+
+

किन जाने गाजा दह ?

पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

रामबहादुर थापा/रासस रामबहादुर थापा/रासस
२०७८ पुष ११ गते १८:४२

११ पुस, बागलुङ। तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ ? त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला। प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो । पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका-३ दमेकमा पर्छ ।

यो सदरमुकामदेखि नजिकै छ । गाजाको सौन्दर्य दहमा मात्र सीमित छैन। पर्यावरण र संस्कृति पनि त्यहाँका चिनारी हुन्। हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्छ, गाजा दह । कहिले हिउँ फूल्छ गाजामा, कहिले लालीगुराँस ।

प्रकृतिले दिएका देनमध्यको एउटा हो, गाजा दह । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ। एकपटक घुमेर धित मर्दैन । त्यहाँ पुग्न बागलुङ बजारदेखि मोटरमा २४ किमी, पैदल चार-पाँच घण्टाको यात्रा तय गरे पुग्छ ।

‍पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् ।

ग्रामीण जनजीवन नियाल्दै पदयात्रा गाजातिर सोझिन्छ । गाजा पुग्दा नपुग्दै प्रकृति घडा लिएर मानिसको स्वागतमा उभिए झैँ लाग्छ । वनको माझ दह, माथिपट्टि गाउँ । दहछेउ देखिने सेताम्मे हिमाल । बाह्रैमास चल्ने चिसो सिरेठो ।

उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिगार्न नदिन संरक्षण गरिएको छ ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आगन्तुक लालयित हुन्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यापान गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ ।

‘वर्षेनी वैकुण्ठ चर्तुदशीमा यहाँ ठूलो मेला लाग्छ, यो परम्परादेखि नै चल्दै आएको हो’, ६६ वर्षीय पुनले भने, ‘गाजाको पहिचान प्रकृति र संस्कृतिसँग जोडिएको छ ।’ खेती किसानी गरेर जीविका चलाउँछन्, गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ ।

व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरु स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । ‘अहिले तीन घरमा मात्र होमस्टे सेवा छ, दैनिक २० जना जति पाहुना हामी राख्न सक्छौँ’, सञ्चालक प्रेम छन्त्यालले भने ।

पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको उहाँको भनाइ छ । कोदो, मकै, भट्टमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुन्छ। ‘पाहुनाको रोजाइ अनुसार नै परिकार तयार पार्छौं, मूल्य पनि चल्तीअनुसारको छ, धेरै महँगो छैन’, सञ्चालक छन्त्यालले भने ।

सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि पछिल्लो समय गाजा दहमा पर्यटकीय आकर्षण बढेको छ । घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै पुग्ने गरेका छन्। विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि गाजा दह रोज्छन् । विदेशी पर्यटक भने अझै त्यहाँ भित्रन सकेका छैनन् ।

गाजा दह संरक्षण समितिका अध्यक्ष गोपाल छन्त्यालले पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताए । ‘सोचेजसरी काम हुन सकेको छैन, बजेट, स्रोतसाधनको कमी छ’, उनले भने, ‘राज्यका निकायले लगानी बढाए हामी यहाँको विकासमा खटिन तयार छौँ।’

चार वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ ।

देशी विदेशी पर्यटक तान्न स्तरीय सडक, पदमार्ग र सुविधायुक्त होटलको खाँचो रहेको अध्यक्ष छन्त्यालले बताए । समितिले दहदेखि माथि गाजाको धुरीसम्म पुग्ने पदमार्ग निर्माणको योजना अघि सारे पनि बजेट नहुँदा कामले गति लिन सकेको छैन । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ ।

प्राकृतिक ‘भ्यू टावर’का रुपमा त्यसलाई चिनिन्छ । घना जङ्गलले घरेको त्यस क्षेत्र जडीबुटीका लागिसमेत प्रख्यात छ । दुर्लभ वन्यजन्तु र पन्छीको बासस्थान छ, त्यहाँ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन ।

गुरुयोजनामा ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लज जस्ता पूर्वाधार बनाउने उल्लेख छ । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?