
१ पुस, ललितपुर । ललितपुर महानगरले कोराना प्रभावित परिवारलाई शुक्रबारदेखि आर्थिक सहायता वितरण गर्ने भएको छ ।
महानगरको १०३औं स्थापना दिवसको दिन पारेर कोरोना प्रभावितलाई आर्थिक सहायता वितरण शुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरले प्रत्येक वर्ष पुस २ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
महानगरीय विपद् व्यवस्थापन समितिले कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गर्ने निर्णय यसअघि नै गरेको थियो ।
महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई एक लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरिने छ । यस्तै भेन्टिलेटर र आईसीयूमा रहेर उपचार गराई निको भएकालाई जनही ६० हजार र कोरोना संक्रमणका कारण अस्पताल भर्ना भई उपचार गराएकालाई बढीमा ३० हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए ।
महानगरले स्थापना दिवसको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई पनि सम्मान गर्ने भएको छ ।
प्रतिक्रिया 4