News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सेवा ३ मंसिरदेखि सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गणबाट सुरू हुने छ।
- विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयका लागि करिब १० करोड खर्च गरेर ६ वटा प्रिफ्याब भवन बनाएको छ।
- रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको पुरानो भवन २५ असार २०३० मा आगलागी भएपछि मन्त्रालय टेकु र नयाँ भवनबाट सेवा दिँदै आएको थियो।
३ मंसिर,काठमाडौं। स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार परिसरबाट लिन सकिने छ।
बिहीबारबाट स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गणबाट सुरू हुने छ।
जेनजी आन्दोलनबाट रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय आगजानी भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट सेवा दिँदै आएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अस्थायी संरचना स्वास्थ्य मन्त्रालयको अस्थायी संरचना बनाइदिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले करिब १० करोड खर्च गरेर ६ वटा प्रिफ्याब भवन बनाएको हो।
बुधबार स्वास्थ्यमन्त्री डा. सुधा गौतमलाई डब्लुएचओलेका दक्षिण–पूवी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गरे।
सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि खाली जग्गामा प्रिफ्याब बनाइएको हो। रामशाहपथस्थित भवन केवल मन्त्रालयको कार्यालय मात्र थिएन । यसले नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट)को सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो।
युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकता अनुसार कोठामा विभाजन गर्न सकिने थियो। स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्विट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थीले आएर हेर्ने गर्दथे।
भवनको कोठाहरूलाई ठूलो वा सानो बनाउन मिल्थो। यस्तो खालको आर्किटेक्ट नेपालबाहेक पाकिस्तान र श्रीलंकामा मात्रै थियो । तर नेपालकै डिजाइन विशिष्ट मानिन्थ्यो । यही कारण यो भवन ‘युनिक’ कहलिन्थ्यो।
तत्कालिन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्नका लागि यूएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो ।सो सम्झौता सम्पन्न गर्ने क्रममा यूएसएडले लुई कानलाई व्यावसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए ।
आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भवनको रूपमा उक्त भवनले मान्यता पाएको थियो।
नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाको लागि बनेको यो भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ सालमा उद्घाटन गरेका थिए।
२५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सयो।
पद्मसुन्दर लावती स्वास्थ्यमन्त्री भएपछि फराकिलो कार्यालयको खोजी हुन थाल्यो।
त्यही मेसोमा २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि रामशाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो।
प्रतिक्रिया 4