+
+

न्यायप्राप्तिको म्याराथन लडाइँमा महिलाहरू

महिलालाई अन्याय भएको छ, हामी नबोले कसले बोल्ने ? अहिले नबोले कहिले बोल्ने ? भनेर आन्दोलनमा छौं,’ गीता चमारले भनिन्, ‘घरबाट त कहिले फर्किन्छौ भनेर दिनदिनै फोन आउँछ, तर जहिलेसम्म न्याय पाउँदैनौं तबसम्म हार्मी फर्केर जाँदैनौं ।

बिनु सुवेदी बिनु सुवेदी
२०७८ पुष ८ गते २०:०५
गीता चमार ।

८ पुस, काठमाडौं । ‘…हातमा कलम हुनेहरु कलम लिएर उठ…’ नेपथ्यमा यो गीत बजिरहँदा उनले हातमा पेन्सिल लिइन्, टुसुक्क बसिन् र नाम लेख्न थालिन् ‘गीता चमार’ । चमारले अक्षरमा आफ्नो नामको बान्की यस्तो हुन्छ भनेर थाहा पाएको धेरै भएको छैन ।

माइतीघर मण्डलामा धर्नामा बसिरहेका उनी र उनका अरु १५ जना साथीहरुलाई भेट्न पुगेका विद्यार्थीहरुले, उनीहरुको उपस्थिति रजिष्टरमा ल्याप्चे लगाएको देखेपछि नाम लेख्न सिकाएका हुन् । त्यसपछि गीताले आफ्नो नाम रजिष्टरमा पनि लेख्न थालिन्, कापीमा पनि लेख्न थालिन् । भर्खर-भर्खर अक्षरहरुसँग खेल्न थालेकाले होला, उनलाई आफ्नो नाम लेखिरहन मन लाग्छ । तर गीता अक्षर चिन्न र साक्षर हुन काठमाडौं आएकी होइनन् ।

नेपालगञ्जका महिलाहरू नन्कुनी धोबीमाथि भएको हिंसा तथा निर्मला कुर्मीको शंकास्पद मृत्युमा जोडिएकाहरुमाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै गीतासहितको समूहले माइतीघर मण्डलामा दोस्रो चरणको धर्ना बस्न थालेको महिना दिन भयो । उनीहरुभन्दा पछि आन्दोलन थालेका कतिपयको माग सुुनुवाइ भयो, कति नयाँ मागसहितको आन्दोलनमा थपिए । समय वित्दै जाँदा १६ महिलाको यो सानो ‘टुकडी’ न्याय प्राप्तिको लडाइँमा झन्-झन् प्रखर भएर आयो । तर राज्य सुन्न तयार देखिएन । सायद यही कारण होला, धर्नामा बस्दाबस्दै नजमा हलुवाईले आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानलाई सोधिन्, ‘हामी कुनै पनि दलको कार्यकर्ता नभएर हाम्रा कुरा कसैले नसुनेका हुन् ?’

रुबी खान नेतृत्वको यो समूह दोस्रो चरणको आन्दोलनका लागि ९ मंसिरमा काठमाडौं आइपुग्यो । त्यसपछि हरेक दिन बिहान १० बजे निर्मला कुर्मी र नन्कुनी धोबीलाई न्याय मागिएको प्ले कार्ड बोकेर कलंकीबाट माइतीघर मण्डलासम्म आउने, धर्ना बस्ने र साँझ ७ बजेतिर फर्किने उपक्रम चलिरहेको छ । चुपचाप हिँड्दा राज्यले सुनेन भनेरै हो सायद पछिल्लो साता यता उनीहरुले सिट्ठी पनि बजाउन थालेका छन्, तै पनि एक्लै पर्छन् ।

दिनैपिच्छे अनेक आन्दोलन हुने माइतीघरमा अहिले त यो समूहको आन्दोलन सीमान्तकृत जस्तै देखिन्छ, उनीहरु सडकको एक छेउमा चुपचाप बसिरहेका छन् । ‘हामीले राज्यलाई हाम्रो कुरा सुनाउनै भनेर अघिल्लो पटक २० दिनसम्म पैदल हिँडेर काठमाडौं आयौं,’ रुबीले भनिन्, ‘राज्यले आफ्नै बाचा पुरा गरेन, फेरि काठमाडौं आउनुपर्‍यो । अहिले त झन् एक्लिदै गएका छौं, शान्तिपूर्ण आन्दोलन गरेर मात्रै नहुने रै’छ कि जस्तो लाग्न थालिसक्यो ।’

यसअघि १ असोजमा नेपालगञ्जबाट हिँडेका महिलाहरु २० गते काठमाडौं भित्रिएका थिए, त्यसपछि आन्दोलनमा उत्रिए । त्यतिखेर पनि यिनीहरुका जायज मागलाई राज्यले ‘नाजायज’ ठान्यो । आन्दोलनको नेतृत्वकर्ता रुबीमाथि अनेक लाञ्छना लगायो, जेल हाल्यो, मुद्दा चलायो । उनलाई पक्राउ गरेकोमा व्यापक आलोचना भएपछि उनी छुटिन्, तर न्यायको टुंगोमा पुर्‍याउन थालेको आन्दोलन रुबीले छोडिनन् । आवाज उठाइरहेका अरु १६ महिलाले पनि साथ छोडेनन् । त्यसैले दोस्रो चरणको आन्दोलनको महिना दिनसम्म पनि उनीहरुले सकेको चर्काे स्वरमा आफ्ना आवाज मुखरित गरिरहेका छन् । तर उनीहरुको आवाज माइतीघर आसपासकै कोलाहलमा हराइजान्छ । उनीहरु साँझ बास बस्न उसैगरी प्लेकार्ड बोकेर सिट्ठी फुक्दै कलंकीतिर जान्छन् । थाहा छैन, ठूलो आँट र अझै ठूलो भरोसा बोकेर दुई महिलामाथि भएको ज्यादतीको जवाफ न्यायमा खोजिरहेका यी महिलाको बिसौनी कुन हो ?

उनीहरुको माग उतीबिघ्न ठूलो र अस्वाभाविक होइन । निर्मला कुर्मीलाई बेपत्ता पार्ने र नन्कुनी धोबीलाई हिंसा गर्नेहरुमाथि कानुबमोजिम कारवाही गर्नुपर्छ भन्ने साधारण माग यी महिलाहरुले गरेका हुन् ।

निर्मला कुर्मी बेपत्ता हुनुमा पूर्वसभासद बादशाह कुर्मीको भूमिका शंकास्पद छ भनेर गृह मन्त्रालयको अनुसन्धानले नै भनेको छ । उनीमाथि छानविन गर्नुपर्ने निष्कर्ष सरकारी प्रतिवेदनकै छ । त्यही सरकारी प्रतिवेदनको सिफारिस अनुसार सरकारले काम गरेन भन्ने दुःखेसो निर्मलाको न्यायका लागि लडिरहेकाहरुको छ, नन्कुनी धोवीको सन्दर्भमा पनि उनीहरुको माग योभन्दा विल्कुल धेरै छैन ।

‘महिलालाई अन्याय भएको छ, हामी नबोले कसले बोल्ने ? अहिले नबोले कहिले बोल्ने ? भनेर आन्दोलनमा छौं,’ गीता चमारले भनिन्, ‘घरबाट त कहिले फर्किन्छौ भनेर दिनदिनै फोन आउँछ, तर जहिलेसम्म न्याय पाउँदैनौं तबसम्म हार्मी फर्केर जाँदैनौं ।’

कसरी उठेको थियो आन्दोलन ?

२०६६ माघमा निर्मला कुर्मी एउटा निवेदन बोकेर नेपालगञ्जस्थित महिला अधिकार मञ्चको कार्यालय पुगिन् । त्यही वर्षको मंसिरमा उनका दुई छोरा रामसागर र सुरेशको रहस्यमय मृत्यु भयो । उनका श्रीमान् महुल कुर्मीको निधन भने २०६२ सालमा मधुमेह रोगका कारण भएको थियो । निर्मलाको श्रीमान्को मृत्यु भएपछि निर्मलाको चार बिघा १० कट्ठा जमिनमा भूमाफियाले आँखा गाडेको र त्यसको नेतृत्व तत्कालीन सभासद बादशाह कुर्मीले गरेको आन्दोलनरत पक्षको भनाइ छ ।

यसमा सरकारी छानविन समिति पनि सहमत देखिन्छ । ‘छोराहरुको मृत्युपछि बाबु महलु र जेठो छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपूर्जा र नागरिकता बादशाह कुर्मीले लगेका थिए,’ छानविन समितिको प्रतिवेदनको निष्कर्ष छ, ‘निर्मलाको घरजग्गा खानका लागि लालपूर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरका मानिसहरुले चर्को विरोध, धर्ना आदि गरेका थिए ।’

छोराहरुको मृत्यु भइसकेपछि निर्मलामाथि थप यातना बढ्यो । अहिले निर्मलालाई न्याय दिनुपर्ने आन्दोलनको अगुवाइ गरिरहेकी रुबी खानका अनुसार, त्यसैकारण उनी गुहार माग्न महिला अधिकार मञ्चको कार्यालय पुगेकी हुन् । ‘त्यतिखेरका संविधानसभा सदस्य बादशाह कुर्मीले निर्मलाको लालपुर्जा, नागरिकता, नाताप्रमाणित भएका कागजात आफ्नो नियन्त्रणमा लिएर क्रुरतापूर्वक कुटपिट गर्नुभयो,’ रुबीले भनिन्, ‘निवेदन बोकेर उहाँ जिल्ला प्रहरी कार्यालय र प्रशासन पुग्नुभयो, तर सुनुवाइ भएन ।’ त्यसपछि मात्रै निर्मला महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको मञ्चको सम्पर्कमा पुगेकी हुन् ।

तर जब उनले यातनाबाट निस्किन संघर्षमा छिन् भन्ने बादशाहले थाहा पाए, त्यसपछि निर्मला नै हराइन् । ‘उहाँलाई बादशाह कुर्मीले अपरहण गरेर लगेपछि हामी दौडियौं, सबैको पहलमा हामीले राति साढे १० बजेतिर बादशाह कुर्मीको घरबाट निर्मला कुर्मीलाई उद्धार गर्न सकेका थियौं,’ रुबी सम्भिmन्छिन्, ‘निर्मलालाई सेफ हाउसमा राखेका थियौं ।’

निर्मलालाई सेफ हाउसमा राखेकै बेला स्थानीय अधिकारकर्मी र प्रशासनको पहलमा बादशाहले नियन्त्रणमा लिएका कागजात फिर्ता गरेर अब आइन्दा केही गर्दिनँ भनेर लिखित प्रतिबद्धता पनि जनाए । तर जब निर्मला सेफ हाउसबाट फर्किइन्, यातना उसैगरी सुरु भयो । एकाएक उनी हराइन्, उनको नामको सम्पति उनको रहेन । त्यसपछि नेपालगञ्जका महिलाहरु जागे, आन्दोलन सुरु भयो ।

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा आयोजित धर्ना ।

निर्मलाको न्यायका लागि लडिरहेका महिलाहरुले उनीमाथि भएको ज्यादतीमाथि छानविन हुनुपर्नेमा उनीहरुले गत भदौ २७ गते मुद्दा नै खारेज हुने गरी अदालतमा चलखेल भयो भन्ने चाल पाए । ‘सरकारी वकिलको कार्यालय समेत पीडकको पक्षमा भएपछि हामीले थप आन्दोलन गर्नुको विकल्प थिएन,’ रुबी भन्छिन्, ‘त्यसपछि त हामी सहने सीमाभन्दा बाहिर भयौं ।’

उनका अनुसार घरेलु हिंसापीडित नन्कुनी धोबीले आत्महत्या गरेको प्रचार प्रहरीले नै गर्‍यो । महिला अधिकार मञ्चमा नन्कुनीले आफूलाई घर परिवारका सदस्यबाटै यातना भएको निवेदन दिएकी थिइन् । त्यसैले उनीहरुले दुई महिलामाथि भएका जघन्य हिंसालाई एकै ठाउँमा जोडे र सुरु गरे न्याय प्राप्तिको म्याराथन ।

‘दुवै घटनामा सुरुदेखि नै अनुसन्धान होस् र अभियुक्तलाई कारबाही होस् भनेर हामी आन्दोलनमा होमिएका हौं, तर राज्य पक्ष जहिले पनि हाम्रो आवाजलाई दबाउन लागिपर्यो । राज्यपक्षबाट हिंसा भयो,’ रुबीले भनिन्, ‘ममाथि झुठा मुद्दा दर्ता गरियो, सरकार यति निर्दयी छ कि यहाँ आएपछि पनि हामीलाई धरपकडका नाममा नेपालगञ्ज पुर्‍यायो, आन्दोलन बिथोल्ने काम गरियो ।’

आन्दोलन झन् चर्किएपछि छानबिन गर्न समिति गठन गर्‍यो । घटनाबारे छानविन गर्न बनेको सरकारी टोली र निर्मला र नन्कुनीको मृत्युबारेको अनुसन्धान हुुनुपर्छ भन्दै आन्दोलन गरिरहेको समूहको निष्कर्ष एउटै छ । ‘विधवा तथा एकल महिलामाथि बादशाह कुर्मीसहित कुवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायत व्यक्तिले सम्पत्ति खाने नियतले कागजातहरु जबरजस्ती खोसेर लगेको पाइयो,’ छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । तर कारवाही अघि बढाउनुपर्ने राज्य मौन बस्यो । घटनाका आरोपितहरु खुलेआम हिँड्न थाले । अनि फेरि राज्यको आडभरोसा खोज्न १६ जना महिलाहरुको त्यही समूह काठमाडौं छिरेको हो ।

न्याय प्राप्तिको लामो लडाइँ

काठमाडौंको केन्द्रमा रहेको माइतीघरमै बसेर दिनदिनै आफ्ना माग भनिरहेका यी अधिकारकर्मीहरुको आन्दोलन दिनदिनै किनाराकृत हुँदैछ, आवाजको शक्ति दिनदिनै भासिएझैं भइरहेको छ । तर न्याय पाइन्छ भन्ने विश्वास भने अझै मरिसकेको छैन ।

यसबीचमा मुलुकका दुई प्रमुख राजनीतिक दलले आफ्नो पार्टीको महाधिवेशन सके । नयाँ नेतृत्व चुने, तर उनीहरुका बारेमा न कसैको दस्ताबेजले बोल्यो, न कुनै नेताले कुरा उठाए । मन्त्रीहरु पुल्चोकबाट प्रशासनिक भवन सिंहदरबार त्यही बाटो आउजाउ गरिरहन्छन् । न्याय दिने उच्च निकाय सर्वाेच्च अदालत त्यहीँ छ । आन्दोलन टुंगो लगाउने कुनै उपाय फेला परेको छैन । त्यसकारण पनि उनीहरुलाई चिच्याएरै आफ्ना कुरा भन्नु छ यसपालि ।

‘महिलालाई अन्याय भएको छ, हामी नबोले कसले बोल्ने ? अहिले नबोले कहिले बोल्ने ? भनेर आन्दोलनमा छौं,’ गीता चमारले भनिन्, ‘घरबाट त कहिले फर्किन्छौ भनेर दिनदिनै फोन आउँछ, तर जहिलेसम्म न्याय पाउँदैनौं तबसम्म हार्मी फर्केर जाँदैनौं ।’ साँवा अक्षर पनि भर्खर भर्खर फुटाएर लेख्न सिकिरहेका यी महिला राज्यले बर्सेनि बनाउने र फेर्ने कानुनका ठेली बुझ्दैनन् । तर उनीहरुको विवेकले न्याय/अन्यायको भेद छुट्याउन सक्छ, आन्दोलनको भाव पहिल्याउन सक्छ । त्यसैले न्यायका निम्ति माइतीघर ढुकिरहेका छन्, निरन्तर ।

तस्वीरहरू : चन्द्रबहादुर आले

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?