+
+
प्रचण्डको प्रस्ताव : :

माओवादीको अबको कार्यक्रम ‘सांस्कृतिक क्रान्ति’

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन नेताहरुले नपाएको र छलफल गरेर अन्तिम रुप दिन बाँकी रहेकाले साँस्कृतिक रुपान्तरणका निम्ति पार्टीको कार्यक्रम कस्तो हुन्छ भन्ने प्रष्ट हुन बाँकी छ ।

बिनु सुवेदी र सइन्द्र राई बिनु सुवेदी र सइन्द्र राई
२०७८ पुष १२ गते २१:२७

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘साँस्कृतिक क्रान्ति’को राजनीतिक कार्यक्रम पेश गरेका छन् । माओवादीले आदर्श मान्ने कम्युनिष्ट नेता माओको १२८औं जन्मदिनको अवसर पारेर आइतबार शुरू भएको आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले ‘साँस्कृतिक क्रान्ति’को राजनीतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सोमबार दिउँसो दुई घण्टा १३ मिनेट लगाएर प्रचण्डले वैचारिक–राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन प्रतिनिधिलाई दिइएको छैन । स्थायी कमिटीकै नेताहरुले पनि पाएका छैनन् । तर प्रचण्डको प्रतिवेदनमा अबको पार्टी कार्यक्रम साँस्कृतिक रुपान्तरणका निम्ति ‘साँस्कृतिक क्रान्ति’ आवश्यक रहेकोबारे व्याख्या गरिएको नेताहरुले बताएका छन् ।

प्रचण्डले आफ्नै कमजोरी स्वीकार्दै साँस्कृतिक रुपान्तरणको कार्यक्रम प्रतिवेदनमा उल्लेख गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन् । ‘संस्कार र संस्कृतिमा बदलिएर जाने, पार्टीलाई पुनर्जीवन दिने हो । त्यसका लागि पार्टी आन्तरिक रुपमै सुध्रिन जरुरी छ । पार्टीभित्रै साँस्कृतिक क्रान्ति आवश्यक छ’, प्रतिवेदनबारे पौडेल भन्छन् ।

प्रतिवेदनको शीर्षक ‘साँस्कृतिक क्रान्ति’ हुने वा अरू नै भन्ने चाहिँ प्रचण्डले खुलाएनन् । ‘त्यसबारे भोलि थप व्याख्या गर्छु भन्नुभएको छ’ नेता रामनारायण बिडारी भन्छन्, ‘अब साँस्कृतिक रुपान्तरणको खाँचो छ । माओवादीमा पहिले आफैंले आफूलाई रुपान्तरण गर्नुपर्छ भन्ने छ ।’

राजनीतिक कार्यादेश एउटा हुने, तर पार्टी नेता–कार्यकर्ताको संस्कृति, रहनसहन र जीवनशैली अर्कै हुने भएकाले त्यसलाई रुपान्तरणको खाँचो रहेकोमा प्रचण्डले जोड दिएका छन् । विगतका अलमलबारे पनि प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् । माओवादीले हेटौंडामा २०६९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवादी यात्रामा जाने राजनीतिक कार्यदिशा पारित गरेको थियो । त्यही महाधिवेशनले शान्ति र संविधानको पक्षमा निर्णय गरेको हो ।

त्यसअघि २०६५ को शान्ति सम्झौतापछि पनि कहिले विद्रोह र कहिले शान्तिपूर्ण राजनीतिको विरोधाभासपूर्ण निर्णयमा माओवादी अल्मलिएको थियो । ‘विद्रोह र संविधान एकैपटक भन्यौं । दुई वटा हुन्थेन, त्यही अलमल भयो’, प्रचण्डले भनेका छन् ।

तर अब भने प्रचण्डपथको संश्लेषणसहित साँस्कृतिक रुपान्तरणको कार्यक्रममा अगाडि बढ्नुपर्ने प्रस्ताव गरिएको छ । बितेको १५ वर्षमा माओवादी सरकारमा जाने, तर सडकका जनतासँग जोडिन नसकेको निष्कर्ष प्रतिवेदनले स्वीकारेको छ ।

‘सडक, सदन र सरकारको मोर्चालाई व्यवस्थित गरेर जसरी सडकप्रधान बनाउन पर्थ्यो ।  जनताको भावना प्रधान बनाउन पर्थ्यो, त्यो छुट्यो । यो गज्याङमज्याङको समीक्षा गर्नुपर्छ’, प्रचण्डको प्रतिवेदन उदृत गर्दै पौडेल भन्छन् ।

अब जनतामा जाने, आत्मालोचना गर्ने, संस्कार र संस्कृति बदल्दै श्रमसँग जोड्ने कार्यक्रमबाट पार्टी अगाडि बढ्नुपर्ने प्रस्ताव प्रचण्डले गरेका छन् । पार्टीलाई रुपान्तरण गर्न र प्रष्ट पहिचान बनाउन ठोस् कार्यक्रम लिएरै माओवादी अगाडि बढ्नुपर्ने प्रस्ताव गरिएको छ । ‘एक प्रकारको साँस्कृतिक क्रान्ति चीनमा भएको थियो, त्यही रुपमा बदल्नुपर्छ भन्नेछ’ एक नेता भन्छन्, ‘तर त्यो नेपाली विशेषतामा आधारित साँस्कृतिक क्रान्ति हुनसक्छ ।’

पद, प्रतिष्ठा, भ्रष्टाचार, यौन कुण्ठा जस्ता साँस्कृतिक विचलनकै कारण पार्टीको गति रोकिएकाले पनि यस्तो कार्यक्रम आवश्यक रहेको नेता विडारी बताउँछन् । माओवादीको गन्तव्य भने समाजवाद नै हुने प्रतिवेदनमा भनिएको छ । ‘मुख्य त समाजवादको बाटोमा हिँड्ने हो र त्यसका लागि साँस्कृतिक क्रान्ति पहिलो शर्त हो’, शिक्षामन्त्री रहेका नेता पौडेल भन्छन् ।

साँस्कृतिक रुपान्तरणका निम्ति अपनाइने कार्यक्रमको समीक्षा ६/६ महिनामा गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ । उत्पादनसँग जोडिदै रुढीवादी परम्परा भत्काउन पनि साँस्कृतिक क्रान्ति आवश्यक रहेकोमा जोड दिइएको छ ।

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन नेताहरुले नपाएको र छलफल गरेर अन्तिम रुप दिन बाँकी रहेकाले साँस्कृतिक रुपान्तरणका निम्ति पार्टीको कार्यक्रम कस्तो हुन्छ भन्ने प्रष्ट हुन बाँकी छ । तर नेताहरुले दिएको जानकारी अनुसार माओवाद, दीर्घकालीन जनयुद्ध, प्रचण्डपथ, एक्साइसौं शताब्दीको जनवाद हुँदै अब माओवादी ‘साँस्कृतिक क्रान्ति’को कार्यक्रमतिर बढ्ने तयारीमा जुटेको छ ।

३० वर्षे उतारचढाव

चौथो महाधिवेशन (चौम) को धार भएर टुटफुट, विद्रोह र शान्ति प्रक्रिया हुँदै अगाडि बढेको माओवादीले पार्टी सशक्तिकरण र सामाजिक रुपान्तरणका निम्ति साँस्कृतिक क्रान्तिको कार्यक्रम रोजेको देखिन्छ । चितवन माडीको शितलपुरमा (२०४८ मंसिरमा) सम्पन्न तत्कालीन नेकपा एकता केन्द्रको छैटौं महाधिवेशनले माओवाद पथप्रदर्शक सिद्धान्त मान्दै दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरेको थियो ।

अध्यक्ष नरबहादुर कर्माचार्य र महासचिव पुष्पकमल दाहाल प्रचण्ड रहेको एकता केन्द्रको उक्त  महाधिवेशनकै जगमा नेकपा माओवादी जन्मिएको थियो । २०५१ मा जन्मिएको माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको घोषणा गर्‍यो । गाउँबाट शहर घेर्ने रणनीति लिएको सशस्त्र विद्रोहको नारा थियो– ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।’

सशस्त्र विद्रोहको पाँच वर्षपछि माओवादीले थप्यो– प्रचण्डपथ । त्यसपछि माओवादीले मार्क्सवाद –लेनिनवाद–माओवाद (मालेमा) र प्रचण्डपथ मान्यो । प्रचण्डपथको राजनीतिक कार्यक्रमसँगै प्रचण्ड महामन्त्रीबाट अध्यक्ष बने । सर्वाधिकार ‘सुप्रिम कमाण्डर’ प्रचण्डलाई दिइयो ।

‘एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क. प्रचण्डको सही र अविछिन्न नेतृत्वका कारण आज पार्टी एकताको केन्द्रको रुपमा क. प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ’, प्रचण्डपथबारे भनिएको थियो ।

मालेमा र प्रचण्डपथ माओवादीले २९ पुस २०६५ सम्म मान्यो । तर नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग एकता गर्दा प्रचण्डपथ स्थगित गरियो । एकतासँग एकता गरेर बनेको एनेकपा माओवादीले मालेमा र विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्यो ।

दश वर्षे सशस्त्र विद्रोह र २०६२/०६३ सालको जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य, संविधानसभाको गठन र अन्तरिम सरकार बनिसकेको नयाँ परिस्थितिमा माओवादीले माओवाद र एक्साइसौं शताब्दीको जनवाद भन्ने गरेको थियो ।

तर शान्ति प्रक्रियापछि लगातारको एकता र विभाजनका क्रममा माओवादीले माओवाद र एक्साइसौं शताब्दीको जनवाद पनि छोड्यो । ३ जेठ २०७५ मा नेकपा एमालेसँग एकता गरेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समाजवाद उन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम मानेको थियो । तर गएको वर्ष २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रिया भंग गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापना गर्‍यो ।

एमालेले गएको १४ मंसिरमा चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट पुरानै राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्ने निर्णय गरेको छ । माओवादी केन्द्रमा भने राजनीतिक कार्यदिशा के लिने भन्ने अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?