+
+

देवीमाया थापा : उमेर ७५ वर्ष तर हाँक्छिन् सहकारी

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ पुष १० गते २०:११

१० पुस, दाङ । ‘इच्छाशक्ति के हो ?’ कसैले उनलाई सोधुन् ।

मानिसमा जब इच्छाशक्ति हुन्छ, न उमेरले छेक्छ न जीवनमा आइपर्ने चुनौतीहरूले नै रोक्छ । जीवनमा ठूलो कुरा भन्नु नै त आत्मविश्वास रहेछ । सामूहिक शक्तिरहेछ र त्यो भन्दा ठूलो केही गरौं भन्ने इच्छाशक्ति । देवीमाया थापाको कथाले जो कोहीलाई यहीँ कुराको भान गराउँछ ।

दाङ लमही नगरपालिका-९ अमिलियाकी देवीमाया जीवनको उत्तरार्द्धमा आइपुग्दा पनि उनी भित्रको ऊर्जा सेलाएको छैन । बरु झन् बढेर गएको छ । उनकै नेतृत्वमा १० वर्षअघि २५ जना महिला दिदीबहिनीबाट शुरु भएको समूह अहिले एक हजार तीन सय सदस्यीय सहकारी संस्थामा परिणत भएको छ । तिनै महिला दिदीबहिनीको मेहेनतले जन्मिएको कर्मठ उद्यमी महिला सहकारी संस्थालाई स्थापनाकालदेखि कुशलतापूर्वक हाँक्दै आइरहेकी छन्, देवीमाया थापा ।

कुनै समय रुखमुनिको छहारीमा बैठक बस्ने यो महिला समूह अहिले ठूलो सहकारी संस्थामा परिणत भइसकेको छ । लमहीको रिहारमा सहकारीको चार कोठे आफ्नै भवन छ । सरकारले अनुदानमा दिएको एउटा पिकअप गाडी छ । ट्रेक्टर छन्, थ्रेसर छन् । झण्डै एक करोड बराबरको कृषिसम्बन्धी मेशिनरी औजार छन् ।

२० रुपैयाँको बचतबाट शुरु भएको यो संस्थाले हाल वाषिर्क करोड बढी कारोबार गर्छ । उनकै नेतृत्वमा चलिरहेको यही सहकारी अहिले जिल्लाकै उत्कृष्ट सहकारीमा पर्छ । तर सहकारीलाई यहाँसम्म ल्याइ पुर्‍याउनु सजिलो थिएन । देवीमाया ती दिनहरू सम्झिंदै विगत तर्फ फर्किछिन् ।

*** ***

२०६८ साल मंसिर २८ गते उनी जस्तै २५ जना दिदीबहिनीहरूको समूह बन्यो । जसमा थिए, आर्थिक अवस्था कमजोर भएका र लेखपढ नगरेका दिदीबहिनी । हेफर नेपाल र ग्रामीण महिला उत्थान केन्द्रले यिनै महिला दिदीबहिनीहरूलाई भेला गराएर समूह गठन गरिदियो र आयआर्जनका निम्ति दुई चारवटा बाख्रा दियो ।

स्थापनाकालदेखि अहिलेसम्म उनी निरन्तर अध्यक्षका रुपमा सहकारी हाकिरहेकी छन् । ७५ वर्षको उमेरमा पनि उनी सक्रिय छिन् । संस्थाका सबै जिम्मेवारी उनी माथि छ । वार्षिक हुँने करोडौंको कारोवार उनी हेर्छिन्

त्यसपछि छरिएर महिलाहरूको समूह संगठित भए । र, बाख्रापालनसँगै मासिक बैठक सुरु गरे । आर्थिक विपन्नता भएका धेरै महिलासँग पैसा नहुने । ‘महिनामा २० रुपैया उठाउन पनि मुश्किल पर्‍थ्र्याे’ उनले भनिन् । र, पनि जेनतेन मासिक २० रुपैया जम्मा गर्न सुरु गरे ।

रकम सानो भएपनि पैसा एकिकृत गर्दा धेरै हुँदो रहेछ । देविमायाले यही कुरा बुझिन् । ‘एकजनाले उठाउँदा २० रुपैयाँ हुन्थ्यो तर २५ जनाले उठाउँदा पाँच सय’ उनले भनिन्, ‘एकीकृत पूँजीको शक्ति हामीले त्यही बेला बुझ्यौं ।’

यसरी मासिक उठाएको पैसाले समूहमा पूँजी बढ्दै गयो । त्यही पैसाले खसी बाख्रा थप्दै गए । हेर्दाहेर्दै समूहले ठूलो रुप लियो । संकलित भएको पूँजीले दिदीबहिनीहरूमा अझै केही गर्न सकिन्छ हिम्मत थप्यो । आत्मविश्वास बढायो ।

‘पुजी बढ्दै गएपछि बाख्रा पालन सुरु गर्‍यौं’ उनले भनिन्, ‘समूह हुँदै व्यक्तिले बाख्रा पालन थाल्यौैं ।’ अन्ततः २०६९ कार्तिक १४ गते समूहले कर्मठ उद्यमी महिला सहकारी संस्थाको रुप लियो । दिदीबहिनीहरूको जीवनस्तर पनि उठ्दै गयो ।

बितेको १० वर्षमा सहकारीले लामो यात्रा तय गरिसकेको छ । यहाँसम्म आइपुग्दा सहकारीले धेरै उपलब्धि हासिल गरेको छ । सरकारले पनि थुप्रै पटक अनुदान दिइसकेको छ । सहकारीमा जोडिएका थुप्रै महिलाहरूको जीवनस्तरमा ठूलो फेरबदल आएको छ ।

व्यावसायिक पशुपालनबाट थुप्रै दिदीबहिनीहरूको आर्थिक स्तर माथि उठेको छ । सहकारीले पनि केही गर्न चाहने दिदीबहिनीहरूका लागि दुई लाखसम्म ऋण दिइरहेको छ । ‘ऋण लिएर धेरैले बाख्रापालन गर्नुभएको छ । केहीले बंगुर, गाई भंैसी पालन गर्नुभएका छ’ उनी भन्छिन्, ‘कति व्यापार व्यवासय गरिरहुनभएको छ ।’ धेरै महिलाहरू भने बाख्रापालन र कृषिमा जुटेका छन् । ‘अहिले प्रति व्यक्ति एक सयबढी बाख्राहरु पाल्नुभएको छ’ उनी भन्छिन्, ‘बाख्रापालनबाट वाषिर्क लाखौं आम्दानी भइरहेको छ ।’

सहकारीबाट तीनै दिदीबहिनीहरूले पालेका बाख्रा बिक्री वितरण गर्न दुई ठाउँमा बाख्रा संकलन केन्द्र छन् । ‘बाख्रापालन गर्न चाहे सहकारीबाट ऋण दिन्छौं र पालेका बाख्रा बिक्री गर्न समस्या नहोस् भनेर उहाँहरूकै घरमा गाडी पठाउँछौं’ उनी भन्छिन्, ‘बाख्रा पालन गर्न ऋण दिन्छ । विक्री पनि गरिदिन्छौं ।’

यो १० वर्ष अन्तरालमा महिला दिदीबहिनीहरूको जीवनमा थुप्रै फेरबदल आएको उनी सुनाउछिन् । देवीमाया भन्छिन्, ‘हिजो २० रुपैयाँ पनि उठाउन नसक्ने स्थिति थियो, आज मासिक पाँच सयभन्दा माथि बचत गर्छाैं । हिजो सबैको आर्थिक अवस्था कमजोर थियो । आज दिदीबहिनीहरू वार्षिक लाखौंमा बाख्रा बिक्री गर्नुहुन्छ ।’ हिजो दुईचार पैसा नहुने दिदीबहिनीहरू आज बाख्रा पालनबाट लाखौं आयआर्जन गरिरहेका छन् ।

आर्थिक अवस्थामात्रै हैन, चेतनाको स्तरमाथि समेत माथि उठेको छ । उनलाई आफ्ना दिदीबहिनीहरूको जीवनस्तरमा आएको यो परिवर्तन हेर्दा खुशीमात्रै हैन गर्व लाग्छ । कर्मठ महिला समूह भनेर चिनाउन पाउँदा उनलाई छुट्टै सन्तुष्ट हुन्छ । भन्छिन्, ‘अवसर पाए महिला कति सक्षम छन् भन्ने पनि देखाउँछ ।’ उनी यसलाई दिदीबहिनीहरूको लगनशीलता र मेहनतको प्रतिफल ठान्छिन् ।

१० वर्षको अन्तरालमा उनले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएकी छन् । उनले बुझेको कुरा के हो भने समूहको शक्तिभन्दा ठूलो अरु केही रहेनछ । ‘जे कुरा पनि एक्लै गर्न गाह्रो, तर त्यही काम सामूहिक गर्दा सम्भव हुने रहेछ’ उनी सुनाउँछिन्, ‘म एक्लैले मात्र गरेकी भए, आज यहाँसम्म आइपुग्ने थिएन । दिदीबहिनीहरूको जीवनस्तरमा यो परिवर्तन आउने थिएन ?’

स्थापनाकालदेखि अहिलेसम्म उनी निरन्तर अध्यक्षका रुपमा सहकारी हाकिरहेकी छन् । ७५ वर्षको उमेरमा पनि उनी सक्रिय छिन् । संस्थाका सबै जिम्मेवारी उनी माथि छ । वार्षिक हुँने करोडौंको कारोवार उनी हेर्छिन् । दिदीबहिनीहरूसँग छलफल गरर्छिन् र संस्थाका योजनाहरू बनाउँछिन् । सहकारीको ठूलो जिम्मेवारी उनको काँधमा छ ।

दिदीबहिनीहरूको साथ र विश्वासले यो उमेरमा पनि उनी अध्यक्षका रुपमा संस्थाको नेतृत्व गरिरहेकी छन् । दिदीबहिनीहरूको मायाले उनमा हौसला थपिरहन्छ । ‘मेरो ऊर्जाको श्रोत भन्नु नै दिदीबहिनी हुन्’ उनी भन्छिन्, ‘उनैको विश्वासले संस्था यहाँसम्म आइपुगेको छ । अझै केही गरौं भन्ने लागिरहन्छ ।’

अहिले पनि संस्थालाई कसरी अगाडि लैजान र दिदीबहिनीहरूको जीवन स्तर उकास्न सकिन्छ भन्दै उनी लागिपरेकी छन् । ‘उमेरले विश्राम लिनुपर्ने बेला हो’ उनी भन्छिन्, ‘तर दिदीबहिनीहरूले दिएको जिम्मेवारी सम्झन्छु ।’

त्यसैले त उनी संस्थालाई कसरी अगाडी बढाउने भनेर सोचिरहन्छिन् । ‘पूँजी बढाउँदै संस्थालाई अझै ठूलो बनाउने सोच छ’ उनी भन्छिन्, ‘अझै धेरै भन्दा दिदीबहिनीहरूलाई पशुपालन र कृषिमा जोड्दै उद्यमी बनाउने साचेका छौं ।’

अब भने उनी सहकारीको नेतृत्व अरु दिदीबहिनीहरूले गरुन् भन्ने चाहन्छिन् । तर दिदीबहिनीहरू मान्दै मान्दैनन् । ‘उमेर पुग्यो म सक्दिन तपाईंहरू चलाउनुस् भन्छु दिदीबहिनी मान्नुहुन्न’ उनी भन्छिन्, ‘तपाइँ गए सहकारी डुब्छ भनेर मलाई छोड्न दिदैनन् ।’ दिदीबहिनीहरूको यहीँ माया र विश्वासले त हो, उनमा हौसाल थपेको । केही गरौं भन्ने चाह बढिरहेको । त्यही माया र विश्वासले हुनसक्छ, ७५ वर्ष भइसक्दा पनि देवीमाया भित्र युवा जोश कायम छ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?