+
+
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल :

एनआरटी र एपीएफ तथा पुलिस र फ्रेण्ड्स भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १२:००

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि छैटौ चरणका खेलहरु सुरु हुँदैछन् । जसमा न्युरोड टिम एनआरटीले एपीएफ एफसी र नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्ने छन् ।

छैटौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल दशरथ रंगशालामा ४:४५ बजे सुरु हुनेछ ।

अंक तालिकामा पछाडि रहेका यी क्लबहरुका लागि अब हुने हरेक खेल महत्वपूर्ण छ । एनआरटी मिड टेबलमा रहँदा पुलिस र एपीएफ रेलिगेसन जोन भन्दा थोरै मात्र माथि छन् ।

फ्रेण्ड्स पुछारमा रहँदै रेलिगेसनसँग संघर्ष गरिरहेको छ । एनआरटी ५ खेलबाट ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । पछिल्लो खेलमा फ्रेण्ड्सलाई हराएर एपीएफले रेलिगेसन क्षेत्र छाडेको थियो ।

राजुकाजी शाक्य

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पछिल्लो जितले एपीएफको मोरल हाई भएको र आफूहरु पनि प्रतिस्पर्धाका लागि तयारी भएको बताए । ‘मैले भन्दै आएको छु । हरेक खेल टफ छ । पछिल्लो जितले एपीएफको मोरल हाई छ । हाम्रो पनि मोरल हाई छ,’ बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा शाक्यले भने ।

शाक्यले अंकतालिकामा तलको टिमले जित्दा माथि आउने र हार्दा पछि नै हुने बताए । उनले विभागले सधैँ प्रशिक्षण गर्ने भएकोले नतिजा जस्तो आएपनि प्रदर्शन राम्रो गर्ने बताए ।

उनले एपीएफ विरुद्धको खेलमा ३ अंक महत्वपूर्ण रहेको बताए । उनले भने, ‘खेल महत्वपूर्ण छ र ३ अंक महत्वपूर्ण छ । अली अली चोटको समस्या भइरहेको छ । मेसुके र स्टेफेनले अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।’ प्रशिक्षक शाक्यले विभागले हरेक खेलमा महत्वपूर्ण रहेको बताए । ‘हरेक खेल ३ अंकका लागि महत्वपूर्ण छ । यदि रिजल्ट बिग्रियो भने रेलिगेसन जाने डर हामीलाई पनि हुन्छ,’ शाक्यले भने ।

यस्तै एपीएफका सहायक प्रशिक्षक रत्नकाजी महर्जनले पनि एनआरटी राम्रो टिम रहेको बताउँदै त्यही अनुसार तयारी गरेको बताए । ‘एनआरटी राम्रो टिम हो र हामीले त्यही अनुसार तयारी गरेका छौँ । ३ अंककै लागि खेल्नेछौँ,’ उनले भने ।

‘एनआरटीसँग ५०-५० को अवस्था छ । १४ टिम नै बराबर जस्तै छन्, जसले अवसर लिन्छ उसले जित्ने हो,’ महर्जनले भने, ‘उनीहरुको विदेशी खेलाडी र किपर राम्रो छ । योजना अनुसार पाएको अवसरमा स्कोर गर्न सके जित्नेछौँ ।’

रत्नकाजी महर्जन

अघिल्लो खेलमा फ्रेण्ड्सलाई हराउँदा विदेशी खेलाडी खेलाएको एपीएफले एनआरटी विरुद्ध दुई विदेशी खेलाडी खेलाउने योजना रहेको बताए । यसअघि जापानी गोलकिपर युया कुरियामा विभागीय क्लबबाट लिग खेल्ने पहिलो खेलाडी बनेका थिए । एनआरटी विरुद्ध मालीका डिफेण्डर पेपेले खेल्ने महर्जनले बताए ।

पहिलो जितको खोजीमा फ्रेण्ड्स

शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल दशरथ रंगशालामा ४:४५ बजे सुरु हुनेछ । दुवै टोलीले पछिल्ला खेल हारेका थिए । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । पाँचौ चरणसम्म जितविहीन एक्लो टोली फ्रेन्ड्स २ अंक जोडेर पुछारमा रहेको छ ।

मृगेन्द्र मिश्र

फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पछिल्लो खेलमा दुवै समान स्कोरमा पराजित भएको भन्दै दुवैलाई जित्नैपर्ने अवस्था रहेको बताए । ‘पछिल्लो खेलमा हामी पनि ३-१ ले हार्‍यौँ । पुलिस टिम ३-१ ले गुमाएर आएको छ । पुलिसको ५ अंक छ हाम्रो २ अंक छ । पुलिससँग राष्ट्रिय टिमका खेलाडी छन् हामीसँग छैनन् । पुलिससँग विदेशी खेलाडी छैन मसँग विदेशी छ । दुवैलाई जित्न पर्ने खेल छ । जसले पहिलो हाफमा स्कोर गर्‍यो उही जित्ने सम्भावना हुन्छ,’ उनले भने ।

मिश्रले पुलिस विरुद्धको खेललाई महत्वपूर्ण मानेका छन् । उनले रेलिगेसन क्षेत्र छाड्न कम्तीमा एक खेल जित्नुपर्ने बताए । उनले भने, ‘पुलिससँग जित्नेगरी खेल्छौँ । यो खेल महत्वपूर्ण छ । एक जित निकाले ५ अंक हुन्छ र रेलिगेसन क्षेत्रबाट मुक्त हुन्छ । एउटा म्याच जसरी भए पनि जित्नुपर्छ ।’

प्रशिक्षक मिश्रले अहिलेसम्म ब्याड लकले गर्दा खेल गुमाउनु परेको बताए । उनले संकटा र र थ्रीस्टार विरुद्ध अग्रता लिएर पनि जित्न नसकेको बताए । यस्तै एपीएफ विरुद्धको खेलमा आफ्नो टिमले अग्रता लिए पनि रेफ्रीले गोल नदिँदा अवसर गुमेको बताए ।

अनन्त थापा

उता पुलिसका प्रशिक्षक अनन्त थापाले हरेक खेल ३ अंकका लागि महत्वपूर्ण भएको बताए । ‘हरेक खेल ३ अंकका लागि महत्वपूर्ण छ । त्यही अनुसार तयारी गरेका छौँ,’ थापाले भने, ‘फ्रेण्ड्स पुछारको टिम भएकोले हामीलाई अली एडभान्टेज छ त्यही अनुसार हामी खेल्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?