+
+

फिल्म जुधाउने होडबाजीमा नेपाली निर्माता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १६:३८

५ पुस, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षसम्म ठप्प रहेको नेपाली चलचित्र क्षेत्र विस्तारै चलमलाउँदै छ । अझै पनि नेपाली चलचित्रका लागि दर्शक हलसम्म फर्किन्छन् वा फर्किंदैनन् भन्ने पुष्टि हुन सकेको छैन । किनकि, हलमा आशातीत नेपाली चलचित्र रिलिज गर्न अझै पनि नेपाली निर्माताले सकेका छैनन् ।

दुई वर्षसम्म प्रदर्शन हुन नपाउँदा दर्जनौं चलचित्रको रिलिज मिति सरेको थियो । अर्कोतिर, लकडाउनपछि निर्माण भएका चलचित्र पनि रिलिजका लागि बाटो कुरिरहेका छन् । यसैले पनि नेपाली चलचित्रका निर्मातालाई सुरक्षित राख्दै सहमतिमा एकले अर्कोलाई सहयोग गर्दै चलचित्र रिलिज गर्नु आवश्यक छ ।

तर, न त भूकम्प न त कोरोना नै, नेपाली निर्माता र वितरकको चेत खुल्न सकेको देखिँदैन । विदेशी चलचित्रसँग भाग्ने नेपाली निर्माता आफ्नै देशका चलचित्रसँग भने जुधिरहेका छन् । यो सिलसिला कोरोना महामारीपछि नरोकिने संकेत देखिएको छ ।

चलचित्र ‘कठपुतली’ले पुस १६ गतेलाई प्रदर्शन मिति तय गरेको थियो भने ‘चपली हाइट ३’ले पुस २ गते रिलिज मिति पक्का गरेको थियो । तर, पुस २ गते हलिउड चलचित्र ‘स्पाइडर म्यान’ र साउथ चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमारले आफ्नो चलचित्र ‘चपली हाइट ३’लाई दुई साता पछि सारे । यो चलचित्रको नयाँ प्रदर्शन मिति पुस १५ गते तोकिएको छ । जबकि, यही मितिमा चलचित्र ‘कठपुतली’ आउने पक्का भइसकेको थियो । यस अर्थमा, अर्जुनले आफ्नो चलचित्र बलियो देख्दै गर्दा ‘कठपुतली’लाई कमजोर आँकलन गरेको देखिन्छ ।

फागुन १३ गते पनि यस्तै दृश्य देखिएको छ । यो मितिमा चलचित्र ‘लप्पन छप्पन २’ आउने पक्का भइसकेको थियो । बारम्बार प्रदर्शन मिति सार्न बाध्य ‘लप्पनछप्पन २’का निर्माताले फागुन १३ गते प्रदर्शन मिति तय गर्दै प्रचार अगाडि बढाए । तर, यही मितिमा चलचित्र ‘प्रेमगीत ३’ आउने भयो ।

दर्शकले प्रतीक्षा गरेका दुवै चलचित्र एउटै मितिमा रिलिज हुँदा शो विभाजन हुन्छ । तर, विषम परिस्थितिबाट गुज्रिएर अगाडि बढेको चलचित्र क्षेत्रका निर्माताहरु नै एक हुन सकेनन् ।

अब, चलचित्र ‘कबड्डी ४’का निर्माताले पनि वैशाख २३ गते प्रदर्शन मिति तय गर्दै गर्दा यही मितिमा आउने अर्को चलचित्र ‘लक्का जवान’लाई पूरै बेवास्ता गरेका छन् । किरण केसीको निर्माण तथा शिवहरि पौड्यालको निर्देशनमा बनेको ‘लक्का जवान’सँग अब चलचित्र क्षेत्रमा ब्राण्ड बनाइसकेको ‘कबड्डी ४’ जुध्नेछ ।

विदेशी चलचित्र नेपालका ठूला पर्वमा सहज रुपमा विना प्रतिस्पर्धा रिलिज भइरहेको अवस्थामा नेपाली चलचित्रका निर्माता भने आफ्नै देशको अर्को चलचित्रमाथि धावा बोल्न थालेका छन् । यसले चलचित्र क्षेत्रमा निर्माता र वितरकबीच एकता छैन भन्ने सन्देश गएको छ ।

विषम परिस्थितिबाट विस्तारै अगाडि बढ्न थालेको चलचित्र क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने हो । तर, यहाँ एकले अर्कोलाई नै कुठाराघात गर्ने परिपाटी नरोकिएकोमा चलचित्रकर्मीहरु नै दुःखी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?