+
+

घोराहीको सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ पुष ६ गते ११:०१

६ पुस, दाङ । २०६६ सालमा घोराही-१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए ।

तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग गर्यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो ।

२०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० शय्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर छ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो । अहिले चार वर्षयता अस्पताल पूर्णरुपमा बन्द छ ।

भारतीय दूतावासको सहयोगमा ०६६ सालमा ६६ लाख रुपैयाँ खर्च गरेर अस्पताल निर्माण गरिएको थियो । झण्डै ११ कट्ठा जग्गामा रहेको दुई तले अस्पताल भवनको मुख्य गेटमा अहिले ताला लागेको छ । अस्पताल सञ्चालन नहुँदा लाखौंका मेसिन तथा स्वास्थ्य उपकरणहरुमा खिया लागेको छ । अस्पताल परिसर झारपातले ढाकिएको छ ।

अस्पताल व्यवस्थापन समितिले आर्थिक अभावको कारण अस्पताल बन्द गर्नुपरेको बताउँछ । आवश्यक पूर्वाधार भए पनि अस्पताल सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत नभएकाले बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका सचिव भोला डाँगीले बताए । उनले भने, ‘अस्पताल सञ्चानका लागि आन्तरिक स्रोत भएन, केही समय चन्दाले पनि चलायौं । तर त्यसरी सम्भव नभएपछि अस्पताल पुनः बन्द गर्नुपर्ने अवस्था आयो ।’

आन्तरीक स्रोतबाट अस्पताल सञ्चालन गर्न नसकिने भएकाले अब स्थानीय तह मातहतमा यसलाई सञ्चालन गर्नुपर्ने अस्पताल व्यवस्थापन समितिको भनाइ छ । ‘अस्पताल सञ्चालन गर्न नसक्ने स्थिति आएपछि घोराही उपमहानगरपालिका मातहत चलाउन पटक–पटक आग्रह गर्यौं तर सुनुवाइ भएन,’ उनले भने ।

यद्यपि अस्पताल सञ्चालनका लागि भने प्रयास भइरहेको सचिव डाँगीको भनाइ छ । ‘अस्पताल पुनः सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने तयारी भइरहेको छ । प्रदेश सरकारलाई पनि सहयोग गर्न भनिरहेका छौं ।’ अस्पताल सञ्चालनका लागि आवश्यक दाता र सहयोग प्राप्त भए अस्पताल पुनः सञ्चालन गरिने उनको भनाइ छ ।

महसुल नतिरेपछि विद्युत काटियो

अस्पतालको समस्या यति मात्रै छैन । अस्पतालको भवनमा झण्डै सात वर्ष प्रहरी बस्दा झण्डै एक लाख २५ हजार रुपैयाँ बराबरको विद्युत महसुल तिर्नुपर्ने थियो । तर प्रहरीले महसुल नबुझाएपछि विद्युत प्राधिकरणको कार्यालयले अस्पतालमा विद्युत काटिदियो ।

‘विद्युत महसुल बुझाइदिन भनेर प्रहरी प्रशासन पनि धायौं,’ सचिव डाँगीले भने, ‘तर प्रहरीले महसुल बुझाएन । विद्युत नभएपछि अस्पताल सञ्चालनमा थप समस्या भयो ।’ आफैं आर्थिक अभाव झेल्दै आएको अस्पतालले बिजुलीको महसुल बुझाउन नसक्ने उनी बताउँछन् । सरकारको सहयोगविना अस्पताल सञ्चालन गर्न नसकिने व्यवस्थापन समितिको निश्कर्ष छ ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले सन्चालक समितिले उपमहानगरपालिकालाई अस्पतालको सबै सम्पत्ति हस्तान्तरण गरेमा सन्चालन गर्न आफूहरु तयार रहेको बताए ।

मेयर चौधरीले भने, ‘छुट्टै संस्था दर्ता गरेर उहाँहरुले अस्पताल सन्चालन गर्नु भएको थियो, उहाँहरुले अस्पतालको सबै सम्पति हामीलाई हस्तान्तरण गर्नुहुन्छ भने उपमहानगर त्यो अस्पताल चलाउन तयार छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?