+
+

मनाङमाथिको जितपछि मछिन्द्रका प्रशिक्षकले भने : जित्नैपर्ने खेल जित्यौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते २०:०६

१० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी क्लबलाई हराएपछि मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले जित्नै पर्ने खेल जितेकाे प्रतिक्रिया दिएका छन् ।

दशरथ रंगशालामा भएको खेलको इन्जुरी टाइममा सुनिल बलले फ्रिकिमार्फत आकर्षक गाेल गरेपछि मछिन्द्रले मनाङलाई १-० ले पराजित गरेर लिग तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

‘शीर्ष स्थानमा रहेकाे टिमसंग ३ अंक लिने टार्गेट थियाे । त्यसमा सफल भयाैं । खुशी छाैँ’ कटुवालले भने, ‘मनाङ विरुद्ध जसरी पनि जित्नै पर्ने खेल थियाे । सबैकाे मिहिनेतले जित्याैँ ।’

मनाङलाई हराएपछि मछिन्द्र एएफसी कप छनाेट र उपाधि हाेडमा फर्किएकाे छ । यद्यपि प्रशिक्षक कटुवालले अझै पुलिससंगकाे खेललाई चुनौतीपूर्ण ठानेका छन् ।

साताैं चरणको खेल सकिँदा शीर्ष स्थानमा रहने क्लब लाइसेन्स प्राप्त टिम एएफसी कप छनाेटमा पुग्नेछ ।

पराजित टोली मनाङका प्रशिक्षक राजेन्द्र तामाङले बराबरी नै पर्याप्त हुने भएपनि त्यसमा ख्याल नहुँदा पराजित हुनुपरेकाे बताए । ‘म्याच ओभरअल राम्राे भएपनि सेट पिसमा गाेल हुन सकेन । पहिलाे हाफमा राम्राे भएपनि दाेस्राे हाफमा ब्यालेन्स बिग्रियाे । फाउल खेल्न हुन्न भनेकाे ठाउँमा खेलाडीले गल्ती गर्दा गाेल खायाैँ’ तामाङले भने ।

‘हामी ३ अंककै लागि दाैडियाैं । हामीलाई बराबरी नै पर्याप्त हुन्छ भन्ने रियलाइज नहुँदा पराजित हुनुपर्‍यो’ उनले थपे । प्रशिक्षक तामाङले अझै एएफसी कप छनोटका लागि गणितीय सम्भावना बाँकी रहेकाे भन्द‌ै त्यसका लागि आफूहरुले ब्रिगेड ब्वाइजलाई हराउनुपर्ने बताए । यति गर्दा पनि मछिन्द्र र पुलिसबीचकाे खेलकाे नतिजा पनि आफू अनुकुल आउनुपर्ने स्थितिमा मनाङ रहेको छ ।

मनाङलाई हराएपछि मछिन्द्र ६ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा पुगेकाे छ । पहिलाे हारपछि १३ अंकसहित मनाङ दाेस्राे स्थानमा झरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?