+
+
माइतीघर :

माइतीघर छाडेर जाँदा

सुशील नेपाल सुशील नेपाल
२०७८ पुष ३ गते १९:३५

विवाहपछि नारीको घर र थर बद्लिन्छ । त्यो आँगन बिरानो बन्छ, जहाँ उनी खेलेकी थिइन् । हुर्केकी थिइन् । आफु जन्मेको धरातल मात्र होइन, रहनसहन पनि बदलिन्छ । अनि बद्लिन्छ, आफ्ना कर्म पनि । जीवनको एउटा मोडमा पुगेपछि जन्मघर चटक्कै छाडेर कर्मघर जानुपर्दा कस्तो हुन्छ ? यहाँ प्रतिनिधि अनुभूति प्रस्तुत गरिएको छ ।

कर्मघर भन्दा प्यारो माइतीघर
बसुन्धरा भुसाल

जमाना पुरानै भएपनि मेरो विवाह अरुको जस्तो मण्डप बनाएर, बाजा बजाएर भएन । त्यसैले अरुको तुलनामा विवाहको दिन मण्डपमा घुम्दा र अन्मिएर श्रीमान्को घर जाँदाको अनुभव मैले लिन पाइन । मण्डपमा अन्मिएर नगए पनि आफू जन्मघरबाट कर्मघरमा जाँदा मलाई पनि अत्यन्तै दुःख भने लागेको थियो ।

भनिन्छ नि माइतीको गुन्द्रुक र अन्तको चौरासी व्यञ्जन माइतीकै खाना प्यारो लाग्छ । मलाई पनि विवाह गरेर जाँदै अब आफ्नो जीवन काट्ने घर कस्तो हुन्छ होला ? घरको नियम कस्तो होला ? आफू त्यहाँको संस्कारसँग घुलमिल हुन सक्छु कि सक्दिन होला ? भन्ने जस्तो चिन्ताले सताइरहन्छ । खानपान, बसोबास र सम्भावित व्यवहारको बारेमा चिन्ता भइरहन्छ । माइतीमा जस्तो खुलेर कुरा गर्न पनि सामाजिक बन्धनले नदिने भएकोले माइतीघर जस्तो कर्मघर हुँदैन ।

नयाँ घरमा जाँदै गर्दा हामीले श्रीमानबाहेक अरू कसैलाई पनि चिनेका हुँदैनौं । त्यस्तो बेलामा सासुससुरा कस्ता पर्ने हुन् ? नन्द आमाजु कस्ता पर्ने हुन् भन्ने जस्ता कुराहरुले सताइरहन्छ ।

मैले विवाह गरेर आउने बेलामा सासुससुरा बितिसक्नु भएको थियो । त्यसैले सासुससुराले बुहारीप्रति गर्ने व्यवहार कस्तो हुन्छ भन्ने मैले अनुभव गर्न पाइनँ । मेरो जेठानी दिदी साथीजस्तो हुनुहुन्थ्यो । त्यसैले मलाई घरमा घुलमिल हुन त्यस्तो कठिन भएन । यति हुँदाहुँदै पनि आफ्नो माइतीघर, त्यहाँ बच्चा हुँदा गरेको व्यवहार, परिवारका सदस्यलाई लगाएको घुर्की र धम्की आदिको याद आइरहन्छ । बिहान उठ्नेबित्तिकै माइतीको याद आउने, माइतीमै उठेको भइदिए जस्तो हुने त्यस्तो भइरहन्छ । याद त सधैंभरी आइरहन्छ ।

घरमै पनि मैले कहिलै पनि पराइको जस्तो व्यवहार भोग्नु परेन । त्यति हुँदाहुँदै पनि मैले कहिलै पनि माइतीको याद घरमा भुलाउन सकिन । त्यसैले मेरो अनुभवले भन्छ कि माइतीघर जस्तो विवाह गरेर गएको घर कहिलै पनि हुँदैन । माइती घरको मायाले लोभ्याइहाल्छ ।

घरमा गएपछि पनि विवाहपूर्व माइती घरमा बिताएका दिनहरुको यादले सताइरहन्छ । माइती घरमा गरेको गाली, आफूले बिगारेका कामहरु, बाबु आमाको नजानिँदो प्रेम आदि यसमा आइरहन्छ । खाना खाने बेलामा, चाडबार्डको समय होस् या त सुत्केरी हुँदा पनि माइतीकै याद आइरहन्छ । यो मलाई मात्रै होइन, हरेक नेपाली चेलीलाई होला जस्तो लाग्छ । अझ बढी त बिरामी हुँदा माइतीको याद धेरै आउँछ ।

नयाँ घरमा गइसकेपछि माइतीको आवश्यकता पाइलापाइलामा महसुस हुँदो रहेछ । सबैभन्दा धेरै याद चाडवार्डमा आउँदो रहेछ । म आफूलाई अरुको देख्दा पनि त्यो खालको महसुस हुन्छ

विवाहको ५० औं वर्षसम्म पुग्दा पनि माइतीप्रतिको चासोमा ममा अलिकति पनि कमी आएको छैन । मेरो माइती र घर नजिकै छ । तर पनि मलाई माइती गएर घर फर्किँदा अहिले पनि नरमाइलो जस्तो अनुभव हुन्छ । स्वाभाविक रुपमा विवाह गरेपछि श्रीमान्प्रति जति माया हुन्छ छोराछोरी जन्मिएपछि बच्चामा बढी माया हुन्छ । अर्थात् घरमा नयाँ सदस्य थपिएपछि माया बाँडिँदै जान्छ । छोराछोरी ठूलो हुन्छन्, नातिनातिना जन्मिएपछि छोराछोरीकोभन्दा नातिनातिनाको बढी माया आउँछ । यसरी साँवाभन्दा ब्याजको बढी माया भने जस्तै माया बाँडिँदै जान्छ । त्यसरी माया बाँडिएपनि माइतीको मायामा भने पहिले र अहिलेमा कुनै कमी भएको छैन ।

चाडपर्वमा माइतीको धेरै याद आउने रहेछ

ऋचा शर्मा, अभिनेत्री

विवाह गरेर माइतीघर छाड्नुपर्दाको मेरो अनुभव एकदमै तीतो थियो । आमा विवाहअघि देखि एकदमै बिरामी हुनुहुन्थ्यो । मेरो बुबा बित्नु भएको १३ वर्ष भइसकेको थियो । बुबा बितेपछि आमा पनि हजुरआमासँगै बस्न थाल्नुभएको थियो । त्यसैले मेरो बाल्यकाल पनि मामाघरमा हजुरआमासँगै बित्यो । माइतीमा धेरै बस्दा दाजुभाइ तथा बुबाआमालाई बढी जिम्मेवारी महसुस हुँदो रहेछ । त्यसैले २० वर्ष नाघेपछि छोरी/बहिनीको विवाह गरिदिनुपर्छ भन्ने मान्यताले समाजलाई गाजेको छ । तर विवाह गर्दा आफ्नो भने मुटु भारी हुँदो रहेछ ।

अरुलाई जस्तै विवाहको कुरा चलेदेखि म पनि मानसिक रुपमा आफूलाई पूर्वतयारी गर्नमै व्यस्त थिएँ । धेरैले विवाहको कुरा गरेपछि मानसिक रुपमा यसरी नै पूर्वतयारीमा लाग्न थाल्छन् भन्ने लाग्छ ।

बुबा नभएकोले विवाहपूर्व पनि घरायसी व्यवहार हेर्नुपरेकोले यो पाटोमा मलाई खासै समस्या भएन । तर बिरामी आमा छाडेर जानुपरेको पीडा भने मलाई धेरै थियो । बुबा बितेपछि आमा मेरो रेखदेखको पूरा जिम्मा मेरो काँधमा थियो । मैले छाडेर जाँदा उहाँलाई गाह्रो हुन्छ भन्ने चिन्ताले मलाई सताएको थियो ।

मेरो विवाह हुँदा आमा दुःखी र खुसी दुवै हुनुहुन्थ्यो । एकातिर छोरीलाई बिदाइ गर्न पाएकोमा आमा खुसी देखिनुहुन्थ्यो भने अर्काेतिर आफ्नो साहाराको रुपमा रहेकी छोरीलाई बिदा गरेकोमा उहाँमा बेचैनी पनि थियो ।

बालुवाटारबाट बुढानीलकण्ठमा विवाह भएर गएकी मेरोलागि घर र माइती त्यति टाढा थिएन । त्यसैले मलाई म टाढा जाँदैछु भन्ने पनि लागेन । मेरो यता -कर्मघरमा) पनि सबैजना कुरा बुझ्ने खालको हुनुहुन्छ । त्यसैले पनि मलाई त्यस्तो समस्या भोग्नु परेन ।

विवाह गरेर गएपछि आमाको यादले धेरै सताउँथ्यो । उहाँसँगै सुत्ने, उठ्ने र सँगै खाना खाने, उहाँकै स्याहारमा समय गुजार्ने गरेकोले पनि उहाँसँग छुट्टै खालको आत्मीयता थियो । विवाहपछि खाने-सुत्ने जस्ता दैनिक गतिविधिको बेलामा आमाको धेरै याद आउने गर्थ्यो ।

विवाह गरेपछि दुल्हन फर्काउन माइत गइयो । मसँगै श्रीमान पनि जानु भएको थियो । राम्रो परिवार र राम्रो श्रीमान् छ भन्ने थाहा पाएपछि आमाको मुहारमा पनि खुसीको भाव सञ्चार हुँदो रहेछ । दुल्हन फर्काउन जाँदा पनि म एक सातासम्म माइतमै बसेेँ । आमा बिरामी भएकोले विवाहको जतिपनि संस्कार हुन्छ त्यो सबै पूरा गर्न पाइनँ ।

नयाँ घरमा गइसकेपछि माइतीको आवश्यकता पाइलापाइलामा महसुस हुँदो रहेछ । सबैभन्दा धेरै याद चाडवार्डमा आउँदो रहेछ । म आफूलाई अरुको देख्दा पनि त्यो खालको महसुस हुन्छ । जस्तै, दही चिउरा खुवाउने भन्छन् । मलाई मेरो माइती भनेको आमा हो । विवाहको केही दिनपछि आमा अस्पताल भर्ना हुनुभयो । २० दिनपछि बित्नुभयो । आमाको मृत्युले धेरै गाह्रो भयो । बाबु पाउँदा उहाँ कति खुसी हुनुहुन्थ्यो होला जस्तो लाग्छ ।

हरेक छोरीचेली माइतीघर भनेपछि हुरुक्कै हुन्छिन् । म पनि नहुने कुरै भएन । तर मेरो दुई दिदीहरु नेपाल बाहिर (अमेरिका र जर्मनी) हुनुहुन्छ । माइतीघरमा हजुरआमा हुनुहुन्छ, उहाँ पनि अस्ताउँदो घामजस्तो भइसक्नुभयो । मेरो बाबु नहुँदासम्म त कहिलेकाहीँ गएर उहाँसँगै बस्थेँ । तर, बाबुआमा नै नभएपनि खालीजस्तो हुँदोरहेछ । कतिपय महिलाहरु कहिलेकाहीँ श्रीमान्सँग झगडा पर्‍यो भने रिसाएर माइत जान्छन रे । मेरो हकमा त्यस्तो अलिक भएन । मेरो माइतीघरमा कोइ पनि हुनुहुन्न भनेजस्तो भइरहेको छ । माइतीघरको सन्दर्भमा अहिले मेरो लागि खल्लो नै छ । अरूको माइतीको माहोल देख्दा मलाई अलिक अभाव महसुस हुन्छ ।

(कुराकानीमा आधारित

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?