+
+

चुलिंदै रासायनिक मलको अभाव, आउने टुंगो छैन

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष ९ गते २०:०५

९ पुस, काठमाडौं । पछिल्लो दिनमा देशभित्र रासायानिक मलको चरम अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरुको भनाइ मान्ने हो भने यो  चिनियाँ नीतिको असर हो ।  नेपालमा मलको अभाव  चीनको मल विक्री नगर्ने निर्णयका कारण भएको उनीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारकै कारण  नेपालका दुई सरकारी  निकायले ठेक्का लगाएको एक लाख ८८ हजार ५ सय मेट्रिकटन मल नेपाल भित्रिने मितिबारे अनिश्चितता बढेको  सरकारको दावी छ । कृषि सामग्री कम्पनीले ठेक्का लगाएको एक लाख १३ हजार ५ सय मेट्रिकटन र साल्टको ७५ हजार मेट्रिकटन मल आउने कुनै टुंगो लागेको छैन ।

चिनियाँ बन्दरगाहबाट रित्तै फर्कियो जहाज

नेपालमा मल ल्याउनका लागि कृषि सामग्री कम्पनीबाट बंगलादेशको बेस ट्रेडिङ र जेट ट्रेडर्सले ठेक्का पाएको छ । ५८ हजार ५ सय मेट्रिकटन युरिया र ५५ हजार डीएपीका लागि लगाइएको ठेक्कामा सबै मल चिनियाँ कम्पनीबाट ल्याउन ठेकदारले प्रक्रिया थालेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका अनुसार ५० हजार टन डीएपी मलका लागि ठेकदार कम्पनीले चिनियाँ फ्याक्ट्रीलाई रकम समेत तिरिसकेको छ ।

रकम तिरेको मल लिनका लागि चिनियाँ बन्दरगाह पुगेको पानी जहाज ४० दिन कुर्दा पनि मल नपाएपछि फर्किएको कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । पैसा तिरिसकेको हुनाले कम्पनीले मल लिन बोलायो, जहाज पुगेपछि चिनियाँ सरकारले मल निर्यातमा रोक लगायो,’ कार्की भन्छन्, ‘पुरानो मल सबै आफ्नो मुलुकमा प्रयोग गर्ने र नयाँ उत्पादन मात्रै विदेशमा बिक्री गर्ने भन्ने नीतिको मारमा हामी पर्‍यौं ।’ चिनियाँ कम्पनीमै मल रोकिए पछि परराष्ट्र मन्त्रालयमार्फत मल आयातका लागि कुटनीतिक पहल थालिएको पनि उनले बताए ।

दक्षिण एशियाली मुलुकमै अभाव

दक्षिण एशियाली अन्य मुलुकहरुमा रासायनिक मलको अभाव देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गकाअनुसार चीनसँगै रसियाले समेत मल निर्यात रोक्दा यसको सबैभन्दा ठूलो समस्यामा भारत परेको छ ।

विश्वको तेस्रो ठूलो मल आयातकर्ता मुलुक भारतमा गत नोभेम्बर अन्तिम सातादेखि शुरु भएको मल अभावका कारण कोलोबजारी मौलाएको समाचारमा जनाइएको छ । यस्तै समस्यामा बंगलादेश र श्रीलंका पनि फसेको छ ।

साल्ट ट्रेडिङको हालत पनि उस्तै

कुल एक लाख मेट्रिकटन मल आयातका लागि भारतीय सरकारी कम्पनी इन्डियन पोटास लिमिटेडसँग ठेक्का सम्झौता गरेकामा जम्मा २५ हजार मेट्रिकटन युरिया मात्रै नेपाल भित्रिएको छ । बाँकी ७५ हजार मेट्रिकटन मल आउनेबारे कुनै टुंगो नलागेको साल्ट ट्रेडिङकाका सूचना अधिकारी कुमारराज भण्डारीले बताए ।

‘कुल ७५ हजार मेट्रिकटन यूरिया र २५ हजार मेट्रिकटन डीएपी मध्ये जम्मा २५ हजार मेट्रिकटन युरिया मात्रै प्राप्त भएको छ,’ सूचना अधिकारी राजभण्डारीले भने । थप मल कहिले आउँछ भन्ने प्रश्नमा ठेकदार कम्पनीले चिनियाँ बजारमा मल नपाइएको जवाफ दिएको कम्पनीले जनाएको छ । केही मल उद्योग बन्द भएका र चिनियाँ कम्पनीले तत्काल मल नदिएका कारण समस्या भएको जानकारी ठेकदारले गराएको भन्दै कम्पनीले यस्तो अवस्थामा ठेक्का तोड्ने वा के गर्ने भन्ने अन्यौलमा परेको बताएको छ ।

गहुँबालीलाई असर

अहिले गहुँका लागि डीएपी मल चाहिने मुख्य सिजन हो । कात्तिकदेखि पुससम्मको नगदेबाली खेतीका लागि एक लाख ५० हजार मेट्रिकटन डीएपी मलको माग रहे पनि अहिले सरकारी गोदाममा यस्तो मलको मौज्दात छैन । मल नभएका कारण देशै भरका किसानले यतिबेला गहुँ, हिउँदे मकै र तरकारीमा हाल्ने रासायिनक मलको चरण अभाव झेलिरहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले यो सिजनका लागि जम्मा २५ हजार मेट्रिकटन डीएपी मल प्राप्त भएको र त्यो सबै विरतण केन्द्रबाट बिक्री भइसकेको कम्पनीका कार्की बताउँछन् । ‘हामीलाई प्राप्त मल पठाएका छौं, यो सिजनका लागि यति परिमाणको मल पर्याप्त होइन,’ कार्कीले भने । साल्टले यो सिजनका लागि लागेके ठेक्काबाट मल प्राप्त नभएको जनाएको छ ।

आकाशियो मूल्य

ठूला मल उत्पादक मुलुकहरु चीन र रसियाले आफ्नो देशबाट हुने रासायनिक मलको निर्यात रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीन गुणा बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । नेपालमा औसत अधिकतम् ४ सयदेखि ५ सय डलर प्रतिमेट्रिकटनमा आयात हुने मलको मूल्य अहिले १२ सय हाराहारी पुगेको साल्ट ट्रेडिङका सूचना अधिकारी राजभण्डारी बताउँछन् ।

मूल्य तीन गुणा बढेसँगै मल ल्याउन ठेक्का कबुल गरेका कम्पनी माथि ठूलो घाटाको दायित्व सिर्जना भएको साल्ट ट्रेडिङले दाबी गरेको छ । ‘ठेक्का कबुलगरे भन्दा पछि मलको मूल्य झण्डै दोब्बर पुगेको छ, यस्तो अवस्थामा कसरी मल आउन सक्ला ?’ राजभण्डारी थप्छन्, ‘साल्टको ठेकदार भारतीय सरकारी कम्पनी रहेको र २५ हजार मेट्रिकटन मल ल्याएकाकारण आशा गर्ने ठाउँ बाँकी नै छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?