+
+

‘आई हेट् पोलिटिक्स’ पुस्तालाई पुलकित बनाउने विश्व-गगनका चुनौती

जगन्नाथ दुलाल जगन्नाथ दुलाल
२०७८ पुष ६ गते १५:५५

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सम्पूर्ण मत परिणाम नआइसक्दै कांग्रेसभित्र र बाहिर नयाँ तरंग पैदा भएको छ । त्यस्तो तरंग अरू कुनै कारणले होइन, मतदाताका कारण उत्पन्न भएको हो । एकप्रकारले भन्दा कांग्रेस जस्तो परम्परागत पार्टीमा क्रान्ति नै भएको छ । ५० ननाघेका कांग्रेसका ‘पोस्टर ब्वाइ’ विश्वप्रकाश शर्मा र गगन थापा एकसाथ महामन्त्री निर्वाचित भए ।

महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गरे, गुटको जञ्जीर तोडिदिए । बलियो कांग्रेस र समृद्ध देश बनाउने अभियानमा एक प्रकारले महाधिवेशन प्रतिनिधिले इँटा थपेकै अर्थमा विश्व–गगनको जितलाई अर्थ्याउन सकिन्छ ।

गगनले १३औं महाधिवेशनमै महामन्त्रीमा प्रतिस्पर्धा गरिसकेका हुन् । अहिले संस्थापनइतर समूहको मूल प्यानलमा नाम अटाएपछि उनको जित निर्वाचन अघि नै करीब सुनिश्चित ठानेका थिए धेरैले । तर, अधिकको चिन्ता थियो, विश्वप्रकाश शर्माको के होला ? संस्थापन समूहले ‘स्पेस’ नदिएको र संस्थापनइतर समूहमा आउने संकेत गर्दा ढोका बन्द गरिदिएपछि विश्वप्रकाश हार्ने नै भए भन्ने मनोविज्ञान मतदान शुरू हुनुअघिसम्म पनि थियो ।

स्वयम् विश्वकाश शर्मा उम्मेदवारी दर्ता गर्न जाँदैगर्दा गुटविहीन अवस्थामा थिए । तल्लो तहबाटै गुटको हाँगामा झुण्डिएर महाधिवेशन प्रतिनिधि आउने पार्टीमा गुटविहीन नेताले कसरी पो जित्लान् र ? धेरैको प्रतिक्रिया उस्तै थियो । शायद विश्वप्रकाश शर्मा पनि चुनावी प्रतिस्पर्धामा उत्रिंदै गर्दा जितकै आत्मविश्वासमा थिएनन् होला । तर, उनमा आत्मविश्वास भने अद्भुत देखिन्थ्यो ।

उम्मेदवारी दर्ता गरेर फर्कंदै गर्दा गुटविहीन विश्वप्रकाशले संस्थापनइतर समूहको पनि विद्रोही समूह प्रकाशमान सिंहसँग उभिने अठोट गरे । जतिबेला मैदानमा कोइराला विरासतको चर्को आलोचक थापा कोइराला परिवारकै डा.शेखर कोइराला क्याम्पबाट महामन्त्रीको मनोनयन गरेर मत माग्न मैदानमा उत्रिसकेका थिए ।

अरू दुई ‘हेभीवेट’ शेरबहादुर देउवा प्यानलका प्रकाशशरण महत र कोइराला क्याम्पका मिनेन्द्र रिजाल उत्साही देखिनु स्वाभाविक थियो । कृष्णप्रसाद सिटौला मार्फत देउवा क्याम्पसमा अटेका प्रदीप पौडेललाई पनि महाधिवेशनको मैदानमा कमजोर आँक्न सक्ने अवस्था थिएन । यही परिदृश्यका बीच मत परिणाम सार्वजनिक हुँदै गर्दा धेरैले कामना गरेको तर कठिन ठानेको परिणाम आयो । गुटविहीन विश्वप्रकाशले महामन्त्रीमा बाजी मारे ।

विश्व–गगन जितको अर्थ

ठूल्ठूला चुनौती चिरेरै महामन्त्री बनेका हुन्, विश्व–गगन । १३औं महाधिवेशनमा सिटौला क्याम्पमा रहेका गगन १४औं महाधिवेशनको अन्त्यसम्मै प्रकाशमानसँग नजिक रहे । अन्तिम समयमा उनी शेखरसँग खडा भए । उनको प्रयास संस्थापनइतर समूहभित्र सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास थियो । तर, सम्भव भएन । तैपनि गगन बलियो मत भएको संस्थापनइतर समूहमा अट्दा ‘कम्फर्ट जोन’ मै थिए ।

विश्वप्रकाश १४औं महाधिवेशन शुरू भएदेखि नै ‘रेड जोन’ मा परे । झापामा शर्माको उम्मेदवारलाई देउवा र सिटौला समूह मिलेर पराजित गरिदिए । झापामा शर्मा भर्सेस अरू सबै एक हुँदा शर्मा पक्ष निराश बन्न पुग्यो । केन्द्रमा आइपुग्दा उनले प्रवक्ताका रूपमा साथ दिएका देउवाले अन्तिम समयमा आएर धोका दिए । शर्मा कुनै बेला रवीन्द्रनाथ टैगोरले भनेजस्तो एकला चलो रे..को अवस्थामा पुगे । तर, उनले कार्यकर्ताको मन जितेका रहेछन् र निराश बन्नुपरेन ।

विश्व–गगनलाई जिताएर कांग्रेस महाधिवेशन प्रतिनिधिले देश र पार्टीलाई आवश्यक नेतृत्व कार्यकर्ताले बचाउँछन् भन्ने सन्देश दिएका छन् । कुनै गुट विना मैदानमा उत्रनु एकप्रकारले विद्रोह र दुस्साहस नै हो कांग्रेसभित्र । मतदाताले संस्थापन समूहभित्र विश्वप्रकाशले गरेको विद्रोहको शानदार अनुमोदन गरिदिए । विनम्र तर बुलन्द नेताका रूपमा विश्वप्रकाश कांग्रेस राजनीतिमा प्रखर रूपमा उदाए ।

हिजो प्रश्नै सोधेर नेता बन्ने छूट थियो गगनसँग । जुन भूमिकामा खरो उत्रिएका गगन अब काम मार्फत जवाफ दिने भूमिकामा कत्तिको खरो उत्रलान् ? प्रवक्ताका रूपमा सशक्त भूमिका निभाएका विश्वप्रकाश महामन्त्रीका रूपमा कस्तो प्रस्तुत होलान् ? विश्व र गगन हल बाँधेर काम गर्लान् कि आफू–आफूमै झमेलामा फस्लान् ? यी प्रश्नहरू अहिले ज्वलन्त छन् ।

विश्व–गगनको जितलाई यी दुई अनुहार कांग्रेस केन्द्रीय समितिभित्र कार्यकर्ताले हेर्न चाहेको रूपमा मात्र बुझ्दा अधुरो हुन्छ । मूलतः विश्व–गगन जितको प्रष्ट सन्देश हो, कांग्रेस कार्यकर्ता पार्टी बचाउन चाहन्छन् । कांग्रेस रूपान्तरणका लागि विश्व–गगनले महाधिवेशन प्रतिनिधिका बीचमा पेश गरेको दस्तावेज र देखाएको सपनामाथि भरोसा गरेका छन् ।

कांग्रेसले यसपटक महाधिवेशनमा नेतृत्व चयन बाहेक कुनै प्रस्तावमाथि छलफल गरेन । तर, बन्दसत्र नभए पनि मतका मार्फत महाधिवेशन प्रतिनिधिले विश्व–गगनले ल्याएको कांग्रेस रूपान्तरणको प्रस्ताव अनुमोदन गरेका छन् । कांग्रेसभित्र कुनै ऊर्जा भर्न नसके पनि पटक पटक दोहोरिइरहने अनुहारलाई विदा गर्नुपर्छ ।

पार्टीलाई सही दिशा दिन सक्ने मिसन र भिजन सहितको नेतृत्वलाई पार्टी कमाण्ड दिनुपर्छ । विश्व, गगन जितको अर्थ यो हो । नयाँ अनुहारका पक्षमा मात्र होइन रूपान्तरणका पक्षमा परेको मतको परिणाम हो विश्व–गगन । मेनु हेरिसकेर ‘मोमो चाउमिन’नै अर्डर गर्ने मनोविज्ञानबाट कांग्रेस कार्यकर्ताहरू यसपटक मुक्त देखिए ।

देशमा बढिरहेको वामपन्थी मत रोक्न सक्ने नेतृत्व कार्यकर्ताको रोजाइमा परेको छ । नेतृत्वको आशिर्वादमा पटक पटक राजकीय भूमिका होस् वा पार्टीमा भूमिका पाउँदा काम गर्न नसक्ने नेतृत्व अस्वीकृत भएको छ । अब नेता बन्न नेताको धाप होइन कार्यकर्ताको मन जित्नुपर्छ भन्ने सन्देश पनि विश्व–गगनको जितभित्र अन्तरनिहित छ । सांसद र स्वास्थ्यमन्त्रीका रूपमा गगन र पार्टी प्रवक्ताका रूपमा विश्वप्रकाशले खेलेको भूमिकाको कदरको अर्थका रूपमा पनि उनीहरूको जितलाई हेर्न सकिन्छ ।

चुनौतीका चाङ

‘आई हेट् पोलिटिक्स’ वाला समूह समेत विश्व–गगन जितले हौसिएको छ । पुलकित छ । अब यो पुस्तालाई निराश बन्न नदिने चुनौती छ विश्व, गगनसँग । अब कांग्रेस सकियो भनेर ढुक्क भएकाहरूको मनमा कम्पन छ । एकप्रकारले भन्दा कांग्रेसइतर पार्टीभित्र परकम्प नै गएको छ । त्यसको छटपटीमा अभिव्यक्तिहरू अन्य दलका नेताको प्रतिक्रिया र आलेखहरूमा अनुभूत गर्न सकिन्छ ।

राजनीतिसँग जोडिनै नचाहने पुस्ता र राजनीतिबाट निराश बनेकाहरूको नसामा एकसाथ नयाँ रक्तसञ्चार हुन पुगेको छ । पोलिटिक्सलाई ‘डर्टी गेम’का रूपमा बुझ्नेहरूले समेत आशाका नजरले हेरेका गगन–विश्व माथिका आम अपेक्षा नै उनीहरूका लागि मुख्य चुनौती हुन् । पार्टीलाई विधानसम्मत चलाउने, पार्टी घरआँगनबाट होइन केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने चुनौती त छँदैछ ।

पुरातन शैलीका शेरबहादुर देउवा पदाधिकारीमा बहुमतमा छन् । अरू मतपरिणामको रुझान हेर्दा देउवा केन्द्रीय कार्यसमितिमा सुविधाजनक बहुमतमा हुनेछन् । देउवाले पुरानै ढर्रामा पार्टी चलाउन फेरि प्रयास गर्नेछन् ।

बूढानीलकण्ठ र अहिले बालुवाटारबाटै पार्टी चलाउने प्रचलन छ । केन्द्रीय कार्यालय सानेपाबाटै पार्टी चलाउने अवस्था बनाउन सक्नुपर्छ । विश्व र गगन दुवैको वास्तविक परीक्षा अब बल्ल शुरू भएको छ ।

हिजो प्रश्नै सोधेर नेता बन्ने छुट थियो गगनसँग । जुन भूमिकामा खरो उत्रिएका गगन अब काम मार्फत जवाफ दिने भूमिकामा कत्तिको खरो उत्रलान् ? प्रवक्ताका रूपमा सशक्त भूमिका निभाएका विश्वप्रकाश महामन्त्रीका रूपमा कस्तो प्रस्तुत होलान् ? विश्व र गगन हल बाँधेर काम गर्लान् कि आफू–आफूमै झमेलामा फस्लान् ? यी प्रश्नहरू अहिले ज्वलन्त छन् ।

यद्यपि, शर्मा र थापा मिलेरै काम गरून् भन्ने आम कार्यकर्ता भाव बुझ्न सकिन्छ । दुवै जनालाई परेको ठूलो संख्याको संयुक्त मतले पनि त्यही संकेत गर्छ । विपक्षी दलप्रति गगनको आक्रामकता र पार्टी सञ्चालनमा विश्वप्रकाशको संयोजनकारी क्षमता र नयाँ मतदातालाई अपील गर्नसक्ने शालीन शैली कांग्रेसलाई आउँदो चुनाव जिताउन सक्ने बलियो आधार हो । उनीहरूले त्यो क्षमताको सही उपयोग गर्न सकून् ।

भद्रगोल भ्रातृ संस्थाको महाधिवेशन गराउनु, आगामी तीनै तहको निर्वाचनमा पार्टी जिताउनु, आफैंले घोषणा गरेको पार्टी रूपान्तरणको अभियानलाई गति दिनु विश्व–गगनका लागि प्रमुख कार्यभार हुन् । फोहोर सफा गर्न पोखरीमा पस्नुपर्छ भन्ने गगन कांग्रेसभित्रको फोहोर सफा गर्न सफल होलान् ? राजनीतिलाई सम्मानित बनाउने अभियानमा विश्वप्रकाशको भूमिका कस्तो हुन्छ ? यी प्रश्नमा उनीहरूले कामबाट दिने जवाफले नै उनीहरूको मूल्यांकन हुनेछ  ।राजनीतिबाट बुढाहरूले विश्राम लिनुपर्छ भन्ने गगन र राजनीतिमा ‘एज होइन एजेण्डा’ महत्वपूर्ण ठान्ने विश्वप्रकाशले एज र एजेण्डालाई कसरी संयोजन गर्लान् ? पार्टीमा केहीलाई पुस्तान्तरणको चित्र देखाएर आकर्षण बढाउन गगन र एजेण्डाले आकर्षित गरेर पार्टीको आयतन वृद्धिमा विश्वप्रकाशको भूमिका अपेक्षित छ ।

कोइराला गुटबाटै निर्वाचित भएकाले गगनमाथि गुटको प्रत्यक्ष/परोक्ष दबाब पनि हुने नै छ । त्यसको व्यवस्थापन पनि गगनका लागि सहज नहुन सक्छ । यो मामलामा विश्वप्रकाश बढी स्वतन्त्र होलान् । आफ्नो गुटको स्वार्थ पूरा गराउन बल लगाउनुपर्ने अवस्थामा विश्वप्रकाश माथि हुनेछैन ।

अहिले पार्टीभित्र र बाहिर देखिएको समर्थन विश्व–गगनका लागि पुँजी त हुन् नै, सँगैमा चुनौती पनि हुन् । नेपाली राजनीतिमा पुस्तान्तरण र रूपान्तरणको नारालाई सार्थक बनाउने अभिभारा यी युवाद्वयको काँधमा छ । पार्टीभित्र चुनौती पार लगाउँदै महामन्त्री बनेका विश्व र गगन महामन्त्रीको भूमिकामा पनि खरो उत्रन सकून् । शुभकामना !

(दुलाल प्रेस युनियन काठमाडौंका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?