्यसपछि ब्रिगेड ब्वाइजसंग गोलरहित बराबरी खेलेको थियो भने च्यासलसंग १-१ को बराबरी खेलेको थियो । एनआरटीलाई पहिलो जित दिलाउन क्यामरुनी खेलाडी स्टेफन समिरले गोल गरेका थिए ।

सातदोबाटोको पहिलो हार

ए डिभिजनमा पहिलो पटक खेलिरहेको सातदोबाटो युथ क्लबले चौथो चरणमा आएर पहिलो हार व्यहोरेको छ । सुरुवाती तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई जित र एक बराबरी नतिजा निकालेको सातदोबाटोको अपराजित यात्रा चौथो खेलमा एनआरटीसंग १-० ले पराजित हुँदै सकियो ।

लिगको पहिलो खेलमा फ्रेण्ड्ससंग गोलरहित बराबरी खेल्दै ए डिभिजनमा डेब्यु गरेको सातदोबाटोले त्यसपछि थ्रीस्टारमाथि १-० को जित हात पारेको थियो भने एपीएफलाई ४-१ ले हराएको थियो ।

रेफ्रीको आलोचना

जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर श्रेष्ठ सुरुवाती दुई खेलको नतिजापछि पोष्ट म्याच कन्फ्रेन्समा शान्त देखिएका थिए । लगातार तेस्रो खेल पनि हारेपछि प्रशिक्षक केसीले आफ्नै दुई खेलाडीको आलोचना गर्दै गल्ती औँल्याएका थिए ।

चौथो खेलमा जावलाखेलले ब्रिगेडसंग बराबरी खेल्दै पहिलो १ अंङ्क जोड्यो । तर प्रशिक्षक केसी यस पटक रेफ्रीप्रति सन्तुष्ट हुन सकेनन् । शान्त स्वाभावका देखिने प्रशिक्षकले खेलपछि रेफ्रीको चर्को आलोचनासमेत गरे । उनले रेफ्रीको निर्णय सही नभएको बताउँदै फिफा ब्याच भएको रेफ्रीले लिग खेलाउनुपर्ने धारणा राखे ।

केसीले रेफ्रीकै निर्णयले गर्दा ३ अंक जोड्ने लक्ष्य बनाएपनि १ अंकमा चित्त बुझाउनुपरेको बताए । लिगमा रेफ्रीको आलोचना भएको यो पहिलो पटक होइन । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले थ्रीस्टार विरौध पहिलो खेल हारेपछि रेफ्रीको निर्णयमा गुनासो पोखेका थिए ।

पछिल्लो समय एन्फा र फिफा रेफ्रीहरुबीच विवाद बढेकोले लिगमा फिफा रेफ्री र राष्ट्रिय रेफ्री भन्दा तलका रेफ्रीले खेल खेलाउन थालेका छन् । जावलाखेल र ब्रिगेडबीचको खेलमा ज्ञानबहादुर तामाङ मुख्य रेफ्री थिए । उनले पहिलो पटक लिगका खेल खेलाएका थिए ।

चौथो चरणको खेलको नतिजा

मनाङ २-० फ्रेण्ड्स

च्यासल ०-२ आर्मी

सातदोबाटो ०-१ एनआरटी

हिमालयन शेर्पा ०-३ मछिन्द्र

थ्रीस्टार ०-० एपीएफ

संकटा १-० नेपाल पुलिस

जावलाखेल ०-० ब्रिगेड ब्वाइज

चौथो चरणमा गोल गर्ने खेलाडीहरु

ओलावाले आफिज र दिनेश राजवंशी (मनाङ मर्स्याङ्दी )

जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठ (त्रिभुवन आर्मी)

स्टेफन समिर (एनआरटी)

सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगर (मछिन्द्र)

निरज बस्नेत (संकटा)

ए डिभिजन लिग मछिन्द्र फुटबल क्लब मनाङ मर्स्याङ्दी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय