News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बंगलादेशसँग साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा ३-२ गोलअन्तरले पराजित भयो।
- खेल बसुन्धरा किङ्स एरेनामा भएको थियो जहाँ बंगलादेशले पहिलो हाफमा २-० ले अग्रता बनाएको थियो।
- इन्जुरी समयमा श्रीमोतीले गोल गर्दै बंगलादेशलाई जित दिलाएपछि खेल समाप्त भयो।
२९ असार, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट खेल बराबरीमा ल्याएपनि इन्जुरी समयमा सम्हालिन सकेन
बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरे । नेपालका अनिशा राई र मीना देउवाले १-१ गोल गरे ।
बंगलादेश पहिलो हाफमा २-० ले अगाडि थियो । सिन्हा शिखाले १४औं मिनेटमा तथा सागोरिकाले ३६औं मिनेटमा गोल गरेकी थिइन् ।
दोस्रो हाफको ५६औं मिनेटमा नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका हात हालाहालमा उत्रिएपछि दुवैले रातो कार्ड पाउँदा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।
७७औं मिनेटमा पेनाल्टीमार्फत अनिशा राईले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।

तर इन्जुरी समयको अन्तिम मुभमा श्रीमोतीले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् । उक्त गोल लगत्तै फाइनल ह्विसल बजेको थियो ।
नेपालले पहिलो हाफमा गोल गर्ने मुभहरू खासै बनाउन नसकेपनि दोस्रो हाफमा बंगलादेशलाई दबाबमा राखेको थियो ।
पहिलो खेलमा नेपालले भुटानलाई ६-१ तथा बंगलादेशले श्रीलंकालाई ९-१ गोलअन्तरले हराएका थिए ।
प्रतिक्रिया 4