+
+

चुट्किला : मुड चेन्ज तुरुन्तै

सीमित शब्दमै मानिसको मुड बदल्न सक्ने विधा, चुट्किला

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ पुष १० गते २०:१०

हास्यकलाकार मनोज गजुरेलका अनुसार व्यक्तिमा रहेको ‘प्रत्युत्पन्न मति’ले नयाँ-नयाँ चुट्किला बनाउन सक्छ । यो गुणले कुराकानी गर्दैगर्दा वा जुनसुकै घटनालाई मोडेर सबैलाई हसाउन सक्छ ।

श्रीमद्भगवद्गीताको अध्यायमा पनि हाँसोको चर्चा पाइन्छ । गीताको दोस्रो अध्यायको श्लोक ६५ मा भनिएको छ- ‘प्रसादे सर्वदुःखानां हानिरस्योपजायते । प्रसन्नचेतसो हृयाशु बुद्धिः पर्यवतिष्ठते ।’

अर्थात्, प्रशन्न चित्त भएको व्यक्तिको जीवनमा दुःख धेरै समय टिक्दैन । यस्ता मानिसले दुःखबाट सजिलै पार पाउन सक्दछन् ।

साहित्यकार एवं व्यंग्यकार रामकुमार पाँडेका अनुसार हाँसो मनिसको सभ्यतासँगै जोडिएर आएको विषय हो । भइरहेको कुरालाई अझै विशेष वा स्मरणीय बनाउन मानिसले चुट्किला, टुक्का बनाएको उनी बताउँछन् ।

‘चुट्किला परम्पराबाटै व्यंग्य, कार्टुनचित्र, क्यारिकेचर विकसित भएको हो’ पाँडे भन्छन्, ‘शब्दबाट चुट्किला, अक्षर वा चित्रबाट कार्टुन, बोली वा लेखाइबाट व्यंग्य गरिन्छ । यसैले सजिलोको लागि हास्यव्यंग्यसमेत भनिन्छ ।’

लेखक शेखर खरेल भने जुन समाज बढी अनौपचारिक हुन्छ, त्यहाँ हास्यचेत मौलाउने बताउँछन् । उनी लेख्छन्, ‘दक्षिण एसियालीको हास्यचेत युरोपेलीभन्दा त धेरै माथि छ । व्यक्तिगत चर्चा गर्दा हाम्रा केही राजनेता, लेखक र प्राज्ञमा प्रचुर हास्यचेत देख्न सक्छौं ।’

पहिले चौतारोमा, मेलापातमा सुनाउने चुट्किला अचेल भने सामाजिक सञ्जालमा आइरहेका हुन्छन् । ट्रोल, मिम्स आदिको रुपमा चुट्किलाहरू सामाजिक सञ्जालमा सबैभन्दा चर्चामा रहन्छ । पत्रपत्रिकामा पनि कार्टुन र जोक्सलाई महत्त्व दिएर समेटिएको हुन्छ ।

नेपाली समाजमा सयौं वर्षदेखि हासपरिहासको लागि चुट्किला प्रयोग हुँदै आएको बताउँछन् कलाकार मनोज गजुरेल । मञ्चमात्र नभई परिवार र साथीहरूसँग पनि ठट्टा गरिरहने गजुरेल चुट्किला परम्परालाई समृद्ध मान्छन् ।

‘कुनै न कुनै रुपबाट हाँसो उठ्ने काम वा कुरा प्रदर्शन गरियो भने चुट्किला हुन्छ’ गजुरेल भन्छन्, ‘एकै लाइनमा वा दुई व्यक्तिको संवादमा हसाउँन सक्ने शब्दजाल बनाउन सक्यो भने चुट्किला हुन्छ । यही आधारभूत सिद्धान्तमा हाँस्यव्यंग्य प्रदर्शन गरिन्छ ।’

‘जोक भन्ने, कथा भन्ने, स्वर बिग्रोस् तर गाएर, नाचेर सबैलाई हँसाउँदा शरीरमा एन्टीबडी बन्छ’ डाक्टर नम्रता पाण्डे भन्छिन्, ‘हाँसाको असर खोपको भन्दा चाँडो हुन्छ । यसले शरीरमा ऊर्जा र मस्तिष्कका कोषलाई सक्रिय बनाउँछ ।’

चुट्किला पर्दाभित्र : पर्दाबाहिर

चलचित्रमा राजेश हमाल नायकको भूमिकामा बढी देखिएका छन् । बलिष्ठ शरीर र शत्रुपक्षलाई कायल बनाउने व्यक्तित्वको रुपमा उनलाई पर्दामा देख्न पाइन्छ ।

तर समाजमा राजेश हमालमाथि हरेक दिनजसो नयाँनयाँ चुट्किला बनिरहेको हुन्छ । यो कुरालाई हमालले हसज रुपमा स्वीकारेका छन् । स्टेज कार्यक्रमा तथा अन्तर्वार्तामा हमाल स्वयंले आफूमाथि बनेका जोक सुनाइरहेका हुन्छन् ।

यता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेक भाषणमा उखानटुक्कासँगै चुट्किला सुनाइरहेका हुन्छन् । भ्यागुतो भुँडी फुटेर मरेकोदेखि बाँदर जंगलको राजा भएको जोक्स ओलीले धेरैपटक सुनाएको पाइन्छ ।

यता विख्यात भारतीय गायिक लता मंगेश्कर वास्तविक जीवनमा निकै हसीमजाक गर्ने कलाकारमा पर्छिन् । झट्ट हेर्दा कम बोल्ने स्वभावको देखिएपनि लता आˆनो नजिकका मानिसलाई चुट्किला सुनाउन खप्पिस भएको खुलासा गायक उदितनारायण झाले गरेका छन् ।

कपिल शर्माको शोमा उपस्थित भएका उदितले कार्यक्रममा लतासँग जोडिएको रोचक किस्सा सुनाए ।

भारतकै प्रसिद्ध लेखक खुशवन्त सिंह पनि आफैंलाई उडाएर हाँसो गर्न सक्ने व्यक्ति मानिन्छन् । उनले आफू र आˆनै जातिमाथिसमेत व्यंग्य गर्थे । उनले लोकपि्रय हास्यपात्र ‘शान्ता र बन्ता’मार्फत् हाँस्यव्यंग्य लेख्ने गर्दथे ।

कलाकार मनोज गजुरेलले एकपटक झापाली र स्यांग्जालीका धेरै जोक बनेपनि झापाली-स्यांग्जाली जोकको उद्गम कारण थाहा नभएको कुरा ट्वीट गरेका छन् । गजुरेल लेख्छन्, ‘मेरा थुप्रै झापाली, स्यांग्जाली साथीहरू छन् जो जोकमा भनिएजस्तो ‘छट्टु’ पटक्कै छैनन् । जोकमात्र त्यस्ता छन् ।’

विज्ञान भन्छ : हाँस्नु फाइदाजनक

हाँस्ने र हसाउने कुरा रसरङ्गसँग मात्र सम्बन्धीत छैन । डा. नम्रता पाण्डेका अनुसार हाँसो र स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ । चिकित्सकीय अनुसन्धानले समेत हासपरिहासलाई स्वस्थ शरीरको कारक मानेको उनी बताउँछिन् ।

‘जोक भन्ने, कथा भन्ने, स्वर बिग्रोस् तर गाएर, नाचेर सबैलाई हँसाउँदा शरीरमा एन्टीबडी बन्छ’ उनी भन्छिन्, ‘हाँसाको असर खोपको भन्दा चाँडो हुन्छ । यसले शरीरमा ऊर्जा र मस्तिष्कका कोषलाई सक्रिय बनाउँछ ।’

यता अमेरिकाको कन्सास विश्वविद्यालयका प्रोफेसर जेफ्री हालका अनुसार हाँसोले मानिसको सम्बन्धको तत्वलाई मजबुत गराई सम्बन्धमा सुरक्षाको भाव स्थापित हुन्छ । उनी भन्छन्, ‘जब तपाईं पार्टनरसँग हाँसो-मजाक र खुसी सेयर गर्नुहुन्छ तब एक अर्काबीच रोमान्टिक आकर्षण पनि बढ्दै जान्छ ।’

कन्सास विश्वविद्यालयकै ‘पर्सनल रिलेसनसिप’ नामक जर्नलमा शुद्ध भावले हाँसोठट्टा गर्ने जोडीको सम्बन्ध दिगो हुने नतिजा निकालेको छ ।

यता आधुनिक विज्ञानको परिभाषामा हाँसोलाई ‘गेलोटोलजी’ भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन गर्ने विज्ञान गेलोटोलजीमा हाँसोले मानव कोषमा सकारात्मक उर्जा सृजना गर्ने तथ्य छ ।

यस्तै कुशल वक्ताहरू असरदार वाक्यको प्रयोग गरेर, पुराना उखान वा जोक गरेर आˆनो भाषणमा स्रोतालाई मन्त्रमुग्ध पार्न सक्छन् । कुरा गरिरहेको समय वा भाषण गरिरहेका बेला उनीहरू आˆनो हाउभाउ वा भनाइलाई रोचक र पेचिलो बनाएर दोस्रो व्यक्तिमा आफ्नो स्पष्ट प्रभाव छाड्छन् ।

कलाकार केदार घिमिरे (माग्ने बुढा) भने टेडो-टेडो कुरा गर्न थालेपछि चुट्किला बन्ने बताउँछन् । अर्थात् भइरहेको भन्दा उल्टो, अनौठो, रोचक कुराबाट दोस्रो मानिसको मर्ममा प्रहार गर्यो भने त्यो चुट्किला हुन्छ । त्यसभित्र व्यंग्य, छेडखानी, आक्षेप, आग्रह सबैकुरा कलात्मक रुपमा लुकेको हुन्छ ।

घिमिरे भन्छन्, ‘पहिले खोज-खाज पारेर कपिपेस्ट गरिएका जोक्स समाजमा बढी चलनमा थियो । अहिले स्ट्यान्ड-अप कमेडी तथा पटकथा लेख्दा नयाँ जोक बनाउने सुत्र नै हुन्छ । अभ्यास गराएरै जोक बनाउने तालिमसमेत दिइन्छ ।’

यद्यपि हँसाउने प्रतिभा व्यक्तिविशेषको स्वभावमा भर पर्नेमा घिमिरे जोड दिन्छन् । अरुलाई उडाउन चुट्किला भन्नेले आफैंलाई पनि उडाउन सक्ने साहस राख्नुपर्ने उनको मत छ ।

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?