+
+

किन गर्ने होलबडी चेकअप ? कति लाग्छ शुल्क ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १७:११
प्रतीकात्मक तस्वीर

१२ पुस, काठमाडौं । पछिल्लो समय बढ्दो अस्वस्थ खानपान र खराब जीवनशैलीले मानिसको स्वास्थ्य प्रणालीमा असर परिरहेको हुन्छ । त्यही दीर्घकालीन स्वास्थ्य प्रणालीलाई असर पर्न नदिन समय-समयमा शरीरको सबै प्रणालीगत अवस्था परीक्षण गर्नुलाई नै पूर्ण शरीर परीक्षण वा होलबडी चेकअप भनिन्छ ।

यो सामान्यतया स्वस्थ व्यक्तिको हकमा एक वर्षको अन्तरमा र दीर्घ रोग लागेका व्यक्तिहरुले रोगको प्रकृति हेरेर एक महिनादेखि ६ महिनासम्ममा नियमित परीक्षण गर्नुपर्नेमा चिकित्सकहरु जोड दिन्छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व प्राध्यापक शुभेषराज कायस्थ होलबडी चेकअप अन्तर्गत मस्तिस्कदेखि रक्तसञ्चार, श्वासप्रश्वास हुँदै पेट र लिभरसम्मको गतिविधि सहज रुपमा चलिरहेको छ कि छैन ? भनेर मानव शरीरका अंगहरुको चेकअप गर्ने प्रणाली रहेको बताउँछन् । सामान्यतया ३५-४० वर्ष उमेर भएपछि मानिसमा अनेक किसिमका दीर्घ रोग लाग्न शुरु हुने भएकाले त्यस्ता दीर्घ रोगबाट शरीरका अंगहरुमा पुग्नसक्ने क्षतिलाई समयमै जानकारी लिएर त्यसबाट बच्नको लागि होलबडी चेकअप प्रभावकारी रहेको उनी बताउँछन् ।

‘मान्छेको जीवनशैली र अस्वस्थ खानपानका कारण थाइराइड, ब्लडप्रेसर र मुटुजन्य रोगहरु धेरै देखिन्छ,’ उनी भन्छन्, ‘जस्तो लामो समयसम्म उच्च रक्तचाप भएका मान्छेले औषधि खाएन भने उसको मुटुमा असर परिरहेको हुन सक्छ ।’

त्यसो त दीर्घरोग नलागेकाहरुले पनि वर्षमा एकपटक जस्तो आफ्नो शरीरको अवस्था बुझ्न नियमित होलबडी चेकअप गराउनुपर्ने सुझाव दिन्छन् चिकित्सकहरु । जस्तो दीर्घ रोग नलागेका मान्छेलाई पनि मधुमेहले कहिले आक्रमण गर्छ भन्ने यकिन हुँदैन । मधुमेहको समस्या धेरै दिनसम्म नदेखिन पनि सक्छ । आफूलाई दीर्घ समस्या नभएको भनेर परीक्षण नगर्दा किड्नी जस्ता महत्वपूर्ण अंगमा असर पर्नसक्ने कायस्थ बताउँछन् । सामान्यतया होलबडी चेकअपमा शरीरको विभिन्न अंगलाई दीर्घकालीन असर गर्नसक्ने मुख्य रोगहरुको परीक्षण गरिन्छ ।

सामान्यतया एउटा स्वस्थ व्यक्तिले वर्षमा एकपटक होलबडी चेकअप गर्नु उचित हुने डा. कायस्थ बताउँछन् । सुगरको रोगीले महिना-महिनामा जाँच गर्नुपर्छ । यसरी होलबडी चेकअप गर्दा यदि कुनै समस्या देखियो भने त्यो समस्याको थप उपचार गरेर चिकित्सकहरुसँग परामर्श गरेर औषधि खुवाइन्छ । परीक्षणमा कुनै समस्या देखिएन भने चिकित्सकसँग परामर्श गरिरहनु आवश्यक हुँदैन ।

होलबडी चेकअप गर्नुपूर्व के गर्ने, के नगर्ने ?

-अघिल्लो राति कम्तीमा ८-१० घण्टा सुत्ने ।

-२४ घण्टा अघिदेखि धुमपान र मद्यपान नगर्ने ।

-कम्तीमा ८-१० घण्टा खाली पेट हुनुपर्छ ।

-पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी गराउनुपर्छ ।

कति लाग्छ खर्च ?

काठमाडौंको निजी तथा सरकारी अस्पतालमा होलबडी चेकअप सुविधा पाइन्छ । यी अस्पतालहरुमा कुन-कुन अंगको चेकअप गर्ने भन्ने आधारमा मूल्य तोकिएको छ । निजी र सरकारी अस्पतालमा सामान्यतया २ हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्मको मूल्य तोकिएको हुन्छ ।

काठमाडौंको सिभिल अस्पतालले होलबडी चेकअपको चारवटा प्याकेज तयार पारेको छ । जसअन्तर्गत प्याकेज ‘ए’ अन्तर्गतको सेवाका लागि ३,३४५ रुपैयाँ, प्याकेज ‘बी’ अन्तर्गतको सेवाको लागि ४,३४५ रुपैयाँ, प्याकेज सी अन्तर्गत ३,२७० रुपैयाँ र प्याकेज डीको लागि २,७३० रुपैयाँ तोकिएको छ ।

निजी क्षेत्रको ग्राण्डी इन्टरनेशनल हस्पिटलले विभिन्न स्किमको व्यवस्था गरेको छ । जसमा २ हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्मको चेकअप रहेको अस्पतालले जनाएको छ । ग्राण्डी सिटी अस्पतालले दुई किसिमको होलबडी चेकअपको योजना ल्याएको छ । बेसिक होलबडी चेकअपमा ४,९५० रुपैयाँ र विशेष प्याकेजमा ८,९५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?