+
+

माओवादीको प्रदेश-१ अध्यक्षमा डाँगी र लावतीले छाडेनन् दावी

नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छनोट अझै टुंगो लागेको छैन । कार्यदलका एक सदस्यका अनुसार अध्यक्षका आधा दर्जन आकांक्षीमध्ये सुनसरीका शिवकुमार डाँगी र पाँचथरका हर्कबहादुर लावती मुख्य दाबेदार हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:४२

५ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छनोट अझै टुंगो लागेको छैन । मंसिर २५–२६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २७१ सदस्यीय प्रदेश समिति घोषणा गरे पनि पदाधिकारी टुंग्याउन सकेको छैन ।

मंसिर २९ गते बसेको प्रदेश समितिको पहिलो बैठकले पदाधिकारीको टुङ्गो लगाउन प्रदेश सहइञ्चार्ज अजम्बर काङ्माङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । तर कार्यदलले अध्यक्षको नाम टुङ्गो लगाउन सकेको छैन । पुस ७ गते बस्ने प्रदेश समितिको दोस्रो बैठकले पदाधिकारी टुङ्गो लगाउने तयारी छ ।

कार्यदलका एक सदस्यका अनुसार अध्यक्षका आधा दर्जन आकांक्षीमध्ये सुनसरीका शिवकुमार डाँगी र पाँचथरका हर्कबहादुर लावती मुख्य दाबेदार हुन् ।

अध्यक्षको नाम टुङ्गो लगाउन सोमबार कार्यदलको बैठक बसेको थियो । बैठकमा सहमति नजुटेपछि मंगलबार प्रदेश १ मा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ । बैठकमा सहमतिको प्रयास हुने र सहमति नभए निर्वाचनमा जाने तयारी भएको कार्यदल स्रोतले बतायो ।

कार्यदल स्रोतका अनुसार अनुसार डाँगी र लावती दुबै जनाको अध्यक्ष हुने सम्भावना बराबर छ । माओवादी भित्र लावती रामबहादुर थापा बादल पक्षका थिए । बादल एमालेमै बस्दा उनी माओवादीमा फर्किए । डागी भने लामो समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा छन् ।

अध्यक्षका दाबेदार लावती आफ्नो नेतृत्वमा प्रदेश कमिटी गठन गर्नुपर्ने बताउँछन् । उनले सहमतिका आधारमा आफू अध्यक्ष बन्ने दावी गरे । अध्यक्षका अर्का दाबेदार डाँगी सहमति नभए निर्वाचन गर्नुपर्ने पक्षमा छन् । ‘सहमतिको प्रयास भइरहेको छ,’ उनले भने, ‘मेरो दाबी सशक्त छ, सहमति नभए त्यसपछिका विकल्प खुला गरिनुपर्छ ।’

माओवादी केन्द्रको प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय प्रदेश पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?