+
+
पुस्तक चर्चा :

अग्रजलाई बन्दना गरिरहेका श्रीओम

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७८ पुष ३ गते ११:०८
गोविन्द गिरी प्रेरणा र श्रीओमको पुस्तक अभिवन्ध ।

साहित्य वा वाङ्मय साधकहरू वन्दनीय वन्दनीय हुन् । उनीहरू समाजका पहरेदार हुन् । राष्ट्रका गहना हुन् । सारा जगतमै सबैभन्दा कम स्वार्थ भएका जमात हुन् ।
उनीहरूको एउटै उद्देश्य दिनुमात्र हुन्छ । लिनुको पक्षलाई पहिलो प्राथमिकतामा नपारी गरिने कर्मका पुजारी भएकैले ती वन्दनीय भएका हुन् ।

समाजसेवी पनि बन्दनीय हुन्, चिकित्सक पनि बन्दनीय हुन् । कतिपय व्यवसायी पनि बन्दनीय हुन्छन् । यस्तै स्रष्टा र अन्य एकचालिस बन्दनीयहरूको विषय लेखेका छन्, श्रीओम श्रेष्ठ रोदनले ।

यी वन्दनीय प्रतिभाहरू सिध्दिचरण श्रेष्ठ, डायमण्डशम्शेर राणा, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, पुर्णप्रसाद ब्राम्हण, स्वामी प्रपन्नाचार्यजस्ता स्वनामधन्यहरू छन् । बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमल दीक्षित, वालकृष्ण पोखरेल, तेजेश्वर वावु ग्वङ्ग, उपेन्द्र श्रेष्ठ, नदेन्द्रराज शर्मा, गोविन्द भट्ट, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्ल जस्ता साहित्य, रंगमञ्च र समाजसेवाका अग्रणीहरू छन् ।

इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, ध्रुवचन्द्र गौतम, मञ्जुल, शशी भण्डारी, क्याप्टेन जनकवहादुर राणा, मदनदाश श्रेष्ठ, डा.विहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखवहादुर सिंह, निर्मोही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, चिन्तामणि योगी, डा.हरिप्रसाद पोखरेल, रमेश श्रेष्ठजस्ता योगदानीहरू छन् ।

पुस्तागत हिसाबले हेर्दा हजुरबापुस्ता, पितापुस्ता र समकालीन पुस्तासमेत वन्दनीय प्रतिभाका रूपमा देखिएका छन् । हम्मेसी समकालीनभन्दा हल्का अग्रज समकालीन पुस्ता लाग्नेसम्मका प्रतिभाहरूलाई वन्दनिय रूपमा प्रस्तुत गर्ने इच्छा, चाहना वा अठोट गर्नेहरू खासै पाइनन् । तर श्रीओमले अशेष मल्ल, निर्मोही व्यास, रमेश श्रेष्ठजस्ता तुलनात्मक रूपमा नयाँ पुस्ताका प्रतिभालाई पनि बन्दना गर्न अघि सरेका छन् । यो पुस्तकको चाखलाग्दो विशेष पक्ष यो पनि छ ।

*** ***

श्रीओमले यस प्रकारको व्यक्ति निबन्ध लेखनलाई ‘अभियान’को रूपमा लिएको सकारेका छन् । उनको भनाइ छ- ‘अट्नुभएको छ एकचालिस जना ‘अभिवन्द्य’मा । हुनुहुन्छ धेरै सम्मान गरेकाहरू । छुट्नुभएको छ पर्नुपर्ने नाम पनि । छन् इच्छाले लेखेको धेरै । छन् केही आवश्यकताले । छन् केही अनुरोधले पनि ।’

उनको यो भनाइले ‘अभिवन्द्य’मा रहेका एकचालिस वन्दनाहरू कसरी लेखिएका हुन्, त्यसको खुलासा हुन्छ ।

यी व्यक्ति निबन्धहरू नयाँ शैलीमा लेखेका छन् श्रीओमले । कताकता जनकलाल शर्मा, कताकता कृष्णचन्द्रसिंह प्रधानको झल्को आएआए जस्तो लागे पनि यो उनको नीजि शैलीको रूपमा आएको छ जुन उनले यसअघि लेखेका गद्य रचनाहरू निवन्ध, नियात्रासँगसमेत मेल खाँदैन । उनले नयाँ र फरक शैलीको सन्धान गरे र त्यसैमा यी सारा व्यक्ति निबन्धलाई ढाले । हुनसक्छ, कतिले यो शैली मन पराउलान्, हुनसक्छ कतिले यो शैलीलाई मन नपराउलान् पनि । त्यो पाठकको आआफ्नो रूचि र मनशायको कुरा हो ।

तर यी निबन्धमा उनको वेग्लै शैलीको रूप र स्वरूप देखिन्छ, यो उनको नीजि हो, यसमा उनको निजत्व छ, वेग्लैपन छ, यसले उनलाई अन्य व्यक्ति निवन्ध लेखकको भीडबाट अलग स्थापित गर्दछ । उनले आत्मस्वीकृति जनाएका छन्, ‘ लाग्छ जस्तो तपाईंलाई । भन्नुहुन्छ जस्तो तपाईं । गर्नेछु स्वीकार हृदयदेखि जस्ताको तस्तै ।’

यो कृतिले नयाँ पुस्तामा प्रेरणादीपको काम गर्ने देखिन्छ । पूर्ववर्ती अग्रजको योगदानको यसमा उच्च कदर गरिएको छ

यी अधिकांश प्रतिभाहरूसँग लेखकको नीजि सम्बन्ध रह्यो । त्यो सम्वन्ध, समसामयिक गतिविधिमा संलग्नता र ती प्रतिभावारे उनले अध्ययन र विविध सँगतवाट उनका गुणहरूलाई र गुनहरूलाई मानसमा एकत्र पारे र जन्मेको हो ‘अभिवन्द्य’ । लामो समय गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन ‘मधुपर्क’को सम्पादनमा संलग्नतादेखि गोरखापत्र दैनिकको प्रधान सम्पादकसम्मको जिम्मेवारीको क्रममा पनि यी प्रतिभाहरूसँगको निकट सहचार्य सहज र सम्भव भयो, जसलाई उनले सिर्जनात्मक स्वरूपमा ढाले, सजाए र अभिवन्दनाको रूपमा पस्किए र सग्लो स्वरूप बन्यो, ‘अभिवन्द्य’ ।

श्रीओमले अभिवन्दना गर्ने क्रममा शिर्षकलाई पनि प्रतिकात्मक, विशेषणात्मक र लाक्षणिक भाषा दिएका छन् कतिपयमा । ‘कीर्तिमानी कृतिका हिरा’ भनेका छन् डायमण्ड शम्शेर राणालाई, ‘प्रेरणाका अजश्रस्रोत’ भनेका छन् स्वामी प्रपन्नाचार्यलाई, ‘रंगकर्मका योध्दा’को उपमा पाएका छन् प्रचण्ड मल्लले, शशी भण्डारी भएका छन् ‘साठीको साथी’ । केही शिर्षकमा मात्र खुल्दछ कस्को वारेमा लेखिएको छ, बन्दना गरिएको छ भन्ने, नत्र पाठकले पाठमा प्रवेश गरेर भित्र पस्नैपर्छ, कस्को वारेमा लेखिएको हो सो व्यक्ति निवन्ध जान्न, थाहा पाउनका लागि । यो पनि यस पुस्तकको विशेषता हो । कमल दीक्षितका निवन्धका शिर्षक पनि यस्तै प्रतिकात्मक हुन्थे, तर उनी अधिकाँश निवन्धको अन्तिम हरफमा जे अभिव्यक्ति प्रस्तुत गरिएको छ त्यसैलाई शिर्षक बनाउँथे, यस हिसावले श्री ओमका निबन्धको शिर्षक राख्ने शैली प्रतिकात्मक भए पनि कमल दिक्षितको भन्दा पृथक त भयो नै, बरू साँचो अर्थमा ती अभिवन्दित प्रतिभाको चिनारी दिने खालको चाहीं हुन गयो, जो सार्थक र अर्थपूर्ण पनि भयो ।

यो कृतिमा ४१ प्रतिभा समेटिएका छन् । एकचालिस प्रतिभाका अभिवन्दना छन् । तर मलाई लाग्छ, यति भन्दा यो कृतिले पूर्णता पाउँदैन । खासमा यो कृतिमा ४२ प्रतिभाको अभिवन्दना छ । ४२ औं अभिवन्दना स्वयम् कृतिका लेखक श्रीओम श्रेष्ठ रोदनको छ । ४१ अभिन्दनामा वन्दना गरिएका प्रतिभाहरूमध्य एक तेजेश्वर वावु ग्वंगले श्रीओमको अभिवन्दना गरेका छन् भूमिकाकारको रूपमा ।

मलाई आश्चर्य लाग्यो आफ्नो अभिवन्दना गरिएको कृतिमा भूमिकाको रूपमा श्रीओमको अभिवन्दना गर्न उनी किन तयार भए । यो अलिक संकोचको विषय हुनुपर्ने थियो । तर उनले आफ्नो वारेमा अभिवन्दना गरेको प्रसङ्ग र यथार्थलाई नछोइकन अत्यन्त सहज ढङ्गले श्रीओमको बन्दना गरेका छन् । यो बडो महत्वपूर्ण पक्ष लाग्यो । उनको भूमिका पढ्दा उनी यस कृतिमा आफैं बन्दना गरिएका प्रतिभा हुन् भन्ने लाग्दैन ।

श्रीओमले ग्वंगको वारेमा लेखेका छन्,’हुनुहुन्छ अक्षरका धनी असाध्यै । हुनुहुन्छ संस्कृतिका विज्ञ । अनुभवका धनी हुनुहुन्छ देशविदेशका । आतिथ्यका धनी हुनुहुन्छ तपाईं नै । हुनसक्छ सवैभन्दा धेरै र प्रतिष्ठित स्रष्टाहरू पुगेको आँगन तपाईंकै । रमाउँछन् अग्रज र समकालीन अक्षरकर्मीहरू ।’

ग्वंग लेख्छन्- यति थुप्रो व्यक्तपरक मनोभाव सँगालिनु उत्तिकैयशस्वी कर्म बनेको छ । यशस्वी कर्म नै पूर्वीय जीवन दर्शन अभिमुख धर्म रहेको छ । उहाँ नितान्त धार्मिक मनशायका कुवेर हुनुहुन्छ । यी सत्यतथ्यका भुक्तभोगी चेत स्वयम् आफैं रहेको छु ।

यो कृतिले नयाँ पुस्तामा प्रेरणाको दीपको काम गर्ने देखिन्छ, पूर्ववर्ती अग्रजको योगदानको ज्ञानदायिनी भएर ।

(१५ डिसेम्वर २०२१, फल्सचर्च अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?