+
+

जब बीभत्स हत्याको खबर लिएर श्रीमती रुँदै प्रहरी चौकी पुगिन्…

जनक विष्ट जनक विष्ट
२०७८ पुष ४ गते १५:०८

४ पुस, धनगढी । शनिबार दिउँसो जानकी गाउँपालिका-९ की धर्नादेवी दास हतास मनस्थितिमा प्रहरी चौकी अमरावती पुगिन् । फेसबुक म्यासेन्जरमा एक जना व्यक्तिको हत्या भएको ‘अडियो’ आएपछि उनी अत्तालिँदै प्रहरी कहाँ पुगेकी थिइन् ।

एक जना छिमेकीसँग भएको कुराकानी पाएपछि उनलाई शंका थियो, ‘कतै हत्या गरिएका व्यक्ति मेरै श्रीमान् त होइनन् ?’ किनकी, श्रीमान अर्जुन दास पनि शुक्रबार अपरान्हदेखि नै बेपत्ता थिए ।

रुँदै श्रीमतीले दिएको अडियो पाएपछि अनुसन्धान गर्ने सुरसार गरिरहँदा प्रहरीले अमरावती सामुदायिक वनमा एक जनाको विभत्स अवस्थामा शव भेटिएको सूचना पायो । वनका पालेले जनप्रतिनिधिलाई शव भेटिएको जानकारी दिएपछि प्रहरीलाई बोलाउन वडाध्यक्षसहितको टोली चौकीमा पुगेको थियो।

‘जनप्रतिनिधिले पनि अडियोमा भनिएजस्तै अवस्थाको शव भेटिएको बताएपछि सामुदायिक वनमा गएर हेर्‍यौं, शव त अडियो दिने महिलाकै श्रीमानको भएको खुल्यो’ जिल्ला प्रहरी कार्यालय, कैलालीका एक अधिकृत भन्छन्, ‘प्रहरी पुग्दा टाउको र शरीर अलग-अलग भएको अवस्थामा शव भेटिएको थियो ।’

कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शव बरामद हुँदा रात परिसकेकाले बेलुकी घटनास्थललाई सुरक्षित गरेर राखियो । ‘आइतबार बिहान मुचुल्का गरेर शवलाई पोष्टमार्टम गर्ने तयारी गरिरहेका छौं’ उनले अनलाइनखबरसँग भने, ‘तालिम प्राप्त कुकुरलाई घटनास्थलमा ल्याएर पनि अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानका क्रममा अर्जुनको धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि कपडा खोलेर रुखमा बाँधेको हुनसक्ने देखिएको जोशी बताउँछन् । उनी भन्छन्, ‘हात पनि पछाडि बाँधिदिएको देखिएको छ ।’

हत्या गरेर भारत भागेको दाबी

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा आफूहरु हत्या गरेर रुपैडिया नाका हुँदै बैंग्लोर भागेको दाबी गरिएको छ । प्रहरीले यही अडियोको आधारमा अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार अडियोमा घाँटी र शरीर अलग-अलग गरिदिएको बताउने व्यक्ति जानकी गाउँपालिका–९ कै मनोज भण्डारी हुन् ।

‘उनले शनिबार बिहान अरुणका छिमेकी समेत पर्ने एक जना युवकको म्यासेन्जरमा आफूले हत्यापछि गरेको फोन वार्ताको अडियो पठाएका रहेछन्’ ती अधिकृतले भने ।

मृतककी श्रीमतीलाई हत्यापछिको अडियो पठाउने युवकलाई प्रहरीले निगरानीमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मृतककी श्रीमतीलाई अडियो पठाउने युवकसहित अन्य शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राखिएको बताए ।

‘अडियो प्राप्त भएपछि नै घटनाको बारेमा जानकारी भएको हो,’ जोशीले भने, ‘अहिले त्यससँग जोडिएका मानिसहरु निगरानीमा छन् । कसैलाई नियन्त्रणमा लिइसकेको अवस्था भने छैन ।’

मृतक दासले लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ र त्यसकै कारण हत्या भएको हुनसक्ने भनिएको छ । मृतक सामान्य मजदूरी गर्ने गर्थे ।

भारतबाट उनी २० दिनअघि मात्रै कैलाली आएका थिए । उनका आमाबुबा पनि भारतमै थिए । घटनापछि प्रहरीले उनीहरुलाई कैलाली बोलाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?