+
+

‘चपली हाइट ३’ पोष्टपोन्डको भित्री कथा : भित्र सहमति, बाहिर जबर्जस्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १२:१४
निर्माता अर्जुन कुमार

१२ पुस, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा जसले जे नियम बनाइदिए पनि हुन्छ भनिन्छ । नेपाली चलचित्रको सहजताका लागि भन्दा पनि विदेशी चलचित्रको सहजताका लागि यहाँ थुप्रै नियम बनाइन्छ ।

आइतबार नेपाल चलचित्र संघको परिसरमा उभिँदै गर्दा चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारको अनुहारमा आक्रोश र पीडा दुवै झल्किएको थियो ।

चलचित्र संघ र निर्माता संघका पदाधिकारीहरु बैठकमा व्यस्त रहँदा निर्माता अर्जुन कुमार भने सञ्चारकर्मीहरुमाझ आक्रोश र पीडा दुवै पोख्दै थिए ।

‘पुस १५ गते चलचित्र रिलिज गर्न दिनुहोस् भन्दै मैले खुबै आग्रह गरें । पुस १५ मै रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’लाई १० शो दिएर मलाई १ शो दिएपनि हुन्छ भने । अब त मलाई चलचित्र रिलिज मात्र गर्न पाए पुग्छ । तर, खै नियम मान्नैपर्ने रहेछ,’ आक्रोशित भावमा अर्जुन सुनिए ।

अर्जुनको आक्रोश यसमा मात्र सीमित रहेन । उनले अगाडि थपे, ‘अब त मसँग चलचित्रको लागि पोष्टर छाप्ने अवस्था समेत छैन । पोष्टर परिवर्तन गर्दागर्दै चलचित्रभित्रको तस्वीर पनि सकिन लागिसक्यो ।’

अर्जुनले नेपाली चलचित्र बनाउने निर्मातालाई ‘महामूर्ख’को संज्ञा समेत दिए । उनले भने, ‘यहाँ त हलवालाहरुले नेपाली चलचित्रलाई सी ग्रेडको चलचित्र भन्दा तल्लो स्तरको व्यवहार गर्छन् । हेर्दै जानुहोला, अब झन् विकराल अवस्था आउँछ । मैले साउथको हिन्दी डब चलचित्र रिलिज गर्न हुँदैन भन्दा कोही बोलेन । अब हिन्दी भन्दा धेरै साउथ डब चलचित्र रिलिज हुन्छन् । नेपाली चलचित्रका निर्माता त पुर्पुरोमा हात राखेर बस्नु बाहेक केही विकल्प छैन ।’

आफूले चलचित्रको प्रदर्शन मिति पुस ३० गते जबर्जस्ती सारेको उनले दाबी गरे । चलचित्र संघमा रिलिजको लागि निवेदन दिनुपर्ने नयाँ नियम लागू गरिएको छ । निवेदन लेख्दै गर्दा अर्जुन खुशी देखिएनन् ।

तर, पत्रकार सम्मेलनका लागि चलचित्र संघ र निर्माता संघका पदाधिकारीबीच उपस्थित हुँदा भने अर्जुनले सहमतिमै चलचित्र सारेको बताए । चलचित्र संघका महासचिव अशोक शर्माले पनि ‘कठपुतली’ र ‘चपली हाइट ३’का निर्माताले सहमतिमै चलचित्र सारेको बताए ।

पुस अन्तिम सातासम्म एउटा नेपाली चलचित्रसँग अर्को चलचित्र भिड्न नपाउने नियम बनाइएको थियो । अब यो नियमलाई वैशाख १ गतेसम्म पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?